Head Section

किन आवश्यक छ वास्तुकला संरक्षण ऐन?

डा. विपिन अधिकारी
अन्नपूर्ण पोस्ट
२०७२ जेष्ठ १० आईतवार

विनाशकारी भुइँचालोको चपेटामा परी नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदा अत्यधिक रूपमा क्षतिग्रस्त भएको अहिलेको परिस्थितिमा नेपाली वास्तुकला अब लोप भएरै जाने हो त? एउटा गम्भीर प्रश्न उपस्थित भएको छ।  नेपाल सरकार पुनर्निर्माणका लागि आफ्नो अठोट सार्वजनिक गर्दै बजेट व्यवस्थातर्फ उन्मुख हुन लागेको अनुभव सबैले गरेका छन्। यो खुसीको कुरा हो, तर यो अवसरलाई किन नेपाली वास्तुकलाको संरक्षण वा प्रवद्र्धनका लागि प्रयोग नगर्ने? यसतर्फ पनि सोच्नु जरुरी छ। नेपाली वास्तुकला अद्वितीय मानिन्छ। नेपाली जातिको सामाजिक, आर्थिक एवं सांस्कृतिक विकास एवं पहिचान स्थापना गर्नका लागि यिनको एेतिहासिक कालमा ठूलो भूमिका रह्यो। एउटा स्वतन्त्र देशको रूपमा आफ्नो क्षमता प्रमाणित गर्न भाषा, धर्म, संस्कृति, साहित्य, जातीयता, भूगोललगायत पहिचानमुखी विभिन्न परम्पराको ठूलो भूमिका हुन्छ। यी विषय राजनीति र सार्वभौमसत्ताजत्तिकै महत्त्वपूर्ण विषय हुन्।
 
यस सम्बन्धमा नेपालका आदि निर्माता गोपाल, महिषपाल र किरातवंशको प्रागैतिहासिक सन्दर्भ कस्तो रह्यो? हामीलाई थाहा छैन। तर पाँचौं शताब्दीदेखि देखापरेका लिच्छवीहरू र बाह्रौंदेखि अठारौं शताब्दीसम्मका मल्लहरूले यसको सिर्जना र विकासमा ठूलो लगानी गरे। अठारौं शताब्दीदेखिका शाह र राणा वंशहरूले पनि नेपाली वास्तुकलाको पुख्र्यौली अवधारणालाई केही न केही रूपमा अगाडि बढाउँदै लगे। नवौं शताब्दीदेखि बाह्रौं शताब्दीका बीच नेपालको वास्तुकला कुन रूपमा रह्यो भन्ने कुरा अन्धकारमै छ। तर यो अवधिमै कश्मीरदेखि पश्चिम भोट तथा नेपालको पश्चिमाञ्चलसम्म खस साम्राज्यको इतिहास पाइन्छ। तर वर्तमान नेपालको वास्तुकलामा उनीहरूको विशेष योगदान देखिँदैन। यससम्बन्धमा उनीहरूले धेरै सिके पनि नवनिर्माण गर्ने क्षमता देखाउन सकेनन्। तर जुन रूपमा भए पनि समग्र नेपालले ऐतिहासिक कालदेखिको प्रयासबाट नेपाली वास्तुकलालाई विकसित गरेरै छोडेको देखिन्छ।
 
नेपाली वास्तुकला यहाँको हिन्दु र बुद्ध परम्परामा आधारित छन्। ती बीचमा पनि कतिपय अवस्थामा अन्योन्याश्रित सम्बन्ध छ। कतिपय परम्परा धर्मनिरपेक्ष पनि होलान्। धर्म र संस्कृतिलाई विचारै नगरी पनि कतिपय निर्माण कार्य सम्पन्न भएका होलान्। तथापि यहाँका पुराना घर, बहाल, फाल्चा, पाटीपौवा, मन्दिर, स्तूप र दरबारले ती परम्पराको उत्कृष्ट नमुना के थिए वा कस्ता थिए भनी देखाउन सक्छन्। मल्ल राजाहरूले सहरीकरण गर्दा सामाजिक वा राजनीतिक तह वा हैसियतअनुसार यी वास्तुकलाको प्रयोग गरेको देखिन्छ । सिक्किम, भोटाङदेखि हिमवत् खण्डका विभिन्न राज्य-रजौटाले आफ्नो हैसियतअनुसार यी नमुनाको अनुकरण गरेको इतिहासले देखाउँछ। लिच्छवीका बारेमा स्पष्ट उल्लेख गर्न नसकिएला, तर मल्लकालका कालिगढ यस क्षेत्रका विभिन्न देशमा शिल्पीका रूपमा जाने-आउने गर्थे भन्ने कुरा अंग्रेजद्वारा लिखित पुराना पुस्तकमा उल्लेख गरिएका छन्। इँटका घरमा बस्ने सहर हिमवत् खण्डमा नेपाल उपत्यकाबाहेक कतै थिएन। उपत्यकाको वास्तुकलालगायतका सांस्कृतिक सम्पदाले उनीहरूको बौद्धिक हैसियत प्रमाणित गर्दथ्यो। यसले नै नेपाली वास्तुकलाका कलात्मक संकेत वा प्रतीकको स्थापित ग:यो। नेपाली विशेषताका रूपमा तिनलाई लिन थालिए। प्रकाशित गरिएको इतिहासले सामान्यतया त्यस्ता वास्तुकलाको नक्सांकन कसले ग:यो वा कसरी गरिए भन्ने कुराको प्रमाण छोडेको छैन। राणाकालमा राज्यको ध्यान त्यति पुगेको नदेखिए पनि सम्पदाका रूपमा नेपालमा प्रजातन्त्र आउञ्जेल पनि ती सुरक्षित नै थिए।
 
नेपालमा तीनथरीका वास्तुकला ऐतिहासिक रूपमा प्रचलनमा देखिन्छन्। सबैभन्दा मुख्यचाहिँ पगोडा शैली नै हो। यो नेपालको आफ्नै मौलिक सिर्जना हो। कतैबाट कसैसँग सिकेको होइन। यो शैली विश्वप्रसिद्ध पनि हुन सक्यो। नेपालबाटै यो भोट र चीन हुँदै दक्षिणपूर्व तथा पूर्वी एसियाका धेरै मुलुक पुग्न सक्यो। इतिहासमा अत्यधिक चर्चा गरिएको मानगृह, चाँगुनारायणको मन्दिर, कैलाशकुट भवन इत्यादिलाई यसको ऐतिहासिक नमुना मानिएको देखिन्छ। पछि मल्लकालमा दत्तात्रेय, न्यातपोल देवल तथा काष्ठमण्डप इत्यादि उत्कृष्ट संरचना थपिए। वसन्तपुरको नौतले र नुवाकोटको पगोडा शैलीका दरबारले पुरानै परम्परालाई निरन्तरता दिएको देखिन्छ। पशुपतिनाथ, तलेजु, पलाञ्चोक भगवती पगोडा शैलीका अन्य उत्कृष्ट नमुना हुन्। नेपाली इँट, काठका कलात्मक झ्याल, ढोका र रंग इत्यादिको अनुपम प्रयोगका कारण पगोडा शैलीले जनस्तरमै आफूलाई स्थापित गर्‍यो।
 
यस प्रकारको पगोडा शैलीबाहेक पनि स्तूप र चैत्यको नेपालको आफ्नै समानान्तर शैली छ। बौद्ध परम्परामा यसले गहिरो छाप छोडेको छ। कतिपयले यो परम्परालाई राजा अशोकले सुरु गरेको मान्दछन्। मायादेवीको मन्दिर यसको एउटा राम्रो उदाहरण हो। यो प्राचीन समयदेखि नै प्रयोगमा छ।स्वयम्भूनाथ र बौद्धनाथ स्तूप शैलीको उत्कृष्ट नमुना हुन्। पाटनको अशोक स्तूप नेपालको सबैभन्दा पुरानो मानिन्छ। चाबहिलमा रहेको चारुमतीको चैत्य पनि यसै शैलीमा बनेको छ, तर गत शताब्दीदेखि यसमा उल्लेख्य लगानी हुन सकेको छैन।
 
नेपालमा शिखर शैलीका पुराना वास्तुकला पनि प्रचलित छन्। यो पिरामिड आकारमा देखिन्छ। हरेक आकारको टुप्पोमा गजुर राखिएको हुन्छ। तल बाक्लो र माथि बिस्तारै मसिनो हुँदै जाने पाटनको कृष्ण मन्दिर र महाबौद्धलाई उत्कृष्ट उदाहरणका रूपमा लिन सकिन्छ। कतिपय ठाउँमा गुम्बज शैलीमा पनि धार्मिक मठमन्दिर देखिन्छन्। मुगल शैली पनि नेपालमा प्रचलनमा आयो। जानकी मन्दिर यसै शैलीको हो। मल्लकालीन पचपन्न झ्याले दरबार, राणाकालीन सिंहदरबार, केशरमहल, थापाथली दरबार, श्रीमहल, रानीमहल अन्य उदाहरण हुन्। यी पछिल्ला शैलीतर्फ उन्मुख भएपछि पगोडा शैली विस्तारै पछाडि पर्न थालेको अनुभूति हुन्छ। मुगल शैलीमा बेलायती प्रभाव पनि भएकाले बेलायत जल्दोबल्दो भएका बेला नेपालका शासक त्यसतर्फ आकृष्ट भएका हुन्।
 
हाल नेपाली तथा नेपाल सरकारले आत्मसात् गर्न छोडेको तर विश्वले सम्पदाका रूपमा स्वीकार गरेको सातवटा विश्वसम्पदा स्थल छन्। तिनले नेपाली वास्तुकलालाई प्रमाणका रूपमा जीवन्त राखेका छन्। तर बनेपा, पलाञ्चोक, सुनकोशी, नुवाकोट, गोरखा, टिस्टुङ-पालुङको सिमानाभित्र भएका सम्पूर्ण सम्पदा जोड्ने हो भने यो वास्तुकला उक्त विश्वसम्पदा स्थलभन्दा बाहिर पनि त्यत्तिकै प्रभावशाली रूपमा देख्न सकिन्छ। जनस्तरमा जेजति थिए वा कायम छन्, ती छरिएर रहे पनि मूलसम्पदाभन्दा कम महत्त्वपूर्ण मानिँदैनन्। तर तिनको सुरक्षा हुन नसक्दा ती क्रमश: समाप्त हुँदै गए। यसपालिको भुइँचालोले ती विश्वसम्पदालाई लगभग समाप्त नै गर्न खोजेको देखिन्छ। सरकारको निरन्तर उदासीनता, जनस्तरमा रहेको वास्तुकलाका अनुभूति संस्थागत गर्न नसकेको अवस्था र भुइँचालोले लौ त भन्ने शैलीमा बलात् ढालिदिनु एउटा नियतिकै रूपमा हेरिनुपर्ने बाध्यता छ। वास्तवमा नेपालको बृहत्तर राष्ट्रिय सम्पदालाई केवल बाँधसाँध गरेर वा भत्काउन नदिई सुरक्षित राखेर मात्र संरक्षण गर्न सकिँदैन। भएको सम्पदाको निरन्तर स्याहार-सम्भार एउटा प्रमुख आवश्यक पक्ष हो भने त्यसैबमोजिम नयाँ किसिमका निर्माण र यथोचित विकास सम्पदा संरक्षणको अर्को पक्ष हो।
 
त्यस्तै, नेपाल सरकार मात्र यस्ता सम्पदाको संरक्षक रहन सक्दैन। यसको स्याहार-सम्भार, संरक्षण, नवनिर्माण र विकासको व्यवस्थापनमा आमनेपाली तथा धार्मिक, सांस्कृतिक संघसंस्थालाई संलग्न गराउनुपर्छ। मानगृह बनाउन मानदेव, कैलाशकुट भवन बनाउन अंशुबर्मा वा वसन्तपुरको नौतले दरबार बनाउन पृथ्वीनारायण नै जन्मिनुपर्ने हो भने त्यो कहिल्यै सम्भव हुँदैन। सम्पदा संरक्षण र निर्माण निरन्तर प्रक्रिया हो। सरकारले यो कुरालाई अत्याधिक रूपमा ध्यान दिनुपर्छ। जुन रूपमा नारायणहिटी राजदरबार बन्यो, जसरी दशरथ रंगशालाको संरचना बनाइयो, जुन किसिमले भृकुटीमण्डप वा प्रदर्शनी स्थल बने वा आज सिंहदरबारभित्र जसरी गैरमुगल, गैरयुरोपियन नमुनाका कार्यालय बनेका छन्, यी सबैबाट के थाहा हुन्छ भने नेपालमा पैसाको मात्र अभाव छैन, बुद्धिको र विवेकको पनि अभाव छ। आजको राजनीतिक निर्णयकर्तामा नेपाली वास्तुकलाको कुनै सोचै छैन भन्दा पनि हुन्छ।
 
सरकारमा अलिकति पनि स्थापित दृष्टिकोण भएको भए यसले सातवटा विश्वसम्पदा स्थल भएको काठमाडौं उपत्यकालाई यी विश्वसम्पदा भन्दा अलग प्रारूपमा विकसित हुन दिने थिएन। गत पचास-साठी वर्षमा उपत्यकामा पुरानो हैसियत र ओज भएको कुनै संरचना बनेको देखिँदैन। ढल्न लागेका सम्मलाई घेरबेर गर्ने वा गुठी संस्थानको जिम्मा लाउने कामसम्म भएको हो। यसबाहेक जेजति नयाँ घरहरू बने, ती सबै विश्वसम्पदाको न्यूनतम वास्तुकलात्मक स्तरमा बनाइएका भए आज काठमाडौंको रूपरङ, एेश्वर्य र पहिचान यति दर्दनाक रूपमा धमिलिने थिएन। भक्तपुरमा यस सम्बन्धमा केही प्रयास गरिए, तर ती राष्ट्रिय स्तरका प्रयास हुन सकेनन्। काठमाडौं आई बस्नेले काठमाडौंको स्तरबमोजिम आउनेबस्ने बाध्यता गराइदिएको भए काठमाडौंको वास्तुकला खोज्न किताब पल्टाउनुपर्ने स्थिति आउने थिएन। काठमाडौं आज पैसा भए पनि स्वाभिमान नभएको सहरका रूपमा स्थापित छ। यसैले गर्दा उचित दृष्टिकोणको अभावमा आज हुँदै गरेको नवनिर्माणका कुराले काठमाडौंलाई अझ कंक्रिटको जंगल बनाउने हो कि भन्ने सम्भावना बढेको छ।
 
यति हुँदाहुँदै पनि सबै कुरा सिद्धिएको छैन। एउटा साधारण संविधान र कानुनको विद्यार्थीले वास्तुकलाका बारेमा यत्रो चिन्ता राख्नुले के देखिन्छ भने भविष्य समाप्त भइसकेको छैन। आज पनि नेपाली वास्तुकलाको पुनरुत्थान गर्नका लागि हामीसँग योग्य मान्छेको कमी छैन। धरहरा ढले पनि नेपालको सांस्कृतिक धरोहरका बारेमा राम्रो ज्ञान भएका संस्कृतिविद् सत्यमोहन जोशी हामीमाझै हुनुहुन्छ। 'नेपाल मण्डला' का बारेमा मेरी सेपहार्ड स्लस्सरले गरेको विषद् अध्ययन वा काठमाडौं उपत्यकाको प्राचीन बस्तीका विद्वान् डा. सुदर्शनराज तिवारी वा नेपालको परम्परागत वास्तुकलाका बारेमा विहंगम् दृष्टिकोण भएका ओल्फगङ जस्ता विद्वान्-विदूषीको अनुसन्धानबाट केही गर्न चाहनेले सम्पूर्ण ऐतिहासिक ज्ञान प्राप्त गर्न सक्दछ। नेपालविद् प्रा. माइकल हट्ट या नेपालको बौद्ध सम्पदाका विद्वान् जन् के. लकले पनि यसबारे धेरै लेखेका छन्। यस विषयको प्राज्ञिक महत्त्व अहिले पनि घटेको छैन। नमुना अहिले पनि छन्। हरेक सम्पदाका डिजिटल तस्बिर उपलब्ध छन्। देश-विदेशका धेरै विश्वविद्यालयले यो वास्तुकलामा गरेको अध्ययन सुरक्षितै छ। हामीलाई थाहा नभएको नजानेका अरू कति होलान्। त्यसैले सरकारले उपलब्ध योग्यतम् व्यक्तिको सहयोग लिई नेपाली वास्तुकलाको विकासका लागि उचित दृष्टिकोण बनाउन सक्यो भने पुनर्निर्माण गाह्रो छैन।
 
नेपाली वास्तुकलालाई जनस्तरमा पुनस्र्थापित गर्ने हो भने नेपालमा जनसहभागिता परिचालन गर्ने गरी नेपाली वास्तुकला प्रवद्र्धन एेन नै ल्याउनुपर्ने हुन्छ। यसलाई जनस्तरमै एड्भोकेसी गर्नुपर्ने स्थिति छ, यसका लागि सबैभन्दा सजिलो सरकारलाई नै छ। जस्तो- अहिले दोलखा, सिन्धुपाल्चोक र गोरखामा सरकारले उचित रूपमा सहयोग नगरी भुइँचालोबाट सकिएका भत्किएका घर पुनर्निर्माण गर्न सकिने स्थिति छैन। निब्र्याजी वा आंशिक ब्याजदरमा ऋण दिई सरकारले घरबार पुनर्निर्माण सुरु गर्ने सोच बनाएको छ। उपरोक्त सबै क्षेत्रको जातीय वास्तुकलात्मक नमुना छन्। सरकारले पैसा लगानी गर्दैछ भने त्यस्तो घर संसार निर्माण गर्दा स्थानीय वास्तुकला प्रवद्र्धन गर्ने गरी गराउन नसकिने होइन। ती क्षेत्र अनुपम सांस्कृतिक विशेषतायुक्त क्षेत्रका रूपमा विकास गराउन सकिन्छ। काठमाडौं उपत्यकाका हकमा पनि यो अत्यन्तै जरुरी छ। भत्किएका घरको पुनर्निर्माणमा ६० प्रतिशतदेखि शतप्रतिशतसम्म उपत्यकामा परिचित वास्तुकलाको ढाँचा अपनाउन सकिन्छ। अहिल्यै यसका बारेमा निर्णय गर्ने र पछि एेन बनाई व्यवस्था गर्ने तरिका उत्तम मान्नुपर्छ।
 
काठमाडौंको सांस्कृतिक पुनरुत्थानका लागि राज्य संरक्षित सम्पदाबाहेक पनि पुराना व्यक्तिगत घरसम्पदादेखि पाटीपौवा इत्यादि समेतलाई पनि पुनरुद्धार गर्नु गराउनु जरुरी छ। सांस्कृतिक सम्पदा व्यक्तिको होस् वा सरकारको, ती सबै राष्ट्रिय सम्पत्ति मानिनुपर्छ। प्रयोगकर्ताको वा बिक्रीकर्ताको अधिकार साम्पत्तिक अधिकार हो। तर त्यसलाई बिगार्न भत्काउन दिने प्रचलन अब आजका कुनै सभ्य राष्ट्रमा देखिँदैन। यस अर्थमा पूर्वमा धनकुटा बजारदेखि पश्चिममा डोटी सिलगढी बजारसम्मका परम्परागत घरबारको संरक्षण जरुरी छ। उदाहरणका रूपमा लिइएका यी दुवै सहर काठमाडौं उपत्यकाकै विस्तार मान्न सकिन्छ। यसमा सरकारले केही किसिमका प्रोत्साहन पनि दिनुपर्ने हुन्छ। यी घर आकर्षक नेपाली कलामा आधारित मात्र छैनन्, धान्न सकिने खालका पनि छन्। त्यसैले त त्यति पुराना भए पनि आजसम्म टिकेका छन्। यो पक्षलाई पनि उपरोक्त ऐनले समेट्नुपर्छ।
 
नेपाली वास्तुकलालाई राष्ट्रिय गौरवका रूपमा कहिल्यै प्रचारप्रसार गरिएन। त्यसो नगरिए पनि पूर्वमा कोशीतिरमा बनेका आधुनिक मन्दिरदेखि पश्चिममा म्याग्दीको गलेश्वरको मन्दिर वा डडेलधुराको उग्रताराको मन्दिरसम्म नेपाली शैलीमा बनेका छन्। कतिपय नेपालीले यो परम्परालाई स्वतस्फूर्त रूपमा जीवित राखेका छन्। तर राष्ट्रिय रूपमा त्यसलाई महत्त्व दिने हो भने छोटो समयमै अपूर्व रूपमा पुराना परम्परा पुनस्र्थापित गर्न सकिन्छ। त्यसका लागि नेपाल सरकारले वास्तुकला क्षेत्रमा र विशेषगरी परम्परागत सीप भएका कालीगढमा लगानी गर्नुपर्ने हुन्छ। नीतिगत परिवर्तन मात्रले ठूला-ठूला परिवर्तन गराउन सकिन्छ। जस्तो- काठमाडौं उपत्यकामा फस्टाएको आबास उद्योगमा वास्तुकलाको स्तर मात्र निर्धारण गरिदिएको भए सरकारले एक कौडी खर्च नगरीकन सयौं नमुना घर बनिसक्ने थिए । त्यस्तै दिइएको वास्तुकलाबमोजिमको घर निर्माण भएका अवस्थामा सरकारले केही वर्षका लागि घरजग्गा कर माफी गरिदिने वा घरधुरीका हिसाबले त्यस्ता घरमा बस्ने बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराइदिने व्यवस्था गरिदिन सक्छ। नेपाल सरकारले विगतमा बनाएका सयौं घरबाट ती नमुना पुनस्र्थापित हुनसक्ने थिए।
 
अहिले उत्तर र दक्षिण दुवैतर्फबाट क्षति भएको नेपालको वास्तुकलाको पुनर्निर्माणमा सहयोग गर्ने वचनबद्धता आएको छ। कतिले यो कुरालाई साँच्चि नै प्रशंसा गरेका छन्, तर नेपाली वास्तुकलाको पुनरुद्धार विदेशीबाट गराउनु पुर्खाको अपमान मात्र होइन, नेपाली हुनुको गौरवप्रतिको अनास्था पनि हो। यो सबै नेपाल सरकार वा यहीँका धार्मिक, सांस्कृतिक संस्था वा जनस्तरबाटै बन्नु, बनाइनुपर्छ। यसै पनि जुन स्केलमा क्षति भएको छ, त्यो स्केलमा निर्माण गर्न नेपाली आफैं तम्सिनुपर्ने हुन्छ। नेपालीको इज्जत सापेक्ष पनि यही नै हो।
Head Section

Recent Quick Comments

- [See All]

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण


2017-08-30
काठमाडौँ, १४ भदौ - जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र न...

Recent Legal Developments

- [See All]

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास


2017-02-02
माघ २०, २०७३- व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अ...

Recent TV Interview

- [See All]

Nepali-English Constitutional Legal Dictionary

Find Bipin Adhikari on

Bipin Adhikari Official Twitter Page Bipin Adhikari LinkedIn Bipin Adhikari on Youtube

Quick Links

Nepal Consulting Lawyers Inc
B. P. Koirala Archives & Records
Head Section