"गुहा, बीपी र एसिया" - अभि सुवेदी (२०७१ भाद्र २३)
Print Friendly and PDF

काठमाडौंका किताब पसलमा आएको 'द मेकर्स अभ एसिया' (२०१४) अथवा 'एसियाका निर्माता' शीर्षक हर्वाड युनिभर्सिटी प्रेसले छापेको किताबले मेरो ध्यान खिच्यो । यसका सम्पादक र यसभित्रका एकजना लेखक रामचन्द्र गुहा हुन् । यिनको ढठ्डु किताब 'गान्धीपछिको भारत' (२००७) मा यिनका विचार पहिले पनि पढेको हुँ । लाग्छ, विविध विषयका किताब पढ्न म पराउँछु । कहिलेकाहीं लाग्छ, अनेकौं विषयका किताब पढ्दा सीमाहरू हराउँछन् । छापाका किताब र वेबसाइटमा पढिने किताब वा अक्षरको सीमा अस्थिर हुन्छ, तर अम्बर्टो एकोको धारणा छ, हामी हातले लेख्छौं, त्यसैले किताब जैविक हो । हाम्रो शरीरको विस्तार हो किताब । साइबर स्पेसमा गएपछि त्यो निर्जीव हुन्छ, शरीरबाट अलग हुन्छ । त्यसैले जैविक सम्बन्ध भएको कारणले गर्दा किताब मर्दैन, सकिँदैन । किताब छान्दा यो विषय मेरो होइन भनेर पन्छाउनु एक किसिमको आनन्द हो । तर मैले किताबको विषयमा यो आनन्द गुमाइसकेको छु कि जस्तो लाग्छ । तर उत्तेजनाहरू भने हुन्छन्, त्यसमा ।

म साहित्य र रङ्गमञ्चको विद्यार्थी हुँ, तर मैले केवल साहित्यमा अर्थ देखिन । व्यक्ति र विचारले मलाई खिच्छन् । साहित्यमा सीमाहरूभित्र नबस्नेले त्यसको फराकिला सम्बन्ध देख्छ । राजनीति गर्नेले सिर्जनशील चेतनाले काम गर्‍यो भने उसले राजनितिको काव्यिक चरित्रको रचना गर्छ । उसले कविता लेख्तैन, तर उसका विचार र व्यवहारमा अनि उसले बनाएको इतिहासमा सिर्जनशील चेतना हुन्छ । तर इतिहास रच्नेले शान्तिको बाटोमात्रै लिँंदैनन्, तिनले हिंसाको बाटो पनि लिएका हुन्छन् ।

गुहाले एसियाका निर्माता भनेर राजनीतिज्ञहरूलाई छानेका छन् । त्यसमा लेखक र दार्शनिक छैनन्, किनभने तिनले सिधै राजनीतिरूपी ज्याबल लिएर इतिहास बनाउँदैनन् । यसमा केही फरक मान्यता राख्छु । अर्कै लेख चाहिन्छ । यहाँ भने गुहाकै किताबलाई लिएर एकाध विचारहरू राख्न चाहन्छु । ती विचार विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपी विषयमा केन्दि्रत हुनेछन् । तर पहिला गुहाले लिएका व्यक्तिहरू र छनोटका सिद्धान्तकै छलफल गर्छु ।

एसियाका निर्मातामा बीपीको नाम परेन भन्ने मेरो भनाइ होइन, त्यसो गर्न मिल्दैन, किनभने बीपीले एसियाली अमृ मुलुक वा मुलुकहरूमा इतिहास रचना गर्ने, त्यसलाई फराकिलो अर्थमा प्रभाव पार्ने काम गर्न पाएनन् । त्यसका अनेकौं कारण थिए, जसको विषयमा हाम्रो इतिहासै बोल्छ । तर पहिला गुहाको तर्क र उनले छानेका मानिसहरूको विषयमा कुरा राख्न चाहन्छु । त्यसरी राखेपछि म बीपीको विषयमा फर्किन्छु, किनभने यस प्रकारको तर्कबाट उनको व्यक्तित्व र राजनीतिक कर्मको काव्यिक आयाम विषयमा केही नयाँ कुरा भन्न सकिने रहेछ ।

गुहा आधुनिक एसियालाई पश्चिमी उपनिवेशको इतिहाससँग जोड्छन् । जेजे हुनु थियो, त्यो बीसौं शताब्दीमा भयो । क्रान्ति भए, हत्या भए, लेाकतान्त्रिक उपलब्धि भए । देश बनिए, बिगि्रए । यसो हेर्दा यसको क्यानभास धेरै ठूलो हुन्छ । गुहाले छलफल गरेका एघारजना नेताहरू चर्चित छन् । तिनलाई छान्नुको आधार तिनले यसरी राखेका छन् । तिनको कारणले परिवर्तन भएको हुनुपर्छ । तिनका कामको पछि आउने कालमा प्रभाव हुनुपर्छ । त्यसलाई इतिहासमा वा तिनले खोलेको दलको रूपमा हेर्न सकिन्छ । विरासत भन्ने कुरा सबैतिर लागु हुनेरहेछ । पछि आउनेले तिनका विचार मानेन भने पनि तिनका प्रभाववृत्तबाट ऊ मुक्त हुनसक्तैन । अथवा अर्कोतिर शक्ति लिएपछि भयानक उथलपुथल, विस्थापन, मृत्यु र आर्थिक उन्नति पनि हुन्छ । माओजेदुङको व्यक्तित्वलाई त्यसरी चित्रण गरिएको छ । साधारण, एक किसिमले लुरे तर त्यही सरलतालाई शक्ति र तेजमा परिवर्तन गर्ने महात्मा गान्धीको व्यक्तित्व अर्कोतिर छ । होची मिन्हले पनि त्यस्तै सरलतालाई आफनो सामथ्र्य बनाएर राखेको कथा वाचाल छ । तिनले स्तालिनको शैलीले भियतनाममा कम्युनिस्ट विचार स्थापना गरे पनि तिनले आफ्नो इमानदारिता र लगनशीलताको कारणले फ्रान्सेली र अमेरिकी शक्तिलाई समेत हराएको कुरा चाखलाग्दो छ ।

गुहाले दक्षिण कोरियाली पार्क चुङ्हीलाई लिएका छैनन् । निरङ्कुश सैनिक तर देशलाई उन्नति गराउने उनको व्यक्तित्व भए पनि तिनको खासै पुस्तान्तर प्रभाव देखिएन । जापानी नेताहरू अमेरिकीको छातामुनि काम गर्ने भएकाले त्यहाँ प्रभावशाली वा करिस्मा भएका नेता जन्मिएनन् भन्छन्, ती । किमइलसुङले अहिलेसम्म विगतकै अवस्थाको भुमरीमा देश राख्ने व्यवस्था सिर्जना गरेकोले तिनको पनि अग्रगामी व्यक्ति र विचारको रूपमा चित्रण गर्न सकिएन, गुहा भन्छन् । अलि जिन्हाले देश बनाए पनि तिनको पाकिस्तानमा प्रभाव बलियो देखिएन भन्ने कुरा मलाई ठिकै लाग्यो । भुट्टोको लिग्यासी रह्यो र ती प्रतिभाशाली नेता थिए । सुकार्नोको खण्ड राम्रो लाग्यो, तर त्यहाँ एउटा कुरा मलाई खुलेन । तिनको पछि दीर्घशासन गर्ने जर्नेल सुहार्तो सुकार्नोकै लिग्यासीभित्र थिएनन्, सायद । सबैजसो नेताहरूले पश्चिमी नेता र विचारक खासगरी, माक्र्स, लेनिन, नेपोलियनको प्रभाव ग्रहण गरेका थिए । गान्धीले उपन्यासकार लियो टल्सटोयको अहिंसावादी र शान्तिवादी कर्मशील विचार लिए । म यस ग्रन्थको समीक्षा गर्न लागेको होइन । तर यो किताब पढेपछि मलाई नेपालबारे केही सोचहरू आएकाले यहाँ केही लेख्न लागेको छु ।

मलाई किताब किनेको बेला एकजना सम्बन्धित व्यक्तिले भने, यसमा नेपालको नेता किन परेन ? मेरो मनमा विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपीको सम्झना भयो । एसिया बनाउनेमा गुहाले इजिप्टका कर्नेल नासरलाई समेत लिएका छैनन्, अरु अनेकौं नेताका नाम छुटाएका छन् भने एसियामा कुनै प्रभाव नपार्ने अमृ नेपाली नेतालाई लिनुको के अर्थ हुन्छ । तर मलाई लाग्यो, बीपीको व्यक्तित्व र राजनीतिका एसियाली आयाम थिए भन्ने कुरा देखेका छौं । तिनले भारतको आजादीको निम्ति पनि युवा अवस्थामा काम गरे । तिनका विचारको भारतका नेता गान्धी, नेहरू, राजेन्द्रप्रसाद, जयप्रकाश, इन्दिरा गान्धीसम्मले सम्मान गरेका उदाहरण देखिन्छन् । तिनले सोसलिस्ट इन्टरनेसनल संस्थाको माध्यमले युरोपेली र एसियाली समाजवादीहरूसँग नजिकको सम्बन्ध्ा बनाएका थिए । तिनका संस्मरणहरूबाट देखिन्छ, उनीहरू बीपीका विचारको सम्म्ाान गर्थे । तर बीपीको मुक्ति संघर्षको निम्ति उनीहरूले समर्थन र सहायता नदिएको हुनाले बीपीले तिनीहरूमा एउटा इच्छाशक्तिको ह्रास हुँदै गएको र तिनको उत्साह क्षीण हुँदै गएको देखे । तिनले भनेका कुरा सत्य देखिए । मैले केवल तिनको व्यक्तित्वको एउटा बाह्य पक्षको कुरा राखेको हुँ । तर तिनको संघर्षको कारणले ठूलो उथलपुथल भएर नेपालमा परिवर्तन हुनसकेन । तिनका धेरै वर्ष जेलमा बिते ।

मलाई किताब किनेको बेला एकजना सम्बन्धित व्यक्तिले भने, यसमा नेपालको नेता किन परेन रु मेरो मनमा विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपीको सम्झना भयो । एसिया बनाउनेमा गुहाले इजिप्टका कर्नेल नासरलाई समेत लिएका छैनन्, अरु अनेकौं नेताका नाम छुटाएका छन् भने एसियामा कुनै प्रभाव नपार्ने अमृ नेपाली नेतालाई लिनुको के अर्थ हुन्छ । तर मलाई लाग्यो, बीपीको व्यक्तित्व र राजनीतिका एसियाली आयाम थिए भन्ने कुरा देखेका छौं । तिनले भारतको आजादीको निम्ति पनि युवा अवस्थामा काम गरे । तिनका विचारको भारतका नेता गान्धी, नेहरू, राजेन्द्रप्रसाद, जयप्रकाश, इन्दिरा गान्धीसम्मले सम्मान गरेका उदाहरण देखिन्छन् । तिनले सोसलिस्ट इन्टरनेसनल संस्थाको माध्यमले युरोपेली र एसियाली समाजवादीहरूसँग नजिकको सम्बन्ध बनाएका थिए । तिनका संस्मरणहरूबाट देखिन्छ, उनीहरू बीपीका विचारको सम्मान गर्थे । तर बीपीको मुक्ति संघर्षको निम्ति उनीहरूले समर्थन र सहायता नदिएको हुनाले बीपीले तिनीहरूमा एउटा इच्छाशक्तिको ह्रास हुँदै गएको र तिनको उत्साह क्षीण हुँदै गएको देखे । तिनले भनेका कुरा सत्य देखिए । मैले केवल तिनको व्यक्तित्वको एउटा बाह्य पक्षको कुरा राखेको हुँ । तर तिनको संघर्षको कारणले ठूलो उथलपुथल भएर नेपालमा परिवर्तन हुनसकेन । तिनका धेरै वर्ष जेलमा बिते ।

हामीले एसिया बनाउनेमा बीपीको नाम दर्ता गराउने कुनै प्रयोजन छैन । तर गुहाले राखेका निर्धारण गर्ने केही मूल आधार बीपीमा थिए भन्ने देखियो । तिनको इतिहास संघर्षको इतिहास हो । तिनको दलले नेपालमा सबैभन्दा धेरै शासन गर्‍यो । अहिले पनि गर्दैछ । मिले पनि नमिले पनि काङ्ग्रेसका नेताहरू तिनको विचारको कुरा ल्याइबस्छन् । बीपी हिंँडेको वैचारिक बाटोलाई भौतिक रूपमा परिवर्तन गरेर हुलाकी बाटो हिँड्दै भाषण गर्छन् । तर बीपीको व्यक्तित्व र विचारहरूका व्याख्या धेरै भए पनि अन्तर्यमा तिनका विचारको चित्तबुझ्दो अध्ययन भएको मैले नाटक लेख्ने क्रममा खोजी गर्दा खासै पाइन । तर माओवादी नेता प्रचण्डले बीपीको क्रान्तिकारी चरित्रको आफू उपासक हुँ भन्ने किसिमको कुरा राखेको, बीपीले पुरा नगरी बिसाएको क्रान्तिलाई आफूले अगाडि लगेको कुरा गर्दा उनले बीपीको राजनीतिको काव्यहेतु बुझेको ताजा र नौलो आयाम देखिन्छ ।

बीपीको मेलमिलाप भनेको राजैसँग मिल्ने कुरा हो भनेर अवचेतन र चेतन मनमा राखिहिँड्ने उनको दलका मानिसको ठूलै वर्ग छ । त्यो विषयलाई इतिहासमा लगेर व्याख्या गर्ने आधार राखिदिने गणेशराज शर्माजस्ता वाचाल विश्लेषकहरू छन् । तर मेलमिलाप त एउटा कालिक वार्ता र स्ट्राटेजीमात्र हो, बीपीको राजनीतिको अन्तर्य त गणतन्त्र हो भन्ने दोस्रो पुस्ताका काङ्ग्रेस नेता नरहरि आचार्य र अनेकौं यस्तै विचार राख्ने प्रतिभाशाली युवा नेताहरू छन्, अर्कोतिर । आचार्यले बीपीको राजनीतिमा उनको साहित्यिक काल्पनिकीलाई जोडेर फराकिलो वृत्तमा उनको राजनीतिक काव्यिक आयामलाई हेर्नुपर्छ भनेर पनि लेखेका छन् । बीपीको समाजवाद र उनको व्यक्तित्वको आकर्षक पक्ष र चिन्तनको विषयमा लेख्ने प्रदीप गिरीजस्ता नेताहरू पनि छन् ।

यसरी विचारको लिग्यासीको विविधतालाई अहिलेसम्म अनेकौं विचारधारा भएका मानिसले राखेको कारणले बीपीको व्यक्तित्व एसियाले बनाउने मानिसहरूको कोटीमा आउनसक्ने किसिमको थियो भन्ने कल्पना गर्न गुहाको यो सरल किताबले मलाई उत्साहित गरेकै हो । मेरो तर्कको अन्तर्य यस्तो छ । नेपाली राजनीतिमा चिन्ता, चिन्तन, राजनीतिक भविता, हिजोको क्रान्तिको समीक्षा र सामथ्र्यको छलफल गर्नुपर्ने समग्र गुण भएको नेता विश्वेश्वरप्रसाद कोइराला थिए । म उनको दलको मानिस नभएर स्वतन्त्र चिन्तक हुँ, त्यस अर्थमा उनलाई सम्झिनुको अर्थ नै ती स्वतन्त्र विचारका स्रोत पनि थिए भन्नु हो । यी एघारजना व्यक्तिहरूलाई लिएर छलफल गर्नु उत्तरराजनीतिक विषय होइन, यो आफैलाई बुझ्ने अधिचेतना हो । यो लेखले त्यत्ति गरेको छ ।

प्रकाशित मिति:२०७१ भाद्र २३

Back