ईश्वरीय विश्वासका सम्बन्धमा स्व. विश्वेश्वर प्रसाद कोइराला

Dr Bipin Adhikari

साभारहर्क बहादुर कठायत (सम्पादक) बहुआयामिक विश्वेश्वर (बाजुराः नेपाल सांस्कृतिक संघ, २०७१)

सन् १९९३ मा एसिया प्रशान्त क्षेत्रका वकिल तथा कानुनविद्हरुको संगठन ल–एसियाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यो लेखक श्रीलंकाको कोलम्बो गएको थियो । सम्मेलन पछि एक दिनका लागि हामी श्रीलंकाको मध्यक्षेत्रमा पर्ने पहाडी सहर क्याण्डी पनि गयौं । क्याण्डीमा भगवान बुद्धको ठूलो मन्दिर छ । दर्शन गर्ने क्रममा म पनि लाइनमा बसेको थिएँ । अष्ट्रेलिया, पाकिस्तान तथा बंगलादेशका केही साथीहरु पनि पर्यटकका रुपमा उपस्थित थिए । ढोकैमा पुगेपछि मैले केही कुरा सम्झिएँ र लाइन छाडी फनक्क फर्किएँ ।

पछि क्याण्डीबाट फर्कने बेलामा हाम्रो बसमा केहीले त्यहाँबाट किन फनक्क फर्केको भनी बलगरी सोध्न थाले । मैले टार्न नसकेपछि जवाफ दिएँ– "मैले नुहाइधुवाइ गरेको थिइन । भगवानको मन्दिरमा नुहाइधुवाइ नगरी प्रवेश गर्नु हुँदैन भन्ने हाम्रो चलन छ ।" त्यसोभन्दा अष्ट्रेलियनहरुले बुझेँ भन्दै टाउको हल्लाए । तर बंगलादेशीहरु आफ्नो भाषामा गिल्ला गर्न थाले । मूर्तिपूजालाई मुस्लिमहरु मान्दैनन् । त्यसमा पनि एउटाले भन्यो – "तिमी त गाईलाई आमा मानी काटमार नगर्ने देशको मान्छे प¥यौ । त्यसैले देउता छुँदा जीउ पवित्र हुनुपर्छ भन्ने मान्यता राख्नु खासै हाँस्ने कुरा होइन ।" मैले भनेँ –"प्रचलनको कुरा हो । सिद्धान्ततः नेपालमा गाईसहित कुनै पनि स्त्रीजाति चौपायाको बध गर्न दिइँदैन । कानुनमा त्यही लेखिएको छ ।" त्यति भनिसकेपछि बंगलादेशीहरु तर्फ फर्किएर अष्ट्रेलियनहरु हाँस्न लागे । एउटाले भन्यो – "कुरो गाईको मात्र होइन, कुरा स्त्रीजाति चौपायाको रहेछ ।" धर्मसँग सम्बन्धित कुराहरुमा जतिपनि तर्क वा कुतर्क गर्न सकिन्छ । तर त्यसबाट पार पाउन सकिँदैन । त्यसैले ईश्वर र धर्म हरेक मान्छेको आफ्नो घरपरिवार वा समुदायभित्रको विषय मानिन्छ । सामान्यतः मानव अधिकार सम्बन्धित भएमा बाहेक त्यसलाई अन्य धर्मावलम्बीको चासो वा व्यापक राष्ट्रिय बहसको विषय बनाइँदैन । धार्मिक आस्थाका कुराहरु केवल वैज्ञानिकताको आधारमा मात्र हेर्ने प्रचलन पनि छैन । यस्तो बहसबाट उठेका प्रश्नहरुको जवाफ खोज्न गाह्रो हुन्छ ।

स्व. विश्वेश्वर प्रसाद कोइराला सामान्यतः ईश्वरमा विश्वास नभएको वा अनीश्वरवादी व्यक्तिका रुपमा चिनिनुहुन्छ । यस सम्बन्धमा केही कुरा वहाँ आफैंले लेख्नुभएको पाइन्छ भने केही कुरा वहाँले बोलेको आधारमा टिपिएका पनि छन् । त्यस्तै वहाँका साहित्यिक कृतिहरुमा वहाँका विशेष पात्रहरु बीचको संवादका आधारमा पनि ईश्वर सम्बन्धी कोइरालाको धारणाहरु प्रष्ट हुन्छन् । वहाँका कतिपय विचारहरु राजनीति सुरु गरेदेखि नै देखा परेका छन् । विभिन्न समयमा विभिन्न सन्दर्भमा वहाँका दृष्टिकोणहरु आएका छन् । यस आधारमा यस लेखमा स्व. कोइरालाको ईश्वरीय विश्वासका सम्बन्धमा यो लेखकको केही विश्लेषण राख्ने प्रयास भएको छ । यसलाई पूर्ण व्याख्याका रुपमा लिइनु हुँदैन । अन्ततः धर्मको कुरा माथि उल्लेख गरिएजस्तै व्यक्तिगत कुरा हो । त्यो व्यक्तिगतपनाको विश्लेषण अरु कसैले गर्न सक्दैन । यहाँ केवल सार्वजनिक भएका कथनहरुका आधारमा कोइरालाको दृष्टिकोणहरुको केही पक्षसम्म विश्लेषण गरिएको छ ।

भक्तका नजरले ईश्वरलाई हेर्ने हो भने त्यसको कुनै सीमा छैन
ईश्वरका बारेमा लेख्नु र बोल्नु दुवै दुरुह कुरा हो । बोल्ने र लेख्ने वा ईश्वर मान्ने र नमान्ने दुवैले यस विषयमा सर्वज्ञ भएर लेखेका भने हुँदैनन् । यसैले सृष्टिको यति लामो ऐतिहासिक अवधिमा पनि ईश्वर छन् कि छैनन् भन्ने विषयमा टुंगो लाग्न सकेको छैन । ईश्वर भन्ने नाम संसार चलाउने सर्वशक्तिमान शक्तिसँग सम्बन्धित भनिन्छ । ईश्वरको शक्ति असीमित भएको मानिन्छ । उनी जहाँ पनि छन् । जहाँ पनि पुग्न सक्दछन् । उनको सर्वव्यापी अस्तित्वमा निरन्तरता हुन्छ । जीवन र मरणको प्रक्रियाले उनलाई छुँदैन । छोए पनि प्रभावित गर्न सक्दैन । ईश्वरलाई विश्वास गर्नेले उनलाई ब्रम्हाण्डको रचनाकार तथा यसलाई निरन्तर चलाइरहने शक्तिका रुपमा मान्दछन् । ईश्वरले चाहेको कुरा दिन सक्दछन्; नचाहेको लिन सक्दछन् । कसैले सर्वशक्तिमान ईश्वर एउटै छन् भन्दछन् भने कसैले विभिन्न भएको मान्दछन् । ईश्वरका अवधारणाहरु केके हुन् भन्ने कुरामा व्यापक रुपमा फरक विचारहरु छन् । त्यस्तै ईश्वरको विशेषता, उद्देश्य, कामकारबाहीका बारेमा पनि फरक मतहरु छन् । उनको रुपका बारेमा पनि एउटै धारणा छैन । भक्तका नजरले ईश्वरलाई हेर्ने हो भने त्यसको कुनै सीमा छैन । तर आजसम्म सार्वजनिक भएको सूचनाका आधारमा हेर्दा कोइरालाले ईश्वरको यो व्याख्यालाई स्वीकार गर्नभएको देखिँदैन ।

भनिन्छ, ईश्वरलाई परिभाषित गर्ने तथा ईश्वर र मानव बीचको सम्बन्धलाई नियमित गर्ने प्रयासमै धर्महरुको सिर्जना भएको हो । सबैभन्दा पहिले संगठित रुपमा यो प्रयास यहुदीहरुले गरे । उनीहरु पछि इसाइहरु बलियो गरी देखा परे । नेपालमा किरात धर्म पनि प्राग्वैदिक हो । यसपछि बुद्ध धर्म अस्तित्वमा आएको हो । त्यसपछि इस्लाम देखा पर्दछ । हिन्दूहरु आफ्नो धर्म यी सबैभन्दा पुरानो भएको दाबी गर्दछन् । यसमध्ये अधिकांश धर्महरुले ईश्वरका बारेमा कुरा गर्दछन् ।

मानव बीच ईश्वरको प्रकृतिका बारेमा अलग अलग धारणा छ । बाइबलले उल्लेख गरेको तीन पूज्य कूलपिताहरु मध्येको पहिलो मानिएका अब्राहमको ईश्वर सम्बन्धी अवधारणा, यहुदी धर्ममा भएको ईश्वरको एकईश्वरवादी परिभाषा, इसाइहरुमा भएको त्रिदेवात्मक दृष्टिकोण र इस्लामको अलग अवधारणालाई यहाँ उल्लेख गर्न सकिन्छ । हिन्दू धर्ममा ठाउँ, सम्प्रदाय, जात अनुसार ईश्वरको अवधारणा देखिन्छ । त्यसैले इश्वर कोटी कोटी देवताका रुपमा पनि देखिन्छन् । हिन्दू धर्ममा एकईश्वरवादी पनि पर्दछन्, बहुईश्वरवादी पनि पर्दछन् । ऐतिहासिक बुद्ध विशेषगरी साक्र र ब्रहमाले ईश्वरत्वलाई स्वीकार गरेका थिए भनिन्छ । पछि गएर महायान परम्पराले ईश्वर सम्बन्धी अवधारणालाई धेरै महत्व दिएको देखिन्छ ।

यस किसिमको बहसमा कोइराला पर्नु भएको देखिँदैन । वरिष्ठ अधिवक्ता गणेशराज शर्माद्वारा संकलित तथा सम्पादितराजा, राष्ट्रियता र राजनीति मा कोइरालाले धर्म, ईश्वर र नियतिका सम्बन्धमा आफ्नो दृष्टिकोण प्रष्ट गर्नुभएको देखिन्छ । वहाँका विचारमा "मानिसको जुन संकट छ, मानसिक होस् वा आत्मिक, त्यसको निवारण उसको आत्मबलमा छ । सानो एउटा संकटले कतिलाई छट्पटाएर मारिदिन्छ, कोही मान्छे त्यो संकट माथि विजय प्राप्त गर्दछ" । कोइरालाको दृष्टिमा "दैवीशक्ति भन्ने कुरो त्यसबाट निश्रित हुन्छ ।" अन्य प्रकारको दैवका बारेमा वहाँले उल्लेख गर्नुभएको छैन । उल्लेख नै नगरेपछि यसका बारेमा विवाद गरिहिँड्ने प्रवृत्ति पनि देखिने भएन् । ईश्वर भए पनि नभए पनि वहाँको जोड यो कुरामा छ कि त्यस्तो ईश्वरको विशेष अनुकम्पा वहाँलाई प्राप्त होला भन्ने वहाँलाई लाग्दैन । यसका प्रष्ट कारणहरु छन् ।

ईश्वरको विशेष अनुकम्पा ?
कोइरालाको अनुभवमा संसारमा विभिन्न कारणले हरेक दिन सयौं साना बच्चाहरु मरिरहेका छन् । तिनका आमाहरुले कल्पेर देउताहरुको प्राथनाहरु नगरेको कहाँ होलान् ? कतिको दुलाहा मारिएका छन् । कतिको घर बर्बाद भएको छ । युद्ध र अत्याचार वा नरसंहारमा पर्नेको संख्यामा पनि कमि छैन । यसरी मारिएका कसैले पनि ईश्वरको अनुकम्पा प्राप्त गर्न सकेनन् । दुख परेर भीख मागी ईश्वरको पुकारा गर्दै हिँडिरहेका मान्छेको आर्तनाद पनि सँधै सुनिन्छ । ईश्वरले तिनलाई केही गरेको देखिँदैन । त्यसैले कोइरालाको स्पष्टोक्ति छ – "ती सब कुराहरु देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन ।" वहाँले कहिले प्रार्थना गर्नु भएन् । आफुलाई केन्द्रमा राखी वहाँ भन्नु हुन्छः "मेरो भन्दा बढी आवश्यकता परेका मानिसहरुको प्रार्थना देउताले सुन्न सकेका छैनन् भने त्यत्रो दम्भ कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौं । त्यो दम्भ मलाई छैन ।" जब "लाखौं करोडौं अरबौं मान्छेलाई देउताले अनुग्रह गरेको छैन । मलाई किन गर्ने?"

हरेक धर्मका सिद्धान्तहरु आदिम वा पौराणिक छन् । यो धर्म र त्यो धर्म भन्ने कुरा छैन । लेख्ने र व्याख्या गर्ने क्रम सँधै चलिरहेको हुन्छ । त्यसैले हरेक कुरामा एकमत हुन्छ भन्ने पनि छैन । समग्रमा प्राय सबै धर्ममा कतिपय कुराहरु असंगत वा अनुभवबाट प्रमाणित हुन नसकेको अवस्थाहरु छन् । कतिपय धर्मले आफ्नै धार्मिक समुदायभित्र पनि कसैलाई सानो, कसैलाई ठूलो बनाएको देखिन्छ । हिन्दू धर्मको सुरुवात जेजस्तो भए पनि जातिपातिलाई स्थापित गराएरै अगाडि बढेकै हो । इस्लाम धर्ममा पनि इस्लाम नमान्नेलाई अर्कै दृष्टिकोणले हेरिन्छ । त्यस्तालाई 'काफिर' भनिएको पाइन्छ । इसाइहरुले पनि गैरइसाइलाई 'पैगन' भनेर जंगली सभ्यता भएजस्तो ठान्ने चलन थियो । जस्तो बेल्जियमका पादरी ग्रोबरले सन् १६६२ मा भोटबाट नेपाल हुँदै भारततर्फ जाँदा नेपालीहरु मुग्लानी भन्दा धनीमानी, सभ्य र सम्पन्न भएको तर जंगली धर्म मान्ने 'पैगन' भएको भनी लेखेको पाइन्छ । कतिपय इसाइ, इस्लाम र हिन्दूले महिलाहरुलाई पुरुषभन्दा तल्लो मान्दछन् ।

अमेरिकी गृहयुद्धका बेला त्यहाँ दक्षिणवर्ती राज्यका मान्छेहरुले बाइबलले दासप्रथालाई न्यायोचित मानेकाले दासको खरिदबिक्री किन रोक्ने भनी लडाइँ नै गरेका थिए । एउटा धर्मले अर्कोलाई सहन नसकेको र एउटै धर्मभित्र पनि समूहगत अतिवाद देखिएका दर्जनौं उदाहरण होलान् । दोस्रो विश्वयुद्ध अघिको युरोपका यहुदी धर्मावलम्बीको नरसंहार मानव सभ्यताको कलंककै रुपमा सम्झिनु पर्ने हुन्छ । यहुदीहरु विरुद्ध अन्य धर्मको पूर्वाग्रह, घृणा र भेदभाव परस्त नीतिलाई अहिले पनि 'एण्टि–सेमिटिज्म' भनी अध्ययन गरिन्छ । इस्लाममा सिया र सुन्नी समुदाय बीचको काटाकाटको धेरै उदाहरण पाइन्छन् । इसाइ धर्ममा क्याथोलिकहरुले प्रोटेस्टेन्ट विरुद्ध गरेको अत्याचारको पनि कमी देखिँदैन । इजरायल र प्यालेस्टिनीहरुको लडाइँ पनि यसै कोटीको हो । यसमा यहुदी र इस्लाम जोडिएको छ । यति हुँदाहुँदै पनि अधर्मी वा धर्मविहीनतालाई लगभग सबै धर्मले चुनौती दिन्छन् । अर्को धर्मबाट आफ्नो धर्ममा ल्याउने विधिवत् प्रचलन प्राय हिन्दू धर्म बाहेक सबै ठूला धर्ममा होला । धर्म परिवर्तन गर्ने गराउने स्वेच्छा भन्दा पनि उद्योग नै हुने गरेको छ । समस्या जतापनि छ । हरेक धर्म नयाँ मूल्य र मान्यता अनुसार परिवर्तन हुँदै जान्छ । धर्म परिवर्तन भएन भने मान्छे परिवर्तन हुन्छन् । हार्ने चाहिँ धर्म नै हो ।

कोइरालाको लघु साहित्यिक कृति 'मोदीआइन' हिन्दू धर्मको विशेष ग्रन्थ 'महाभारत' प्रति प्रशस्त आलोचनात्मक दृष्टिकोण राख्ने कृति हो । मानवोचित चिन्तन भएका अर्जुनलाई भगवान कृष्णले कसरी पाषाण हृदयमा परिवर्तन गरी युद्धका लागि तयारी गराउँछन् भन्ने सम्बन्धमा कोइरालाको उक्त कृतिमा सटिक विश्लेषण छ । 'देउता' नलागुञ्जेल अर्जुन विवेकमय देखिन्थे । युद्ध उनलाई विभीषिका लाग्दथ्यो । तर त्यो स्थिति महाभारतको कुटनीतिमा कायम रहिरहन सकेन । मोदीआइनका अनुसार "बिचरो एउटा क्षुद्र मानव देवता ृकृष्णे को रुद्र तेजका अगाडि कतिबेर अड्न सक्थ्यो ? अर्जुनको मानव आग्रह खुकुलो पर्दै गयो ।" यही खुकुलो अवस्थामा उनीमार्फत् संसार कहालिने स्तरको युद्धको रचना गरियो । "अट्ठार अध्याय गीता श्रवण गरिसकेपछि, मानव मानव रहँदैन, त्यो ईश्वरारुढ व्यक्ति हुन्छ र तसर्थ, अतुल शक्तिबाट विद्युतमय ।" हुनु नहुनु सबै वर्णन गरिसकेपछि कोइरालाकी 'मोदिआइन' भन्दछिन् – "नानी ठूलो नहुनु, वीर नहुनु । असल हुनु, असल ...।" सातजना बाहेक महाभारतको युद्धमा सबै मारिए । हो भगवान कृष्ण र धनुर्धर अर्जुन वीर भए । विजयी भए । तर उनीहरु असल भइदिएको भए महाभारतको युद्ध रोकिने थियो । लाखौं मान्छे हताहत हुनबाट जोगिन्थे । धेरैले विधुवा भई बाँच्नु पर्ने अवस्था आउँथेन । धेरै बच्चाहरु अनाथ हुनुपर्ने थिएन ।

अन्ततः सही वा गलत भन्दा पनि धार्मिक विश्वास भनेको आफ्नो चेतनालाई धर्मका आधारमा प्रतिबद्ध बनाउने प्रचलन हो । तर यसको न कुनै संवेदक प्रमाण हुन्छ, न त चैतन्य आस्था । जीवनलाई विज्ञानमय बनाउन स्वतन्त्र चिन्तन चाहिन्छ । समय सापेक्षता नबुझी धार्मिक आस्था र विश्वासले कतिपय अवस्थामा मान्छेलाई स्वतन्त्र बन्न दिँदैन । फरक किसिमको मान्छे फरक विचार र पद्धति अनुसार बाँच्न चाहनेलाई कतिपय अवस्थामा धर्म घाँडो भइदिएको हुन्छ । मनमा एउटा कुरा हुन्छ, लोकलाजले अर्को कुरा गरिरहेको हुन्छ । यसबाट सामाजिक र परिवर्तनमुखी सोचाईमा छलछाम देखा पर्दछ । पाखण्डीपनको उद्गम हुने एउटा प्रबल कारण यो पनि हो । जस्तो बलिप्रथा कुनै पनि विवेकशील मान्छेलाई हल्लाउनु पर्ने विषय हो । तर त्यसलाई त्यो रुपमा व्यक्त गर्ने आँट गरिएको देखिँदैन । हिन्दू धर्ममा यसबारे ठूलो बहस छ । यहुदीहरुको सन्दर्भमा 'कोसर स्लाटर' को प्रचलन देखिन्छ । जो यहुदी होइनन्, पशुपंक्षीलाई काट्ने यो प्रचलनको वा तौरतरिकाको आलोचना गर्दछन् । त्यसैले धर्मका बारेमा कुरा गर्दा यस्ता सीमाहरुका बारेमा समदृष्टिकोण चाहिन्छ । यी तथ्यलाई हेर्ने हो भने कोइरालाको 'मोदिआइन' का कथनहरु बुझ्न सकिन्छ ।

साहित्यमा कोइरालाको व्यक्तित्व र विचार यस्ता पुराणपन्थी कुरा भन्दा अलग देखिन्छ । उहाँको साहित्यिक जीवनको थालनी संवत् १९८६ देखि भएको मानिन्छ । उहाँको प्रथम नेपाली कथा 'चन्द्रवदन' सर्वप्रथम शारदा पत्रिकामा प्रकाशित भएको थियो । उहाँका कृतिहरुमा दोषीचश्मा, श्वेतभैरवी, बाबुआमा र छोरा, तीन घुम्ती, नरेन्द्र दाई, सुम्निमा, हिटलर र यहुदी मनोविश्लेषण, यौनसम्बन्ध तथा सामाजिक कुरीति र आधारविहीन संस्कारहरुलाई प्रश्न गर्ने मान्यताबाट लेखिएका छन् । अझ 'सुम्निमा' मा कोइरालाले जीवनप्रतिको आफ्नो दर्शनलाई कहिल्यै अलमल नहुनेगरी उल्लेख गर्नुभएको छ । किरात कन्या सुम्निमा र बाहुन कुमार सोमदत्तलाई प्रमुख पात्र बनाइएको यो उपन्यासमा शरीरलाई यातना दिएर ईश्वर प्राप्त गर्ने वा परलोक सपार्न खोज्ने बाहुन र मनुवालाई माया गरेर जीवन सुधार्न खोज्ने भन्ने किरातिनी बीचको द्वन्द्वमा कोइरालाले उपन्यास केन्द्रित गर्नुभएको छ । सरल र सही जीवनको वकालत छ यस उपन्यासमा । अझ 'मोदिआइन' मा माथि उल्लेख गरिएझैं भगवान श्रीकृष्णद्वारा महाभारतको युद्ध रोक्न नसक्नु र धर्मयुद्धको नाममा त्यति धेरै जीउज्यानको खति हुन दिनु किमार्थ सही थिएन भन्ने दृष्टिकोणलाई कोइरालाले स्थापना गर्नुभएको छ । 'हिटलर र यहुदी' त उच्चतम मानवीय मर्यादामा आधारित अपूरो उपन्यास हो । यदि यी मान्यताहरुलाई हेर्ने हो भने यसबाट देखिने कोइरालाको जीवन दर्शनमा पौराणिकता नभई मानवता एवम आधुनिकताको परिच्छेदहरु पाइन्छन् ।

साहित्यमा धर्म अधर्मको चर्चा विभिन्न किसिमले गरिएको देखिन्छ । जस्तो फ्रेञ्च अल्जेरियन दार्शनिक अल्बर्ट कामुले लेखेको सन् १९४२ को "द मिथ अफ सिसिफस" भन्ने निबन्ध तिनताका धेरै चर्चित निबन्ध थियो । कोइरालाले यो पुस्तक पढ्नु भएको थियो । कामु शतप्रतिशत नास्तिक हुन् । यो निबन्धमा उनले मान्छेले दुरुह वा बुझ्न नसकिने संसारलाई जबरजस्ती बुझ्न खोजेको, अमिल्दा र विसंगतिपूर्ण कामकुरालाई मिल्दो र सामञ्जस्यपूर्ण बनाउन खोजेको र मान्छेको उद्देश्य र अभिप्रायलाई अनावश्यक रुपमा अर्थ प्रदान गर्न खोजेको भनेर खिसी गरेका छन् । उनलाई लाग्दथ्यो, संसारमा न त शाश्वत् वा अविनाशी सत्य छ, न त त्यस्ता कुनै मूल्यमान्यता नै छन् । उनको दाबी के छ भने संसारमा ईश्वर छैनन् । यो संसार विसंगतिपूर्ण नै हो, सृष्टि नै यस्तो हो । यो विसंगति देखेर आत्महत्या गर्नुपर्छ भन्ने उनको भनाई होइन । तर साँचो कुरालाई सामना गर्नु पर्छ भन्ने उनको सोचाई हो थियो ।

यो निबन्धमा सिसिफस्लाई आधार बनाएर कामुले आफ्नो दर्शन अघि सार्दछन् । सिसिफस्को कुरा ग्रीसेली पुराणमा आधारित छ । उ एउटा प्रयत्नरत चरित्र हो । अर्थ न बर्थ भए पनि सिसिफस्ले कुनै ठूलो गोलढुंगालाई पटकपटक लगेर पहाडमा टाँस्न खोज्दछ । यो टासिँदैन । हरेकपल्ट गुडेर तल झर्दछ । उसले पटकपटक त्यसलाई फेरि माथि लैजान खोज्छ । उसको मेहनत देखेर कुनै ईश्वरले लौ न त भनी त्यो ढुंगा पहाडमा टाँसिदिँदैनन् । उ निरन्तर यही अभ्यासमा जीवन बिताउँछ । जीन्दगी विसंगतिपूर्ण छ भन्दाभन्दै पनि यो विसंगति मान्छेले बाँच्नै पर्ने हुन्छ । जीवनदेखि भागेर आत्महत्या गर्ने होइन । विवेक र विज्ञानले संसारको व्याख्या गर्न सक्दैन । जथाभावी निष्कर्ष निकालिँदै त्यस्ता व्याख्याहरु टुंगिएका छन् । विसंगति त्यसबेला देखिन्छ जब बुझ्नु पर्ने मान्छेले संसारको अविवेकीपनलाई व्यहोर्नुपर्ने अवस्था आउँछ । यो निबन्धको निष्कर्ष हुन्छ, जीन्दगी यस्तै हो, जुन संघर्ष गरिएको छ वा गरिँदैछ त्यसैले हृदयको प्यास मेटाउने हो । सिसिफस् यसै आधारमा खुशीसँग बाँचेको मान्नु पर्दछ । सबैकुरा हास्यास्पद छ तर अर्थ खोज्दा झनै विसंगतिपूर्ण हुन जान्छ । कामुले यसै प्रकारको "द स्ट्रयान्जर", "द मिस अण्डरस्ट्याण्डिङ्ग", "क्यालिगुला" तथा "द रिबेल" भन्ने उपन्यास, नाटक तथा निबन्ध इत्यादि लेखेका छन् । विसंगतिका बारेमा उनको मान्यता उस्तै हो । विसंगतिका बारेमा कोइराले पनि चित्त बुझाउनु भएको देखिन्छ । तर कामु जस्तो उद्वेग र नकारात्मकता कोइरालामा देखिँदैन ।

जर्मनीका दार्शनिक फ्रेडरिक नित्सेको प्रसंग पनि यहाँ जोड्न सकिन्छ । उनले धर्म, नैतिकता, समसामयिक संस्कृति, दर्शन तथा विज्ञानका बारेमा धेरै लेखेका छन् । उनी पनि बेग्लै प्रकारका दार्शनिक हुन् । उनले लेखेको विभिन्न सामाग्रीहरुमध्ये एउटा विषय 'डेथ अफ गड' निकै चर्चित छ । विशेषगरी "द गे साइन्स" मा यसका बारेमा उल्लेख गरिएको छ । यसैका आधारमा नित्सेलाई अनीश्वरवादी मानिएको छ । कतिपयले भने नित्से अनीश्वरवादी त होइनन् तर उनको देवत्वलाई बुझ्नका लागि ईश्वरका बारेमा अलि सुक्ष्म दृष्टिकोण चाहिन्छ भनेका छन् । अब्राहमको आस्थाको ईश्वर अब विस्तारै हराउँदै छ । धर्म निरपेक्षता बढ्दै छ तर ईश्वरको मृत्युको प्रसंगबाट नित्सेले विनाशवाद वा शुन्यवादको कुरा उठाएका छन् । उनले आफ्नो भनाईलाई यथार्थ भन्दै कसैको पनि आफैंमा 'इन्हेरेन्ट इम्पोर्टेन्स्' छैन भनेका छन् । जीवनको उद्देश्य छैन । उनलाई लाग्दथ्यो, क्रिश्चियन नैतिक सिद्धान्तहरुले ईश्वरमा स्वभाविक विश्वास देखाए पनि यो वस्तुगत ज्ञानमा आधारित छैन । ज्ञान वस्तुगत नै हुनुपर्दछ । यो सम्भव छ । तर इसाइधर्म विनाशवादको आरम्भिक स्वरुपको विषनाशक पदार्थका रुपमा आएको छ । अर्थविहीनताको नैराश्यता हो यो । उनको भनाईमा खोजेजस्तो संसार त बनेकै छैन । हाम्रा सुखदुख, कामकारबाही तथा सोचाईले कुनै अर्थ राख्दैनन्, यी व्यर्थ हुन् । जबसम्म विनाशवाद (निहिलिज्म) लाई विजय गरिँदैन, कुनै संस्कृतिले पनि त्यस्तो साँचो जग भेट्टाउन सक्दैनन् जसका आधारमा यसको विकास हुन सकोस् । त्यसैले नित्सेका लागि ईश्वरको मृत्यु भनेको तत्वमीमांशाको अन्त्य हो । कामु र नित्सेको ईश्वर प्रसंग कोइरालाको प्रसंग भन्दा धेरै फरक छ ।

"ममाथि धर्मको ठूलो असर परेको छ " – कोइराला 
कोइरालाको विचारमा माथिका दुई नास्तिकहरु जस्तो उष्णता देखिदैन । उनीहरु अत्यधिक नकारात्मक पनि छन् । कोइरालाले लेख्नुभएको छः "ममाथि धर्मको ठूलो असर परेको छ । तर कसैले सोेधे – 'बिहान नुहाउँछस् कि नुहाउँदैनस् ? जनै लगाउँछस् कि लगाउँदैनस्? टुप्पी छ कि छैन ?आस्तिक होस् कि नास्तिक होस् ?' मलाई यी प्रश्नहरु निरर्थक लाग्दछन् ।"

त्यसैगरि "देउता यस्ता हुन्छन् । चारमुखे शिवले सुनिरहेका होलान् । यो मलाई ृकोइरालालाईे पटक्कै लाग्दैन ।" शिव पुराणमा वर्णन भएका शिवको सम्बन्धमा जुन तथ्य छन् त्यो साँचो हो ? इतिहास हो ? भनी कसैले सोधे म प्रस्ट रुपमा होइन भन्ने छु भनेर कोइरालाले उल्लेख गर्नु भएको छ । गरुण पुराणमा मृत्युपछिको जीवनका बारेमा लेखिएको कुराहरुमा पनि वहाँलाई विश्वास छैन । यति कुराले नास्तिक हुने हो भने उहाँ नास्तिककै श्रेणीमा उभिन तयार हुनुहुन्छ । तर मन्दिरले उहाँलाई शितलता दिएको तथा पशुपतिनाथ वा विश्वनाथ गइरहने व्यक्ति हुनहुन्थ्यो ।

कोइरालाको कथन छः "मानवलाई एउटा भौतिक पदार्थ, भोजन इत्यादि चाहिन्छ । तर त्यसको साथसाथ एउटा त्यस्तो पनि तत्व चाहिन्छ, जो अर्को किसिमको खुराक, यो पेट भर्ने खुराक होइन कि त्यही धर्मले जुन खुराक दिएको छ, विश्वासको खुराक । जस्तो सूर्योदय हुन्छ, तपाईहरुले सूर्योदय हेर्दाखेरि मनमा एउटा प्रशन्नता आउँछ कि आउँदैन ? यो के हो ? देउता नमान्नुस्, धर्म नमान्नुस्, केही नगर्नुस्... रमाइलो लाग्नु नै, त्यो रमाइलोको अनुभूति हुनु नै त्यो धार्मिक अनुभूति हो । त्यसैबाट मानिसले एक कदम अगाडि बढेर भनिदिए 'देउता उदाए' ।"

मान्छेको जीवनमा करुणाको खाँचोका बारेमा कोइरालाले लेख्नुभएको छ । कामु र नित्से यस्तो मान्यता राख्दैनथे । कोइरालाको स्पष्ट भनाई छ "मलाई धर्मले, मन्दिरले कुनै किसिमको प्रभाव पारेको छ भने यसै किसिमबाट पारेको छ । मलाई यदि सुसंस्कृत बनाउँदछ, अर्काको दुख पीडामा संवेदनाको भावना ममाथि जागृत गर्दछ भने अरु कारणले पनि भएको छ, मन्दिरमा जाँदा मलाई झन् भएको छ ।" तर खाली के मात्र भने वहाँ मन्दिर गएर वा नगएर ईश्वरसँग दया माग्नुहुन्न । मलाई यसो गरिदेउ भन्नु हुन्न । कुनै दम्भले होइन । न त चाहिएभन्दा बढीको आत्मविश्वासले हो । कारण के हो भने "मभन्दा पनि वेसी खाँचो भएका मानिसहरु त्यहाँ पुगेका छन् र उसमा पूरा भरोसा पनि गर्दछन् । मैले त्यो देखिरहेको छु भने मेरो कुरा किन पूरा हुन्छ ? त्यसो हुनाले म भन्दा पनि भन्दिन, तर मन्दिरमा जाँदाखेरि मलाई एउटा संवेदनशिलताको, अर्काकाप्रति एउटा करुणाको भाव जागृत हुन्छ । मलाई लाग्दछ मेरो निम्ति मन्दिरको त्यो नै महत्व छ ।" वास्तवमा कोइरालाले आफूलाई प्रस्ट रुपमा संशयवादी (एग्नोस्टिक) भन्नुभएको छ । त्यो विचार गर्नुपर्ने कुरा हो । 'एग्नोस्टिक' भनेको धर्मसम्बन्धी मान्यतामा भएका संशयहरुलाई हटाउन नसकेको परिस्थिति हो । तर यो सोचाई त दार्शनिक बरुक स्पिनोजा र अल्बर्ट आइन्स्टाइनको पनि थियो । कोइराला र उनीहरु बीच के समानता छ त ? यो चाहिँ महत्वपूर्ण प्रश्न हो ।

'एग्नोस्टिक' कोइराला
भौतिक विज्ञानका सबैभन्दा ठूला वैज्ञानिक अल्बर्ट आइन्स्टाइन यहुदी थिए । उनलाई विभिन्न धर्महरुले प्रचार गरेजस्तो ईश्वरमा विश्वास थिएन । तर उनी आफुलाई अनीश्वरवादी भनी मान्दैनथे । यसरी आफ्नो सोचाई अलग राखिनुको उनको आफ्नै कारण थियो । आफूमा आफ्नो अस्तित्वको प्रवृत्तिका बारे बौद्धिक ज्ञान नभएका कारण आफूमा नम्र दृष्टिकोणको विकास भएको उनको सोचाई थियो । संसारको संरचनालाई जुन हदसम्म विज्ञानले वर्णन गर्न सकेको छ, त्यसप्रति उनी अचम्भित थिए । प्रकृतिमा रहेको सामञ्जस्यता यदि ईश्वर हो भने त्यस हदसम्म उनी आफूलाई ईश्वरपरस्त मान्दथे । यस अर्थमा ब्रह्माण्डको संरचना र यसको रीतिमा जुन अनुपम सिर्जना देखिन्छ, त्यसका अगाडि मान्छेको शक्तिको केही लाग्दैन । यसबारे आइन्स्टाइन सजग थिए । उनी डच दार्शनिक बरुक स्पिनोजाको भनाई मन पराउँथे । ईश्वरको अस्तित्व छ, तर त्यो अमूर्त र अव्यक्तिगत छ । प्रकृति र ईश्वरमा स्पिनोजाले फरक देखेनन् । कतिपयले ईश्वरको अस्तित्व मान्दैनन् तर ब्रह्माण्डका बारेमा भने निश्चय नै सोच्दछन् । कोइरालाको पनि यस्तो सोचाई थियो ।

कुनै अपारशक्तिमान ईश्वर विना पनि ब्रह्माण्डलाई वर्णन गर्न सकिन्छ भन्ने उनीहरुको दाबी हुन्छ । वैज्ञानिक अनुसन्धानले अन्धविश्वासलाई पखाल्छ । यसले मान्छेलाई कारण तथा परिणाम (कज एण्ड इफेक्ट) का रुपमा सोच्नलाई बाध्य गर्दछ । उच्चस्तरको प्रत्येक अनुसन्धानको पछिल्तिर संसारको तार्किकता र अबोधगम्यता रहेको देख्न सकिन्छ । त्यहाँ उच्चस्तरको मष्तिष्क देखिन्छ । यदि त्यो मष्तिष्कलाई ईश्वर भन्ने हो भने त्यहाँ एउटा तर्क अवश्य छ । आइन्स्टाइनको ईश्वरको अवधारणा त्यही हो । उनले ईश्वरको यस्तो अवधारणाका बारे प्रष्ट रुपमा उल्लेख गरे पनि मृत्युपछिको जीवन हुन्छ भन्ने कुरामा विश्वास गरेनन् । नैतिकताको कुरालाई पनि ईश्वरसँग जोडेनन् । नैतिकताको विषय सांसारिक हो भन्ने कुरामा उनी स्पष्ट थिए । यसको पछाडि कुनै दैव छैनन् । आफ्नो सृष्टिका जीवहरुलाई पुण्य प्रदान गर्ने वा सजाय गर्ने ईश्वर आइन्स्टाइनले सोचेको देखिँदैन । मनमा डर भएकाले यस्तो सोचिएको हो भन्ने उनको भनाई थियो । आफ्नै अनुहार जस्तो स्वयंकृत ईश्वर बालबालिकाको सोचाईजस्तो भएको भनी आइन्स्टाइनले भनेका छन् । यदि यस्तो हो भने अब्राहमले भनेजस्तो ईश्वर व्यक्तिको रुपमा सृष्टिकर्ता पनि होइन । न त तिनले रिस वा घमण्ड गर्दछन्, न त आफ्नो देवदूतहरुसँग वार्ता गर्दछन् । ईश्वरले कसैलाई सजाय गर्ने भन्ने पनि हुँदैन । कसैलाई पुल्कित गर्ने वा वरदान दिने भन्ने पनि हुँदैन । यी कथनहरुबाट प्रष्ट हुन्छ कोइराला र आइन्सटाइको सोचाईमा रहेको समानता ।

कतिपय अनीश्वरवादी मान्छे पछि गएर ईश्वरको शरणमा गएको पनि देखिन्छ । महात्मा गान्धीकी उपासक बेलायतकी एन्नी बसन्त ठूलो समाजवादी थिइन । उनको सुरुको अनीश्वरवादी सोच पछि ईश्वरवादी हुन पुग्यो । उनी हिन्दू बन्न पुगिन् । कति मान्छे कहिल्यै गलेनन् । जस्तो चिनीयाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङ्ग तथा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु जीवनपर्यन्त नास्तिक नै रहे । पहिलोले त धर्म र देवीदेवता सिद्धयाउन सांस्कृतिक क्रान्ति नै गरे । इजरायली नेता मोशेदायन वा गोल्डामेयर, सोभियत संघका महासचिव निकिता खुश्चेव, क्याम्बोडियाका क्रान्तिवीर पोलपोट, बेलायतका प्रधानमन्त्री जेम्स् कालाघान वा क्लेमेण्ट एटली कसैलाई पनि ईश्वरमा विश्वास थिएन । उनीहरु धर्म मान्दैन थिए । फ्रान्सेली क्रान्तिताका कतिपय राज्यहरुले देशलाई धर्म निरपेक्ष कायम गर्न चाहेनन् । उनीहरुले लाज नमानी राज्य अनीश्वरवाद (स्टेट एथिज्म) कै घोषणा गरेका थिए । सन् १९१७ को मेक्सिकोको संविधानले पनि यस्तै ग¥यो । माक्र्सवादी लेनिनवादी विचारमा ईश्वरको स्थान छैन । उन्नाइसौं शताब्दिमा इतिहास, अर्थशास्त्र तथा समाजशास्त्रका प्रगतिशील तथा चर्चित व्यक्ति मध्ये कार्ल माक्र्सको नाम सबैभन्दा अगाडि आउँछ । उनको भनाइमा धर्म भनेको अफिम हो, शोषित पीडित जनतालाई लट्ठ पार्न र क्रान्तितर्फ उन्मुख नहुने गराउन यसको सिर्जना गरिएको हो । रुसी क्रान्ति नायक भ्लादिमिर लेनिनले पनि त्यस्तै भन्थे । तर धर्म कहिल्यै मासिएन । यो पक्षको अर्को विश्लेषण हुन सक्छ । कोइराला यो हदसम्म गएको देखिँदैन ।

कोइरालाकै साहित्यिक समकालीन स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटोले आफूलाई नास्तिकहरुकै सूचीमा उभ्याएको पाइन्छ । वहाँ क्यान्सर रोगबाट जानुभयो । खण्डकाव्य मुनामदन (ईश्वर तैले रचेर फेरि...) वा यात्री कविता (भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँड्छौ कुन पुर ? ईश्वर बस्दछ गहिराईमा, सतह बहन्छौ कति दूर?...) बाट देवकोटाको पर्याप्त मूल्यांकन हुन सक्छ । बाँच्ने आस नभएपछि अन्तिम प्राण त्याग्न लगिएको ठाउँ पशुपति आर्यघाटबाट फर्काइएपछि वहाँलाई शान्तभवन अस्पताल लगिएको प्रसंग चर्चित छ । त्यहाँ वहाँले आफ्ना साथी हरि श्रेष्ठका लागि जीवनको अन्तिम कविता लेख्नु भएको थियो । एउटा नास्तिकको सरल उपमा पाएका उनको नास्तिक हुनुको वेदना अन्ततः यस्तो थियोः

संसार रुपीसुख स्वर्गभित्र । रमे रमाएँ लिई भित्रचित्र ।।
सारा भयो त्यो मरुभूमितुल्य । रातै परेझैं अब बुझ्छु बल्ल ।।
रहेछ संसार निशा समान । आएन ज्यूँदै रहँदा नि ज्ञान ।।
आखिर श्रीकृष्ण रहेछ एक । न भक्तिभो ज्ञान, न भो विवेक ।।
महामरुमा कणझैं म तातो । जलेर मर्दो लिनु आश लाटो ।।
सुकिरहेको तरुझैं छु खाली । चिताग्नी तापी जल डाल्न थाली ।।
संसार आफ्नो सब नै गुमाएँ । म शून्यमा शून्यसरि बिलाएँ ।।
जन्मेँ म यो स्वर्गविषे पलाएँ । आखिर भई खाक त्यसै बिलाएँ ।।

देवकोटाको यो मृत्युकालीन प्रसंगको बारेमा कोइरालाले लेखे बोलेको देखिँदैन । उहाँको आफ्नै मृत्युकालिन धारणा कस्तो थियो ? मृत्युको मुखमा उहाँले ईश्वरका बारेमा केही भन्नुभयो कि ? क्यान्सरको बिरामीको दिमागी अवस्था सँधै शून्य हुँदैन । वहाँका आफन्त र अन्तिम दिनका सहयोगीहरुले भन्न सक्दछन् । तर कतिपय आस्तिकहरु ईश्वरसँगको हिसाबकिताब नमिलेर कुनै बेला नास्तिक भएका पनि देखिन्छन् । जस्तो आदिकवि भानुभक्त आचार्य पछिका अर्का कवि पतञ्जली गजु¥यालको नाम यहाँ लिन सकिन्छ । उनी भानुभक्तभन्दा नौवर्ष कान्छा थिए । उनलाई ईश्वरवादी (वा प्रभुपरस्त) भने पनि हुन्छ । हरिभक्तमाला उनेलै लेखेका हुन् । त्यसमा पनि उनले काशीवास गरी केही वर्ष लगाएर ज्योतिषशास्त्र नै पढेका थिए । यति ईश्वरवादी भए पनि एक ठाउँमा उनले यस्तो लेख्न पुगेका रहेछन्ः

"बाब्बा तपस्विले पियार गरि मागे माया । 
माया रहेनछ हजुरसँग सास्ति खायाँ ।"

कसैले यति ठाडो गरी सास्ती खाएको कुरा लेख्दैनन् । कवि शिरोमणी लेखनाथ पौड्यालको कृति तरुण तपसी' मा लेखिएको छ ः

"यो दुख भोग्ने परमेश्वरै हो ।
यो देह उनको रहने घरै हो । 
यो भत्कँदा दुख अवश्य मान्छ ।
सुटुक्क सामान लिएर जान्छ ।"

प्रारब्धको कुरा
"म प्रारब्धलाई मान्दछु । मैले आफ्नो बाबुआमा आफैं चुन्न पाइँन । पहिले नै चुनिए । मैले समाज चुन्न पाइन । पहिले नै चुनियो । मैले आफ्नो बुद्धिको क्षमता चुन्न पाइँन, मैले आफ्नो छाला गोरो कालो कस्तो हुने हो त्यो चुन्न पाइँन । यी धेरै महत्वपूर्ण कुराहरु पहिले नै कसैले चुनेर मलाई दिइदिए । त्यही हो प्रारब्ध । त्यही हो नियति ।"जीवनमा यसको महत्व कोइरालाले देख्नुभएको छ ।

अधिकारी संवैधानिक कानुनका विज्ञ हुनुहुन्छ । वहाँद्वारा संकलित बीपी कोइराला आर्काइभ्स् एण्ड रेकर्डस् (bipinadhikari.com.np/bpkoirala-archives) पनि इन्टरनेटमा उपलब्ध छ ।