Bipin Adhikari
Constitutional Law, Governance & Public Policy Issues
Home   About   Contact Us  Archives




 

 


Nepal Consulting Lawyers Inc

B. P. Koirala Archives & Records

असल भारतीय विदेश नीतिको खोज

डा. विपिन अधिकारी
कान्तिपुर दैनिक
२०६८ फागुन २४

गतवर्ष प्रकाशित नेपाल, भुटान र भारतका पूर्वक्यानाडाली राजदूत डेभिड एम. मालोनको डज द एलिफेन्ट डान्स ?: कन्टेम्पोररी इन्डियन फरेन पोलिसी (के हात्ती नाच्छ ?: समसामयिक भारतीय परराष्ट्र नीति) भन्ने पुस्तक चर्चित रह्यो । भारतलाई बाल्यकालदेखि चिनेका मालोनले यसलाई प्रेमपूर्वक हात्तीसँग तुलना गरेका छन् । उनको निष्कर्ष के छ भने हात्ती अवश्य नाच्छ, तर यसलाई सम्भव बनाउन भारतीय विदेश नीतिमा सुधारका प्रशस्त सम्भावनाहरू छन् ।

वास्तवमा हिजोआज भारतको विदेश नीतिका सम्बन्धमा लेख्ने लेखकहरूको कमी छैन । गत दुई वर्षमा मात्र भारतको विदेश नीतिबारे करिब डेढ दर्जन पुस्तकहरू निस्किएका छन् । लेखकहरूमध्ये धेरैजसो भारतीय विज्ञहरू नै छन् । धेरैको चाहना प्रायः शक्तिगामी नै छ । मालोनका नेपालसँग सम्बन्धित व्याख्याहरू भारतीय स्रोतहरूबाटै साभार गरिए जस्ता लाग्छन् । तथापि अन्य विषयहरूमा मालोनको दृष्टिकोण भारतका लागि ममतामयी हुँदाहुँदै पनि धेरै हदसम्म वस्तुगत नै छ ।

हालैको भारतीय विज्ञहरू सम्मिलित एउटा परराष्ट्र मामिला तथा नीति निर्माणसम्बन्धी अध्ययन अ फरेन एन्ड स्ट्रेटेजिक पोलिसी फर इन्डिया इन द ट्वेन्टी फस्ट सेन्चुरी प्रतिवेदन अहिले चासोको विषय भएको छ । समाचारपत्रमा देखिएअनुसार उक्त प्रतिवेदनले भारतको विदेश नीतिमा पुनर्मूल्याङ्कन, साना छिमेकीहरूमाझ भारतप्रति रहेको भय हटाउने आवश्यकता, चिनियाँ प्रभावलाई दक्षिण एसियामा 'काउन्टर' गर्ने रणनीतिको विकास इत्यादिबाट मात्र भारत यो शताब्दीमा एउटा शक्तिराष्ट्र बन्न सक्छ भन्ने निष्कर्ष उक्त प्रतिवेदनको रहेको छ । पढ्दा मुनासिव लाग्न सक्छ, तर अन्ततः विज्ञ भनाउँदाहरूको चाहना पनि असल राष्ट्र बन्ने होइन, शक्तिशाली बन्ने नै छ, अर्थात् समस्याको उठान र अवसानका लागि गरिएका तर्कहरूमा साधुवाद छैन । यो साधुवादको अभाव भारतीय विदेश नीतिको सबैभन्दा टड्कारो समस्या हो ।

झट्ट हेर्दा भारतसँग नेपालको सम्बन्ध सबै मुलुकहरूभन्दा राम्रो र टिकाउ हुनुपर्ने हो । छिमेक त हो नै, भारतसँग नेपालको धर्म, संस्कृति, जीवन पद्धति र जातिगत आधारमा पनि नजिकको साइनो छ । विशाल भारतको एउटा ठूलो जनसमुदाय नेपाल वा नेपाली भनेपछि हुरुक्क देखिन्छन् । सन् १९५१ देखि भारतीयहरूको हकमा राहदानीको व्यवस्थाको कार्यान्वयन गर्न छाडिएदेखि जनस्तरमा पनि यो सम्बन्ध प्रगाढ भएको छ । तर यसबाट न भारतसँग राजनीतिक विश्वासको सम्बन्ध कायम हुनसकेको छ, नत साझा दक्षिण एसियाली गन्तव्यको नै पहिचान हुनसकेको छ । एकल शक्तिगामी दृष्टिकोणकै कारण करिब ६ दसकभन्दा बढीको भारतको विदेश नीतिले आजसम्म कुनै कोशेढुंगा स्थापित गर्नसकेको छैन । विशेष सम्बन्धको कुरा गर्दागर्दै भारत घर-घरमा बदनाम भएको छ । कूटनीतिक भाषामा भन्दा भारतले यसबाट नेपालसँग प्रतिरक्षात्मक सम्झौताको चाहना इंगित गर्छ । तर यो इन्द्रजालको आकांक्षा नेपाल लगायत कुनै साना छिमेकलाई छैन ।

सन् १९३९-१९४५ सम्म युरोपमा भएका अनगिन्ती लडाइँ यहाँ प्रासंगिक छ । गन्ती गर्न नसकिएपछि यी लडाइँहरूलाई दोस्रो विश्वयुद्ध भनियो । सैन्य र असैन्य गरी लगभग ६ करोड मान्छेको खति भयो भनिन्छ । हुन पनि संसार कुनै मुलुक वा जातिका लागि यति वीभत्स कहिल्यै थिएन । इतिहासका शिक्षकहरूले आज पनि दोस्रो विश्वयुद्धताका कतिवटा युद्ध भए भनेर टुंगो लगाउनसकेका छैनन् । यी अधिकांश लडाइँलाई युरोपेलीहरू बीचको जाति, धर्म, संस्कृति वा भौगोलिक निकटता वा रगतको सम्बन्धले रोक्न सकेन ।

त्यस्तै पश्चिम युरोपका अधिकांश ऐतिहासिक लडाइँहरू आफन्त बीचमै भएका थिए । रगतको नाता भए पनि पाकिस्तान, बंगलादेश र भारत एकाकार रहन सकेनन् । एउटी आमाले उत्तिकै प्रसव वेदना खपी जन्माएका सन्तान बीचको सम्बन्ध पनि जबसम्म न्याय, समानता, सहअस्तित्व र भ्रातृत्वमा आधारित हुँदैन, रगतको नाताको पवित्रताको रक्षा हुनसक्दैन । झन् ऐतिहासिक रूपमा सार्वभौम भई बाँचेका मुलुकहरूबीच त रगत इत्यादिको नाता 'डिफाइनिङ फ्याक्टर' भएको संसारको राजनीतिक इतिहासले देखाउँदैन । दुष्प्रयास गर्दै हिँड्नु अर्कै कुरा हो ।

दक्षिण एसियामा एकल शक्तिशाली बन्ने भारतको चाहना साना छिमेकीहरूका लागि मर्नु-बाँच्नुको प्रश्न हो । आफ्ना सबै छिमेकीहरूभन्दा ठूलो, सम्पन्न, सम्पदायुक्त तथा विकसित हुँदाहुँदै पनि भारतलाई सुरक्षाको चिन्ता आफ्नो विपन्न छिमेकसँग छ । सामान्य विवेकका मान्छेहरूले बुझ्न नसकेको प्रश्न छ- किन होला, भारतका सबै छिमेक आफ्नालागि भारतलाई नै सबैभन्दा ठूलो सुरक्षा चुनौती ठान्छन् ? हरेक छिमेकसँग भारतको तेरो-मेरो भएको छ ।

आर्थिकदेखि राजनीतिक मामिला सबैमा भारत असल मित्र देखिनसकेको छैन । मिचाहा स्वभावको त भारतको लामो इतिहास छ । तर त्यसलाई एकछिन बिर्सिदिने हो भने पनि भारतको सबैभन्दा ठूलो समस्या भनेको यो छिमेकका लागि विश्वासिलो छैन । ऊमाथि कूटनीतिको कपटपूर्ण प्रयोगको आक्षेप छ । भारत-पाकिस्तान सम्बन्धको सन्दर्भ अलि फरक होला । तर अन्य छिमेकहरूप्रति भारतीय अभिभावकत्वको दृष्टिकोण खेदपूर्ण नै रहेको छ । अभिभावकत्व दाबी गरेर पाइने होइन । यसका लागि लगानी गर्नुपर्छ । भारतको लगानी कस्तो ठाउँमा परेको छ भन्ने कुरा राम्ररी हेर्दा आफैं प्रस्ट हुनेछ ।

भारतीयहरू विदेश नीतिको कुरा गर्न सुरु गर्दा-नगर्दै साना छिमेकले ऊ विरुद्ध खेलेको चाइना कार्डको कुरा उल्लेख गर्न पुग्छन् । अब चाइना कार्ड भन्ने कुरा पुरानो भइसक्यो । यात मूर्खले यस्तो कुरा गर्छन्, या स्कुल कलेजको पाठ्यसामग्री पढ्ने विद्यार्थीहरूले । हिजोका दिनमा भारतका कमजोर छिमेकहरूको यो बाध्यता थियो होला, तर आज कुनै मुलुक सानो होस् वा ठूलो हरेकको विश्वमञ्चमा आफ्नो भूमिका छ । अब चाइना कार्डको ठाउँमा सकारात्मक रूपमा प्रयोग हुनसक्ने अन्य धेरै कार्डहरू उपलब्ध छन् । एउटा मान्छेको स्वाभाविक शक्तिका अगाडि मै हुँ भन्ने धेरै साम्राज्यवादी मुलुकहरू झुकेका छन् । नैतिक दबाबको अर्थ गान्धी जन्माउने देशलाई अवश्य नै थाहा हुनुपर्छ । तर दुर्भाग्य नै मान्नुपर्छ- भारतका कथित विज्ञहरूमा आज पनि 'सफ्ट पावर'को अवधारणा पलाएको देखिँदैन । यो प्रभुत्वपरक नीतिबाट प्राप्त हुनसक्दैन ।

नेपालीहरू कति सोझा छन् भन्ने कुरा भारतका शक्ति सामन्तहरूलाई थाहा भएको भए, उनीहरूको सोचमा यति दरिद्रता देखिनु जरुरी थिएन । एकछिनलाई सोचौं- यदि पूर्वराजा ज्ञानेन्द्रले गद्दी खोसिएको झोँकमा निर्मल निवासमा स्थानान्तरण गर्नुको साटो अन्तर्राष्ट्रिय सिमानापारि भोटको केरुङमा निर्वासित भई बस्न रुचाएका भए वा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेको अनौपचारिक सम्पर्क कार्यालय खोली हङकङबाट अन्तर्राष्ट्रिय राजनीति गर्न थालेको भए वा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्ना अग्रज स्व. विश्वेश्वरप्रसाद कोइरालाको ०३३ पुसको राष्ट्रिय मेलमिलापको पे्रस विज्ञप्तिलाई आफ्नो हस्ताक्षरबाट पुनः जारी गरेको भए नेपालमा भारतको कूटनीतिक चुनौती कस्तो हुन्थ्यो होला ? आखिर यी सबै झर्रो राष्ट्रवादले भरिएका मान्छे हुन् । तर सहयोग गर्नुको अर्थ आफू र आफ्नो मुलुकलाई मेटाउनु त होइन नि ! यो कुरा भारतले बुझ्नुपर्छ ।

नेपालको राजनीतिमा भारत सिंहदरबारमात्र नभई प्रत्येक गाउँघर, सडक, पसल र देवलहरूमा छिरिसकेको छ । यसले जहिले पनि आफूले चाहेको नेतृत्व, आफ्नै खटनमा निर्धारित मुलुकी प्रशासन, विकास प्रक्रिया र नेपालका इन्टेलिजेन्सियालाई चलाएको छ, तर त्यसले भारतको चित्त बुझेको छैन । यसलाई अतिरिक्त 'क्लाइन्ट सर्भिस' चाहिँदैछ । भुटान, कस्मिर र सिक्किमले दिग्भ्रमित पारेको छ, भारतका नीति-निर्माताहरूलाई । यो प्रक्रियाले नेपालमा रक्तबीजहरू मात्र जन्माउनेछ । असल र समृद्धशाली नेपाल-भारत सम्बन्ध खोज्नेहरूलाई यस्तो सोचाइले मद्दत गर्दैन ।

आज नेपालको प्रजातान्त्रिक दुरावस्थाको एउटा प्रमुख कारण भारत नै हो । सन् १९५०-५१ देखि नै यस्तो हुँदै आएको छ । चाहे त्यो त्यसबेलाको दिल्ली सम्झौता होस् वा त्यसपछिको विकराल आन्तरिक अस्थिरता र नेपाली कांग्रेसको सरकार अपदस्थ गर्ने कार्य नै होस् । पञ्चायती व्यवस्थाका नाममा जेजति भए, त्यसको हितग्राही भारत नै थियो । आज जे हुँदैछन्, त्यसका लागि भारत सबैभन्दा ठूलो हितग्राही रहेको छ । खुला रंगमञ्चको प्रयोग गदर्ैै प्रजातन्त्र मासिएको छ । भाषा, धर्म, संस्कार धमिलिएका छन् । विभिन्न जातजाति, धर्म र क्षेत्रबीच नियोजित रूपमा ती सबै कामकारबाही हुँदैछन् । जुन ऐतिहासिक रूपमा स्थापित नेपालको पहिचानलाई समाप्त पार्न सहयोगी हुनसकोस् । अर्थव्यवस्था आफ्नो हातबाट फुस्किएको छ । यी सबैबाट को लाभान्वित भएको भन्ने प्रश्नको जवाफ लुकेको छैन ।

यो शक्तिगामी दृष्टिकोणबाट निर्मित उग्रमहत्त्वाकांक्षा, निम्नस्तरको कूटनीतिक क्षमता र विपन्न मानसिकस्तरका कारण अरू छिमेकहरूले पनि मार खपेर बसेका छन् । अझ भारतीय विज्ञहरू नै भन्छन्, 'उनीहरूको सुरक्षा चुनौती बढेको छ ।' उसो भए कसले बढाउँदैछ, यो सुरक्षा चुनौती ? एउटा सानो छिमेकी मुलुकमा भइरहेको राजनीतिक विकासको कूटनीतिक प्रयोग एउटा मर्यादायुक्त ठूलो छिमेकलाई सुहाउँदैन ।

भारतका नेपालस्थित कूटनीतिज्ञ एवं पि्रयजनहरूले के बुझ्नुपर्छ भने समोसा र लालमोहन पनि भोटतर्फबाट आउन थाल्यो भने नेपालका लागि निर्मित भारतीय प्रविधि नेपालमा काम लाग्ने छैन । भोटमा चिनियाँहरूले गरेको खर्च वा लगानीको एउटा सानो मात्रामात्र नेपालमा लगाइयो भने दिल्लीको निद्रा सधैंका लागि विलुप्त हुनसक्छ । कुनै पनि मुलुकको स्वाभिमानलाई त्यो हदसम्म लगार्नु हुँदैन ।

के सम्झनु जरुरी छ भने स्व. विश्वेश्वरप्रसाद कोइराला लगायत धेरै युगपुरुषको अवसानको मर्मस्पर्शी कथा आज नेपालीहरूको घर-घरमा सम्झना गरिँदैछ । कसरी राष्ट्रिय राजनीतिका निणर्ायक तत्त्वहरू विपरीत दिशामा उन्मुख हुँदा प्रजातान्त्रिक शासनको दुर्भाग्यको भ्रमचित्रमा यो देशको विलय हुँदैछ । अब गाईभैंसी गोठालादेखि भूतपूर्व प्रधानमन्त्रीहरूको बैठकसम्ममा यसबारेको चिन्ता सुनिन थालेको छ । क्रान्ति त अब पो हुँदैछ । भृत्यतन्त्रबाट छुटकारा खोज्दैछन्, आम नेपालीहरू । राष्ट्रवाद उर्लेर आएको छ । यो नेताको खोजीमा छ । जरुरी छैन, यसका लागि अब हिजोको जस्तो नेताको व्यवस्थापन पनि हिन्दुस्तानकै भूमिबाट होस् ।

सबैलाई थाहा छ, भारत विदेश नीतिका हकमा सामान्य देखिने प्रयास गर्दैरहे पनि असामान्य परिस्थितिमा छ । आफू सामान्य देखिनका लागि यसले असामान्य रूपमा 'नन इस्युहरू'मा आफ्नो ऊर्जा खपत गर्दैछ । तिनको कुनै औचित्य छैन । अल्बर्ट कामुको एउटा अर्ती भारतका सबै छिमेकीका पक्षमा यसरी उल्लेख गर्न सकिन्छ, 'तिमी मेरो अघि-अघि नहिँड, म पछि नलाग्न सक्छु । तिमी मेरो पछाडि पनि नहिँड, मैले तिमीलाई नेतृत्व नदिन सक्छु । सक्छौ भने म सँगसँगै हिँड, त्यसबाट मैले तिमी साथी भएको अनुभव गर्नेछु ।' यदि भारतलाई आफ्ना साना छिमेकी मित्रहरूको उदात्त सहयोग चाहिएको छ भने योभन्दा असल र पारदर्शी सूत्र अर्को हुनसक्दैन । शक्तिगामी कामनाबाट युद्ध जित्न सकिन्छ, मन जित्न सकिँदैन ।

अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन् ।


Copyright @ Bipin Adhikari,