History
"तिमीले आफ्नो चिठ्ठीमा यौटा बडो रोचक प्रश्न उठाएका छौ कि प्रत्येक रामचन्द्रले किन वनवास जानुपर्ने, प्रत्येक क्राइस्टले किन सुली चढ्नुपर्ने, प्रत्येक गान्धीले किन हत्याराको सिकार हुनुपर्ने? उत्तर म पनि खोजिरहेको छु। मलाई लाग्छ, तेस्को कारण समाजको द्विपक्षीय तानातान हो। समाजको एक पक्ष छ यथास्थितिताको ठूलो भार जसले समाजलाई एक ठाउँमा अड्याएर राखेको छ। समाजको साधारण दैनिक जीवनको एकनासको स्थितिलाई यस पक्षले सुरक्षा गरिराखेको छ।
यस पक्षको महत्त्व यस्मा छ कि यसले समाजमा प्राणीलाई आफ्ने आफ्नो थान्कोमा र पेसामा संलग्न पारिराखेको छ, यसले हाम्रो मुखमा माड हाल्छ, हाम्रो पिठ्यूँमा कपडा र हाम्रो टाउकोमाथि छाना। यस पक्षले समाजलाई जीवित राखिछोडेको छ। तर, समाजको अर्को पक्ष पनि छ- यथास्थितितामै नअडिइरहने, अगाडि प्रगति गर्ने। समाजको विकासको पक्ष। इतिहास यही पक्षको गाथा हो- कसरी मानिस आफ्नो तत्कालको स्थितिमै आउन नचाहेर अगाडि बढ्ने बाटो बनाउँदै आएको छ।
समाजको यथास्थितिताको भारको आफ्नो खिचाव र प्रगतिको अगाडिपट्टिको तनाइले संघर्ष सृष्टि गर्छ र यस संघर्षमा प्रार भमा अगुवालाई बारबार समाजको अप्रगतिशील तत्त्वबाट दण्डित भइरहनुपर्छ। पछिपछि समाज अगुवाले निर्देशन गरेको बाटोलाई अपनाउन थाल्छ र सुलीमा चढाइएको क्राइस्टलाई देव-पुत्र भनेर पूजा पनि गर्न थाल्छ। रामको पनि त्यै गति भयो। गान्धीको पनि त्यै। तेसो हुनाले मौलिक प्रश्न यो छ- के समाजको तेस्तो गठन सम्भव छैन, जसमा प्रगति, क्रान्तिकारी नभएर, संघर्षमय नभएर, शान्तिमय र 'अटोमेटिक' (स्वयं चालित) हुन सकोस्?"