India
Print Friendly and PDF

  1. "हिन्दुस्तान प्रजातान्त्रिक मुलुक हो । यहाँको वातावरण प्रजातान्त्रिक भएकाले काम गर्न सजिलो हुन सक्छ । यहाँको सरकारले हामीलाई समर्थन नदिए पनि जनमत हाम्रो पक्षमा छ । सरकारमा रहेको पार्टीले हामीलाई मद्दत गर्न अप्ठेरो माने पनि विभिन्न पार्टीका लागि हामीलाई मद्दत गर्न अप्ठेरो हुँदैन । हाम्रो उद्देश्यका निम्ति यहाँको राजनीतिक वातावरण उपयुक्त हुनसक्छ । मलाई लाग्छ, सरकारसित पनि राजनीतिक भाषा र विचारको आदान-प्रदान हुन सक्छ । नेपालमा प्रजातन्त्र आएको खण्डमा हिन्दुस्तानको पनि भलाइ हुन सक्छ । यसले हामीलाई पनि काम गर्न सजिलो होला ।

    दोस्रो कुरा, हामीले यहाँ आएपछि अन्तर्राष्ट्रिय जगत्मा पनि सम्पर्क गर्न थाल्यौँ । देशमा कडा निगरानी भएका वेला यहाँ सुरक्षित भएर देशभित्रका संगठनलाई निर्देशन दिन सकिएला, संगठन बढाउन पनि सकिएला भन्ने सोचेका थियौँ । देशमा कुनै नयाँ राजनीतिक वातावरण सिर्जना भए त्यसलाई पनि सम्बोधन गर्न सकिएला भन्ने सोचेर हामी यहाँ आएका थियौँ । हामी यहाँ आएको सात-आठ वर्ष हुन लाग्यो । तर, हामीमा भएको आशा पूरा हुन सकेन । भारत सरकारको नीति सधैँ राजालाई खुसी पारेर आफ्नो स्वार्थ सिद्ध गर्न र आफ्नो उद्देश्य पूरा गर्न सकिएला भन्ने किसिमको भयो । मलाई लाग्छ, कुनै न कुनै दिन उनीहरूले आफ्नो नीति गलत रहेछ भन्ने आफैँ स्विकार्नुपर्नेछ । उनीहरूको नीतिले राजालाई खुसी पार्ने र हामीलाई अप्ठेरो पार्ने भयो ।"

  2. "जनताको सहानुभूति हुनु एउटा कुरा हो । विभिन्न पार्टीको सहानुभूति हुनु अर्को कुरा हो । त्यस्तै, सरकारी स्तरको सहानुभूति अर्को कुरो हो । सरकारले समर्थन दिन पनि अप्ठेरो हुन्छ । यहाँ संकटकालमा अर्कै कुरो भयो । हामीलाई अप्ठेरो पार्ने, हाम्रो एकतालाई तोड्ने, हाम्रा मानिसलाई थुन्ने, समात्ने, हिन्दुस्तानमा हाम्रा साथीलाई क्षेत्रबन्दमा राखेर सताउने इत्यादि कुराले यहाँ हामी बसेको उनीहरूलाई ठीक लागेन भन्ने अनुभव भयो । उनीहरूले हामीलाई सबै कुरा भन्न नसके पनि अरू लक्षणबाट यो कुरा बुझियो । यहाँ हामी एउटा आशा लिएर आएका थियौँ, त्यो पूरा हुन सकेन । तर पनि यहाँ हामीले आफ्नो पुस्ता र संगठनको पुस्तालाई बचाएर राख्यौँ ।"

  3. "हिन्दुस्तानमा तपार्इ हामीले काम गर्यौँ । तर, यहाँका सर्वसत्तावादीले हामीलाई मन नपराएको पनि हामीले बुझ्नुपर्छ ...।"