अब लिबरल आर्ट्समा नयाँ विश्वविद्यालय

नेपालमा एक उच्चस्तरको ‘लिबरल आर्ट्स’मा समर्पित विश्वविद्यालयको खाँचो रहेको सधैँजसो छलफल हुने गरेको विषय हो। हालै नवलपरासीको गैंडाकोटमा भएको छलफलबाट गैंडाकोटमा यस्तै विश्वविद्यालय स्थापना गर्ने सपनालाई मूर्तरूप दिने क्रम शुरू भएको छ । दीर्घकालिन रणनीति तयार पार्न र लगानीका लागि वातावरण सिर्जना गर्न सजिलो होस् भनेर विश्वविद्यालयको स्थान पनि तोकिसकिएको छ ।

नेपाल निर्माणका लागि प्राविधिक र अन्य विधासँगै लिबरल आर्ट्सको शिक्षादिक्षाको समेत आवश्यकता रहेको सबैले महशुस गरिसकेका छन्। त्यसका लागि लिबरल आर्ट्सको अध्ययन-अध्यापनसँगै विषयगत अनुसन्धानलाई सँगै लैजाने तथा स्थानीय समुदायसँग बलियो सम्बन्ध स्थापना गर्नेमा सहमति भएको छ ।

साथै, प्राज्ञिक सफलता र सामाजिक र आर्थिक अजेन्डामा विश्वविद्यालयको भूमिका एक अर्कासँग बलियोसँग जोडिएको तथ्य पनि आत्मसात् गरिएको छ । पछिल्लो समयमा नेपालमा लिबरल आर्ट्सप्रति प्रतिवद्ध एक पूर्ण विश्वविद्यायको सपना साकार हुन लागेका संकेत देखिँदैछन् ।

जनशक्तिमा भिन्नता
नेपालमा हाल ११ विश्वविद्यालय रहेका छन्। सन् १९५९ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालकै पहिलो हो ।

आकार, अध्यापन हुने विषय र उच्च शिक्षाको तह, अनुसन्धान र विद्यार्थीको अनुपातका हिसाबले यो नेपालकै सबभन्दा ठूलो सार्वजनिक विश्वविद्यालय पनि हो। छाता विश्वविद्यालयका रूपमा यो विश्वविद्यालयको विकास भएको हो।

यसका आंगिक क्याम्पसहरुले देशैभर मानविकी, व्यवस्थापन, कानून, शिक्षा, ललित कला, कृषि, वन विज्ञान र प्राविधिकसहित शिक्षाका प्रायः सबै विधामा पठनपाठन गर्छन् ।

लिबरल आर्ट्समा भने यो विश्वविद्यालयले विशेष जोड दिएको पाइदैन। तथापि स्थापनाकालका शुरूका दशकहरूमा यसको केन्द्र लिबरल आर्ट्स नै थियो ।

पहिलो विश्वविद्यालय स्थापना भएको २७ वर्षपछि सन् १९८६ मा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र स‌ंस्कृत विश्वविद्यालय) को स्थापना भयो। हाम्रो ऐतिहासिक सभ्यताको ज्ञान धरोहरलाई विस्तार गर्ने उद्देश्यले यो विश्वविद्यालय स्थापना गरिएको थियो। लिबरल आर्ट्सको नेपालको सन्दर्भमा रहेको एउटा विशिष्ट पक्ष ‘संस्कृत’ मात्र यसको अजेण्डा थियो ।

संस्कृत विश्वविद्यालयको स्थापनापछि निजी तवरमा धुलिखेलमा काठमाडौं विश्वविद्यालयको स्थापना भयो। प्रारम्भमा यो विश्वविद्यालयको ध्यान विज्ञान, इन्जिनियरिङ र चिकित्सा विधामा केन्द्रित थियो ।

शुरूका वर्षहरूमा देशलाई अत्यधिक रूपमा आवश्यक प्राविधिक क्षेत्रको अध्यापनमा विशेष जोड दिएको काठमाडौ‌ विश्वविद्यालयले पछिल्लो चरणमा गैर–प्राविधिक क्षेत्रमा पनि पठनपाठन विस्तार गरेको छ । यो विश्वविद्यालयले गुणस्तरीय शिक्षा र अनुसन्धानलाई जोड दिँदै आएको छ।

स्थापनाको २७ औँ वर्षसम्म आइपुग्दा यहाँ पठनपाठन हुने विषयहरूमा सामान्यतयाः विद्यार्थीको पहिलोे रोजाईको विश्वविद्यालय बन्न पनि सफल भएको छ। यहाँको मासिक शुल्क र प्रवेश परीक्षा धान्न सक्ने विद्यार्थी प्रायः यसतर्फ आकर्षित हुन्छन् ।

यति हुँदाहुँदै पनि काठमाडौं विश्वविद्यालयले लिबरल आर्ट्स अध्यापन र अनुसन्धानका लागि दीर्घकालिन सोच राखेको पाइँदैन। अहिलेको व्यवस्थापन पनि मूलतः प्राविधिक क्षेत्रमा प्रतिष्पर्धी देखिन्छ ।

काठमाडौ‌ विश्वविद्यालय स्थापना भएको दुई वर्षपछि सरकारले विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालय स्थापना गर्‍यो। अघिल्ला विश्वविद्यालयहरू जस्तै सार्वजनिक विश्वविद्यालयको रुपमा स्थापना गर्ने निर्णय सरकारले गरे पनि यो विश्वविद्यालय कुनै शैक्षिक विषयमा केन्द्रित छैन।

स्थापनाकालमा पनि विश्वविद्यालय स्थापना गर्ने निर्णय शैक्षिक कम राजनीतिक बढी थियो। यो विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति र पूर्वाधार पनि पाएको छ। नेपालको उच्च शिक्षाको विरासतकै रूपमा यो विश्वविद्यालय सञ्चालन भइरहेको छ ।

सन् १९९७ मा नेपालको पाँचौं विश्वविद्यालयका रूपमा पोखरा विश्वविद्यालयको स्थापना भयो। यस्तै सन् २०१० मा सुदूरपश्चिम विश्वविद्यालय स्थापना भयो भने सोही वर्ष सुर्खेतमा राज्य सञ्चालित विश्वविद्यालयका रूपमा मध्यपश्चिम विश्वविद्यालयको स्थापना भयो।

विस्तारै विश्वविद्यालयको नेतृत्व राजनीतिक आस्थाका आधारमा छनोट हुन थाल्यो। प्राज्ञिक व्यक्तिको ठाउँमा सत्तापक्षलाई आन्तरिक रूपमा समर्थन गर्ने व्यक्ति नेतृत्वमा पुग्न थाले। उप–कुलपति लगायतका अधिकारीहरूको छनोट प्रक्रियाले सम्पूर्ण संस्थाको मानसिक स्थितिलाई नै असर पुग्न थाल्यो।

आधुनिक अवसरहरूका बीच क्रमशः स्थापना हुँदै आएका कुनै पनि विश्वविद्यालयले उल्लेखनीय रूपमा नयाँ विधा र शैक्षिक क्षेत्रमा हात हालेनन्। उनीहरुको विशेषता तोकिएको भौगोलिक क्षेत्र लक्षित हुनु र सानो व्यवस्थापन समूह थियो। सानो व्यवस्थापन हुँदा त्रिभुवन विश्वविद्यालयको कर्मचारीतन्त्रको समस्या यिनले झेल्नुपरेन। यति धेरै विश्वविद्यालय स्थापना हुँदा पनि लिबरल आर्ट्सले नेपाली सन्दर्भमा जुन महत्व पाउनुपर्थ्यो, त्यो पाउन सकेन ।

सन् २०१० मा चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापना भयो। त्रिभुवन विश्वविद्यालयका दुई आंगिक क्याम्पस रामपुर कृषि तथा जीव विज्ञान क्याम्पस र हेटौंडामा रहेको वन विज्ञान क्याम्पस जोडेर यो विश्वविद्यालयको स्थापना गरिएको थियो। यो विश्वविद्यालय नेपालको अर्थतन्त्र सुहाउँदो शिक्षामा केन्द्रित थियो।

नेपालको कृषि र वन विकासका योजनालाई बढावा दिने उद्देश्यले स्थापना गरिएकाले शुरूका दिनहरूमा यो विश्वविद्यालय प्राविधिक जनशक्ति उत्पादनमा राम्रोसँग केन्द्रित थियो। पछि गएर यो विश्वविद्यालय पनि औसत बन्न पुगेको छ। नयाँ दृष्टिकोण र स्पष्ट उद्देश्यको अभावमा यस्तो भएको हो।

त्यसैले नयाँ विश्वविद्यालय स्थापनाको प्रश्न अझै खुला छ।

नेपालको शिक्षा क्षेत्रमा लुम्बिनी विश्वविद्यालयको स्थापना अर्को एक कोशेढुंगा हो। सन् २००४ मा स्थापना भएको यो विश्वविद्यालयको प्रमुख उद्देश्य नै बौद्ध अध्ययनमा छ भने यसले अन्तर्राष्ट्रिय दर्शनका हिसाबमा पनि आफूलाई प्रवर्द्धन गरेको छ।

यति हुँदाहुँदै पनि शान्ति, बन्धुत्व, मैत्री र सद्भावलाई अगाडि बढाउन बुद्ध दर्शन, साहित्य, शिक्षा, बौद्ध इतिहास, पुरातत्व र संस्कृतिको क्षेत्रमा शिक्षण–सिकाइ र अनुसन्धानमा यो विश्वविद्यालय संघर्षरत छ । बजार सुहाउँदो बनाउन यो विश्वविद्यालयले हालै अन्तरविधागत अध्ययनलाई जोड दिएको छ, जहाँ बौद्ध अध्ययनलाई निश्चित ठाउँ दिइएको छ यद्यपि लिबरल आर्ट्स अध्ययनको लागि यो विश्वविद्यालयको ठोस अजेन्डा छैन ।

१२ वर्षपछि नेपालमा फेरि खुला विश्वविद्यालयका रूपमा सन् २०१६ बाट नेपाल खुला विश्वविद्यालयले काम शुरू गरेको छ। दूर शिक्षा तथा आधुनिक शिक्षाका अन्य विधिलाई आत्मसात गर्दै यो विश्वविद्यालयको स्थापना गरिएको हो ।

यस्तो विश्वविद्यालयमा शिक्षक–विद्यार्थी सम्बन्ध लचिलो हुन्छ। काम र घर व्यवहारलाई एकैचोटी हेर्दै पढ्न सकिने भएर नै यो शिक्षण विधि केही लचिलो भएको हो। यो शिक्षण पद्दतिमा विशेष गरि विद्यार्थीले नै अध्ययनको गति, समय र स्थान चयन गर्छन्। पूर्णकालीन विद्यार्थी भई अध्ययन गर्दाको भन्दा दूर शिक्षा पाठ्यक्रमबाट अध्ययन गर्दा त्यसको लागत पनि केही कम हुन्छ। नेपालमा खुला विश्वविद्यालयले लिबरल आर्ट्स अध्ययनका लागि कुनै प्रतिबद्धता जनाएको छैन।

पुनः सन् २०१७ अक्टोबरमा राजर्षि जनक विश्वविद्यालय स्थापना गर्ने निर्णय भयो। विश्वविद्यालयको अझै प्रारम्भिक चरणका काम भइरहेकोले यसको प्राज्ञिक प्रारूप कस्तो हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । विश्वविद्यालय स्थापना गर्दाका कानूनलाई अध्ययन गर्ने हो भने यो त्रिभुवन विश्वविद्यालका कुनै आंगिक क्याम्पसभन्दा फरक हुने लक्षण छैन।

हालसालै सरकारले मदन भण्डारी विज्ञान र प्रविधि विश्वविद्यालय स्थापना गर्न संसद् सचिवालयमा नयाँ विधेयक दर्ता गरेको छ। मकवानपुरको चित्लाङमा स्थापना गर्ने भनिएको यो विश्वविद्यालयमा विज्ञान, प्रविधिका अतिरिक्त मानविकी संकायको पनि अध्ययन हुने उल्लेख गरिएको छ।

सञ्चालनमा आए यो विश्वविद्यालयको सम्भावना राम्रो छ। यो किन पनि भने नेपालको इतिहासमा यो पहिलो विश्वविद्यालय हुनेछ जुन सरकारबाट अलग रहेर बोर्ड अफ ट्रष्टी (संरक्षण समिति) सञ्चालक समितिले चलाउनेछ। समितिले यी विश्वविद्यालयको गुणस्तर नियन्त्रण र दक्ष कार्यप्रणालीे सुनिश्चितता गर्नेछ। यसका साथै चिनियाँ सरकारले यो विश्वविद्यालयलाई द्विपक्षीय परियोजनाका रुपमा पनि सहयोग गर्नेछ।

यो विश्वविद्यालयले विज्ञान र प्राविधिक शिक्षामा बढी जोड दिने स्पष्ट छ। यद्यपि नेपालमा रहेका भन्दा यो विश्वविद्यालय के कति आधारमा फरक हुनेछ भनेर हेर्न बाँकी छ।

यी बाहेक नेपालमा उच्च शिक्षा हासिल गर्न अन्य शैक्षिक संस्था वा एकेडेमीहरू पनि छन् । तर, सबैमा लिबरल आर्ट्सका लागि हुनुपर्ने दृष्टिकोणको कमी पाइन्छ।

क्षितिजमा हराएको उदार मानविकी शिक्षा
६१ वर्ष पहिले त्रिभुवन विश्वविद्यालय स्थापना भएदेखि नै नेपालमा लिबरल आर्ट्स अग्रस्थानमा थियो। यो विषयले कार्यक्षेत्रको व्यापकताका सम्बन्धमा पनि नेपालमा महत्वपूर्ण प्रगति गरेको थियो। यो विश्वविद्यालय नेपाली, अंग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल, इतिहास, संस्कृति र यस्तै धेरै विषयमा राम्रो थियो जहाँबाट स्नातक भएकाले देशको ज्ञान, कला र सभ्यताका विषयमा जानकारी हासिल गर्दै देशको विकास प्रक्रियामा योगदान गर्न सहयोग पुर्‍याए।

सन् १९९० सम्म त्रिभुवन विश्वविद्यालयको शिक्षाको गुणस्तर तुलनात्मक रुपमा राम्रो थियो। सन् १९९० पछि प्रायः सबै किसिमका विषय अध्ययन गर्न पाइने देशकै एक मात्र विश्वविद्यालयका रूपमा यसको विकास भयो। एक हदसम्म त्यो उत्साहजनक नै थियो। नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि भित्रिएको खुलापनले त्रिभुवन विश्वविद्यालयलाई थप हौसला प्रदान गर्‍यो। तर यससँगै विश्वविद्यालयले चुनौती पनि सामना गर्नुपर्‍यो ।

छोटो समयमा नै सरकार परिर्वतन हुनु १९९० को राजनीतिक परिर्वतनपछिको नियती नै थियो जसले राजनीतिक अस्थिरता निम्त्यायो। सार्वजनिक क्षेत्रको विश्वविद्यालयका रूपमा त्रिविको स्वायत्तता, निर्णय क्षमता, शौक्षिक गुणस्तर र नेतृत्वको गुणवत्तामा पनि ह्रास आउँदै गयो।

विस्तारै विश्वविद्यालयको नेतृत्व राजनीतिक आस्थाका आधारमा छनोट हुन थाल्यो। प्राज्ञिक व्यक्तिको ठाउँमा सत्तापक्षलाई आन्तरिक रूपमा समर्थन गर्ने व्यक्ति नेतृत्वमा पुग्न थाले। उप–कुलपति लगायतका अधिकारीहरूको छनोट प्रक्रियाले सम्पूर्ण संस्थाको मानसिक स्थितिलाई नै असर पुग्न थाल्यो।

गठबन्धन सरकारमा मन्त्रिपरिषद्को भागबण्डा गरिएजस्तै विश्वविद्यालयमा पनि भागबण्डा गर्न थालियो । ती पदमा बस्ने मानिसमा हुनुपर्ने बौद्धिक क्षमता र विश्वसनीयतालाई बेवास्ता गर्दै राजनीतिक आस्थालाई महत्व दिइयो।

राजनीतिक आस्थाका आधारमा विद्यालय र क्याम्पसहरूका व्यवस्थापक र शिक्षक नियुक्त गर्ने प्रवृत्तिले नकारात्मक चलनको विकास गर्‍यो। यसले गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पर्ने दक्ष नेतृत्व स्थापित हुन सकेन ।

त्रिविको विशालकायका लागि जस्तो किसिमको दक्ष व्यवस्थापन आवश्यक पर्छ, यथावस्थामा त्यो सम्भव थिएन। त्यसैले विश्वविद्यालयलाई सुचारु राख्न अनुकुल वातावरण सिर्जना गरियो। त्यसका लागि प्राध्यापक संगठन र विद्यार्थी संगठन सिर्जना भए। यसरी विश्वविद्यालयमा ट्रेड युनियनको विकास भयो। जसका कारण विद्यार्थीको शैक्षिक वातावरणमा राम्रो प्रभाव परेन। शैक्षिक गुणस्तरका साथै विश्वविद्यालयको स्वायत्तता पनि कमजोर बन्न पुग्यो।

नेपालका सबै विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालयबाट छरिँदै गएका वंशाणुगत अवगुणहरु छन्। यी सबै फरक स्तरमा तर समान समस्याबाट ग्रस्त छन्। देशको प्राविधिक शिक्षा (इन्जिनियरिङ, चिकित्सा, कृषि इत्यादी) तुलनात्मक रुपमा राम्रो स्थितिमा छ भन्ने तथ्यांक भए पनि लिबरल आर्ट्स शिक्षामा सबै विश्वविद्यालय कमजोर नै छन् ।

वर्तमान समयमा मुलुक सञ्चालन गर्ने हाम्रा अधिकांश क्षेत्र (नागरिक, न्यायिक, सैन्य र राजनीतिक)मा जो छन्, ती सबै त्रिवि ओरालो लाग्दाका उत्पादन हुन् । मुलुकको सर्वाङ्गिण विकासमा यसको महत्वलाई कतैबाट पनि बलियोसँग स्थापित गर्न सकिएन। यसले पनि वर्तमान समयको दुरावस्थाको कारण के–के थिए भनेर बुझ्न मद्दत गर्छ । यो परिर्वतन गराउने सबैभन्दा ठूलो सम्भावना लिबरल आर्ट्समा छ । यद्यपि चाहेमा यो क्षेत्रमा जुन कुनै बेला पनि सुधार गर्न सकिन्छ ।

नयाँ सोच सहितको नयाँ विश्वविद्यालय

यी सबै सन्दर्भलाई ध्यानमा राखेर नेपालका विश्वविद्यालयलाई प्रवर्द्धन गर्ने नागरिक समाजका अगुवाहरुले लिबरल आर्ट्स शिक्षाको आवश्यकता रहेको महशुस गरे। त्यसैले गैंडाकोट नगरपालिकामा स्थापना हुने विश्वविद्यालयमा लिबरल आर्ट्स शिक्षा सहित अन्य विषयमा पनि ध्यान दिने उद्देश्य रहेको घोषणा गरिएको छ।

सार्वजनिक विश्वविद्यालय भए पनि यो बोर्ड अफ् ट्रस्टीको रेखदेखमा हुनेछ। नेपाल सरकारले यसको व्यवस्थापनलाई हस्तक्षेप गर्नेछैन ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरुको संयोजनले विश्वविद्यालय र यसका विभागहरुको मूल शौक्षिक संकाय गठन गर्नेछ। नेपालमा अन्तर्राष्ट्रिय अध्ययनको केन्द्र बनाउन यस विश्वविद्यालयले नेपाल र विदेशबाट गुणस्तरीय प्राध्यापक र विषयगत शिक्षकलाई आमन्त्रण गर्ने विशेष व्यवस्था मिलाउनेछ।

गुणस्तरीय शैक्षिक सहायता सेवा र पर्याप्त स्टाफ (शैक्षिक सल्लाकार, शिक्षक, सहायक शिक्षक र अन्य) विद्यार्थीका लागि उपलब्ध हुनेछन्। सबै विभाग र संकायमा शिक्षकका लागि अनुसन्धानका अवसर प्रदान गरिनेछ जसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाइनेछ। नेपालको मौलिकतामा आधारित संयुक्त अनुसन्धानलाई प्रवर्द्धन गरिने छ।

युरोप, उत्तर अमेरिका, अस्ट्रेलिया लगायतका देशमा शैक्षिक र व्यावसायिक क्षेत्रमा काम गरिरहेका नेपाली डायस्पोरालाई समेत भिजिटिङ प्राध्यापकका रूपमा प्रयोग गरिनेछ। उनीहरूलाई विश्वविद्यालयको जनशक्तिकोे रूपमा पनि लिइनेछ।

लिबरल आर्ट्स र अन्य विषयको अध्ययनले विद्यार्थीलाई स्वतन्त्र विचार अभ्यास गर्ने अवसर प्रदान गर्नेछ। यसले कसरी आलोचनात्मक रुपमा सोच्ने, स्पष्ट कुराकानी गर्ने, विश्लेषण गर्ने र जटिल समस्यालाई समाधान गर्ने भन्ने ज्ञान दिन्छ।

विश्वविद्यालयलाई एउटै क्याम्पस हाताभित्र अथवा एउटै स्थानमा स्थापना गर्ने योजना रहेको छ। यस्तो गर्दा स्रोतसाधनको बाँडफाँड गर्न र स्थानीय आकांक्षा अनुसार गैंडाकोटलाई शैक्षिक शहरको रूपमा विकास गर्न सहयोग पुग्नेछ। सार्वजनिक उद्देश्यका लागि निजी क्षेत्रबाट स्थापित तथा सञ्चालन गरिएका लिबरल आर्ट्स विषयका सबै शैक्षिक निकायलाई यो विश्वविद्यालयले आफ्नो स्रोत, साधन र उपस्थिति सम्भव तुल्याउनेछ ।

पहिलो दिनदेखि नै विश्वविद्यालयले समुदायसँग नजिकबाट काम गर्नेछ र संस्थाको विकास प्रक्रियामा सामुदायिक पहुँचको दृष्टिकोण स्थापना गर्नेछ। नेपालमा रहेको लिबरल आर्ट्स शिक्षाको खाडललाई पुरा गर्नसक्ने पाठ्यक्रमको एक विस्तृत शृंखला पेश गरिनेछ।

विश्वविद्यालयले व्यावसायिक निकायलाई अगाडि ल्याउन र शिक्षाविद् तथा नागरिक समाजका विज्ञसँग विचार आदानप्रदान गर्न बौद्धिक समूह (थिंक ट्यांक) स्थापना गर्न प्रोत्साहित गर्नेछ। शिक्षाको गुणस्तरको सम्बन्धमा शिक्षण शुल्क उचित दरले लागू गरिनेछ। मेहनती विद्यार्थीलाई आर्थिक सहायताको प्रबन्ध गरिनेछ।

एक विशाल पुस्तकालय र कम्प्युटर ल्याबको सुविधा दिइनेछ। छात्रावासको व्यवस्था गरिनेछ। विद्यार्थीको स्वास्थ्य अवस्थाको ख्याल राख्न परामर्श केन्द्र, चिकित्सक सेवा र शारीरिक ब्यायामको व्यवस्था क्याम्पस हाताभित्र नै उपलब्ध हुनेछ।

लिबरल आर्ट्स एउटा समष्टिगत अभिव्यक्ति हो। मातृभाषा, साहित्य, इतिहास, धर्म, संस्कति, ललितकला, संगीत, अंग्रेजी, गणित, भौतिक विज्ञान, अर्थशास्त्र, भूगोल, राजनीतिशास्त्र, दर्शनशास्त्र, जीवनशैली जस्ता विषयले नेपाली मस्तिष्कलाई विस्तार गर्न र नेपाल निर्माणमा सहयोग पुर्‍याउने छन् ।

वृहत ज्ञान र बौद्धिक क्षमता यिनै विषयहरूबाट विकसित हुन्छन् । त्यसैले यस्ता विषयको अध्ययन महत्वपूर्ण हुन्छ।

लिबरल आर्ट्स र अन्य विषयको अध्ययनले विद्यार्थीलाई स्वतन्त्र विचार अभ्यास गर्ने अवसर प्रदान गर्नेछ। यसले कसरी आलोचनात्मक रुपमा सोच्ने, स्पष्ट कुराकानी गर्ने, विश्लेषण गर्ने र जटिल समस्यालाई समाधान गर्ने भन्ने ज्ञान दिन्छ। यस्तै अरूलाई कदर गर्ने, सांसारिक जीवन बुझ्न र निरन्तर सिक्ने क्षमताको विकास गर्न सघाउ पुर्‍याउँछ। यसले गर्दा भविष्यमा आउने चुनौतीहरुको सामना गर्न आफैंलाई सहयोग पुग्छ। मुलतः मुलुक निर्माणका आधार यिनै विषयले उपलब्ध गराउँछन् ।

शिक्षा केवल दालभात तरकारी आर्जन गर्न सक्ने पेशा वा व्यवसायमा मात्र सीमित हुनुले मुलुकको विकासको असीमित सम्भावनालाई संकीर्ण बनाइदिन्छ। त्यसैले वर्तमान शिक्षा प्रणालीले भविष्यमा हामीलाई खतरा हुनसक्छ। जस्तो शैक्षिक प्रणालीबाट हामी आएका छौँ त्यो राष्ट्र निर्माणका लागि आवश्यक पर्ने मौलिक सिकाईभन्दा परबाट आएको सिकाइ प्रणाली हो ।

वर्षौदेखि मानविकी, कला, इतिहास, संगीत, थिएटर, नृत्य र यस्तै अन्य ‘लो प्रोफाइल’का विषयलाई नेपालमा महँगो र विलासिताको रूपमा चित्रण गरिदै आएको छ। धेरै सामाजिक, आर्थिक र राजनीतिक चुनौतीहरुको सामना गर्ने देशका लागि यो ठूलो कुरा होइन।

हामीलाई व्यावहारिक जानकारी जस्तै तथ्याङक, सैद्धान्तिक ज्ञानका साथै नैतिकता र दर्शनको संयोजन गर्न सक्ने ज्ञान आवश्यक छ। यसका लागि पनि लिबरल आर्ट्स शिक्षाले महत्वपूर्ण भूमिका खेल्नसक्छ।

नेपालका सबै विश्वविद्यालयमा मानविकी विषयको कुनै न कुनै रूपमा अध्ययन र अनुसन्धान दुवै हुन्छ। लिबरल आर्ट्सको नयाँ विश्वविद्यालय पाठ्यक्रमको आधारमा मात्र होइन पढाउने तरिका र प्राज्ञिक कौशलहरूको आधारमा पनि फरक हुनेछ ।

यो प्राज्ञिक कलामा अनुमान कसरी गर्ने, समस्या समाधानका लागि कसरी रणनीति विकास गर्ने, कसरी विचारहरु परीक्षण गर्ने, आफूसँग भएका सूचनालाई कसरी निष्कर्षमा पुर्‍याउने र त्यो निष्कर्षलाई कसरी कार्यान्वयन गर्ने भन्ने विशेषता पर्छन्। उदार वातावरणमा यस्ता विषयमा अध्ययन–अध्यापन गर्दा त्यसको प्रभावकारिता झनै बढी हुन्छ।

आफ्ना आन्तरिक कारणहरूले गर्दा अहिले अस्तित्वमा रहेका विश्वविद्यालयहरूले यो राष्ट्रिय चुनौती सम्बोधन गर्न सक्दैनन्। यसभित्रका संरचना, मूल्य–मान्यता तथा आग्रह र पूर्वाग्रह प्रेरित स्वार्थ समूहहरू तथा विद्यार्थी राजनीतिले गर्दा विद्यमान विश्वविद्यालयहरूको पुनर्संरचना एउटा गाह्रो प्रक्रिया हुनजान्छ ।

लिबरल आर्ट्सका लागि समर्पित हुन चाहने नागरिक समूहका लागि ती विश्वविद्यालयहरू अवश्य नै आकर्षक हुन सक्दैनन् ।

उदार शिक्षाले बौद्धिक विकास, दार्शनिक विविधिता र स्वाधीनतामा आधारित राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिनेछ। त्यसैले पनि लिबरल आर्ट्स विश्वविद्यालय हाम्रो जस्तो निर्माणाधीन राष्ट्रको आवश्यकता हो ।

(संवैधानिक कानूनविज्ञ अधिकारी काठमाडौं विश्वविद्यालय 'स्कूल अफ ल' का संस्थापक डीन हुन्।)

[प्रकाशित: आइतबार, १७ कार्तिक, २०७६ | Sunday, November 3, 2019 | 4:41 PM]