Foreign Policy
Print Friendly and PDF

  1. "म प्रधानमन्त्री हुँदा यसै सम्बन्धमा एउटा घटना भयो । हिन्दुस्तानका प्रधानमन्त्री जवाहरलाल नेहरूले संसदमा भाषण गर्दा भन्नुभयो, 'नेपाल र भुटानमाथि भएको आक्रमणलाई भारतले आफैँमाथि भएको आक्रमण ठान्नेछ ।'उहाँको त्यो भनाइको आशय, प्रतिरक्षाको प्रसंगमा भारतको सिमाना हिमालसम्म छ र हिमाललाई पार गरेर कुनै हस्तक्षेप वा आक्रमण भयो भने त्यो आक्रमण हिन्दुस्तानमाथिको आक्रमण मानिनेछ भन्ने थियो । नेहरूजीको यो भनाइ मैले काठमाडौंमा अखबारमा पढेँ । त्यसपछि हिन्दुस्तानका सारा अखबारले मलाई सोधे, 'यस विषयमा तपाईं के भन्नुहुन्छ ?' हो वा होइन जवाफ माग्न थाले । मेरो भनाइ थियो, 'त्यो अखवारमा मात्र आएको कुरा हो । भारतीय संसदको दस्ताबेज मैले पढेको छैन । त्यसो हुनाले अखबारमा आएको समाचारको आधारमा म हिन्दुस्तानको प्रधानमन्त्रीलाई जवाफ दिन उचित ठान्दिनँ ।' मैले पत्रकारलाई यो कुरा भनेको पर्सिपल्ट उनीहरूले संसदकै रिपोर्ट ल्याएर भने, 'अब त भन्नुहोस् ।' अनि मैले भनेँ, 'नेहरूजीले नेपालसँग नसोधी नेपालमा आफ्नो अधिकार छ जस्तो गरेर त्यसो भन्न हुने थिएन । नेपाल पूर्ण सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्र हो । उहाँले एउटा अवस्थामा नेपालले मागेमा, हामी सहायता दिन्छौँ । नेपाल पनि सुरक्षाविहीन छैन भनेर मित्रता देखाएको हो । हिन्दुस्तानको पक्षबाट एकोहोरो कारबाही गर्ने नभएर नेपालले चाहेको खण्डमा हामी सहयोग दिन्छौँ भन्न खोजेको हो ।'

  2. फेरि पत्रकारले जवाहरलाल नेहरूसँग प्रश्न गरे, 'तपाइले भनेका कुरामा नेपालका प्रधानमन्त्रीलेे त आफ्नो असहमति व्यक्त गरे नि ? अनि, नेहरूजीले भन्नुभयो, 'उनले भनेकै आशय ठीक हो । मैले भनेको कुरो बिपीकै व्याख्याको भाव हो ।'उहाँले संसदमा फेरि भन्नुभयो । अनि मोहनशमशेरसँग भएको सम्झौताको पत्र पहिलोचोटि बाहिर ल्याइयो । अहिले विशेष सम्बन्ध र समदुरी भन्ने कुरा त्यसैको दुरीमा भनिँदै छ र यी कुरा हाम्रो राष्ट्रको अहितमा हुन्छन् ।"

  3. नेपालको प्रधानमन्त्री हिन्दुस्तान आएका बखत पारेर इन्दिरा गान्धीले भनेकी थिइन्, 'नेपालले सुरक्षाको सुनिश्चितताका लागि भारतलाई आधार बनाउनु हुँदैन । हामी नेपाललाई जिम्मेवार मित्रको हदसम्म मात्र सहयोग गर्न सक्छौँ ।'

  4. भारतीय पक्षको तत्कालीन भनाइ थियो, 'उनीहरूले नेपाललाई दिने सामान अन्तर्राष्ट्रिय मूल्य नीतिअनुसार दिनेछन् । र, नेपालले विदेशी मुद्रामा त्यसको भुक्तानी गर्नुपर्छ । भारत स्वयंले ती वस्तु डलरमा किन्ने गरेको छ ।' भारतीय पक्षको यस्तो कथन आएपछि नेपाल हच्कियो । यसबाट राजाको हिन्दुस्तानसँगको विश्वास पूर्ण रूपमा सिद्धियो । यसबाट चीनको दृष्टिकोणमा पनि परिवर्तन आयो । किनभने चीनका लागि राजाको उपयोगिता सिद्धियो । अन्तर्राष्ट्रिय स्तरमा राजाको यस्तो भूमिका छ, देशभित्रको स्थिति भिन्नै छ । महाराजधिराजको राजनीतिक प्रभाव घट्दै छ । राजाले थोपरेको व्यवस्था दिनदिनै अस्थिर हुँदै छ । गाउँ र्फकको हातमा राजनीतिक जिम्मा दिइँदै छ । तर, जनताको कुनै पनि वर्ग यसमा सन्तुष्ट छैन । अब यस्तो वेलामा म स्वदेश जाँदै छु । यसलाई आत्मसमर्पण गरेर गएको भन्न सकिँदैन । राजनीतिक विश्लेषणको आधारमा एउटा जोखिम लिएर म देशभित्र जाँदै छु ।