"जसले जीवनको धारा मोडिदियो" - प्रदीप गिरि (२०७१ श्रावण ०३, कान्तिपुर (कोसेली))
Print Friendly and PDF

विपी कोइरालाको व्यक्तित्व बहुमुखी थियो । उहाँले आफ्नो यात्रा साहित्यबाट सुरु गर्नुभएको थियो । सन् १९३७÷३८ मै गान्धीलाई सम्झेर उहाँले पहिलो कविता 'बम्बै नगरी' भन्ने लेख्नुभएको रहेछ । एकदम साहित्यिक व्यक्तित्व थियो उहाँको । उहाँका दुइटा आत्मकथा प्रचलित छन्, एउटा 'आत्मवृत्तान्त' अर्को 'आफ्नो कथा' । यसबाहेक प्रकाशित हुन बाँकी पनि केही छन् । बीपी एकदम धेरै लेख्ने लेखक (प्रोलिफिक) हुनुहन्थ्यो । उहाँको कलम असाध्यै चलथ्यो । उहाँले धेरै लेखेको, बोलेको भेटिन्छ । कसैले एकाग्र भएर शोध गर्ने हो भने उहाँको बारेमा लेख्ने सामग्रीको अभाव छैन । तर यहाँ त शोध गर्ने एकाग्रता कसलाई छ र ? खालि डिग्री मात्र लिन्छन् । लामो समयसम्म बीपीको प्राथमिकता साहित्यमै थियो । तर अलिकति परिवारिक संस्कारले, अलिकति बनारसको त्यतिबेलाको वातावरणले र भारतको सिंगो राजनीतिक वातावरणले गर्दा उँहा केही कम्युनिस्ट नेता र मुख्य गरेर जयप्रकाश नारायणको सम्पर्कमा आउनुभयो । त्यसपछि उहाँले सक्रिय राजनीतिमा भाग लिन थाल्नुभयो । हुँदा हुँदा अक्टोबर १९४६ मा त उहाँले राष्ट्रिय कांग्रेस स्थापनाका लागि आह्रवान नै गनुभयो । १९४७ मा पार्टी नै बनाउनुभयो । त्यसपछि उहाँले पछाडि फर्केर हेर्नुभएन । त्यसबीचमा पनि उहाँले साहित्यबारे लेख्न सोच्न छोड्नुभएन ।

पहिलो कुरा त बीपीलाई आजको नेपाली समाजले कथा लेखकका रुपमा चिन्छ । राजनीतिमा नआउँदै दार्जिलिङबाट आउने 'कथाकुसुम' मा उहाँका तीनबटा कथा एकसाथ छापिएका छन् । त्यसमा उहाँको स्पष्टीकरण छ, 'पहिले म हिन्दीमा मात्र लेख्थे तर सूर्यविक्रम जवालीले मेरा कथाहरु देखेर लेख्न लगाए, अनि मैले नेपाली पनि लेखेँ ।' ती तिनटै कथा उत्कृष्ट छन् । ती प्ीछ 'दोषी चस्मा' कथासंग्रहमा समेटिएका छन् ।

२००७ सालको क्रान्तिको नेतृत्वपछि वीपि झन् झन् राजनीतिमा सक्रिय हुनुभयो । साहित्यतिरको पनि रुचि छोड्नुभएन । उहा अत्यन्त्रै अध्ययनशील हुनुहुन्थ्यो, आम नेपालीले बुझेभन्दा ज्यादा, त्यसका लागि उहाँका अप्रकाशित डायरीहरु हेरे पुग्छ, तिनका सन्दर्भहरु विचित्र र व्यापक छन् । उहाँले सक्रिय राजनीतिमा भएका बेला लेखेका दुई–तिनटा लेख मलाई सम्झना छ । उहाँको सर्वोत्कृष्ट आत्मकथात्मक टिप्पणी २०११÷१२ सालमा नारायणप्रसाद बास्कोटाको सम्पादकत्वको 'प्रगति' पत्रिकामा छापिएको छ, जुन अहिले मदन पुरस्कार पुस्तकालय वा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा सुरक्षित छ । त्यति सरस र छोटो अभिव्यक्तिपूर्ण व्यक्तिचित्र र आत्मचित्र हत्तपती पाईदैन । त्यही शैलीमा उहाँले जेलका दिनमा 'आफ्नो कथा' को आखिरी पृष्ठमा छ । त्यहाँ उहाँले म के थिए भनेर लेख्नुभएको छ । त्यो अहिले पनि अकाट्य छ । शैली एकदम सरल र सरस पनि र सबै सरल सरस हँुदैनन् र सबै सरस सरल पनि हुँदैनन् ।

त्यो सक्रिय अवधिमा बीपीले केही साहित्यिक लेख लेखेको पाइन्छ । जस्तै: कामुका बारेमा दुई–तीनवटा लेख उहाँका भाई तारिणाप्रसाद कोइरालाले निकालेको 'कल्पना' पत्रिकामा छ । त्यतिबेला अल्बेयर कामु एकदमै चल्तीमा थिए, अहिले पनि पुराना मानिसले पढ्छन् । उनले नोबल पुरस्कार पाएका थिए । उनका तीन, चारवटा उपन्यास चर्चित छन् । बीपीले उनका उपन्यासहरु पढेर टिप्पणी लेख्नुभएको थियो । त्यसपछि 'प्रगति' मै प्रगतिशिल साहित्य भन्ने उहाँको राम्रो लेख छापिएको छ । ती लेखहरुमा उहाँमाथि परेका प्रभावबारे कुरा गर्न सकिन्छ । उदाहरणका लागि उहाँकै 'दोषी चस्मा' को कुरा गर्न सकिन्छ, जुन रुसका प्रसिद्ध लेखक एन्टोन चेखबबाट प्रभावित छ । ज्यादै प्रभावित भन्न सकिन्छ । त्यो नेपालको अरु लेखकलाई पनि भन्न सकिन्छ । गुरुप्रसाद मैनालीले लेखेको प्रसिद्ध कथा 'नासो' हिन्दीमा प्रेमचन्दले लेखेको 'सौत' सँग नब्बे – सयकडा मिल्छ । अहिले त्यतातिर नजाऔँ, ती दुवै उत्कृष्ट छन् ।

वीपीलाई हिन्दी साहित्यको अत्यन्त्र राम्रो ज्ञान थियो । त्यो कुरा उहाँको डायरीमा पनि भेटिन्छ, अप्रकाशित ठूलो डायरीमा । त्यो डायरीमा उहाँले नामूद हिन्दी उपन्यासकार अज्ञेय, मोहन राकेश (जो लोकप्रिय हुन् तर अज्ञेयको टक्करका होइनन् । सबका बारेमा उहाँले टिप्पणी लेख्नुभएको छ । मलाई व्यक्तिगत रुपमा पनि उहाँको साहित्यिक ज्ञानबारे प्रत्यक्ष अनुभव छ, बनारसमा । उहाँ जेलबाट छुट्नुभयो भन्ने सुनेपछि हिन्दुस्तानमा पढिरहेको म सरोजप्रसाद कोइराला छिठी लिएर यहाँ आएको थिएँ । तर साट आठ दिनपछि पक्राउ परेँ । र, झन्डै दुई वर्ष जेल बसेँ । जेलबाट छुटेपछि 'मियाँके दौड मस्जिदतका' भनेजस्तै पढाइ पनि त्यहीँ (बनारस) थियो, बीपी पनि त्यहीँ हुनुहुन्थ्यो, उहाँका परिवारका अरु सदस्यसँग पनि मेरो भावनात्मक लगाव थियो, म त्यहीँ पुगेँ । म त्यहाँ पुगेपछिका प्रारम्भिक तीन चार वर्षमा वीपीको राजनीतिक गतिविधि छँदै थिएन भन्न सकिन्छ, यो बडो रमाइलो कुरा छ । यहाँबाट छुटेर उपचार गराउन भनेर बीपी बम्बै जानुभयो । त्यहाँ उहाँले लन्डनबाट उपचार गरेर फर्किएका राजा महेन्द्रसँग भेट्न खोज्नुभयो । त्यसको अप्रीतिकर परिणाम भयो । राजाले उहाँसँग भेट्न चाहेनन्, नेपाल नै आउनु, त्यहीँ भेटौँला भने । बीपी अलिकति झट्ट रिसाउने खालको हुनुहुन्थ्यो । उहाँमा अलिकति राजनीतिले भन्दा भावुकताले जित्थ्यो । उहाँको सिंगो राजनीतिक जीवनको मूल्यांकन गरेको मैले । त्यसपछि उहाँ विराटनगर आउनुभयो । त्यहाँ कडा भाषण गर्नुभयो त्यतिबेलाका अखबारले त्यही लेखे । सब अखबार सरकारी थिए । र, उहाँले पछिसम्म पनि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले षड्यन्त्रमूलक ढंगले बाहिर पठाइदिए भन्नुभयो ।

निर्वासनका दिनमा बीपी बडो फुर्सदिलो हुनुहुन्थ्यो । पछि गिरिजाबाबु र सरोज कोइराला पनि निर्वासनमा थपिनुभयो । एउटा भाई, अर्को तीनपुस्ते भतिजा उनीहरु त्यहाँ पुगेपछि राजनीतिक गतिविधि सुरु गरे हैन भने, मेरो जानकारीमा बीपीले त्यतिबेलासम्म धेरै राजनीतिक गतिविधि गरिरहनुभएको थिएन । हैन मेरो पार्टीको अध्यक्ष सुवर्णजी हो, मैले उहाँसँग चार्ज पनि लिएको छैन । सुवर्णजीले जे गर्नुहुन्छ, त्यही पार्टीको हो' भन्नुहुन्थ्यो । उहाँले सक्रिय राजनीति नगरुन्जेल गिरिजाबाबुलगायत नै सक्रिय हुनुभयो । त्यसमा बीपीको सहमति र सहयोग भने लिनुहुन्थ्यो । बीपीले मेरो मतलबै छैन भन्नेजस्तो चाहिँ गर्नुहुन्नथ्यो । त्यसको इमानदार वर्णन गणेमानसिंहको अदालतको भाषणमा छ । बीपीको अदालतको भाषण अलि चातुर्यपूर्ण छ । वकिलसँग भेटेर सल्लाह गरेँ सल्लाह गरेर गरेको छ । वकिलसँग भेटेर सल्लाह गरेँ भन्नुभएको छ, उहाँले आफ्नो डायरीमा । 'फेरि सुन्दरीजल' मा यसको राम्रो विवरण छ । जुन दिन उहाँलाई वकिलसँग भेट गर्न दिइएन, त्यो दिन भेट गर्न दिएनन् नै भन्नुभएको छ । गणेशराज शर्मा, कुसुम श्रेष्ठ कृष्णप्रसाद भण्डारीले दिएको सल्लाह उहाँले 'फेरि सुन्दरीजल' मा लेख्नुभएको छ । यो अलि पछिको कुरा भयो ।

युजन ओनिल र नाटक वार्ता

पहिले बनारसमा बीपीसँग मैले उहाँको साहित्यिक ज्ञानबारे एक दुईपटक छलफल गर्ने मौका पाएको छु । केही प्रसंगहरुको छन् । अमेरिकामा युजन ओनिल भन्ने बीसौँ शताब्दीका दामी नाटकका थिए । पछि उनले नोबल पुरस्कार पनि पाए । उनको नाटकहरुको संकलन बीपीको सुन्दरीजलमा पढ्नुभएको रहेछ । बीपीको किताबहरु संकलनप्रति कुनै मोह थिएन, उहाँको अर्को समाजवादी विशेषता । पढ्ने तर अरुलाई दिने । त्यो किताब कोइराला निवासबाट मकहाँ पुग्यो । मलाई त्यो पुस्तक मेरो मित्र तथा त्यतिबेलाकी नेतृ शैलजा आचार्यले ल्याइदिनुभएको थियो । मलाई पनि फुर्सद थियो जेलमा । ध्यानपूर्वक पढेँ । फेरि मेरो पनि प्रथम रुचि साहित्यमा थियो÷छ । मेरो केही प्रारम्भिक रचनाहरु साहित्यबारे नै छापिएको छन् । गरिमामा पाँच–सातवटा लेख पछिसम्म पनि आएका छन् । मैले त्यो पुस्तक पढेँ । तर मैले त स्कुल गाउँमा पढेको । मास्टरहरु राम्रा थिए, आज पनि म ऋणी छु । तर उच्चारण कस्तो हुन्थ्यो भने, पी यु टी 'पुट' भएजस्तै बी यु टी 'बुट' भन्न लगाउँथै ।

त्यो पुस्तकमा सबभन्दा उत्कृष्ट नाटक 'मौर्निङ बिकम्स इलेक्ट्रा थियो । म गफसफ लगाइराख्ने कोइरालाहरुको नयाँ पुस्तालाई । खासगरी शैलजा आर्चायलाई आफ्नो साहित्यिक ज्ञान प्रदर्शित गरिराख्ने एक दिन मैले त्यस नाटकबारे शैलजासित कुरा गरिरहँदा बीपीले सुन्नुभएछ । उहाँले म छेउ आएर भन्नुभयो –तिमीले उच्चारण त राम्ररी जानेनौ के पढेको होला भनेर । उहाँले तिमीले पढेका छौ भनेर सोध्नुभयो । मैले तपाईकै संकलनको दस्तखत सहितको पुस्तक पढेको हुँ भने । उहाँले कहाँ छ मलाई खोजेर फर्काइदेऊ भन्नुभयो, मैले फर्काएँ पनि । उहाँले नाटकबारे के–के बुझ्यौ भनेर सोध्नुभयो । म पनि आफूलाई आज त बुझक्कड नै सम्झन्छु भने गधापच्चिसीमा कति बुझेको सम्झन्थे होला । मैले यो –यो बुझे भनेर व्याख्या गरेँ । उहाँले ल तिमीले ठिकै बुझेछौँ भन्नुभयो । मैले उनलार्य बीसौ शताब्दीमा ट्रयाजडी लेख्ने महान् नाटककार भनेँ उहाँले शेक्सपियरभन्दा पनि महान् हुन् भनेर सोध्नुभयो । मैले जस्तै –जस्तै भन्नुप¥यो, बीसौँ शताब्दीमा त यत्तिको महान् कोही भएन भनेँ । उहाँले शेक्सपियरसँग खुट्टामा पनि बाँध्न सुहाउँदैन तर तिमीले तुलना ग¥यौ ठिकै छ भन्नुभयो । त्यसपछि उहाँले अंग्रेजीमा ट्रयाजडी भनेको के हो भनेर व्याख्या गर्नुभयो । त्यो व्याख्या अहिले पनि झल्झली सम्झन्छु । उहाँले भन्नुभयो –सामान्य अर्थमा ट्रयाजडीको प्रयोग गरिन्न । ट्रयाजडीको अर्थ उद्यात्त र महान् भन्ने हुन्छ । उसको उद्यात्तता र महानताले गर्दा वा यस्तै कुनै गुणले गर्दा दुःख पाएको हुन्छ । किङ लियरले मनपरी दान गर्ने हुँदा दुःख पाएको हुन्छ । ह्याम्लेट निर्णय नै नगर्ने हुँदा दुःख पाएको हुन्छ । त्यसको कुनै एउटा चरित्रले दुखाएको हुन्छ । उहाँले मलाई दुई तीनबटा वाक्यावलीमा युजन ओनिललको कमजोरी बताइदिनुभयो: चरित्रको स्वाभाविक विकास भएको छैन, त्यसका लागि यिनलाईं सजिलो पनि थिएन, धन्न फ्रायडले आधार दिए एउटा । शेक्सपियरका पालमा भूतप्रेत पनि हालिदिन्थे । अब शेक्सपियरको जस्तो ट्रयाजडी कसैले लेख्न सक्दैन ।

पछि एउटा संयोग के मिल्यो भने विश्वविद्यालयमा शेक्सपियर नै पढाउने मेरो एकजना प्रोफेसर र बीपीबीच शेक्सपियरबारे कुरा भयो । त्यो मैले बडो मन्त्रमुग्ध भएर सुनेँ । यो म कहिल्यै विर्सन्न ।

बीपीका डायरीहरुमा अमेरिकी कविहरु रोबर्ट फस्र्ट, बाल्ट ह्विटम्यान, इम्ली डिकसन, इइ कमिङ्ससाबारेमा टिप्पणी छ । तर ती डायरी प्रकाशित भएका छैनन् ।

साहित्यमा अराजकतावादी भन्नु त्रुटिपूर्ण

साहित्यप्रति बीपीको एउटा मुख्य दृष्टिकोणमा मेरो अहिले पनि असहमति छ । उहाँले 'म साहित्यमा अराजकतावादी हुँ, राजनीतिमा समाजवादी' भन्नुभयो । मेरो विचारमा बीपीको यो स्थापना नै क्रुटिपुर्ण छ । यो कसरी व्यावहारिक हुन्छ ? ठूलो मान्छेले जे भने पनि हुने यो दशेमा ? यत्रा यत्रा समीक्षक छन्, यसमा कसैले कलम चलाएको देखेको छैन । यसबारे म त्यतिबेलै बीपीसँग बहस गर्थे । साहित्यमा कोही कसरी अराजकतावादी हुनसक्छ ? के भाषा अराजकतावादी हुन्छ ? भाषाबिना साहित्य लेखिन्छ ? भाषमा मनपरी गर्न पाइन्छ ? मेरा भनाइ के भने, अरु त अरु चित्रकारले पनि अफ्नो चित्रकलामा धेरै अराजकता प्रयोग गर्न सक्दैन । एउटा कुरा के हो भने, स्वतन्त्रताको अर्थमा भनेको भए ठीक छ । म यस अर्थमा बीपीलार्य औचित्य दिन चाहन्छु, स्वतन्त्रता र अराजकतामा बडो झिनो सीमारेखा छ, यो मेरो मान्यता हो । स्वतन्त्र हुन चाहने मान्छेले कहीँकहीँ अराजकता हुनैपर्छ । म अराजकतालाई त्यति नकारात्मक रुपमा लिन्नँ । तर साहित्यको एउटा विधा पक्रेर लेख्नेले राजकीय अनुशासन नमाने पनि आत्मअनुशासन मान्नुपर्छ ।

बीपीको विचारमाथि पर्याप्त त परकै कुरा अलिअलि पनि विवेचना भएको छैन । हाम्रो समाजमा अचम्मको व्यक्तिवाद छ । जे पनि मान्छेका नाममा खडा गरिदिने । पञ्चायत हुँदासम्म राजाहरुको । बहुदल आएपछि बीपी, गिरिजा, मनमोहन र मदन भण्डारीहरुको । स्वयं बिपी आज बाँचेको भए तर्सनुहुन्थ्यो, यस्तो नगर भन्नुहुन्थ्यो । हरेक पार्टी र हरेक आन्दोलनमा पुजारी वर्ग छ । त्यसले कुनै सम्यक् आलोचना गर्दैन ।

बीपिको आर्थिक, सामाजिक र राजनीतिक उत्तराधिकार अहिले निराशाजनक ठाउँमा छ । मैले बीपीको विज्ञताबारे उल्लेख गरे । त्यससँगै के जोडेँ भने विज्ञतासँगसँगै जस्तै ठूलो मानिसको पनि अज्ञताको क्षेत्र हुन्छ । दिन रात नभई हुँदैन ।

चार काल चारै विचार

राजनीतिमा बीपीका स्पष्ट कालखण्डमा स्पष्ट विचार छन् । स्पष्ट मात्र छैनन्, अलग–अलग विचार छन् । परस्पर विरोधी विचार छन् । ती परस्पर विरोधी विचारलाई देश, काल परिस्थितिमा व्यवाख्या गरेर हेरियो भने त्यहाँ बीपीको उध्र्वयात्रा, विकास देखिन्छ । ०७ सालपछिको बीपी र मेलमिलाप नीति अँगालेपछिको बीपीलाई अलिकति मात्र गहिरिएर हे¥यो भने उहाँको विचारमा अकाट्य परिवर्तन आएको देखिन्छ । त्यो परिवर्तन सकारात्मक छ, केही कमजोरीलाई छोडिदिएने हो भने कमजोरी सबैमा हुन्छ, माक्र्सदेखि गान्धीसम्म ।

बीपी मूलतः राजनीतिज्ञ हुनुहुन्थ्यो, साहित्यमा रुचि थियो । राजनेता र राजनीतिज्ञमा फरक हुन्छ भन्छन्, राजनेता भावी पुस्ताबारे चिन्तित हुन्छन् । उहाँ, भावी पुरुताका बारे चिन्तित हुनुहुन्थ्यो । राजनीतिज्ञको रुपमा सत्ताका प्रति मान्छे सचेत रहन्छ । म त्यो गतिविधिको केन्द्रमा बस्छु भन्ने जुन आकांक्षा हुन्छ, त्यो उहाँमा प्रबल थियो । त्यो गणेशमानजीमा अलिअलि थियो किसुनजी र सुवर्णजीसँग पटक्कै थिएन । अन्तिम समयसम्म आफूलाई घटनाक्रमको केन्द्रमा रहन खोज्दा सबैभन्दा बढी दुःख उहाँले नै पाउनुभएको छ ।

सबै राजनीतिक मान्छेको मूलतत्व नै आफूलाई केन्द्रमा राख्नु हो । मान्छेमा तीनवटा गुण हुन्छन्: कामेष्णा, वित्तेष्णा र यशेष्णा र यशेष्ण । यसका लागि मानिसलाई शक्ति चाहिन्छ । नांगो रुपमा यस्तो शक्ति बाघले देखाउँछ । आफ्नो 'एरिया' बनाएर मात्र उसले बधिनीसँग सम्भोग गर्न पाउँछ । हरेक मनुष्यमा शक्तिको भोक हुन्छ । बीपीमा पनि थियो त्यो । त्यो लेनिन र माओ त्से तुङमा थियो । गान्धिमा समेत थियो । यस्तो आकांक्षा खराब छैन । तर त्यसक्रममा बीपीको विचारमा के परिवर्तन आयो भन्ने हेर्नुपर्छ, मुख्य कुरा यो हो । चाहे भारतबारे होस्, चाहे विदेश नीतिका बारेमा । चाहे समाजिक नीतिका बारेमा होस्, उहाँमा पूर्ण परिवर्तन पाइन्छ । राजाका बारेमा पनि । कुनै खास परिस्थितिमा यस्तो परिवर्तन आएको छ । परिवर्तनप्रति प्रतिबद्ध हुने क्रममा आफ्नो विचार बदल्नुभएको छ । त्यो कुरा यस्तै हुन्छ भनेर उहाँले लेख्नुभएको छ ।

बीपीमा बडो दुर्लभ स्पष्टवादिता थियो । उहाँले 'जेल जर्नल' को आन्तिमतिर लेख्नु नै भएको छ – धेरै लेख्न सकिनँ, हुन त जेलमा के नै पो लेख्न सकिन्छ र पछि कुन परिस्थितिको सामना गर्नुपर्ने हो । मसँग व्यक्तिगत भेटमा पनि उहाँ निसंकोच यस्ता कुरा गर्नुहुन्थ्यो । मलाई त जिस्क्याएर भन्नुहुन्थ्यो, 'म लोहिया हुँ र ! एउट सिद्धान्त प्रतिपादन गरेर जिन्दगीमा केही पनि हासिल नगर्ने ।' उहाँ मलाई लोहियावादी भन्नुहुन्थ्यो । उहाँ मसँग धेरै सिद्धान्तको आस नगर, जुन मलाई उपयुक्त हुँदैन भन्नुहुन्थ्यो । त्यसले मेरो हात बाँधिन्छ भन्नुहुन्थ्यो । ०७ सालमा एउटा नीति अपनाउनुभयो । नेपाली राष्ट्रिय कांग्रेसको उद्घाटन समारोहमा उहाँले प्रस्ट भन्नुभएको छ, 'के राजनीतिक, के भौतिक, के सांस्कृतिक दृष्टिकोणले नेपाल भारतको अभिन्न अंग हो ।' यसलाई लिएर उहाँलाई कम्युनिस्ट र छद्म राष्ट्रवादीहरुले धेरै समयसम्म पछ्याइरहे, भारतको दलाल भनेर । तर तीन वर्ष पनि नबित्दै जब उहाँको यहाँ तत्कालीन भारतीय राजदूत सीपीएन सिंहसँग खटपट भयो, उहाँले फेरि भारतले थिचोमिचो ग¥यो भन्नुभयो । उहाँ गृहमन्त्रीबाट हट्नुभयो । प्रधानमन्त्री बन्न सक्नुभएन । प्रधानमन्त्री बन्ने पूरापूर आवश्वासन थियो उहाँलाई । तिमीले राजीनामा गर प्रधानमन्त्री बनाइदिन्छौ भनिएको थियो । त्यसपछि बीपीले भारतले के खोजेको हो ? हामीले अब राष्ट्रियताको शक्ति जगेर्ना नगरी हुँदैन भन्नुभयो ।

त्यसपछि १५ सालमा प्रधानमन्त्री बनेपछि बीपी भारत, चीन दुवैसँग आत्मसम्मानमा बस्नुभयो । एउटा स्वाधीन राष्ट्रिय प्रधानमन्त्री व्यवहार गर्नुभयो । उहाँले आत्मकथामा लेख्नुभएको छ, 'मभन्दा अघि प्रधानमन्त्री नै भारतीय राजदूतकहाँ जान्थे, तर मैले राजदूतलाई सिंहदरबारमा बोलाएँ ।' यी सबै कुरा राष्ट्रियतालाई बढाउने खालका थिए । १७ सालमा उहाँ थुनामा पर्नुभयो । त्यसपछि जेलभित्र चाहिँ उहाँको भारतबारे द्विविधायुक्त धारणा देखिन्छ । नेहरुको स्वर्गवास भएको दिन त्यहाँ प्रविष्ट छ । लालबहादुर शास्त्रीको मृत्यु भएको दिन पनि त्यहाँ 'इन्ट्री छ, जुन एकदम भावुक छ । भारतका बारेमा उहाँको वर्णन छ । नेहरुबारे त भावुकताको अलावा आलोचना पनि छ । तर नेपाललाई लिएर छैन । केवल भारतमा नेहरुले केही गर्न सकेनन् भन्ने छ । त्यसपछि, उहा छुट्नुभयो, उहाँ छुट्ने क्रममा भारतको र तत्कालीन भारतीय राजदूत राजबहादुर सिंहको ठूलो भूमिका थियो । प्रकारान्तरले उहाँले आफ्नो डायरी र आलेखहरुमा लेख्नु पनि भएको छ । तर उहाँले यो मलाई मन परेको थिएन, राजा महेन्द्रको इच्छा चाहिँ भारतले हात नहालोस् भन्ने थियो भनेर पनि लेख्नुभएको छ । त्यसपछि उहाँ भारत जानुभयो । भारतमा उहाँ के गरेर बस्नुभयो ? कुनै सेना खडा गर्नुभयो कि ? सुवासचन्द्र बोसले जापानको सहयोग लिएर दक्षिणपूर्वी एसियामा सेना खडा गरेको थिए, बीपीले त्यसो गरेको पनि देखिएन । ओखलढुंगा काण्ड अलग विषय छ ।

भारत बस्दा बीपीले इन्दिरा गान्धीलाई भेट्नुभयो कि भएन ? भेट्नुभएको भए उनीहरुसँग के संवाद गर्नुभयो ?उनीहरुले के भने ? इतिहासलाई थाहा छैन । ८ वर्ष उहाँ हिन्दुस्तानमा त्यसै अवश्य नै बस्नूभएन । त्यहाँ बस्दाबस्दै उहाँले हिन्दुस्तानको परिचयपत्र लिएर विदेश भ्रमण गर्नुभयो । त्यो विवादास्पद हुन गयो । पछि उहाँले लेख्नुभयो, 'मैले नबुझी त्यो काम गरेछु ।' उहाँले खास राजनीतिक उद्देश्यका लागि हिन्दुस्तानलाई आफ्नो पक्षमा पार्ने कोसिस गर्नुभयो । उहाँले संवाद गर्नुभएको भए सायद भारत सरकारले उहाँलाई सर्त राख्यो होला र त्यो सर्त उहाँले मान्नुभएन । तर ती के हुन ? हामीलाई दुर्भाग्यवश थाहा छेन । कनकमणि दीक्षितद्वारा सम्पादित पुस्तकको एउटा लेखमा के उल्लेख छ भने बीपी भारतमा बसिरहँदा उहाँको भारत सरकारका विरोधीसँग हिमचिम भयो ।

त्यसपछि इन्दिरा गान्धीको प्रतिनिधि बनेर भारतीय पूर्व विदेश सचिव रसगोत्राले बीपीलाई 'तपाई विहार र उत्तरप्रदेशमा बसेर यसरी गतिविधि गर्न पाउनुहुन्न । कि नेपाल फर्कनुस कि दक्षिण भारतका कुनै सहरमा जानुस्' भने । फेरि उहाँका मित्र भने पनि अग्रजभने पनि जयप्रकाश, जर्ज फर्नान्डिज र चन्द्रशेखर तीनैजना जेल परे । बीपीका अनुयायीहरुमाथि पनि छापा मारियो । त्यतिन्जेल ढुक्क घुमिरहनुभएका दुर्गा सुवेदी पक्राउ पर्नुभयो । चक्रजी, सुशीलजीहरुमाथि मुद्दा थियो । बीपीलाई असजिलो भइरहेको थियो । अनि उहाँ नेपाल अउनुभयो । नेपाल आउँदा उहाँले मुलुकलाई दक्षिणबाट खतरा छ भन्नुभयो, दक्षिणको नाम नलिईकन रुसलाई त उहाँले नामै लिएर गाली गर्नुभयो । त्यतिखेर रुस र भारत भन्नु एकै थियो, अलगपनि थिएन । विदेश नीति दुइटैको 'आइडेन्टिकल' हुन्थ्यो । उहाँ डिसेम्बर अन्तिममा नेपाल आउनुभयो, फेब्रुअरीमा त्यहाँ चुनाव भयो । त्यतिबेला उहाँ जेलमै हुनुहुन्थ्यो ।

२०३३ सालको बीपीको मेलमिलापको 'थेसिस' हेर्दा एकसाथ दुई तीनवटा कुरा देखिन्छ । एउटा सकारात्मक पक्ष के छ भने उहाँले संघर्ष गर्ने, हान र भाग भन्नेभन्दा उहाँले बातचित गर्ने शैली अपनाउनुभयो । यो गान्धीवादी शैली थियो । अनि उहाँले एक प्रकारको निषेधाज्ञा तोड्दै, जान दिँदैन भन्दाभन्दै विमानस्थलामा मान्छे राखिएको छ, ढुगामुढा राखिएको छ भन्दाभन्दै पनि देश घुम्न थाल्नुभयो । यो एक प्रकारको सत्याग्रह थियो । उहाँले सत्याग्रहको आधार सधैँ केलाई बनाउनुभयो भने नेपाललाई विदेशबाट खतरा छ, यहाँ विदेशी तत्व छन्, कम्युनिस्टहरु विदेशी तत्वको आडमा खेलिरहेका छन् भन्नुभयो मेरो विचारमा त्यो स्वस्थ विश्लेषण थिउन । सम्यक् विश्लेषण थिएन । त्यसले अहिलेसम्म नेपालमा अस्वस्थता दिएको छ । कांग्रेस–कम्युनिष्ट झगडा त्यसले झन् चर्कायो , पछि गणेशमान सिंहले त्यसलाई अलिकति मत्थर पार्नुभयो । त्यसको कटु अहिले पनि बाँकी छ । बीपीले अलि अतिशयोक्ति नै गर्नुभएको छ । इन्डोनिसियाको अ‍ैडिटले गरेजस्तै कम्युनिस्टहरु यहाँ प्रवेश गरे भन्नुभएको छ । त्यो मेरो विचारमा बहुत दुर्भाग्यपूर्ण हो । अ‍ैडिट इन्डोनेसियाको बडो समर्पित कम्युनिस्ट नेता थिए । उनको जीवनी आफैँमा प्रेरक छ । उहाँलाई कसले भन्यो या आफैँ हेर्नुभयो मलाई थाहा छैन । यसलाई हामी उहाँको राजनीतिक मात्र होइन, एक कारको गैरजिम्मेवार वक्तव्य पनि भन्न सक्छौँ । यसको राम्रो उत्तराधिकार भएको छैन । यसले मुलुकलाई हानि पु¥याएको छ । तस्रो उहाँले गान्धीवादी शैलीमै नेपालको नवनिर्माणको व्यावहारिक खाका खिच्नुभएको छ । आज नभउ पनि पाँच वर्षपछि, दस वर्षपछि नेपालको बीपीको खाकामा सम्झौता गर्नैपर्छ ।

बीपीको देहान्तपछि दुनियाँमा दुइटा ठूला घटना भएका छन् । एउटा सोभियत संघ विघटन भयो । लोकतान्त्रिक समाजवादीले के भन्थे भने हामी समाजवादी त समाजवादी तर रुस र पोल्यान्डजस्तो एकदलीय होइनौँ भन्थे । अर्को चीनले पनि पुँजीवाद अँगालेको छ । यतिबेला बीपी हुनुभएको भए उहाँको समाजवादको व्याख्या कस्तो हुन्थ्यो ? यो हिजोको व्याख्याका आधारमा भन्न सकिँदैन । अर्को घटना, अहिले भूमण्डलीकरण भएको छ । यो सञ्चार क्रान्सिँग जोडिएको छ । आज बीपीले भनेजस्तो गाउँ – गाउँमा गाई पाल्न दिन्छु ठूला सडक बनाउन दिन्नँ, साना–साना सडक भए पुगिहाल्छ भनेर अन्तर्राष्ट्रिय अर्थनीतिसँग कसरी जोडिन सकिन्छ ? जोड्दै नजोडिने हो कि ? यी खुला प्रश्न छन्, जसको जवाफ बीपीले दिनुभएन । जसको समस्या उहाँको समयमा आएकै थिएन । बीपीको महामूलमन्त्र के हो भने, विकास एउटा प्राविधिक प्रक्रिया मात्र होइन, यो एउटा राजनीतिक प्रक्रिया हो । यसको अर्थ बुझ्नुपर्छ । यथार्थ विकास तबमात्र हुन्छ जब त्यहाँ 'हुमन एजेन्सी हुन्छ । आज खर्बौ रुपैयाँ आएको छ, रेमिट्यान्सबाट त्यत्तिकै आएको छ । तर त्यसलाई संयोजक गर्न हामीसँग मानवीय तत्व छैन । राज्यले ध्यान दिएको छैन । बीपीले बारम्बार फोर्ड मोडल÷अमेरिकी मोडल काम लाग्दैन, रुसी मोडल काम लाग्दैन भन्नुभएको छ ।

मेरो प्रेरणाका स्रोत

मैले बीपीसँग पाँच वर्ष घनिष्ठ सम्बन्ध राखेर बसेँ, बनारसमा । म २०–२२ वर्ष हुँदा । सायद जीवनमा कुनै विषय छैनन् जसबारे उहाँसँग मैले प्रश्न गर्न भ्याइनँ । उहाँ उत्तर दिँदा आफ्नो सीमा स्विकार्नुहुन्थ्यो । उहाँसँग राजनीतिक र गैरराजनीतिक विषयमा भनाभन पथ्र्यो । उहाँ अद्भुत सहिष्णु हुनुहुन्थ्यो । उहाँ स्वभावले नै स्नेही र मानवतावादी व्यक्ति हुनुहुन्थ्यो । जुन गुण किसुनजीमा पनि थियो, बीपीमा भन्दा बढ्ता । चिन्न धेरै ठूलठूला व्यक्तिलाई चिनियो तर बीपी र किसुनजीलाई चिन्नु म आफ्नो जीवनको एकदम महत्वपूर्ण घटना मान्छु ।

मलार्य बीपीको कतिपय व्यक्तिगत, पारिवारिक र राजनीतिक कुरामा चित्त बुझेको थिएन । उहाँले नेपालमा हतियारबन्द कार्यक्रम गरेको कत्ति पनि चित्त बुझेको छैन÷थिएन । उहाँमा पनि यसप्रति दोषभाव देख्छु ।

बीपी बडो प्रेमपूर्वक ठट्टा गरीगरी प्रतिवाद गर्नुहुन्थ्यो । म उहाँको कति कुरामा प्रतिवाद गर्थे कहिलेकाही नांगो रुपमै भाभन हुन्थ्यो । शैलजाजी, सुशीलजी बाहिर बसिरहेका हुन्थे । बरु उनीहरु रिसाउथे, हिजोको उनीहरु फुच्चे हाम्रो सान्दाजुसँग भनाभन गर्ने भनेर । उनीहरुले बरु बदला लिन्थे, आफ्नो स्तरबाट । तर बीपी रिसाउनुहुन्थेन । बीपीले मेरोबारे के भन्नुहुन्थ्यो भन्ने कुरा मीनेन्द्र रिजाल आज पनी चर्चा गर्छन् ।

म एमए पढ्दापढ्दै थुनामा परेको थिएँ । मेरो परिवारका धेरै मान्छे पञ्चायतमा लागेका थिए । तुलसी गिरी मेरो बुबाका 'फस्ट कजन' हुन् । रुद्रप्रसाद गिरी मेरो आफ्नै काका हुनुहुन्थ्यो । उहाँ त्यतिबेला गृहमन्त्री हुनुहुन्थ्यो । अरु गिरी पनि महत्वपूर्णपदहरुमा थिए यस्तो पञ्चमुखी परिवारमा मचाहिँ बीपी, किसुनजीको जीवनी लेख्ने, जेल जाने गरेकाले उनीहरुलाई असजिलो भएको थियो । त्यसपछि उनीहरुले छात्रवृत्तिमार्फत मलाई नियोजित ढंगले अमेरिका पठाउने तानाबाना बुन्न थाले । मेरो उपस्थितिबिनै उनीहरु यो सब गर्न सक्थे, सत्ताका कारण । मलाई जान मन त थिएन, तर एक वर्ष गएर फर्कदा के होला र भनेर एक दिन वीपीलाई यसबारे भनेँ । तर बीपीले यसबारे कुरै गर्न चाहनुभएन । सयकडौँ मान्छे अमेरिका गएका छन्, तिमी पनि जाने भए जाऊ भन्नुभयो । अमेरिका जाने सानातिना मान्छेले हो भन्नुभयो । त्यसपछि मैले अमेरिका जाने धारणा त्यागेँ । यसले मेरो जीवनको धारा मोडियो ।, कमसेकम आज मैले आफ्ना लागि जीवनको अर्थ बुझेको छु । यसका लागि बीपीलाई म सधैँ आफ्नो मुख्य प्रेरणा मान्न सक्छु ।

कति सफल ?

अब बीपी समग्रमा सफल कि असफल? सफल केलाई भन्ने? उहाँ लोकतन्त्र आएको, कांग्रेस सत्तामा गएको हेर्न चाहनुहुन्थ्यो भने त उहाँको देहान्तको सात/आठ वर्षपछि त्यो प्राप्ति भइहाल्यो । राजाको तत्कालीन सर्तमा धेरैजना प्रधानमन्त्री भए । बहुदलमा पनि प्रधानमन्त्री भए । स्वयं उहाँका भाई गिरिजाप्रसाद पनि पटक पटक प्रधानमन्त्री हुनुभयो । पहिले प्रधानमन्त्री हुनभएका उहाँका दाजु मातृका, पछि हुनभएका हाम्रा अरु मित्रहरु, आजका २० वर्षपछि नेपालमा यिनीहरुमध्ये कसको चर्चा होला त? कठोर भन्छु, कसैको चर्चा हुँदैन । चर्चा भयो भने घुमीफिरी बीपीकै हुन्छ । वीपी लामो समयसम्म प्राथमिक रहनुहुन्छ । होइन भने फेरि घुमीफिरी माले÷एमालेका मदन भण्डारीको चर्चा होला ।

बीपीले हाम्रो जनजीवनलाई धेरै क्षेत्रमा स्पर्श गर्नुभएको छ । जुन जुन क्षेत्रमा स्पर्श गर्नुभएको छ, ती सबै विषयमा बहस जारी छ । प्रासंगिकता पनि जारी छ । कहिलेकाहीँ के हुन्छ भने, प्रश्न मात्र महत्वपूर्ण हुन्छ, उत्तर हरेक पुस्ताले अलग अलग दिन्छ । सेनाका बारेमा उहाँले प्रश्न गर्नुभयो । यसमा स्वयं उहाँकै उत्तर चार कालअवधिमा चार प्रकारका छन् । तीमध्ये कुनै एउटा उत्तर ठीक होला वा उहाँका गलत भएर अर्को कुनै पाँचौँ उत्तर ठीक होला । तर प्रश्न त उठाउनुभयो नि उहाँले ।

बीपी जत्तिको व्यक्ति हाम्रो समाजले अर्को पाएन यस्ता व्यक्ति बहुमुखी प्रतिभाका हुन्छन्, त्यही भएर उनीहरुलाई समाजका विभिन्न व्यक्तिहरुसँग जोडिन सजिलो हुन्छ । उनीहरुलाई समाजका विभिन्न व्यक्तिहरुसँग जोडिन सजिलो हुन्छ । उनीहरुले 'कलोक्टिभ फ्रन्ट' बनाउन सक्छन् । म्याक्स वेबरले यस्ता व्यक्तिलाई 'करिस्माटिक पर्सनालिटी' भनेका छन् ।

बीपी यस्तो समाजमा जन्मनुभयो कि, त्यो नायक र महानायकहरुको युग थियो । उहाँलाई नायक बन्न पनि समय लागेन । ०७ सालको क्रान्तिमै 'वीर विश्वेश्वर जिन्दावाद' भन्ने मान्छेले जानिसकेको थिए । मातृकाप्रसाद र सुवर्णशमशेर थपना मात्रै हुन् भन्ने सबैलाई थाहा थियो । उक्त क्रान्तिको 'स्प्रिट इन पर्सन' उहाँ हुनुहुन्थ्यो । उहाँमा गुणहरु पनि थिएः वक्तृत्वकला थियो, लेखनकला थियो, अद्भूत साहसकिता थियो । त्यस्तो साहस गणेशमानजीमा पनि थियो , मातृका र सुवर्णमा थिएन । संघर्ष सुरु भएपछि उहाँहरु नेपाल छिर्दै छिर्नु भएन तर बीपी दुई–दुई पटक आउनुभयो र जेल पनि पर्नुभयो । उहाँमा महानायकमा हुने यस्ता तत्वहरु थिए । त्यसैले जबसम्म हाम्रो समाजमा नायकको खाँचो भइरहन्छ, तबसम्म बीपी कोइरालाजस्ता व्यक्ति पुजय हुन्छन् ।

(कांग्रेस नेता तथा समाजवादी चिन्तक गिरिसँग गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित मिति: २०७१ श्रावण ०३, कान्तिपुर (कोसेली)

Back