कांग्रेसको अबको गन्तव्य ?

 २०७२ फाल्गुन १९ बुधवार

सन् २०१० मा पंक्तिकारलाई रिचार्ड लिनद्वारा लिखित ‘मेन इन ह्वाइट: अनटोल्ड स्टोरी अफ सिंगापुर्स् रुलिङ पोलिटिकल पार्टी’ भन्ने पुस्तक पढ्ने अवसर जुरेको थियो ।

आजको सिंगापुरको पिपल्स् एक्सन पार्टी (पीएपी) का बारेमा यो एउटा सर्वाधिक प्रसिद्ध पुस्तक हो । सन् १९५९ देखि यो पार्टी लगातार सत्तारुढ रहन सकेको छ । यसको संस्थापक कानुनविद् लि क्यान यु थिए । चौधौँपटक पनि आमनिर्वाचन जित्न सकेको यो दल कुन रूपमा स्थापना भयो ? कसरी अगाडि बढ्यो ? यसका आदर्शहरू के–के थिए ? त्यसका लागि यसले कस्ता–कस्ता संगठनात्मक अभ्यासलाई निरन्तरता दियो ? एउटा गरिब तेस्रो विश्वको मुलुक यो अवधिमा कसरी सामाजिक, आर्थिक तथा राजनीतिक रूपमा सिंगापुरका लागि एउटा बलियो राष्ट्रिय शक्तिका रूपमा परिणत भयो ? आफ्नो सानो देशको सार्वभौमसत्तालाई बेलायत, चीन तथा अमेरिकाको क्रीडास्थलका रूपमा रहेको तत्कालीन एसिया–प्रशान्त जस्तो संवेदनशील क्षेत्रमा निरन्तर कायम गर्दै आफूलाई कसरी छोटो समयमै प्रथम विश्वको श्रेणीमा उभ्याउन सक्यो भन्ने कुरा कसैका लागि पनि एउटा रोमाञ्चक कथाजस्तो लाग्न सक्छ । राष्ट्रपिता लि क्यान यु स्वयंले यसका बारेमा धेरै लेखेका छन् । तथापि मुलुक निर्माणमा पिपुल्स एक्सन पार्टीको स्थापनाकालीन आदर्श, यसको व्युहरचना र योगदानलाई उक्त पुस्तकमा सविस्तार केलाउन खोजिएको छ ।

सिंगापुरमा जसरी जेठो दल पिपल्स एक्सन पार्टीको स्थापना भएको हो, लगभग त्यस्तै परिस्थिति र परिवेशमा नेपाली कांग्रेसको स्थापना भएको हो । कांग्रेससरहकै स्थापनाकालीन सिद्धान्तहरू, प्रजातन्त्र, समाजवादप्रतिको आकांक्षा, आर्थिक–सामाजिक तथा राजनीतिक रूपान्तरणको एजेन्डा तथा सुरक्षित राष्ट्रवादको अवधारणा आदि मूल्यमान्यतालाई आधार बनाएर पीएपीले राजनीति सुरु गरेको हो । दुवै पार्टीका नेतृत्व कानुन पढेका र समाजवादी आन्दोलनप्रति निष्ठा भएका व्यक्ति थिए । दुवै अत्याधुनिक मानिन्थे । दुवैले विदेशमै रहँदा देशप्रतिको रणनीति बनाएका थिए । दुवैमा स्वाभिमान थियो । प्रचुर क्षमता थियो । दुवै पार्टीले आन्तरिक तथा बाह्य चुनौतीको सामना गरी हिँड्नुपर्ने अवस्था थियो । एउटाले राणाविरुद्ध लडेका थिए भने अर्कोले उपनिवेशवादविरुद्ध । कालान्तरमा के देखिन्छ भने पीएपी आज पनि त्यत्तिकै उर्वर र शक्तिशाली छ, कांग्रेस छैन । यो एउटा ‘एभरेज' पार्टीमा सीमित भएको छ । आजको वर्तमान अकर्मण्यतामा रहिरहने हो भने सम्भवतः कांग्रेसको भविष्य पनि उत्साहप्रद देखिँदैन । यस्तो किन भएको होला ?

नेपाली कांग्रेस एउटा राजनीतिक संगठन हो । यो लुटी ल्याउने र भुटी खाने उद्देश्यले स्थापना गरिएको थिएन । मूलतः संगठन भनेको घर, टहरा, भवन वा कर्मचारी वा बजेट नभई संस्थागत गरिने उद्देश्य, मूल्य–मान्यता तथा कार्यविधि एवं निर्णय गर्दा अपनाइने संस्थापित प्रचलनहरू हुन् । यस्ता मूल्य–मान्यता तथा कार्यविधि प्रस्ट छन् भने संगठन सडक, स्वयंसेवक तथा नागरिक श्रमदानबाट पनि चल्न सक्छ । अन्यथा संगठन स्वार्थउन्मुख जत्थाका रूपमा परिणत हुन्छ । नेपाली कांग्रेस राजनीतिक दल हो भन्नेमा दुविधा हुनु हुँदैन । तथापि संगठन राजनीतिका मर्यादा वा घोषित मूल्य–मान्यताका आधारमा चलेको छ कि छैन ? काम स्वार्थमुखी समूहले गर्दैछ कि संगठनले ? त्यसतर्फ सचेत हुनुपर्ने अवस्था छ।

स्थापनाकालीन मान्यता हेर्दा कांग्रेस ‘एलिट' वा ‘ककस' ले चलाउने राजनीतिक दल होइन । यो ‘मास' पार्टी हो । यस्तो पार्टीबाट ठूलाठालूले मात्रै सार्वजनिक नीति निर्माण, निर्णय वा कार्यान्वयन गराउन सक्दैन । त्यसैले नै पार्टीभित्र बृहत्तर प्रतिनिधिमूलक संरचना बनाइन्छ । तिनले विशिष्टीकरणका आधारमा नीतिगत विषयमा निरन्तर छलफल गर्दछन् । घोषित नीति–कार्यक्रमबमोजिम चल्छन् । सम्पूर्ण संरचना चलायमान छ भने मात्र संगठन चलायमान हुन्छ । संगठनभित्र उक्त दलले अपनाउने नीति वा प्रतिरक्षा गर्ने कार्यक्रमका बारेमा निरन्तर सैद्धान्तिक छलफल, अभ्यास भइरहनु पर्दछ । संगठनले यसैका आधारमा शक्ति आर्जन गर्दछ । त्यसरी आर्जित शक्तिको प्रयोग कार्यक्रम कार्यान्वयनमा गर्दछ । नीति तथा कार्यक्रमसम्बन्धी विषयवस्तुमा कांग्रेसमा संगठनात्मक प्रवृत्ति कत्तिको छ, यसको प्रभावकारिता विचार गर्नुपर्ने विषय हो ?

कुनै पनि पार्टी कर्मक्षेत्रमा आफ्नो घोषित सिद्धान्त र कार्यान्वयन गर्ने कार्यक्रमको गतिशीलताका आधारमा राम्रो र बलियो हुने हो । शक्ति आर्जेर प्राप्त गर्नुपर्ने कुरा हो । यसका लागि संगठनले जहिले पनि ‘नरम शक्ति' का आधारमा निर्णय गर्नुपर्छ । नयाँ जोस–जाँगर, उत्साह र प्रतिबद्धता भएका युवायुवतीको निरन्तर खोजी गरिनुपर्छ । जसरी अचेल संसारभरिका स्कुल कलेजहरूले ‘फेयर' आयोजना गरी प्रतिस्पर्धाशील भएर आफ्ना लागि योग्यतम् विद्यार्थी खोजेजस्तै गतिशील हुन चाहने पार्टीले प्रतिस्पर्धात्मक आधारमा र केही गर्ने चाहना भएका चरित्रवान् सुशिक्षित युवालाई संगठनमा ल्याउन सक्नुपर्दछ । अयोग्य, अदक्ष, काम गर्ने संस्कार नभएको र चरित्रविहीन कार्यकर्ताले पार्टीलाई रसातलमा पुर्‌याउँछन् । हरेक पार्टी एउटा सार्वजनिक संस्थाका रूपमा चल्नुपर्छ । अचेल कुनै पनि सार्वजनिक संस्थामा भर्ना लिँदा ‘हेल्पर', ‘कुक' वा ‘स्विपर' जस्ता कामका लागि पनि योग्यता परीक्षण अनिवार्य मानिन्छ । पार्टी संगठनमा पनि यो उत्तिकै आवश्यक हुन्छ । जस्तो योग्यता भए पनि राजनीति गर्न पुग्छ भन्ने सोचाइले पार्टीमा निरन्तर उत्साह थप्न सक्दैन । कांग्रेसको गतिशीलताका लागि गतिशील कार्यकर्ताको खाँचो टड्कारो देखिएको छ ।

राजनीतिक अभीष्टले मात्र राजनीति चल्दैन । यसलाई चलाउन ‘ग्रासरुट्स्' तहका मात्र नभई नेतृत्वप्रदायक, समाजले पत्याउने, क्षमतावान्, इन्जिनियर, डाक्टर, वकिल, प्राध्यापक, वरिष्ठ कर्मचारी, सेना, प्रहरी वा आर्थिक क्षेत्रमा उपलब्धि हासिल गरेका विशिष्ट उद्योग–व्यवसायीलाई पनि समेट्दै लैजानु पर्दछ । संगठनभित्र विभिन्न पेसा, व्यवसाय वा क्षेत्रमा काम गरी अनुभव वा योग्यता हासिल गरेका दिग्गज वा व्यावसायिक नेतृत्वलाई पनि समावेश गराउनुपर्दछ । व्यावसायिक नेतृत्वको विकासका लागि संगठनको जनाधार सर्वपक्षीय हुनुपर्ने आवश्यकता सबैले महसुस गर्नुपर्छ । कांग्रेस यस पक्षमा कमजोर नै देखिएको छ ।

सबल एवं दूरदृष्टि भएको राजनीतिक नेतृत्व निर्माणको चुनौती हरेक पार्टीका लागि दुरुह हुँदै आएको छ । राम्रो, पढेलेखेको, चरित्रवान् तथा सिद्धान्तनिष्ठ एवम् उमेरदार नेतृत्व हरेक पार्टीका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ । नेतृत्व निर्माण क्रमशः हुने गर्छ । यसका लागि आजको नेतृत्वले असल हृदय राख्नुपर्छ । हरेक तहमा पार्टीभित्रका प्रक्रिया तथा पारदर्शी कामकारबाहीका आधारमा सबैले समान अवसर पाउने हो भने क्रमशः स्थानीय, प्रादेशिक तथा केन्द्रीय नेतृत्व बन्दै जान्छन् । केन्द्रीय नेतृत्वको प्रतिस्पर्धाका आधारमा राष्ट्रिय नेतृत्वको चयन हुन्छ । यसले सम्पूर्ण पार्टीलाई संगठनात्मक गति प्रदान गर्दछ । आफ्नो कार्यावधि पूरा भएपछि पुरानो नेतृत्व स्वतः पाखा लाग्नुपर्छ वा नयाँ नेतृत्वलाई सहयोग प्रदान गर्न समर्पित हुनुपर्छ । स्थापित नेतृत्वले आफूलाई विकल्पविहीन मान्नु हुँदैन । एउटै पदमा जित्नेले पनि दुईपटक भन्दा बढी र हार्नेले पनि दुईपटक भन्दा बढी हार्नु सांगठनिक उद्देश्यको हिसाबले सही देखिँदैन । कांग्रेस नेतृत्वपीडित पार्टी हो । विकल्पलाई बाटो छोडिएन भने यसको पीडा कम हुने छैन ।

अत्याधुनिक मूल्य–मान्यता र विश्वस्तरको सैद्धान्तिक धरातलमा स्थापित हिजोको कांग्रेसभित्र आज अग्रगामी सोचहरू स्थिर एवं बौद्धिकताविहीन नेतृत्वको सिकार भएका छन् । आधुनिकीकरणको एजेन्डा छैन । पार्टीले आफ्नो पुराना ‘एली' हरू छोडेर हिँडिसकेको छ । नयाँ बनाउन सकेको छैन । भ्रातृ संगठन कमजोर हुँदै गएका छन् । बेरोजगार तथा विद्यार्थीलाई प्रयोग गरी राजनीति निर्वाह गर्ने प्रचलन स्थापित भएको छ । समसामयिक नीतिगत विषयमा पनि पार्टीमा स्थापित दृष्टिकोण छैन । जस्तो– भारतले गरेको नाकाबन्दीविरुद्ध पार्टीले नीतिगत निर्णय लिन सकेन । चीनसँग पारवहन सम्झौता, ग्यास र पेट्रोलको पाइपलाइन र आकस्मिक सहयोग सम्बन्धमा कांग्रेसको सांगठनिक मान्यता प्रस्ट हुन सकेनन् । मधेसमुखी पार्टीहरूलाई मूलधारमा ल्याउने सम्बन्धमा पनि पार्टीको सैद्धान्तिक पक्ष प्रस्ट हुन सकेन । यस्तो शिथिल अवस्थामा अत्याधुनिक मूल्यमान्यताको निर्वाह हुन नसक्ने प्रस्टै छ ।

कुनै पनि राजनीतिक दल चलाउन आर्थिक आधार चाहिन्छ । सबैभन्दा तुच्छतम् आर्थिक आधार भनेको चन्दा असुली हो । चन्दा असुल्ने पार्टीले भ्रष्टाचार गर्ने बाध्यता स्वीकार गर्नुपर्दछ । कांग्रेसले गत आर्थिक वर्षमा कति चन्दा प्राप्त गर्‌यो ? त्यो चन्दा ककसले दियो ? प्राप्त गरेको रकमको सरकारलाई कर तिरिएको छ कि छैन ? खर्चबर्चको हिसाब आमकार्यकर्ताका लागि अनलाइन गरिएका छन् कि छैनन् ? पार्टीभित्र आर्थिक रूपमा अपचलन भएको छ कि छैन ? यी विषय पारदर्शी र चरित्रप्रधान पार्टीका लागि अत्यावश्यक विषय हुन् । यसमा चुकेको पार्टी कसरी लोकप्रिय बन्न सक्छ ?

आर्थिक आधारका लागि आर्थिक सोच चाहिन्छ । आर्थिक आधार सिर्जना गर्न दह्रो आर्थिक लगानी र सोका आधारमा आर्थिक क्षमता निर्माण गर्नुपर्दछ । आजभोलि कतिपय बलिया पार्टीहरूले संयुक्त पुँजी कम्पनी, बैंक तथा वित्तीय संस्था वा सेयरबजारमा लगानी गरी आफूलाई चाहिने पुँजीको सिर्जना गरेका छन् । चुनाव लड्दा सरकारबाट आर्थिक सहयोग लिने तथा अन्य कामकारबाही आफ्नै क्षमताका आधारमा गर्ने पार्टी चरित्रप्रधान तथा जनमुखी भई निस्कन सक्छन् । यसतर्फ कांग्रेसले के सोचेको छ ? के वित्तीय विशेषज्ञहरूको सहयोग लिई आर्थिक पूर्वाधार निर्माण गर्न ढिलाइ भइसकेको होइन त ?

कांग्रेसमा सधैँ सरकारमै रहनुपर्दछ भन्ने बलियो लवी विद्यमान छ । सरकारमा जाने आकांक्षा भएन भने संगठनले आफ्नो उद्देश्य प्राप्त गर्न सक्दैन । तर जुनसुकै तरिकाले भए पनि सधैँ सरकारमै हुनुपर्छ भन्ने मान्यताले कुनै पनि पार्टीलाई अन्तर्मुखी भई मूल्यांकन, पुनः संरचना, आफ्नो संगठन विस्तार वा क्षमता निर्माणतर्फ उदासीन बनाउन सक्छ । वैकल्पिक सरकारका रूपमा प्रतिपक्षमा रहँदा प्रत्येक पार्टीलाई आफ्ना कामकारबाहीका बारेमा विवेचना गर्ने अवसर प्राप्त हुन्छ । यो अवसरको प्रयोग कांग्रेसले गर्न सकेको देखिँदैन । राजीनामा गर्ने प्रधानमन्त्री राजीनामाको अक्षर सुक्नुभन्दा पहिल्यै अर्को उम्मेदवारीमा दिन हतार गर्छन् । आफ्नो सरकारले गरेको कामकारबाहीमा पार्टी संयन्त्रमा समीक्षासमेत भएको हुँदैन, सरकार झार्ने कुरामा कसरत सुरु भइसक्छ । सत्तामा हुँदा सरकारलाई विविध प्रकारका सीमाहरूले बाँधेका हुन्छन् । तर प्रतिपक्षमा हुँदा उन्मुक्त वातावरणमा सही निर्णय गर्न सकिने हुन्छ । त्यसका आधारमा संगठनलाई अगाडि बढाउने ऊर्जा प्राप्त हुन सक्छ । यस विषयमा कहीँ चुक भएको छ कि ?

अहिले कांग्रेस महाधिवेशनको चरणमा छ । पार्टी नेतृत्व कसले गर्ने ? को संस्थापन पक्ष, को वैकल्पिक नेतृत्व भन्ने विषय तातो बहसको विषय छ । संस्थापन भनिने पक्षले पनि आफ्नो उत्तराधिकारी घोषणा गरेर गएको छैन । वैकल्पिक नेतृत्व पनि पुरानै नेतृत्व हो । केका आधारमा यसलाई वैकल्पिक मान्ने भन्ने प्रस्ट छैन । जसले व्युह रचनाबाट नेतृत्व स्थापित हुन्छ कि भन्ने ठानेका छन्, उनीहरू पनि लागेकै छन् । तर नेतृत्वमा उठ्ने नेताहरूले आफ्नो आदर्श प्रस्ट्याएको पाइँदैन । नेतृत्वमा दाबी गर्नेले आफ्नो नीति, सिद्धान्त तथा कार्यक्रमको दस्ताबेज अघि सार्नु पर्दैन ? अनि त्यसैका आधारमा प्रस्तावित नेतृत्वले आफूलाई डिफेन्ड गर्नु पर्दैन ? नेतृत्व चयन उमेरका आधारमा पालो पर्खिने काम बन्न पुगेको छ । यस विषयमा पार्टीको आमकार्यकर्ता जागरण चाहिएको छ । भोट हाल्दा योग्यता र क्षमताको परख नहुने मतदाता संगठनका लागि मात्र नभई मुलुककै लागि पीडादायक मानिनु पर्दछ ।

कांग्रेसका लागि अहिले सबैभन्दा अहम् प्रश्न भनेको राष्ट्रिय एकताको संवद्र्धन हो । देशमा नयाँ संविधान जारी भएको छ । तर यसले महिला, दलित, जनजाति, मधेसी तथा पछाडि परेका क्षेत्रहरूलाई आडभरोस दिन सकेको छैन । संविधानमार्फत आएका परिर्वतनका एजेन्डालाई कार्यान्वयन गर्न संवेदनशील भई लाग्नुपर्ने अवस्था छ । संविधानद्वारा स्थापित परिमार्जित संसदीय व्यवस्था, संघीय शासन पद्धति, विस्तारित मौलिक अधिकार, समावेशी तथा समानुपातिक प्रतिनिधिमूलक प्रणालीलगायतका परिवर्तनका लागि निष्ठा मात्र काफी छैन । यसका लागि पार्टीले आफ्नो व्यापक रूपमा प्रजातन्त्रीकरण तथा राजनीतिक वृत्तको रूपान्तरणमा व्यापक रूपमा क्षमता विकास एवम् परिवर्तन गर्नुपर्ने हुन्छ । तर यसतर्फ पार्टी संयन्त्र त्यति जागरुक देखिँदैन ।

मुलुकमा एकातिर यथास्थितिलाई सघाउ पुर्‌याउने उग्रवादी नारा उठेका छन् भने अर्कोतिर प्रजातन्त्रका नाममा अराजकतालाई सघाउ पुर्‌याउने खालका कामकारबाही हुँदैछन् । यो परिस्थिति नेपालको लागि नयाँ होइन । बीपी कोइरालाले स्वयं ‘तथाकथित राष्ट्रवादीहरूको क्रियाकलापले विदेशी हस्तक्षेपलाई सजिलो पार्न थालेको छ भने तथाकथित प्रजातन्त्रवादीहरूको कारबाहीले पनि त्यसैलाई सफल बनाउन थालेको छ' भनी २०३८ सालतिरै भनेको सर्वविदितै छ । ‘नेपालको लागि उग्रवाद र अराजकताको विलास अत्यन्त घातकसिद्ध छ ।' यसबाट देशलाई बचाउन कांग्रेस नेतृत्वदायी हुनुपर्दछ । जसले वर्षौंदेखि नेतृत्व क्षमता देखाउन सकेको छैन, उसले अब देखाउँछ कि भन्ने सोचाइ अतिरञ्जित हो । म रिचार्ड लिनद्वारा लिखित उपरोक्त ‘मेन इन ह्वाइट' भन्ने पुस्तक कांग्रेसवृत्तलाई पुनः सिफारिस गर्न चाहन्छु ।

अन्ततः कांग्रेस राष्ट्रिय मेलमिलाप र राष्ट्रवादको एजेन्डामा कमजोर देखिनु हुँदैन । सामाजिक न्याय र देशप्रतिको आशा र विश्वासकै आधारमा सबै नेपाली भविष्यमुखी बन्न सक्छन् । बालकृष्ण समको उद्गार नै छ, ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि ।’ सबै नेपालीलाई एक सूत्रमा बाँध्ने सबैभन्दा बलियो डोरी राष्ट्रवादको डोरी नै हो । यो डोरी कांग्रेसले कति कसिलो बनाउन सक्छ, त्यसका आधारमा यसको भविष्यको मूल्यांकन गर्नुपर्ने हुन्छ । के उपरोक्त गन्तव्यका लागि कांग्रेस तयार छ ?

(अधिकारीद्वारा हालै आयोजित प्राध्यापकहरूको एक भेलामा प्रस्तुत कार्यपत्रको सम्पादित अंश ।)

अधिकारी संवैधानिक कानुनका अध्येता हुन् ।