बीपी र महेन्द्रः किन मिल्न सकेनन्, मिलेका भए के हुन्थ्यो ?

डा. विपिन अधिकारी
(यस प्रलेखको सम्पादित प्रमुख अंशहरु नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार, १३ साउन, २०७०, पृ.२६–३१) मा प्रकाशित भएको छ ।)
नेपाल राष्ट्रिय साप्ताहिकमा यो लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।


नेपालको राजनीतिमा अत्याधिक चर्चित स्व. प्रधानमन्त्री बीपी कोइराला र राजा महेन्द्र एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्याहरु क्रमशः झाँगिदै गएको भन्ने सम्बन्धमा धेरै नेपाली विज्ञहरु एक देखिन्छन् । तर त्यस्तो किन हुन गयो भन्ने बारेमा प्रशस्त बुझ पचाएको देखिन्छ ।

राजा महेन्द्रलाई सम्झाउने उनीद्वारा रचित एउटा गीत छ, जुन अचेल रेडियो/टेलिभिजनमा बज्दैन ः म मरे पनि मेरो देश बाँचिरहोस्...। 

प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफू सानो छँदा आफ्नो स्कुलमा गाएको सेसिल स्पि्रङ्-राइसद्वारा रचित बेलायती राष्ट्रिय गीत मृत्युशय्यामा रहेका बेला आत्मवृत्तान्तका सम्पादकलाई गाएरै टिपाएका थिए, जसको नेपाली अनुवाद हो ः

म कामना गर्दछु तिम्रा लागि, ए मेरो देश 
यहाँ रहेका सबै सांसारकि चीजहरू 
त्यस्ता सबै सम्पूर्ण र पूर्ण 
मेरा दोषरहित स्नेहका सेवाहरू...।


नेपालको राजनीतिमा अत्यधिक चर्चित तर अलग व्यक्तित्वका धनी यिनै दुई एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्या क्रमशः झाँगिँदै गएको भन्ने गरिन्छ। वास्तवमा उनीहरू किन मिल्न सकेनन्? संविधानसभा नभए पनि संसदीय निर्वाचनमार्फत जनताको हातमा शासन गएको डेढ वर्ष पुग्दा नपुग्दै किन र कसरी प्रजातन्त्रको चीरहरण गरियो ? यी र यस्ता प्रश्नको सेरोफेरोमा बीपी र महेन्द्रकै प्रसंग आउँछ। सम्बन्ध, समानता, असमानता, राष्ट्रप्रेम, नेतृत्व क्षमता, दूरदर्शिता, सिद्धान्त र शक्तिका हिसाबले यी दुई शीर्ष व्यक्तित्व र त्यस समयको मूल्यांकन सान्दर्भिक हुन्छ। यो पनि त्यतिबेला, जतिबेला ००७ सालदेखि ०१५ सालको जस्तै संक्रमण र अन्योलग्रस्त छ।

समानता/असमानता 

आफ्नो मुलुकप्रति समर्पित यति संवेदनशील दिवंगत बीपी कोइराला तथा राजा महेन्द्र नेपालको शीतयुद्धकालका प्रखर राजनीतिक व्यक्ति हुनुका साथै विसं ००७ पछिको नेपाल निर्माणका बलिया खम्बा थिए। आधुनिक नेपाल, यसको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान एवं आर्थिक, सामाजिक र राजनीतिक संरचना निर्माणमा दुवैको ठोस विचार थियो। उनीहरूको विचारले क्रमशः आकार लिँदै गएको पनि थियो। 

आफ्ना कुरा राख्दा महेन्द्र स्थिर तथा गम्भीर देखिन्थे, बीपी प्रगतिशील एवं उत्साहयुक्त। तर, आमजनताप्रतिको लगाव वा कटिबद्धतामा दुवै परिपक्व थिए। उमेरले बीपी महेन्द्रभन्दा छ वर्ष जेठा थिए। एउटा दरबारिया वातावरणमा पुलपुलिँदै हुर्किएका थिए भने अर्का संघर्षशील हुँदै देश निकालामा परेर निर्वासित परिवारसँगै दुःखजिलो गरी। एउटाले औपचारकि शिक्षा नलिएरै राणाशासनको सीमित राजतन्त्रको परिधिमा आफ्नो व्यक्तित्व निर्माण गरेका थिए भने अर्काले राजनीतिक चेतना भएको परिवार र यसबाहिरको खुला समाजमा व्यक्तित्व बनाएका थिए। 

कोलकाताको स्कटिस चर्च कलेज तथा बनारसको हिन्दु विश्वविद्यालयमा पढेका बीपी कोइराला उदार शिक्षा प्रणालीका उत्पादन थिए। महेन्द्रले आफ्नो बाल्यकालमा न त्यस्तो स्कुल देख्न पाए, न त स्वतन्त्र वातावरण नै। छोराको भविष्यका बारेमा बीपीका बाबु कृष्णप्रसाद कोइरालामा कटिबद्धता देखिन्थ्यो। महेन्द्रका बाबु त्रिभुवनले भने काँचो उमेरमै अभिभावक भएकाले त्यति धेरै सोच्न पाएनन्। यति हुँदाहुँदै पनि दुवै आकर्षक व्यक्तित्वका धनी थिए। केही गरूँ भन्ने चाहना, बलियो इच्छाशक्ति तथा अदम्य साहस दुवैको विशेषता थियो। 

बीपी र महेन्द्रबीच समानता तथा असमानताका कुरा अरू पनि छन्। दुवैको साहित्यमा गहिरो अभिरुचि थियो। दुवैमा सामान्य नेपालीसँग उठबस गर्ने, रमाउने स्वभाव थियो। चरत्रिले महेन्द्र अन्तरमुखी थिए। त्यसैले उनले के बोल्छन् र किन बोल्छन् भनेर बुझ्नुपर्ने हुन्थ्यो। बीपी आफ्नो व्यक्तित्व र विचारमा स्पष्ट थिए। एउटा कुरा सोच्ने र अर्को कुरा बोल्ने प्रवृत्ति उनमा थिएन। कुरा मन नपर्दा असहमति जनाउन बीपीलाई अप्ठ्यारो थिएन। तर, महेन्द्र समय लिन्थे। उनमा कूटनीतिको मात्रा बढी थियो। 

राजनीतिको घामपानी खपेका बीपी शक्ति सञ्चय जनस्तरमा गर्नुपथ्र्यो भनी मान्थे। महेन्द्र पनि जनआकांक्षालाई नै आफ्नो सोचाइको आधार बनाउँथे। एउटाले आफूलाई मालिक ठान्थ्यो भने अर्कोले जनताको आवाज। पढाइलेखाइप्रति दुवैको अभिरुचि भए पनि बीपीको साहित्य, दर्शन, अर्थशास्त्र तथा कलामा उच्च स्तरको ज्ञान थियो। भारत एवं पाश्चात्य जगत्को प्रजातान्त्रिक आन्दोलन एवं दोस्रो विश्वयुद्धपछिको युरोपको आधुनिकताबाट बीपी प्रशस्त दीक्षित थिए। महात्मा गान्धीको स्वराज आन्दोलनको एउटा लहर बीपीमा थियो। महेन्द्रमा पनि पढ्ने-लेख्ने रहर थियो। तर, अवसर पाएनन्। त्यसैले उनी अर्काको कुरा सुन्न रुचाउँथे, तर्क गर्न भने चाहँदैनथे। यसै पनि राजाहरूले प्रायः खुला राजनीति गर्दैनन्। तर, बीपी यी दुवै कुरामा अगाडि थिए।

यतिविधि फरक हुँदाहुँदै पनि बीपी र महेन्द्रले प्रतिनिधित्व गर्ने पिँढी एउटै थियो। देशलाई बलियो बनाउनुपर्छ भन्नेमा दुवैको दृढता थियो। दुवैलाई ज्ञान थियो, नेपालको राणाकालीन विगत र अस्थिर वर्तमानको। मुलुकको आन्तरकि एवं बाह्य चुनौतीहरू के हुन् र भू-राजनीतिक समस्याहरूको समाधान कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा दुवैका चिन्ता उत्तिकै थिए। तर, बीपी हातेमालो गर्न सधैँ कटिबद्ध देखिन्थे भने महेन्द्रको हेराइ र बुझाइ जहिले पनि आलोचनात्मक रहन्थ्यो। बीपी राजकाजमा सहमति गरेरै अघि बढ्ने आदर्शका पक्षपाती थिए। उनको सोचाइमा प्रजातन्त्रमा राजनीतिक नेतृत्व जनस्तरबाटै स्थापित हुन्छ भन्ने थियो। महेन्द्रलाई लाग्थ्यो, यो देश उनका बाबुबाजेले पनि आर्जेका हुन्। राजाहरूलाई बन्दी बनाउने राणाशासन फालिएपछि बल्ल समयले साथ दिएको हुँदा देशको श्रीवृद्धिमा राजाको पनि भूमिका हुनुपर्छ भन्ने ठान्थे महेन्द्र। 

बीपीमा एउटा दर्शन थियो तर त्यो एकल भूमिका होइन। उनी जनउत्तरदायी शासन पद्धतिप्रति कटिबद्ध थिए। उनी मान्थे, शासन कार्यमा राजा र जनताको साझेदारी हुनुपर्छ। राजाका कुराहरूलाई सुन्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो। राजा आदरका पात्र हुन्, नीतिगत विषयवस्तु एवं प्रशासनिक कामकारबाहीमा उनी अलग बस्नुपर्छ। यसबाट प्रजातन्त्र बलियो हुन्छ। यसले आफूलाई संस्थागत गर्ने अवसर पाउँछ भन्ने सोचाइले बीपीलाई प्रस्ट रूपमा प्रजातान्त्रिक कित्तामा उभ्याएको थियो।

अन्तर्राष्ट्रिय परिवेशमा एकमत

देशका समस्याहरू बीपी वा महेन्द्रले सोचेभन्दा धेरै ठूला र जटिल थिए। विसं ००७ को परविर्तन नेपाली कांग्रेस तथा अन्य समूहहरूका लागि प्रजातन्त्रको सुरुआत थियो भने राजा त्रिभुवनका लागि राणाशासनबाट मुक्ति। भारतीयहरूले यसलाई राणा-बेलायती गठबन्धनका ठाउँमा आफूलाई स्थापित गर्ने प्रयासभन्दा बढी अर्थमा लिएनन्। साम्राज्यबाट मुक्ति पाए पनि साम्राज्यको लालसा भारतीय शासकहरूमा कम देखिएन। क्रान्तिका माध्यमबाट नेपाल भारतीयहरूको रणनीतिक भुमरीमा परेको थियो। गर्धन एउटाको काटियो, तक्मा अर्कोले भिर्‍यो। दिल्ली सम्झौताको पृष्ठभूमि यही हो। किनभने, क्रान्तिकारी पक्षलाई शासनमा बलियो रूपमा स्थापित हुन दिइएन। राजाका विरुद्ध दलहरू र दलहरूका विरुद्ध राजा पटक-पटक प्रयोग हुन थाले। बीपी र महेन्द्रका सम्बन्धमा एउटाको पक्ष लिएर अर्कोलाई आलोचना गरेर मात्र मुलुकका समस्या समाधान हुन सक्दैनथे। 

प्रथम आमनिर्वाचनपछि बीपीको प्रधानमन्त्रीत्वमार्फत देशले सुशील, सक्षम र आधुनिक प्रधानमन्त्री मात्र पाएन, तेस्रो विश्वका लागि बलियो नेतृत्व विकासको अवसर पनि प्राप्त भयो। आफ्नो अन्तर्राष्ट्रिय कूटनीतिक क्षमताको प्रदर्शन तथा त्यस बेलाका नामी तेस्रो विश्वका नेतृत्वहरूमाझ बीपीले आफू र आफ्नो देशका लागि एउटा स्थान पनि प्राप्त गरे। प्रधानमन्त्रीका रूपमा उनले संयुक्त राष्ट्र संघको महासभालाई गरेको सम्बोधनमार्फत स्पष्ट रूपमा नेपाल तथा नेपालजस्तै अन्य साना तथा गरबि तेस्रो मुलुकका अधिकारहरूको सम्बन्धमा शंखनाद मात्र गरेनन्, सम्पन्न राष्ट्रहरूबाट विकासोन्मुख मुलुकहरूका लागि दिइने सहयोग दुईपक्षीय नभई राष्ट्र संघमार्फत हुनुपर्ने तथा पैसाको बलमा साना तथा कमजोर राष्ट्रहरूको स्वतन्त्रतालाई आँच पुर्‍याउन नहुने प्रस्ताव पनि राखे। बीपीको सम्बोधन नेपाली कांग्रेसको परराष्ट्र नीति मात्र थिएन, यो समाजवादप्रतिको समर्पण पनि थियो। त्यसमाथि त्यो राजा महेन्द्रद्वारा अनुमोदित सम्बोधन थियो। यसैबाट प्रस्ट हुन्छ, अन्तर्राष्ट्रिय विषयमा राजा प्रधानमन्त्रीसँग कति नजिकको नाता राख्थे।

प्रजातान्त्रिक आन्दोलन प्रभावित

बीपी आधुनिकता तथा प्रजातान्त्रिक शासन पद्धतिका प्रतीक थिए। राजाले परम्परागत नेपाल तथा यसको शक्तिलाई प्रतिनिधित्व गर्थे। बीपीलाई यसप्रति आपत्ति थिएन। त्यसैले होला, नेपालको प्रजातन्त्रीकरणको अनुभवका बारेमा दुवैलाई केन्दि्रत गरेर लेखिएको डेमोक्रेटिक इन्नोभेसन्स इन नेपाल भन्ने पुस्तकका लेखकद्वय नेपाली भुवनलाल जोशी र अमेरिकी प्राध्यापक लियो रोजले उक्त पुस्तक यी दुवै शिखर पुरुषलाई समर्पण गरेका थिए, जुन यस्तो छ ः

'दुई नेपाली नेताहरू, जो यद्यपि नेपालको इतिहासका अत्यन्त अस्वाभाविक नदेखिएको निरन्तर विडम्बनाका कारण राजनीतिक तरंगको विपरीत दिशामा राखिएका छन्, उनीहरू वास्तविक अर्थमा यस पुस्तकमा उल्लेखित नेपालको राजनीतिक उत्संस्करणका अत्यन्त महत्त्वपूर्ण सहलेखक हुन्।'

लेखकद्वयको भनाइमा नेपालको उज्ज्वल प्रजातान्त्रिक भविष्य र राष्ट्रवादका लागि यी दुवैको सहकार्य जरुरी छ। उनीहरूले एउटाको विकल्पका रूपमा अर्कोलाई देखेनन्। यद्यपि, राजा महेन्द्रले प्रजातान्त्रिक परिपाटी एवं संविधानवादप्रति आफ्नो अभिरुचि बढाउनु जरुरी छ भन्ने कुरा स्पष्ट गर्न दुवै विद्वान् चुकेनन्। स्वयं बीपी कोइराला यही मान्यताकै पक्षपाती थिए। तर, अन्ततः त्यसो हुन सकेन। ००७ सालको परविर्तनले जुन रूपमा देशलाई अगाडि बढाउँदै लैजानुपथ्र्यो, त्यस रूपमा देश अघि बढ्न सकेन। त्यो परविर्तनसँगै भारतीयहरूले देखाएको असहिष्णुता एवं हस्तक्षेपको सिकार भएको यस प्रक्रियामा न महेन्द्रको जित हुन सक्यो, न त बीपीको नै। दुवै एकअर्काबाट प्रभावित भए। तर, यो खेलमा चौका भारतले हान्यो। उसले यो अवस्थाबाट प्रशस्त लाभ लियो।

नेपालमा त्यस बेला पनि राजनीति बुझ्ने र त्यसलाई व्यक्त गर्न सक्ने 'क्रिटिकल मास' नभएको होइन। तर, त्यो समूह सानो मात्र थिएन, अक्षम पनि थियो। नेपाली समाजको चेतनास्तर आज त यस्तो छ भने त्यस बेलाको स्थिति अन्दाज गर्न गाह्रो हुँदैन। 

यो स्वाभाविक हो, नेताहरूमा सत्ताको आकांक्षा थियो। तर, जनसमर्थन धेरैलाई प्राप्त थिएन। नेतृत्वको व्यक्तिगत चाहनालाई अर्थतन्त्रले धान्न सक्दैनथ्यो। कृषिप्रधान मुलुक र कृषि आयको निरीह अवस्था वास्तवमा आर्थिक रूपमा एउटा प्रमुख पक्ष बनेको थियो, नेपालको प्रजातान्त्रिक आन्दोलनको त्यो चरणमा। नेपाली कांग्रेसलाई कसरी नियन्त्रणमा राख्ने भन्ने ००७ सालदेखिकै भारतीय प्रयासका साथै दलहरूको प्रशस्त दुरुपयोग, प्रादुर्भाव एवं लगानीका प्रक्रिया पनि सुरु भए। यसै प्रसंगमा विदेशीलाई सहयोग पुर्‍याउने सेवा प्रदायकका रूपमा अन्य स्रोतहरूबाट फाइदा लिने प्रवृत्ति क्रमशः देखा पर्न थालिसकेको थियो। यो चुनौती राजाका लागि पनि थियो। तर, यसबाट सबैभन्दा बढी प्रजातान्त्रिक आन्दोलन प्रभावित हुन पुग्यो। 

छिमेकका भारत र चीन दुवै क्रमशः बलिया हुँदै थिए। अमेरिका र रुस महाशक्ति राष्ट्रको क्षमता राख्थे। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग बीपी आफ्नो व्यक्तिगत सम्बन्ध भएको ठान्थे। सम्बन्ध भएकामा शंका छैन तर स्वतन्त्र चिन्तक रहेका बीपीप्रति नेहरुको कुनै सद्भाव थिएन। त्यहाँका समाजवादीहरूसँग बीपीको मित्रता उल्लेखनीय रूपमा थियो। चिनियाँ क्रान्तिका नेतृत्वकर्ता माओत्सेतुङ्लाई बीपी पितातुल्य देख्थे। उनको प्रयोग सफल होस् र समाजवादले चीनमा जरो गाडोस् भन्ने चाहना तत्कालीन प्रधानमन्त्री बीपीमा थियो। महेन्द्र राजाका रूपमा यी दुवैसँग परिचित थिए। तर, व्यक्तिगत स्तरको सम्बन्ध उनलाई परिस्थितिले दिएन।

माग एकताको तर... 

बीपीसँगै सहकार्यका लागि अगाडि बढ्ने प्रयास राजाका तर्फबाट कहिल्यै भएन। यसमा उनी हतार पनि मान्दैनथे। यो परिस्थिति राजा महेन्द्र तथा प्रधानमन्त्री बीपी दुवैका लागि चुनौतीपूर्ण थियो। देशले एकताको माग गरेको थियो। यो खेलमा परिस्थिति राम्रोसँग बुझ्न नसक्दा राजा महेन्द्र भारतसँग नजिकिन पुगे। परिणामस्वरूप प्रजातन्त्र अपदस्थ गरियो। बीपीलाई झ्यालखानमा पुर्‍याइयो। भारतीयहरूको दृष्टिमा बीपी भारतका लागि जोखिम भइसकेका थिए।

आजपर्यन्त पनि प्रजातान्त्रिक परिपाटीमाथि यत्रो ठूलो हमला किन भयो भनेर छलफल भइरहेकै छ। वास्तवमा ००७ सालदेखिका परविर्तनमा बीपीको गहिरो छाप थियो। व्यक्तिगत स्तरमा उनी सबैभन्दा योग्य र सक्षम देखिएका थिए। सरकारमा भए पनि नभए पनि उनको विचार र व्यक्तित्वले सधैँ राजनीतिक प्रक्रियाहरूलाई प्रभावित गर्थे। कहाँसम्म भने बीपीले नै मध्यस्थता गरिदिएका कारण महेन्द्रले रत्नसँग विवाह गर्न सके। राजपरिवारसँगको उनको सम्बन्ध झाँगिँदै थियो। परविर्तनबाट प्रभावित राणाहरूलाई धेरै हदसम्म नेपाली कांग्रेसले व्यवस्थापन गरसिकेको थियो। छोटो समयमै देशले आन्तरकि शान्ति तथा सुव्यवस्था प्राप्त गर्दै थियो। सार्वजनिक क्षेत्रमा बीपीको प्रभाव कम हुने कुरै भएन। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालले दु्रत गतिमा सम्बन्ध स्थापना गर्दै थियो। 

यसैबीच, नेपाली कांग्रेसको संगठनभित्रका खिचलोहरू सुरु भइसकेका थिए। तर, तिनका सैद्धान्तिक आधारहरू थिएनन्। यसले नेतृत्वलाई जहिल्यै संकट ल्याउने तथा कमजोर बनाउने उद्देश्य राख्थ्यो। राजाका वितृष्णाहरू कसरी बढ्दै गएका थिए भनेर बीपीले आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन्। राजा भ्रष्टाचारको कुरा उठाउँथे, कुशासनको प्रश्न झिक्थे। त्यसको छिनोफानो पनि हुन्थ्यो। अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर कतिपय विषयमा राजा र प्रधानमन्त्रीबीच सल्लाहसमेत हुन्थे। राष्ट्रियताका मुद्दामा दुवैका दृष्टिकोण समान थिए। तर, प्रजातन्त्रको कुरा गर्दा महेन्द्र स-साना कार्यकारिणी निर्णयलाई पनि बढी कोट्याउन चाहन्थे। भर्खर प्रजातन्त्र उपभोग गर्न थालेका तथा संगठनात्मक रूपमा बलियो भइनसकेका राजनीतिक दलहरूबाट हुन गएका उच्छृंखलताहरूसँग जुध्नका लागि समय चाहिन्थ्यो। राजा यसबारे त्यति सहनशील थिएनन्। कतिपय विषयमा सरकारलाई अप्ठ्यारो हुने गरी राजाले बोलेको, गतिविधि गरेको कारणबाट प्रधानमन्त्रीलाई कार्यकारिणी अधिकारको प्रयोग गर्न गाह्रो पथ्र्यो। बीपीले खोजेजतिको संवेदनशीलता राजाबाट प्राप्त हुँदैनथ्यो। तथापि, प्रजातान्त्रिक प्रक्रियाहरू अवरुद्ध भएका थिएनन्। निर्वाचित संसद्मा देशका बारेमा छलफल हुनु र सरकारबाट संसदीय उत्तरदायित्वको निर्वाह हुनु नेपालको राजनीतिक प्रयोगमा एउटा नौलो आयाम थियो। 

तर पनि बीपी अपदस्थ गरिए। यसपछि पनि नेपालले विभिन्न मुलुकसँग सम्बन्ध विस्तार गर्‍यो। राजदूतहरू ल्याइए, पठाइए। स्वयं भारत र चीनसँगको सम्बन्धमा पनि ठूलो परविर्तन देखा पर्‍यो। मुलुकको आन्तरकि सुरक्षाका विषयहरूमा विभिन्न निर्णयहरू गरिए। ती विषयमा महेन्द्र र बीपीले एकअर्कालाई असहयोग गरेको देखिएन। आफूले आठ वर्ष लगातार जेलमा थुनेर राखेको अपदस्थ प्रधानमन्त्रीका बारेमा महेन्द्रले कतै निचो बोलेनन्। त्यसै गरी कतै पनि बीपीको मुखबाट महेन्द्रका प्रति नराम्रा अभिव्यक्ति आएनन्। महेन्द्र आफैँले पनि बीपीलाई कुनै व्यक्तिगत वा सार्वजनिक आरोप लगाएको कुनै पनि प्रकाशित स्रोतहरूमा देखिँदैन। त्यसो भए के कारणले त्यत्रो दुर्घटना गराइयो त?

०१९ मा भएको भारत-चीन युद्ध एउटा ठूलो 'टेस्ट केस' थियो। बीपी वा महेन्द्रले यो विषयलाई लिएर एकअर्कासँग रुग्ण राजनीति गरेनन्। यी दुईका बीच समस्या छँदै थिएनन् भन्ने होइन, थिए। तर, ती समाधान हुँदै गएका थिए। प्रमुख कुरा के हो भने अब बीपी तथा नेपाली कांग्रेस दुवै भारत सरकारको आँखाको कसिंगर भइसकेका थिए। यसैबीच अप्रत्यासित रूपमा राजा महेन्द्रले आफू र आफ्नो देशविरुद्ध निर्णय लिएका थिए। त्यो निर्णयमा सानोतिनो उनको पनि स्वार्थ थियो। तर, त्यसभन्दा ठूलो स्वार्थ भारतको थियो, जसको महेन्द्रलाई अन्दाज थिएन।

आफ्नो जीन्दगीको उत्तराद्र्धमा यो समस्याको बारेमा बीपीले कसैलाई अन्धकारमा राखेनन् – "म गुप्तचर संस्थाको प्रमुख होइन । म त राजनैतिक परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्ने मानिस हुँ । तपाइँले सुन्नु भएको छ तुलसी गिरीको भाषण, पञ्च भेलामा राजालाई औंला ठ्ड्याएर कि यो नयाँ परिवर्तन ल्याएर हामीहरुलाई बलिको बोको बनाउन पाइँदैन । राजाले परिवर्तन गर्न पाउँदैनन् । हामीहरुको मद्दत लिएर यो व्यवस्था ल्याए । अब हेरौं यो व्यवस्था कसरी फ्याँक्दा रहेछन् भन्ने थियो । यो भन्ने आधार उसले कहाँबाट पायो ? उसको आधार राजा त होइन रहेछ नि । राजालाई नै औंलो ठ्ड्याउने, राजाले गर्न खोजेकालाई तिमीले गर्न पाउँदैनौं भन्ने ताकत मैले पाउँछु किनभने मेरो आधार त जनता हो । या, मेरो आधार मैले आफ्नो आदर्शको निम्ति दश वर्षसम्म यहाँ जेलमा बसेँ । राजाले नै मलाई १० वर्ष थुने । त्यसो हुनाले राजाले गर्नसक्ने ममाथि जति उत्पीडन हुन सक्दछ, मलाई गरे । त्यो मैले भोगिसकेकोले मलाई भन्ने आधार प्राप्त भएको छ । उसले कुन आधार र कुन बल पाएको छ ? जनताको बलबाट बोलिरहेको छ ? त्याग र बलिदानको तेजबाट बोलिरहेको छ ? केबाट बोलिरहेको छ? त्यसोभए कसको बलबाट होला ।"

राष्ट्रिय मेलमिलापको सन्दर्भलाई लिएर बीपीको भनाई थियो – "मैले सँधै भनेको छु, हार्डलाइनरहरु भनेका राजाका मानिसहरु होइनन्, विदेशीहरुका मानिस हुन् । विद्यार्थी आन्दोलनका पछिल्तिर हार्डलाइनरहरु थिए । मेरो खिलाफमा चार्ज नै छ हार्डलाइनरहरुको कि म राजापट्टि झुकेर गएँ । त्यो हार्डलाइनरको नेता को ? अब म त्यसको नाउँ लिउँ कि नलिउँ ? हार्डलाइनर राजाको मान्छे हुँ भनेर जनताको समक्ष आउँछ । तर त्यसले भित्रबाट बाहिरी तत्वको सञ्चालनमा काम गर्दछ । मैल जब नाम लिएर उनीहरुको मुकुण्डो उतार्न थालेँ । उनीहरुको आक्रमण ममाथि बढेको छ । एउटा कुरा स्पष्ट छ – कम्युनिष्टहरु, रुसी पक्षहरु ममाथि आक्रमण गर्दछन् । म उनीहरुमाथि आक्रमण गर्दछु । त्यसो हुनाले उनीहरुले ममाथि आक्रमण गरेको म बुझ्न सक्छु । यो प्रो–इण्डियन भन्ने तत्व पनि ममाथि किन आक्रमण गर्दछ – त्यो म बुझिरहेको छैन ।"

बीपीले देखेको खतरा अस्पष्ट थिएन । यो धेरै प्रक्ष्ट थियो । "हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसालाई जोगाउनु परेको छ । त्यसको निम्ति मेरो एउटा प्रयत्न रहेको छ । त्यस्ता संस्थाहरु, त्यस्ता शक्तिहरु, जसले जोगाउन सक्छन्, तीसँग हामीले वैमनस्यको सम्बन्ध राख्नु हुँदैन, जस्तो राजतन्त्रको बारेमा । मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालको लागि, नेपालको राष्ट्रियताका लागि, अहिले जो विपत्ति परेको छ बाहिरियाबाट त्यसबाट बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजग भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ । त्यासे हुनाले तपाईहरु सबैले भन्ठान्नुस् एउटा आँधीमा दियो बलिरहेछ, त्यसलाई बचाउनु पर्ने कर्तव्य परिरहेछ । राष्ट्रको दियोलाई बचाउनका लागि त्यसमा जति तत्वहरु छन्, बचाउने, बचाउन लाग्ने र बचाउन चाहने, ती सबैसँग हाम्रो राम्रो सम्बन्ध हुनुपर्दछ ।"

पञ्चायत व्यवस्थाले उपरोक्त खतराहरुको सम्बोधन गर्न सक्दैन भन्ने धारणा बीपीका लेखाईहरुमा प्रष्ट रुपमा देखिन्छन् । "पञ्चायत वादीहरु भन्छन् कि राजतन्त्र बलियो पारे सबै ठीक हुन्छ, तर हामीहरु भन्छौं राजतन्त्रलाई बलियो पार्ने पनि तरिका छ । राजा ठूलो हो भनेर मात्र राजतन्त्र बलियो हुँदैन । त्यसलाई, राजतन्त्रलाई बलियो पार्नलाई पनि प्रजातन्त्रको संस्थागत विकास हुनुपरेको छ । संस्थागत प्रजातन्त्रको एउटा ठूलो भूमिका पूरा गर्ने तत्व राजतन्त्र पनि हुन सक्छ । त्यस परिप्रेक्ष्यमा हामीले राजतन्त्रलाई सोच्नु पर्छ । दोस्रो कुरा प्रजातन्त्रमा त्यसो हुनाले नै हाम्रो जोड छ । पञ्चायतवादीसँग हाम्रो विरोध राजतन्त्रका निम्ति होइन कि त्यो राजतन्त्रलाई कसरी जोगाउने भन्ने तरिकामा पनि मतभेद भएको हो ।"

बीपीले आफ्नो भनाईलाई स्पष्ट गर्दै बोलेका छन् – "राजासँगको जो हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौं । त्यसलाई परिसीमित गरौं । एउटा परिधि बनाइदिउँ । त्यस परिधिभित्र त्यस संघर्ष, विवाद र झगडालाई सीमित राखौं । बाहिरको खतरालाई हामीले ध्यान दिउँ । मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो । तर अहिले त मलाई त्यसको धेरै अनुभव छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वको विषय थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।" (राजा, राष्ट्रियता र राजनीति)

बीपीलाई अपदस्थ गरी १ पुस ०१७ मै झ्यालखानमा हालिसकेपछि पनि महेन्द्रले उनका कतिपय मान्यतालाई छाडेनन्। उनले ०१७ देखि ०२८ सालसम्म गरे/गराएका विभिन्न आर्थिक, सामाजिक एवं विकासका प्रयासहरूलाई बीपीले पनि विरोध गरेनन्। यस्तै, बीपीको प्रधानमन्त्रीत्व कालपछि पनि प्रशासनिक सुधार, न्यायिक सुधार तथा शान्ति सुरक्षाका सम्बन्धमा प्रशस्त कानुनहरू पारति भए। राज्यका प्रशासनिक संरचनाहरू पुनः निर्माण गरिए। बीपी एवं नेपाली कांग्रेसले गरेका त्यस्ता कार्यका बारेमा पनि महेन्द्रले कतै टीकाटिप्पणी गरेनन्। बरू उनले बीपीले ०१६ सालमा ल्याएका कतिपय नीति तथा कार्यक्रमलाई पछिका सरकारमार्फत निरन्तरता नै दिए। मूलभूत रूपमा राजनीतिक दल एवं प्रजातान्त्रिक संगठनहरूलाई पर्याप्त ठाउँ दिनुपर्छ तथा राजनीतिक दलहरूबिना जनताको परिचालन सम्भव छैन भन्ने विषयमा बीपीका विचारहरू सधैँ स्पष्ट रहे। यसबाहेक स्वयं पञ्चायती व्यवस्थाप्रति पनि बीपीका अन्य तीक्ष्ण आलोचनाहरू पाइँदैनन्।  

बीपीको स्वभाव षड्यन्त्रपूर्ण थिएन। तर, भारतीयहरूको नेपाल नीति कुटिलतारहित थिएन। त्यसैले अन्तरमुखी राजा महेन्द्रको प्रशस्त दुरुपयोग हुन लाग्दा पनि बीपी आफ्नो क्षमतामा नै विश्वास गरी बसे। आफूले विरोध गर्दा राजतन्त्र मात्र होइन, देशभित्र रहेको आन्तरकि सार्वभौमसत्तासमेत कुचक्रमा पर्न सक्छ भन्ने उनलाई लाग्थ्यो। तर, दरबारभित्रका व्यूह रचनामा बीपीको पकड थिएन। क्रमशः राजा र जनताबीचको खाडल खनिँदै थियो। 

आफ्नो अन्तस्करणमा कतै न कतै राजा महेन्द्रलाई लाग्थ्यो, राजकाजमा महत्त्वाकांक्षी शक्तिशाली व्यक्ति नेपालमा जंगबहादुर -विसं १८७४-१९३३)का रूपमा पुनः जन्मन सक्छन्। २ असोज १९०३ मा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह तथा ४० जना भाइभारदारको ज्यान लिने गरी भएको कोतपर्वमार्फत आफूलाई सत्तामा स्थापित गर्न सक्षम जंगबहादुर राणा नेपालका राजाहरूका लागि सधैँ भय र त्रासका विषय बने। नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री दिवगंत कृष्णप्रसाद भट्टराईको दृष्टिकोणमा त्यो भय एवं त्रास राजा त्रिभुवन र महेन्द्रमा पनि थियो। बीपीको व्यक्तित्व, क्षमता वा उचाइले कदाचित महेन्द्र पनि आक्रान्त थिए। तर, केवल त्यतिका कारणले मात्र नेपालको प्रजातन्त्रको प्रयोग विफल गराइएको थिएन। दुश्चक्रमा उनी पनि फसेका थिए। 

महेन्द्रको मृत्यु अप्रत्यासित रूपमा हृदयाघातका कारण भएको मानिन्छ। राजा महेन्द्रको मृत्यु अमेरिकी गुप्तचर संस्थासँग नजिक रहेका टाइगर टप्स होटलका मालिक जोन कोपम्यानको अँगालोमा भएको भन्ने छ। यसका बारेमा प्रस्ट रूपमा लेखिएको/बोलिएको देखिँदैन। दुर्भाग्य भनौँ वा नियति, त्यतिखेरसम्म बीपीसँग मेलमिलाप गर्दै प्रजातान्त्रिक शासन प्रणालीमा फर्किने वातावरण नयाँ राजाको हातमा होइन, तथाकथित दरबारको हातमा पुगिसकेको थियो। दरबारलाई कसैले चलाउँदो रहेछ। बीपीले पटक-पटक यो कुरा उल्लेख गरेका छन्। 

बीपी आफ्नो जीवनकालमै राजनेता मानिए। उद्देश्यको पवित्रता र संघर्षले उनलाई त्यो उचाइमा पुर्‍यायो। प्रजातान्त्रिक संरचनाहरूप्रति असहिष्णु देखिएका कारण महेन्द्रले त्यो खिताब पाउन सकेनन्। प्रजातन्त्र र अखण्ड राष्ट्रवाद सन्निहित राष्ट्रिय मेलमिलापको नीतिको पृष्ठभूमि यिनै अनुभवका आधारमा तयार गरिएका थिए। तर, आजका मितिमा बीपी आफूले स्थापना गरेको नेपाली कांग्रेसकै एजेन्डामा पर्दैनन्। किनभने, बाहिरिया तत्त्व दरबार सिध्याएर अब ठूला दलहरूलाई सिध्याउन लागेको छ। बाँच्नका लागि पनि बीपी तथा उनका सिद्धान्तहरूलाई बार्नुपर्ने बाध्यता कांग्रेसजनलाई छ। यदि बीपीको राष्ट्रिय चिन्तनलाई राजा महेन्द्रले बुझ्न सकेका भए आज देशको यो स्तरको दुर्दशा हुने थिएन र पराधीनता पनि खेप्नुपर्ने थिएन। राष्ट्रवादीहरूले प्रजातन्त्र चलाउँथे र प्रजातन्त्रवादीहरूले राष्ट्रको सार्वभौमसत्ता जोगाउँथे।

(डा. अधिकारी संविधानविद् हुन्।)

Head Section

Recent Quick Comments

- [See All]

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण


2017-08-30
काठमाडौँ, १४ भदौ - जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र न...

Recent Legal Developments

- [See All]

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास


2017-02-02
माघ २०, २०७३- व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अ...

Recent TV Interview

- [See All]

Nepali-English Constitutional Legal Dictionary

Find Bipin Adhikari on

Bipin Adhikari Official Twitter Page Bipin Adhikari LinkedIn Bipin Adhikari on Youtube

Quick Links

Nepal Consulting Lawyers Inc
B. P. Koirala Archives & Records
Head Section