शंकाको घेरामा ‘विशेष सम्बन्ध’

फाल्गुन ५, २०७२ 

नाथन हेल अमेरिकी इतिहासका ‘हिरो’ मानिन्छन् । उनी सिपाही थिए र अमेरिकी क्रान्तिका बेला जासुसका रूपमा काम गर्थे । तत्कालीन महाद्विपीय सेनाका लागि कार्यरत उनी बेलायत अधीनस्थ न्युयोर्क राज्यमा गोप्य जानकारी खोज्ने कार्यमा संलग्न भएका बेला समातिइए । उनलाई फाँसी दिइयो ।

नाथन हेललाई फाँसीमा झुन्ड्याउनुअघि कसैले गरेको प्रश्नको प्रत्युत्तरमा दिएको उनको अमर वाक्यले अमेरिकी राष्ट्रवादलाई आज पनि प्रेरित गरिरहेको छ । त्यो हो, ‘मलाई केवल अपसोच छ कि मेरो मुलुकका लागि दिनसक्ने मसँग एउटा ज्यानमात्र छ ।’ अर्थात् मारिनुपरेकोमा पीडा छैन । यदि उनीसँग भनेजति ज्यान हुँदो हो भने त्यो पनि उनले आफ्नै मुलुकका लागि दिन्थे । २१ वर्ष उमेर पुरा नगरेको यो ठिटोको भनाइ कसैका लागि पनि प्रेरणादायी हुनसक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान पटुका कस्दै हुनुहुन्छ । राष्ट्रवादका बारेमा उहाँको विविध टिप्पणी सार्वजनिक भइसकेका छन् । राम्रो कुरा हो । तर मूल प्रश्न भनेको के प्रधानमन्त्री भारत जानु जरुरी छ भन्ने नै हो । के यो भ्रमण भारत पीडित नेपालीका लागि सम्मानजनक छ ? यो प्रश्नको जवाफ प्रधानमन्त्रीले दिन सक्नुभएको छैन । सारा नेपालीले जान्दछन्, नयाँ संविधान घोषणा गरेकोमा निहुँ खोजेको भारतले हो । नाकाबन्दी पनि उसैले लगाएको हो । थिचोमिचो पनि उसैले गर्दै आएको छ । सम्बन्ध सुधार्ने जिम्मेवारी पनि उसको हो । यसका लागि भारतका प्रधानमन्त्री नेपाल आउनुपर्ने हो । उसो भए के प्रधानमन्त्री ओली चेपुवामा परी भारत जाँदै हुनुहुन्छ ? उहाँलाई भारत जानुपर्ने के बाध्यता छ ? नेपालीले नाकाबन्दीका कारण खपेको दु:ख–कष्ट र हीनतालाई प्रधानमन्त्रीले बिर्सिसक्नुभयो ?

नेपालमा भारतको प्रधानमन्त्री, सरकार वा भारतीय क्षमताका बारेमा धेरै भ्रमहरू छन् । विशेषगरी त्यहाँको सरकारले लिएको नीतिका कारण कतिपयलाई भारत बाघ, भालु वा चितुवा नै लाग्छ । कतिपयलाई अरिंगालजस्तै लाग्छ । तर भारत सरकार प्रजातान्त्रिक विधिबाट निर्वाचित भएको सरकार हो । जसरी नेपालका नेताहरू नेपाली प्रजातन्त्रका उपज हुन्, भारतका नेताहरू पनि भारतीय प्रजातन्त्रको उपज हुन् । भारतमा संविधान छ । कानुन छ । कानुनको शासन पनि छ । स्वतन्त्र अड्डा, अदालतहरू पनि छन् । भारत दुस्साहसी हुनसक्छ्, तर बाघ, भालु, चितुवा हुनसक्दैन । अरिंगाल हुनसक्दैन ।

भारत कुनै आवधिक सरकारको विर्ता होइन । सबैले जनताको मुख हेरेर शासन गर्नुपर्छ । त्यस्तो सरकार भारतीय जनताको ‘ट्रष्टी’मात्र हुनसक्छ । यो जनतासँगको विश्वासको नातालाई सरकारले कायम राख्न सकेन भने यसको वैधानिक क्षमता यथावत् रहिरहन सक्दैन । त्यसैले नेपालसँगको सम्बन्धमा मुनासिव हुनुपर्ने बाध्यता भारत सरकारलाई पनि छ । त्यसैले प्रधानमन्त्रीको भारत उड्ने हतारो बुझ्न सकिएको छैन ।

भारतीय जनता नेपाली विरोधी हुनुपर्ने कुनै कारण छैन । त्यसोभए किन भारतले नेपाललाई खाइदिन्छ, सिध्याइदिन्छ भनिँदैछ ? कसरी खाइदिन्छ, नेपाललाई ? नेपाल दाल–भात हो र ? भारतसँग नेपाल निल्न सक्ने घाँटी छ र ? अमेरिकाजस्तो बलियो मुलुकले सिरिया र लिबिया खानसकेको छैन । रूसजस्तो शक्तिशाली मुलुकले क्राइमिया खान सकेन । खाइसकेको त्यत्रो पूर्वी युरोप सबै ओकल्नुपर्‍यो । क्षमताभन्दा बढी खान खोज्दा यस शताब्दीको हरेक साम्राज्यवादीलाई पखाला लागेको छ । नेपालको समस्यालाई चाहिनेभन्दा ठूलो देखाउनु हुँदैन । मूल कुरा नेपालका नेताहरूले नेपालीको भाका बोल्न सक्नुपर्छ । भारत सरकारबाट भएका निरन्तर अन्यायहरू स्पष्ट रूपमा राख्नुपर्छ । नेपालीको भाका भनेको स्वतन्त्रता, स्वाभिमान, समानता र सहअस्तित्वको भाका हो । यो भाका विवेक र शास्त्रसम्मत भाका भएकाले यसको स्पष्ट प्रयोगबाट कसैले डर मान्नु पर्दैन । नेपालका नेताहरूले आफ्नो निहित स्वार्थका लागि पटक–पटक यो भाकाको सौदाबाजी गरेकाले उनीहरूको स्वाभिमान घटेको हो । देशको साख गिरेको हो । देशले दु:ख पाएको हो । संसारमा यस्तो कुनै तागत छैन, जसले यो भाकालाई दबाउन सकोस् । नेपाल सरकारले देखेको र बुझेको हुनुपर्छ, नाकाबन्दी लगाएर निमिट्यान्न पार्न खोजे पनि कुनै मुलुकले पनि कसैलाई घाँटी थिचेर मार्न सक्दैन । आफ्नो कुरा भारत गई राख्न नसक्ने नेताबाट देशले धेरै क्षति व्यहोरिसकेको छ । त्यसैले नेपालका जुन आधारभूत चरित्र छ, त्यो चरित्रको अभिव्यक्ति भारत नगई नेपालबाटै पनि हुनसक्छ ।

एकछिनलाई मानौं प्रधानमन्त्रीमा असल र आत्मसम्मानयुक्त नेपाल–भारत सम्बन्ध सिर्जना गर्ने अठोट छ । यसको पहल उहाँ आफैं गर्न चाहनुहुन्छ । राम्रो कुरा हो । नेपालमा भइरहेको परिवर्तन भारतीय एजेन्डामा भएको हो भन्ने कुरा भारतले प्रस्ट रूपमा देखाइदिएको छ । संविधान घोषणा भएपछि मुख छाडेर सार्वभौम नेपालविरुद्ध गरिएका अभिव्यक्तिहरू त्यहाँको विदेश मन्त्रालयमार्फत नै आएका हुन् । किन यत्तिका वर्षदेखि आमनेपालीको चाहना हुँदाहुँदै पनि नेपाल–भारत सीमा संरक्षण गरिएन ? आजका नेपालीले बुझिसकेका छन् ।किन आउनेजाने मान्छेको अध्यागमन व्यवस्थापन हटाइएको रहेछ ? भारतीयलाई वर्क परमिटको व्यवस्था गर्दा नेपालमा किन आन्दोलन गराइएको रहेछ ? किन पटक–पटक नागरिकता वितरण गरिँदो रहेछ ?

नेपालको जन्मदर बढी भएर मात्रै नेपालको जनसंख्या बढेको रहेछ त ? क्रान्ति गराई पटक–पटक नागरिकता वितरण गराएर अब कित्ता कायम र सीमांकनको कुरा गरिँदैछ । जनसंख्यालाई आधार बनाई निर्वाचन प्रणालीको कुरा गरिँदैछ । यी कुरा किन भारतबाट आइरहेका छन् ? भारतकै विविध क्षेत्रका सम्बन्धमा यी कुरा किन उठेका छैनन् ? यसबाट स्पष्ट हुन्छ, किन नेपालमा भारतीयलाई दिएजस्तै सुविधा दिई संविधान कानुन परिवर्तन गराई डोर खटाई असोज ३ गतेभन्दा अगाडि भारतमै दशकौंदेखि जन्मे–हुर्के–बसेका नेपालीहरूलाई घर–घरमा भारतीय नागरिकता वितरण गरिँदैन ? के प्रधानमन्त्रीले नेपालीले बुझ्ने भाकामा यो कुरा भारतमा बोल्न सक्नुहुन्छ ?

भारतसँग समानताका आधारमा सहज सम्बन्ध नेपालको निरन्तर हितमा छ । यसका लागि आजसम्म मूल प्रति नभेटिएको सन् १९५० को कथित सन्धि खारेज गर्नुपर्छ । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप अन्त्य हुनुपर्छ । दोहोरो आवागमनलाई संकुचित नगरी नेपाल–भारत खुला सीमा बन्द गरिनुपर्छ । नेपालको आन्तरिक व्यवस्थापन नेपालीको समस्या हो । नेपालका खस जाति, जनजाति तथा मधेसीबीच मनोमालिन्य रोपेर तथा मधेसीहरूलाई भारतसँग गाँजेर नेपाललाई दुश्चक्रमा राख्ने परम्परा छोडिनुपर्छ । नेपालको जनसांख्यिक विशेषता नेपालको स्थायित्वको आधार हो । नेपालीहरू आफ्नो देशमा अल्पसंख्यक हुन चाहँदैनन् भन्ने कुरा नेपालले भारतीय जनतालाई बुझाउन सक्नुपर्छ । के प्रधानमन्त्रीसँग त्यो अठोट छ ?

हिमाल, पहाड र तराईबाट बनेको नेपाली पहिचान अमिट र अकाट्य पनि छ । यो केवल नेपालका राजाहरूले घोषणा गरेर वा संविधानमा लेखेर कायम भएको होइन । नेपाल एकीकरणकै प्रयास भइरहँदाको अवस्थामा भएको १७६३ तिरको मिर कासिमसँगको युद्धलाई सम्झँदा हुन्छ । त्यसको चार वर्षपछि नेपालले कसरी किनलकको आक्रमणलाई परास्त गर्‍यो ? भोटसँगको १७८८ को युद्ध कति विभत्स थियो ? १७९२ मा भएको अर्को नेपाल–भोट युद्धमा कसरी नेपालले आफ्नो सीमा सुरक्षा गर्‍यो ? तेस्रो नेपाल—भोट युद्धको भयानकताबारे पनि एकपटक विचार गर्दा ठिकै होला । नेपालको सीमा र सुरक्षाका लागि नै सिपाही विद्रोह दबाउन नेपालीले भूमिका निर्वाह गरेको प्रधानमन्त्रीलाई अवगत हुनुपर्छ । नेपाली साझा पहिचान त्यसै उत्पत्ति भएको होइन ।

त्यसैगरी नेपाल–अंग्रेज युद्धले स्थापना गरेको नेपाली परिचय प्रधानमन्त्रीले गाइनेको गीतमा पनि सुन्नुभएको होला । यसमा हरेक नेपाली परिवारले आर्थिक रूपमा वा श्रमदान गरी वा योद्धा पठाई देश बचाएका थिए । इतिहासमा जितगढको युद्ध वा मकवानपुर, हरिहरपुर गढी, नालापानी वा जैथकको युद्धमा नेपालीले गरेको बलिदान कम्तीमा नेपालीलाई सम्झाइराख्नु पर्दैन । नालावन र जैथकको दोस्रो युद्धलाई पनि सम्झन सकिन्छ । पहिलो विश्वयुद्धमा बजिरस्तानदेखि अफगानिस्तानसम्म नेपालीले आफ्नो बलिदान गर्दा पहाडको कुनाकन्दरामा रहेको यही सानो देश बचाउने निहित उद्देश्य थिएन र ? दुवै विश्वयुद्धमा नेपाली जातिले विदेशमा रगत दिएरै आफ्नो देशका लागि सुरक्षा लिएका होइनन् र ? कुन जाति, कुन भेष, कुन धर्म, कुन संस्कृति, कुन परम्पराले आफूलाई उत्सर्ग गरेको थियो, के ती स्वत: स्पष्ट छैनन् ? नेपाल बनाउँदा कोको ढलेका थिए । बिर्साएर बिर्सन सकिन्छ ?

भारतीय जनता समग्रमा नेपाली जनताको अहितमा जानुपर्ने कारण छैन । सत्ता स्वार्थका लागि नेपाल लुट्नुपर्छ वा नेपाली नेतालाई लेनदेन गरी वा चेपुवामा पारी नेपालबाट फाइदा लिनुपर्छ भन्ने सोच्दैनन् । असल तथा दिगो नेपाल–भारत सम्बन्ध आडभरोसा यही हो । नेपालीहरू आफ्नो भाषा, धर्म, संस्कृति र आदि प्रचलनहरू कायम रहोस् भन्ने चाहन्छन् । रगतले सिंचेको पहिचान हो । भाषा, धर्म, संस्कृतिभन्दा धेरै माथि गएर नेपालीले आफ्नो मुलुकको पहिचान स्थापित गरेका हुन् । यसलाई गलाउनेगरी नेपालका बारेमा सोच्नु कसैको
हितमा हुनसक्दैन ।

नेपाल–भारत सम्बन्धमा भारतीयहरू ‘विशेष सम्बन्ध’को कुरा गर्छन् । ठूलो र सानो देशका बीचमा यस्तो सम्बन्ध शंकाको दायरामा आउँछ । नेपालीलाई मन पर्दैन यस्तो विशेष सम्बन्ध । संसारका धेरैजसो विभत्स लडाइँहरू एउटै भाषा, एउटै धर्म, एउटै क्षेत्रका बीच भएका थिए । रामायणदेखि महाभारतसम्म तथा रोमनदेखि ग्रीक तथा इजिप्सियनसम्म आफन्त बीचकै तेरो–मेरोले ठूलठूला लडाइँ लडिएका हुन् । सम्राट अशोकले आफ्नो साम्राज्य कायम गर्दा गरेको विभत्स र अन्यायपूर्ण युद्धबाटै द्रवित भई पछि उनी बुद्धमार्गी बन्न पुगेको इतिहासमा पढिएकै कुरा हो ।

अट्टोमान साम्राज्य लगायतको विखण्डनको इतिहास पनि आफन्त बीचकै तेरो–मेरोबाट झांगिएको थियो । करोडौंको जीउज्यानको खति भएको दोस्रो विश्वयुद्धको केन्द्र मूलत: युरोप नै बन्यो । युरोपियन बीचको धर्म, संस्कृति र रगतको सम्बन्धले विश्वयुद्धलाई छेक्न सकेन । मानवताको विकास वा सम्पूर्ण मानवीय पक्षहरूको सम्बद्र्धन यदि संसारमा भएको छ भने त्यो केवल समानता, सहअस्तित्व र समन्यायको अवधारणाबाटै भएको हो । नेपालीको समग्र सुरक्षा यो बाटोबाट मात्र सम्भव छ ।

नेपाली समाजलाई चिराचिरा पारेर कसैको हित हुनसक्दैन । तराई मधेसको समस्याको निदान नेपालीले नै खोज्ने हो । नेपाली भएर नै यसको समाधान खोज्नुपर्छ । नेपालीका लागि नेपाली भूमि सुरक्षित रहनुपर्छ । चाहे नेपाली जनजाति हुन् वा खस समुदाय वा रैथाने तराईबासीहरू उनीहरूको ‘रोटी’ पनि नेपालमै छ, ‘बेटी’ पनि नेपालमै छ । धर्म पनि यहीं छ, संस्कृति पनि यहीं छ । उनीहरूको स्थिरतालाई चुनौती दिने अनि भारतका लागि सदाशयता खोज्ने दुइटै कुरा सँगसँगै जान सक्दैन । दुई—चारजना नेपाली नेतृत्वलाई तमसुक गराएको भरमा नेपाल नियन्त्रणमा लिन सकिन्छ भन्ने मान्यता ह्रासोन्मुख कूटनीतिमात्र हो ।

परिवर्तित संसारमा नेपालजस्तो साना मुलुकहरूका लागि ठूला मुलुकले सोच्न नसक्ने धेरै विकल्पहरू छन् । तथापि छिमेकीहरूमाझ सबैभन्दा राम्रो विकल्प अहस्तक्षेप, सहअस्तित्व र सामूहिक विकासको आधारमै तय हुनुपर्छ । अहिलेसम्मको नेपाल–भारत सम्बन्ध भनेको नेपाललाई भारतका लागि पुनर्संरचना गर्ने भन्ने मान्यतामा आधारित छन् । यही मान्यतामा नेपालसँगको बन्द–व्यापार, दुईपक्षीय लगानी वा विद्युत, पानी, नहर–सिंचाइ, सडकजस्ता क्षेत्रमा काम गरिएका छन् । नेपालीहरूको कुण्ठाको कारण यही हो । अब पुन: त्यो हुनसक्दैन र आशा गरौं, प्रधानमन्त्रीले त्यस्तो हुन दिनुहुने छैन । उहाँसँग नाथन हेलको जस्तो ज्यान मागिएको होइन, आफ्नो सार्वभौम अधिकारमात्र मागिएको हो ।

अधिकारी संवैधानिक कानुनका अध्येता हुन् ।