बीपीले किन गरे मेलमिलापको कुरा?

Dr Bipin Adhikari

राष्ट्रिय मेलमिलापको नीति अत्यन्त महत्वपूर्ण राजनीतिक सिद्धान्तमा आधारित हुँदाहुँदै पनि यसबारे पर्याप्त अध्ययन भएको देखिँदैन। केही वर्षअघि एउटा कार्यक्रममा सहभागी हुन जाँदा सँगै गएका एक व्यवसायिक साथीलाई मैले सोधेको थिएँ– …नेपालको इतिहासमा सन् १९७६ केका लागि महत्वपूर्ण छ?' उनले भने, …त्यही वर्ष चीनमा सांस्कृतिक क्रान्तिले विश्राम पाएको थियो।' कुरा ठीकै थियो। 

हाम्रो छिमेकमा वा बाँकी संसारमा हामीलाई चासो हुनसक्ने धेरै कुरा सन् १९७६ मा भएका होलान्। नेपालकै इतिहासको वा यहाँ गरिएका प्रजातान्त्रिक आन्दोलनहरुका सन्दर्भमा कुरा गर्दा सन् १९७६ जोडिएर आउने राष्ट्रिय मेलमिलापको नीतिको विशेष महत्व छ। यसै नीतिका कारण नेपालको आन्तरिक राजनीति तथा बाह्य सुरक्षा संवेदनशीलताका सम्बन्धमा नेपालमा एउटा नयाँ दृष्टिकोण स्थापित हुन गएको थियो।

सन् १९७६ मा स्व. कोइराला नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलापको नीतिको घोषणा गर्दै निर्वासनबाट नेपाल फर्किनु भएको थियो। वहाँको भनाई के थियो भने प्रजातन्त्र पुनर्स्थापनाको लडाइँ नेपालको ठूलो चुनौती भए पनि हालमा त्योभन्दा पनि ठूलो चुनौती राष्ट्रिय स्वाधीनतामा देखा परेको संकट नै हो। देशमा रहेको आन्तरिक विवाद – विशेषगरी प्रजातन्त्रको पुनर्स्थापनाका सम्बन्धमा भएको संघर्ष – का कारण राष्ट्रिय शक्तिहरु छिन्नभिन्न हुँदा अराष्ट्रिय पक्ष एवम् वैदेशिक तत्वहरुबाट नेपालको राष्ट्रिय अखण्डता, यसको स्वतन्त्रता एवम् निरपेक्ष अस्तित्वमा खतरा उत्पन्न भएको वहाँको निष्कर्ष थियो। 
 
नेपाल मुलुकको राष्ट्रिय सुरक्षाप्रति संवेदनशील हुँदै स्व. कोइरालाले घोषणा गर्नुभएको थियो – “राजासँगको जो हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौं। त्यसलाई परिसीमित गरौं। एउटा परिधि बनाइदिउँ। त्यस परिधिभित्र त्यस संघर्ष, विवाद र झगडालाई सीमित राखौं। बाहिरको खतरालाई हामीले ध्यान दिउँ। मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो। तर अहिले त मलाई त्यसको धेरै अनुभव छ। पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वको विषय थियो भने आज यो प्रथम महत्वको हुन आएको छ।” देशको सुरक्षाका लागि प्रजातन्त्रको पुनर्स्थापनाको लडाइँलाई वहाँले हालका लागि तामेलीमा राख्ने निर्णय लिनुभएको थियो। वहाँले प्रजातन्त्रका लागि लडेको लडाइँले कुनै वैदेशिक राष्ट्रको नेपालमा हस्तक्षेप गर्ने वा यसलाई आफ्नो नियन्त्रणमा राख्ने आधार तयार नगरोस् भन्ने चिन्ता वहाँमा टड्कारो देखिन्थ्यो। राष्ट्रिय मेलमिलापको नीतिको यो स्पष्ट पृष्ठभूमिको पछाडि कोइरालाका आफ्ना विश्लेषणहरु थिए। तर डिसेम्बर ३०, १९७६ मा वहाँले नेपाली जनतालाई गरेको अपीलमा ती सबै विश्लेषण खुलाइएका थिएनन्।
 
वास्तवमा सन् १९७० को पहिलो पाँच वर्ष शीतयुद्ध कालका सकसपूर्ण वर्षहरु थिए। सन् १९७१ को पूर्वी पाकिस्तानको मुक्ति युद्ध (लिवरेसन वार) पछि बंगलादेश स्वतन्त्र भयो। त्यहाँ अवामी लिगका शेख मुजिवर रहमानले सत्ताको बागडोर लिए। यो लडाइँलाई कोइरालाले पनि नैतिक समर्थन तथा हतियार समेतको सहयोग गर्नुभएको थियो । तर नवोदित बंगलादेश भारत–पाकिस्तान बीचको द्वन्द्वको गोटीका रुपमा प्रयोग हुन थाल्यो। यसै पृष्ठभूमिमा भारत–पाकिस्तान युद्ध भएको थियो। बीपीले यस सम्बन्धमा आफ्नो पीडा आत्मवृत्तान्तमा उल्लेख गर्नुभएको छ। यसैबेला युगाण्डामा दादा इदिअमिन्ले 'कू' गरी शक्ति हातमा लिएका थिए। उत्तर आयरल्याण्डमा बेलायती सेनाले आइरिसहरु माथि दमन गर्दै आम नरसंहार गर्न पुगेको थियो। यसलाई इतिहासमा 'ब्लडी सन्डे म्यास्सेकर' भनिन्छ। यसलगत्तै फिलिपिन्समा राष्ट्रपति फर्डिनान्ड मार्कोसले सैनिक शासनको सुरुवात् गरे।  
 
यो अवधिमै युरोप र एसियाको बीचमा रहेको मुलुक टर्कीले साइप्रसलाई कब्जा गरी जबरजस्ती आफ्नो आधिपत्यमा ल्यायो। भारतले अनेक प्रपञ्च रची आफ्नो सानो उत्तरी छिमेकी सिक्किमलाई आफूमा विलय गर्‍यो। केही पर पूर्वी एसियामा इण्डोनेसियाले अर्को सानो मुलुक इस्ट टिमोरको त्यही हालत गर्‍यो। अमेरिकी सहयोगमा राजतन्त्रात्मक मुलुक इथियोपियाबाट राजतन्त्र हटाउने कार्यबाही पनि सुरु भयो। हटाइएका राजाको पछि हत्या गरिएको थियो। भियतनामी युद्धको समाप्तिपछि त्यहाँ संसारले युद्धको विभिषिकाको नारकीय स्वरुप पनि देख्यो। यसको छिमेकी कम्बोडियामा शक्तिराष्ट्रहरुको फोहरी उत्पादनको रुपमा माओवादी संगठन 'खमेर रुज' ले सत्ता कब्जा गर्‍यो तथा गृह युद्धको सुरुवात् गर्‍यो। उता चिनीया क्रान्ति सम्पन्न गर्दै आएका माओत्से तुङ्ग आफ्ना बेथितिहरु तह लगाउन नपाउँदै बित्न पुगे। यो सम्पूर्ण क्षेत्र नै अस्थिरताको त्रासमा थियो। सबैका कारण बाह्य थिए। आन्तरिक कारण गौण थियो।  
 
वास्तवमा ठूला छिमेकी भारत र चीन बीच रहेको नेपालका लागि यी वर्षहरु अत्यन्त चुनौतीपूर्ण थिए। एक त मुलुकको अवस्थिति भीरमा फलेको फर्सी जस्तो थियो। अर्को छिमेकीहरु स्वराज प्राप्तिका लागि आन्दोलन गर्न सफल भए पनि देश चलाउने कुरामा आलाकाँचा नै थिए। चीनमा असफल हुन गएको सांस्कृतिक क्रान्ति र भारतको प्रजातन्त्रले जन्माएको इन्दिरा गान्धी यी दुई उदाहरण नै परिस्थिति बुझ्न काफी थिए। यस्तोमा विरोधी फालेर बलिया भएका नेपालका राजाले पनि मुलुकमा आफ्नो नियन्त्रण हराउँदै गएका थिए। नेपालको दरबार एवम् शक्ति संयन्त्रमा विदेशीहरुको प्रभाव चिन्ताको विषय बनेको थियो। विदेशमा बसी प्रजातन्त्रको पुनर्स्थापनाका लागि संघर्ष गरिरहेका कोइरालाका लागि आफ्नो आन्दोलन कसैको नेपाल विरुद्धको व्यूह रचनाको हतियार नबनोस् भन्ने चिन्ताको परिणति थियो – उक्त राष्ट्रिय मेलमिलापको नीतिको घोषणा। यसभन्दा बढी कोइरालाका मनमा केके थियो हामीसँग संसूचना छैन। तर राष्ट्रिय सुरक्षाको चिन्ता आफूलाई जस्तै राजालाई पनि अवश्य नै होला भन्ने निष्कर्षका आधारमा मुलुक जोगाउनका लागि सहकार्यको प्रस्ताव गर्दै बीपी स्वदेश फर्किनु भएको कुरा कोइरालाले पटकपटक उल्लेख गर्नुभएको छ। यो कुरामा राजालाई विश्वास दिलाउने, आन्तरिक मतभेदहरुको समाधान गरी राष्ट्रिय एकता स्थापना गर्ने तथा त्यसैका आधारमा प्रजातन्त्रलाई पुनर्स्थापना गराउने कुरा बीपीले आफ्ना अभिव्यक्तिहरुमा कतै लुकाएको देखिँदैन। 
 
यहाँ के जोड्नु जरुरी छ भने जुन व्यक्तिसँग राष्ट्रवाद हुँदैन, उसले सुरक्षा नीतिको कुरा गर्दैन। नेपालको त्यस्तो परिस्थितिमा देशको सुरक्षाको कुरा गर्ने कोइराला आफू स्वयम् कति असुरक्षित हुनुहुन्थ्यो भनी अन्दाज मात्र गर्न सकिन्छ। वस्तुतः नेपालमा देश गलाउने वा बेचेर हिँड्नेहरु सँधै सुरक्षित रहँदै आएका छन्। सत्ता, सुविधा र प्रजातन्त्र उनीहरुलाई नै प्राप्त छ। त्यसैले नेपालका कतिपय नेताहरु तथा बीपीका आफ्नै मान्छेहरुले राष्ट्रिय मेलमिलापको नीतिलाई बहसमा नल्याउन सफल भएको देखिन्छ। कसैले यसलाई भारतकी तात्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको असहयोगका कारण बीपीले आफ्नो स्वदेश आगमनका लागि यस नीतिमार्फत केवल एउटा सैद्धान्तिक धरातलसम्म निर्माण गर्न खोजेका हुन् भनी (कू)तर्क गरेको पनि देखिन्छ। 
 
त्यस्तै केहीको भनाईमा एउटा चलाख मान्छेले राजनीति गर्न सँधै सुरक्षित आवरणहरु खोज्दछ। बीपीले पनि असफलता हात लागेको आफ्नो जीन्दगीमा राष्ट्रिय मेलमिलापको नीतिमार्फत यही आवरण नै खोज्ने प्रयास गर्नुभएको थियो भन्ने मान्छेको पनि कमी छैन। त्यस्तै अपव्याख्याको क्रममा कतिपयले देशभित्रका सबै शक्तिहरु मिलेर प्रजातन्त्र जोगाउनुपर्छ, देशको विकास गर्नुपर्छ भन्ने नै राष्ट्रिय मेलमिलापको नीति हो भनिदिएका छन्। राष्ट्रमा आएको खतराको अनुभूतिलाई उनीहरु भारत विरोधी चिन्तन मान्दछन्। अन्य कतिपयलाई लाग्दछ, हामी बीपीका हुक्के, चम्चे, भान्छे, नातेदार, ताबेदार वा सहयात्री भएका कारणले उनको सैद्धान्तिक व्याख्या हामीले मात्र गर्न सक्दछौं। बीपीका विचारहरुमा बौद्धिकता छैन भन्ने कुरा पनि आएका छन्। कसैको व्यक्तित्वलाई विनाश गर्न गरिएका यस्ता राजकीय व्याख्याहरु संसारमा धेरै हेर्न पढ्न सकिन्छ। नेपालमा विभिन्न प्रकारका सेन्सरसीपहरु बहालमा छन् भन्ने कुरा हरेक पढेलेखेको स्वतन्त्र मान्छेले बुझेको कुरा हो। त्यसैले केही मान्छेले यस्तो प्रकारको बहस गरिनै रहनेछन्। त्यसमा आश्चर्य मान्नु पर्दैन। तर के बुझ्नु पर्दछ भने जुन परिवेशमा बीपीले राष्ट्रिय मेलमिलापको घोषणा गर्नुभयो, त्यस परिवेशको आज पनि वस्तुगत अध्ययन गर्न सकिन्छ। 
 
बीपीका समकक्षीहरु वा तात्कालीन विश्व मञ्चमा नाम चलेका नेताहरु जस्तो चीनका नेता माओत्से तुङ्ग, वा चाउ एन लाई, कम्बोडियाका नरोद्दोम सिंहानुक, सिंगापुरका लि क्वान यु, पाकिस्तानका याहया खान वा जुल्पि्ककार अलि भुट्टो, भारतकी इन्दिरा गान्धी, बंगलादेशका शेख मुजिवर रहमान लगायत त्यसबेलाका प्रसिद्ध अफ्रोएसियन नेताहरु – यी कसैले पनि कुनै परिस्थितिमा राष्ट्रिय मेलमिलापको कुरा गरेका थिएनन्। ठूलासाना धेरै देशहरु आन्तरिक द्वन्द्व र बाह्य अशान्तिबाट पीडित भइरहेका थिए। तर उनीहरुको राजनीतिशास्त्रमा यो रुपमा राष्ट्रिय मेलमिलापको कुरा कतै परेको देखिँदैन। झन् त्यसबेलाका शक्ति राष्ट्रहरुले यसको कुरा गर्ने त प्रसंग नै थिएन। त्यसैले तात्कालीन राजनीतिको लोकरञ्जक शब्द आडम्बरको सिको गरेर बीपीले मेलमिलापको कुरा गरेको होइन। यसको आधार नेपालको आन्तरिक सुरक्षाको प्रश्न नै थियो। एउटा प्रखर चिन्तकका रुपमा नेपालले भोग्न गइरहेको परिस्थितिको राम्रो विश्लेषणका कारण बीपीले राष्ट्रिय मेलमिलापको नीति घोषणा गरी नेपालको सार्वभौमसत्तामा आसन्न खतराका सन्दर्भमा वहाँ कोसँग उभिनुभएको छ, प्रष्ट गर्नुभएको थियो। यो एउटा रणनीति मात्र थिएन। देशप्रतिको उत्तरदायित्व पनि थियो। यसलाई सिद्धान्तनिष्ठ बनाउन वा 'थिओराइज' गर्न त्यसबेला पनि नेपाली कांग्रेसले आँट गरेन, आज पनि गरेको छैन।
 
आज अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै परिवर्तन आइसकेको छ। नेपालमै पनि राष्ट्रियताको सवालमा राजासँग उभिएको छु, उनीसँग मेरो गर्दन जोडिएको छ भन्ने बीपीको राष्ट्रिय सुरक्षा अवधारणा अब किनार लगाइएको छ। तर अन्य धेरै कमजोर मुलुकहरु बाँच्नका लागि लागि यस सिद्धान्तलाई अपनाउन तयार देखिँदैछन्। जस्तो धेरै वर्षदेखि युद्धपीडित देश सोमालियाले राष्ट्रिय मेलमिलापको कुरा गर्दैछ। लिबिया र म्यानमारमा लामो लडाइँको इतिहास छैन। तर उनीहरुले बुझिसकेका छन्, उनीहरु बीचको घरेलु अशान्तिको कारण के हो? त्यो अशान्तिको ओखती उनीहरु राष्ट्रिय मेलमिलापमा खोज्दैछन्। मालीका राष्ट्रपतिले राष्ट्रिय मेलमिलापको कुरा गरेर हालै आफ्ना विरोधीहरुलाई चकित पारिदिएका छन्। श्रीलंकाका राष्ट्रपति राजपाक्षे साँच्चिकै बलिया मानिन्छन्। तमिलहरुलाई हतियार बनाई लडिएको लामो गृहयुद्धलाई एक झट्कामा बिसाएर उनले आफ्नो क्षमता देखाए। तर उनलाई पनि बाह्य शक्तिकै डर छ। सत्तामै बसीबसी राष्ट्रिय मेलमिलापको आव्हान गरेका छन्। इजिप्टका सरकारी तथा गैरसरकारी दुवै पक्षले बुझिसके कसका लागि इजिप्टमा रगतको खोलो बग्दैछ। आज मुस्लिम ब्रदरहुड समेतलाई मिलाएर राष्ट्रिय मेलमिलाप कायम गरी जानुपर्ने माग त्यहाँ सुनिन थालेको छ। आफ्नो राष्ट्रिय मेलमिलापको नीतिको बिजोग हेर्न बीपी हामीसमक्ष हुनुहुन्न। तर अब सोच्ने बेला आएको छ, हामीले के गर्ने? नेपालमा पनि धेरै परिवर्तनहरु भएका छन्। राष्ट्रिय मेलमिलापका लागि होइन, राष्ट्रलाई सिद्धयाउनका लागि। यो पक्ष झन् खतरनाक पक्ष हो।

नेपाली जनतालाई के बुझाउन सकिएको छैन भने स्व. बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको अहम् पक्ष भनेको राष्ट्रिय सुरक्षाको खोज नै हो। ठूला मुलुकहरुको स्वार्थ भएको सानो मुलुक वा बलिया छिमेकीहरु भएका साना मुलुकहरु, विकसित हुन् वा अविकसित, उनीहरुको सुरक्षा संसारभरि चिन्ताको विषय भएको छ। प्रजातन्त्रका नाममा मुलुक खाने राजनीति अब जताततै प्रष्ट भइसकेका छन्। राष्ट्रियता विनाको प्रजातन्त्रको वकालत गरिँदैछ। त्यसैले बीपीको राष्ट्रिय मेलमिलाप यति धेरै महत्वपूर्ण भएर आएको छ। तर यसलाई सो रुपमा बुझ्न दिइएको छैन। यसबारेमा सार्वजनिक चिन्ताको खाँचो छ।

आज बीपी कोइरालाको जन्मजयन्ती मनाउँदा एउटा कुरा राख्नै पर्ने भएको छ। राष्ट्रिय मेलमिलापको सन्दर्भमा बीपीको स्वामित्व हराएर जाने परिस्थिति भने छैन। जस्तो चौधौं वा पन्ध्रौं शताब्दिको पुनर्जागरण वा सत्रौं शताब्दिको ज्ञानोदय वा अझ भनौं भिक्टोरियन सभ्यताका शिखर व्यक्तित्वहरुको पश्चिमी सभ्यतामा भएको लगानी हराएको छैन नि ! यसलाई आज पनि स्कूलस्कूलमा पढिँदै र पढाइँदैछ।  

त्यस्तै हामी आज अमेरिकाका नागरिक अधिकारका लडाकू मार्टिन लुथर किंग वा बेलायती साहित्यकार जर्ज अरवेलका बारेमा दुई शब्द बोल्न सक्दछौं। त्यस्तै नायिका मार्लिन मुनरो वा अर्थशास्त्री जोन किन्स् आज पनि हरेक पढेलेखेको मान्छेले सम्झिन्छन् । लुई पाश्चरका बारेमा बच्चाबच्चालाई थाहा छ। त्यस्तै बेलायती प्रधानमन्त्री विन्स्टल चर्चिल, महात्मा गान्धी वा जवाहरलाल नेहरुका बारेमा धेरैले लेख्न बोल्न सक्दछन्। यो किन सम्भव भयो भने कसैले तेरोमेरो वा जसअपजस नहेरी मेहनत गरी उनीहरुका बारेमा सही कुरा लेखिदिएका छन्।
 
चर्चिलको जीवनकथा रान्डोल्फ चर्चिलले तथा गान्धीको जीवनकथा लुई फिसरले नलेखिदिएको भए राजनीतिका स्वार्थ भएकाहरुले उनीहरुको कस्तो परिचय स्थापना गराउँथे, हामी अनुमान गर्न सक्दछौं। गान्धीका बारेमा पनि दर्जनौं पुस्तक लेखिएका छन्। किन होला गान्धीका बारेमा पढ्नु पर्‍यो भने मान्छे लुई फिसरले लेखेकै “द लाइफ अफ महात्मा गान्धी” भन्ने पुस्तक खोज्न पुग्दछन्। त्यस्तै बीपीका बारेमा धेरै लेखिएका छन्। तर बीपीको व्यक्तित्व र विचारको आधिकारिक पुस्तक भनेको वरिष्ठ अधिवक्ता गणेशराज शर्माद्वारा सम्पादित पुस्तकहरु नै हुन्। त्यसैले बीपीको सिद्धान्तमा दुविधा राख्नु जरुरी छैन। ती पुस्तकहरु रहुञ्जेलसम्म राष्ट्रिय मेलमिलापको सन्दर्भ हराउने छैन। 
 
 (संवैधानिक कानुनका विज्ञ अधिकारीले बीपी विचार राष्ट्रिय समाजद्वारा आयोजित बीपी स्मृति सभामा प्रस्तुत मन्तव्यको सम्पादित अंश)