Head Section

नेपाललाई हजारौं वर्ष केले टिकायो

डा. विपिन अधिकारी
कोसेली, कान्तिपुर दैनिक
पुस २, २०७३

Dr Bipin Adhikari

दयारामभक्त माथेमाको ‘अनुभव र अनुभूति’, रेवतीरमण खनालको ‘अनुभूति र अभिव्यक्ति’ गोपाल खनालको ‘भूराजनीति’, भोजराज घिमिरेको ‘मोडहरूमा म’, कुलचन्द्र गौतमको ‘लस्ट इन ट्रान्जिसन’ र एन्ड्रयु डफको ‘सिक्किम : रेक्विम फर अ हिमालयन किङडम’ मैले पछिल्लो समय पढेका पुस्तकहरू हुन् । यी सबै सूचनामूलक छन् । माथेमाले पुस्तकमा १९९७ देखि २०१६ सम्म र त्यसपछिको समयबारे आफ्नो हिसाबले चर्चा गरेका छन् । यो किताबले नेपालको संवेदनशील समयका बारेमा राजा त्रिभुवनको दृष्टिकोण दिन्छ । लेखकले राजाहरूबारे इमानदार प्रस्तुति दिएका छन् । सिक्किमसम्बन्धी किताब धेरै जानकारीमूलक छ । सिक्किम विलयपछि आएको सुनन्ददत्त रायको ‘स्म्यास एन्ड ग्रयाब’ भन्दा यो पुस्तक निकै राम्रो छ । डफको पुस्तकमा भारतको दृष्टिकोण मात्र छैन । भारतले कसरी कदम चाल्यो भन्ने भन्दा पनि अन्तर्राष्ट्रिय राजनीतिको परिप्रेक्ष्यमा सिक्किम विलय कसरी भयो भन्ने चर्चा छ यसमा ।

रेवतीरमणलाई म विद्यार्थीकालदेखि चिन्थें । त्यसैले उनको पुस्तक देख्नेबित्तिकै किनें । दरबारलाई धेरै भित्रदेखि चिनेको मान्छेको पुस्तकबाट मैले धेरै अपेक्षा गरेको थिएँ । तर त्यस्तो केही पाइनँ । पुस्तकले मेरो उत्सुकता केही पनि मेटेन । केही सूचना मात्र दियो ।

कानुनदेखि विकाससम्म

संवैधानिक कानुन, प्रजातान्त्रिक प्रक्रिया, कानुन सुधार, मानव अधिकारलगायतका विषय म बढी पढ्छु, कानुनको शिक्षक भएकाले । भलै यी सार्वजनिक चाखका विषय नहुन सक्छन् । यस अलावा नेपालको इतिहास, राजनीति, कूटनीति, विकास र अन्तर्राष्ट्रिय सम्बन्ध अनि नेपाल र विश्वका समसामयिक मामिलामा मेरो रुचि छ । सन् १९५० भन्दा अघि लेखिएका नेपालसम्बन्धी पुस्तकप्रति मेरो विशेष चाख छ । हाम्रो देशसम्बन्धी आधारभूत किताब मलाई सधैं मन पर्छ । करिब चार दर्जन यस्ता पुस्तकको त मैले समीक्षा नै गरेको छु । व्यावसायिकभन्दा पनि मेरो रुचिका हिसाबले हो यो ।

मेरो अध्ययनको अर्को विषय बीपी हो । उनीसम्बन्धी भेटेजति पढ्छु । उनीबारे आउने राम्रा–नराम्रा जति पनि दृष्टिकोण छन्, ती सबै जान्न चाहन्छु । अनि, त्यसबारे आफ्नो दृष्टिकोण राख्न मन पर्छ मलाई । मेरा दृष्टिमा बीपी नेपालको पुनर्जागरणका प्रतीक हुन् । मैले बीपीको जीवन अनि उनको लोकतन्त्र, राष्ट्रियता र राष्ट्रिय मेलमिलापसम्बन्धी धारणाबाट निकै सिकेको छु । सार्वजनिक नीति र सुरक्षाको विषयमा पनि मेरो चासो छ । पछिल्लो समय चीनको ‘वान बेल्ट, वान रोड’ बारे भेटेजति सामग्री पढिरहेको छु । वर्तमान नेपालको चुनौती, नेपाल–भारतसम्बन्ध र नेपाल–चीन सम्बन्ध बताउने पुस्तक पनि मेरो छनोटमा पर्छन् । 

विद्यार्थी जीवनमा साहित्य

सिरहाको बस्तीपुरमा जन्मिएँ/हुर्किएँ । त्यहाँ समता पुस्तकालय थियो । गाउँभरिका मान्छे दसैंमा आउँदा पुस्तक बटुलेर ल्याएका हुन्थें र त्यो पुस्तकालयलाई दिन्थें । मेरो सुरुवाती पुस्तक–अध्ययन त्यहीँ भयो । नेपाली साहित्य पढियो त्यति बेला । ‘पन्ध्रतारा र नेपाली साहित्य’ त्यति बेलै पढेको हुँ । क्याम्पस पढ्दा नेपाली र अंग्रेजी साहित्यका क्लासिक पुस्तकहरू पढें । तर त्यसयता साहित्य पढ्न ठप्पजस्तै भयो ।

सानोमा पढेका कुराले रुचि जगायो । पछि अध्ययन आवश्यकता बन्न थाल्यो । अनि राम्रो के हो, नराम्रो के हो भन्ने दृष्टिकोण बनाउन जानियो । पहिले बीपीको ‘सुम्निामा’ बुझिएको थिएन । जीवन के हो, सुख के हो, दु:ख के हो, सन्ताप के हो भन्ने बीपीको दृष्टिकोण सबै भेटिन्छ अहिले पढ्दा । कलेज पढ्दा लुई फिसरले लेखेको गान्धीको जीवनी निकै मन परेको थियो । बट्रान्डका रसेलका पुस्तक र उनको जीवनी मैले त्यति नै बेला पढेको हँु । उनको ‘अनपपुलर एसे’ ले मलाई छोएको थियो । राजनीति, दर्शनशास्त्र, आधुनिकता, बौद्धिकताजस्ता विषयहरूको अभूतपूर्व विश्लेषण छ यो निबन्ध संग्रहमा ।

बीपी मेरा स्रोत

अहिले त पुस्तक खोज्न इन्टरनेटले सजिलो बनाएको छ । तर पहिले तरिका अर्कै थियो । मैले जयप्रकाशबारे पढें, बीपीले उनको चर्चा गरेकाले । मिनु मसानीलाई मैले सायद पढ्दैनथे होला, यदि बीपीले नाम नलिएका भए । बीपीले नै नाम लिएकाले डुरान्टको ‘स्टोरी अफ सिभिलाइजेसन’ निकै खोजियो तर पाइएन । यसका भोलमहरू मोटामोटा र महँगा छन् । पछि मात्र भेटियो । अहिले त राम्रा पुस्तक आउँदा बिक्रेताले फोन नै गर्छन् । पहिले समय थियो, किताब पाइँदैनथ्यो अहिले किताब पाइन्छ समय छैन ।

माइकल पोर्टरलाई पछ्याउँछु 

अहिले म हार्वर्ड विश्वविद्यालयका प्राध्यापक माइकल पोर्टरलाई महत्त्व दिन्छु । यी अर्थशास्त्रीले लेखे–बोलका कुरा म खोजी–खोजी हेर्छु । कुनै देशले कसरी प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्छ भनेर उनले लेख्ने बोल्ने गरेका छन् ।

अब ‘लक्जरी रिडिङ’ भन्दा पनि यसको प्रयोग पनि होस् भन्ने चाहन्छु । ‘वान बेल्ट एन्ड वान रोड’ लाई मैले गम्भीरतापूर्वक नियालिरहेको त्यही भएर हो । नेपाल सरकारले यसको सन्दर्भमा कतै गल्ती गरिहाल्यो भने झ्याप्प समाउन सकियोस् भनेर । किनकि नेपालमा त्यसको विशेषज्ञ छैनन् । हेन्री किसिन्जरको ‘अन चाइना’ मलाई मन परेको पुस्तकमध्ये पर्छ । चीनबारे मैले निकै किताब पढें तर यो नपढेको भए मेरो चीन बुझाइ कमजोर नै हुन्थ्यो । तर यसमा नेपालबारे उल्लेखै छैन । किनेकै दिन इन्डेक्समा नेपाल खोजेको थिएँ तर भेटिनँ । नक्सामा भने रहेछ, त्यतिले नै चित्त बुझाएँ । त्यसबारे समीक्षा नै लेखें, ‘छिमेकी मुलुक नेपाल चीनको महत्त्वपूर्ण विषय हो, ऐतिहासिक कालदेखि नै । तर यसबारे लेखिएन ।’ सुखद संयोग किसिन्जरको अर्को पुस्तकमा हाम्रो देशबारे एक अनुच्छेद परेको छ— नेपाल कसरी आफ्नो डिप्लोमेसीका बलमा टिकेको छ भनेर ।

हड्सनले गुन लगाए

नेपालबारे लेखिएका कति राम्रा पुस्तक हामीले पढिरहेका छैनौं । ब्रायन हड्सनले लेखेका चिठीपत्र निकै उपयोगी छन् । हड्सन नभएको भए हामी कति अध्ययन सामग्रीको स्रोतसम्म पुग्नै सक्दैनथ्यौं । उनले सूची नलेखिएदिएको भए नेपालमा कुन–कुन बुद्धिस्ट पुस्तक छन् भन्ने पनि थाहा हुँदैनथ्यो । आर मित्राको पुस्तक मैले उनीबाटै थाहा पाएर पढेको हुँ ।

लेख्नु त रेग्मीको जसरी

नेपालको इतिहास या अंग्रेजले आफ्नो ‘कोलोनियल पावर’ का दृष्टिकोणले लेखे, या भारतीयले लेखे, नेपाललाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ भन्ने हेतुले । अन्य पश्चिमाहरूले पर्यटक भएर लेखे । कोही तीर्थयात्री, कोही जासुस र कोही चिकित्सक भएर आउँदा लेखे । अनि हाम्रा इतिहासकारहरूले जति पनि लेखे, सबै आफ्नो हिसाबले लेखे । बाबुराम आचार्य जो ‘लिडिग हिस्टोरियन’ हुन्, उनले आफ्ना स्रोतका सूचनाहरूका आधारमा लेखे । त्यसमा अरूले के भन्छन्, त्यसको तुलनात्मक महत्त्व कति छ भन्ने आधारमा उनले हेरेजस्तो लाग्दैन । तर, महेशचन्द्र रेग्मीले लेखेको भूमि र प्रशासनसम्बन्धी पुस्तक बेजोड छ । 

अन्तर्राष्ट्रिय परिवेश बुझेर र त्यस परिप्रेक्ष्यमा नेपाल के हो भन्ने चिनेर लेखे उनले । आजसम्म जग्गाजमिनसम्बन्धी नेपालमा जे–जे प्रकाशित छन्, ती सबैमा कि उनकै सन्दर्भ दिएर लेखिएको छ कि चोरेर । रेग्मीले जसरी पुस्तक लेखियो भने झूटा कुरा आउँदैन । अहिले तराईबारे जे लेखनी आइरहेका छन्, ती सही होइनन्् । पहिचानको राजनीतिले बेहाल गरिदिएको छ देशलाई । देशलाई ‘सस्टेन’ गर्ने हजारांै वर्षका राजनीतिक आधारहरू के थिए भनेर पुस्तक लेखिएका छैनन् । यस्ता कुराहरू समावेश पुस्तकको खाँचो छ ।

रोजको त्यो ‘ब्रह्मवाक्य’

विदेशी भईकन पनि लियो ओ रोजले जति लेखे, निकै राम्रा लेखे । भुवनलाल जोशीसँग मिलेर लेखेको उनको पुस्तक ‘डेमोक्रेटिक इनोभेसन्स् इन नेपाल’ राजा महेन्द्र र बीपीलाई संयुक्त रूपमा समर्पण गरिएको छ । नेपाल निर्माता यी दुवै व्यक्ति हुनुपर्छ भन्ने अभिव्यक्ति उनले त्यस समर्पणबाट दिएका छन् । मेरा लागि, लियो ओ रोजले त्यति लेख्नु ब्रह्मवाक्य हो । नेपालका कुनै पनि राजनीतिशास्त्रीले त्यसरी लेख्न सके ? उनीहरू कि त राजाको अन्धभक्त भए कि बीपीको । दुवै जनाका बारेमा प्रयाप्त चाख राखेर लेखिदिएको भए बीपीको लाइन धेरै बलियो हुन्थ्यो । आज बीपीको लाइन समाप्त भयो, अहिले नेपाल यस्तो विकट घडीमा उभिएको छ कि, नेताहरू मुलुकको हित केमा हुन्छ पनि भन्न सक्दैनन् ।

लियो ओ रोजले नेपाललाई एसियाली सन्दर्भमा एउटा ‘टेस्ट केस’ मा रूपमा लेखेका हुन् । यहाँ बसी अध्ययन गरेर विश्वसनीय स्रोतका आधारमा लेखेका हुन् । अरूजस्तो दुई चार दिन पाहुना भएर लेखेका होइनन् । त्यस्तै फादर स्टिलर पनि विश्वसनीय लेखक हुन् ।  यसको मतलब यो होइन कि ‘फ्लाई बाई नाइट कन्सल्ट्यान्ट’ ले लेखेका कुरालाई ‘डिस्क्रेडिट’ गरिहाल्नुपर्छ । खासमा उनीहरूले दिएको ‘डेटा’ लाई लिने हो तर धारणा अपनाउने होइन । जस्तो भनूँ— पृथ्वीनारायाण शाहले एकीकरणको लडाइँ कसरी लडे भन्ने ऐतिहासिक ग्रन्थ अभाव छ । कसैले लेखेको छैन । फादर रुबाटोले जे लेखे, त्यो किताब पनि होइन एउटा संस्मरणात्मक निबन्ध हो, बेतियाको चर्चलाई बुझाएको । पृथ्वीनारायण शाहले देश निकाला गरेको एउटा पीडितले रिसाएर लेखेको किताब कस्तो हुन्छ ? उनले जथाभावी लेखेका छन् । दुर्भाग्य π पश्चिमाहरूले यसलाई विश्वसनीय प्रमाणका रूपमा लिइदिए । २४ घण्टाभित्र देश छोड भनेर लगारिएकाले कसरी निष्पक्ष लेख्न सक्छ ? म उनले भनेको कुरालाई ‘डिस्रिगार्ड’ गर्दिनँ तर, त्यसलाई केवल ‘डेटा’ का रूपमा मात्र लिन्छु । उनले आफूलाई पृथ्वीनारायणले खेदेको मात्र देखे । मैले त पृथ्वीनारायणलाई दसवटा रूपबाट हेरेको छु । पृथ्वी नारायणलाई मुल्यांकन गर्दा ‘होलिस्टिक’ हुनुपर्छ । लडाइँमा पनि सिद्धान्त हुन्छ । ठूलो ‘कज’ चाहिन्छ । बिना ‘गुड कज’ खुकुरी बोकेकै भरमा नेपाल एकीकरण भएको होइन । खुकुरी बोक्ने शासकले पनि जनताको वैद्यता खोज्छ । यस्ता कुरा इतिहासकारले लेखेनन् भनेर विश्लेषकले जे पनि ग्रहण गर्न मिल्दैन ।

बेलिनको पुस्तक र पृथ्वीनारायण

अमेरिकीहरूले क्रान्ति किन गरे भनेर बर्नार्ड बेलिन भन्ने दिग्गज इतिहासकारले ‘इडियोलोजिकल अरिजिन्स अफ अमेरिकन रिभोलुसन’ भन्ने किताब लेखे । उनले यसमा अमेरिकी क्रान्तिको सैद्धान्तिक पक्ष के थिए भनेर केलाए । यो पढेपछि दिमागमा स्वाट्ट पस्छ— नेपाल एकीकरणको पनि इडियोलोजिकल अरिजिन के हो ? बीपीले केही चर्चा गरेका छन्, ‘राजस्व आर्जन बढाऊँ, तिब्बत र भारततिरका नाकालाई आफ्नो अधीनमा बनाई मल्ल जत्तिकै अर्थ आर्जन गरूँ भनेर एकीकरण गरे । तर देशलाई एकीकरण गर्ने मानसिक आधार थिएन ।’ मान्छेहरूले यसलाई बढी बुझे । मैले भने बीपीले जति मात्र बुझेको छु ।

बेलिनले क्रान्तिमा देउता खोज्नु हँुदैन भनेका छन् । उनले जेम्स मडिसन, जेफर्सन, वासिङ्टन, जोन एडम्स बारेमा के रहेछ भनेर कोट्याएर हेरेका छन् । फिलाडेल्फियामा भाग लिएका १३ वटा राज्यबारे खोतलेका छन् । शब्द मात्र नहेर, त्यसको पछाडिको भाव बुझ भनेका छन् । त्यो पुस्तक पढेपछि मलाई लाग्यो पृथ्वीनाराणणको एकीकरण अभियान पनि राजस्वका लागि मात्र थिएन । 

 (कुराकानीमा आधारित)

अधिकारीले नाम लिएका १५ पुस्तक

1.‘पुरानो मुलुकी ऐन’ (विसं १९१०)

2. योगी नरहरिनाथको ‘पृथ्वीनारयण शाहका दिव्य उपदेश’

3. बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारयण शाहको संक्षिप्त जीवनी’ (२०२४)

4. महेशचन्द्र रेग्मीको ‘अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री’

5. भुवनलाल जोशी र लियो इ रोजको ‘डेमोक्रेटिक इनोभेसन्स् इन नेपाल’

6. लियो इ रोज र जे टी स्कल्जको ‘नेपाल, प्रोफाइल अफ अ हिमालयन किङडम’

7. लुडविङ एफ स्टिलरको ‘द साइलेन्ट क्राई : द पिपल अफ नेपाल’

8. एम एस स्लुसेरको ‘नेपाल मण्डला : अ कल्चरल स्टडी अफ द काठमान्डु भ्याली’

9. आर मित्रको ‘द संस्कृत बुद्धिस्ट लिटरेचर अफ नेपाल’

10. ए होफरको ‘द कास्ट हाइरार्की एन्ड द स्टेट इन नेपाल’

11. बट्रान्ड रसेलको ‘अनपपुलर एसेज’

12. लुइस फिसरको ‘द लाइफ अफ महात्मा गान्धी’

13. बर्नार्ड बेलिनको ‘द इडियोलोजिकल अरिजिन्स अफ अमेरिकन रिभोलुसन’

14. नान्सी फ्राइडेको ‘माई मदर माइसेल्फ’

15. म्याक्सिम गोर्कीको ‘द मदर

Head Section

Recent Quick Comments

- [See All]

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण


2017-08-30
काठमाडौँ, १४ भदौ - जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र न...

Recent Legal Developments

- [See All]

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास


2017-02-02
माघ २०, २०७३- व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अ...

Recent TV Interview

- [See All]

Nepali-English Constitutional Legal Dictionary

Find Bipin Adhikari on

Bipin Adhikari Official Twitter Page Bipin Adhikari LinkedIn Bipin Adhikari on Youtube

Quick Links

Nepal Consulting Lawyers Inc
B. P. Koirala Archives & Records
Head Section