"यसरी सम्झिने कि?" - धनराज गुरुङ (२०७१ भाद्र २४, कान्तिपुर दैनिक)
Print Friendly and PDF

नेपाली राजनीतिका महानायक बीपी कोइरालाको जन्मशताब्दी। नेपाली कांग्रेसले भदौ १ देखि २४ सम्म विराटनगरदेखि काठमाडौंसम्मको यात्रा गर्‍यो। हामी कांग्रेसजनले वास्तवमै बीपीको बाटोमा विचलित नभइकन हिँड्न चाहन्छौं भने राजनीतिक परिवर्तनपछि आर्थिक एवं सामाजिक क्रान्तिको ढिला नगरिकन थालनी गर्नुपर्छ। आर्थिक क्रान्तिको सन्दर्भमा बीपीकै नेतृत्वको पहिलो जननिर्वाचित मन्त्रीमण्डलको अठार महिने कार्यकालबाट सिक्न जरुरी छ। २०१६ मा बीपी प्रधानमन्त्री बनेपछि औद्योगिक क्षेत्रको विकासका लागि 'नेपाल औद्योगिक विकास निगम'को स्थापनाका साथै पर्यटन क्षेत्रको विकासका लागि 'पर्यटन विकास समिति'को गठन गरेपछि नेपालले औद्योगिक क्रान्तिको बाटोमा वामे सर्न थालेको हो। त्यसपछि नेपालमा धमाधम साना-ठूला उद्योगहरूको स्थापना हुनथाल्यो। उद्योग स्थापनार्थ विदेशी सहयोग पनि ओइरिन थाल्यो।

प्रधानमन्त्री बनेको ५/६ महिनामै बीपीले देशमा एक प्रकारको औद्योगिक क्रान्ति नै ल्याइदिए, तर हामी आफूलाई बीपीको खास अनुयायी भन्ठान्नेहरूले औद्योगिक क्रान्तिमा इँटा थप्ने काम गर्‍यौं या बीपीले बसालेको औद्योगिक क्रान्तिको जगको इँटा पनि खनिखोस्री निकालेर बेच्यौं? आत्मसमीक्षा गर्नुपर्छ कि पर्दैन? बीपीले गरेको सडक, यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, सिंचाइ, विद्युत, कृषि, भूमिसुधार, सहकारी आदि क्षेत्रको अग्रगामी विकासको मोडललाई सरकारमा पुग्दा बिर्सने अनि जन्मस्मृति दिवसमा सम्झिएर गोहीको आँसु खसाल्ने? तसर्थ जन्म र स्मृति दिवसमा कर्मकाण्डी कार्यक्रम गरी बीपीलाई सम्झिने परम्परागत शैली बदल्न जरुरी छ।

त्यसरी नै बीपीलाई सम्झिने अर्को पाटो हो, सामाजिक क्रान्तिबाट। जतिबेला जातीय, लैङ्गकि विभेदको बादलले सिङ्गो नेपाली आकाश ढाकिएको थियो। जातीय, लैङ्गकि विभेदले नेपाली धर्ती चिराचिरा परेको थियो। समाज, जातीय एवं लिङ्गीय विभेदको खाडलमा जकडिरहेको थियो। एकातिर मान्छेले मान्छेलाई छुँदा छोइछिटा छर्काइन्थ्यो भने अर्कोतर्फ 'ढिलै होस् छोरो नै होस्' भन्ने लैङ्गकि विभेदबाट समाज आक्रान्त थियो। यस्तो जटिल सामाजिक परिस्थितिकै बीचमा बीपीले देवव्रत परियारलाई नेपाली कांग्रेसको संस्थापक सदस्य बनाएर सामाजिक विभेदविरुद्ध सामाजिक क्रान्तिको थालनी गरेका थिए। पछि २००९ मा धनमानसिंह परियारलाई कांग्रेस पार्टीको महामन्त्रीजस्तो गरिमामय पदमा मनोनीत गरेर सामाजिक क्रान्तिको चउरलाई चौडा पारे। वर्तमानमा पनि सामाजिक कुरीतिहरू बाँकी नै छन्। पँधेरोमा दलितले गाग्री छोइदिएकोले दलितमाथि कुटपिट गरिएको घटना होस् वा दलितलाई मन्दिरमा पूजा गर्न नदिइएका घटनाहरूसँगै बोक्सीको आरोपमा महिलामाथि गरिने दुव्र्यवहारका घटना रोकिएका छैनन्। यतिमात्रै नभएर अझै पनि यो समाजमा छोरालाई विद्यालय, छोरीलाई मेलापातमा पठाउने जस्ता विभेदपूर्ण कार्यहरू रोकिएका छैनन्। कांग्रेसले बीपीलाई सामाजिक क्रान्तिको पाटोबाट सम्झिने हो भने 'गैरदलितको घरमा दलितको बास र दलितको घरमा गैरदलितको बास' अभियान चलाउन आवश्यक छ।

बीपीप्रति हामी साँच्चिकै सम्मान गर्छौं भने तस्वीरमा फूलमाला, अबिर अर्पण गरेर होइन कि उनले देखाएको बाटोमा समर्पण भएर सम्मान व्यक्त गर्नुपर्छ। पार्टीभित्र अनुशासन रहेन भने त्यो पार्टी नभएर पाटीमा बदलिन्छ। जहाँ जो जतिखेर आएर बसे पनि हुन्छ र जतिखेर गए पनि हुन्छ। पाटीमा बास बस्नेले पाटीको हेरचाह, लिपपोत गर्नु पनि पर्दैन। नत पाटीमा बास बसेबापत सेवाशुल्क नै तिर्नुपर्छ। तसर्थ पार्टीलाई पाटी नभएर पार्टी नै बनाइराख्ने हो भने संगठनभित्र अनुशासनको परिपालना गर्ने परिपाटी बसाल्नुपर्छ। अनुशासनको परिपालना गराउने सन्दर्भमा कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य भद्रकाली मिश्रले नेपाली कांग्रेसको पाँचौं महाधिवेशनस्थलमा अनुशासनहीन कार्य गरेकोले 'अन द स्पोट' उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरियो। त्यसरी नै २००९ मा पूर्वपार्टी सभापति मातृकाप्रसाद कोइरालालाई पनि पार्टी हितविपरीत कार्य गरेकोले पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाही गरियो। पार्टीलाई अनुशासनको लिगमा हिँडाउने क्रममा दर्जनौं नेताहरू कारबाहीमा परेका थिए। अनुशासनको लिगमा हिँडालेको पार्टी कति बलियो हुन्छ भन्ने कुराको दरिलो प्रमाण हो, २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसको दुई तिहाइ बहुमत। चौबाटोमा, चियापसलमा बसेर कांग्रेसलाई नै सत्तोसराप गरेर कांग्रेसी नेता बनिरहन पाइने बेथितिको अन्त्य कांग्रेस पार्टीको लागि अपरिहार्य भइसकेको छ। सधैंं नेताको रूपमा आसन र भाषण चाहिने तर अवसर नपाएपछि पार्टी हितविपरीत क्रियाकलापमा लाग्ने तैपनि उनै मान्छे फेरि पनि पार्टीको नेता भइरहने वेथितिको अन्त्य खोजेका छन्, कांग्रेसका कार्यकर्ताहरूले। तसर्थ बीपीलाई सम्झिनु भनेको वेथितिमा पार्टी सञ्चालन गर्नु पक्कै होइन। थिति बमोजिम पार्टी सञ्चालन गर्नु नै बीपीप्रतिको श्रद्धासुमन हो।

राजनीतिमा त्याग र बलिदानीको भावनाबाट अभिप्रेरित भएर लाग्ने हो। कुनै राजनीतिक पार्टीमा लाग्नु भनेको व्यक्तिगत लाभका लागि हुँदै होइन। राजनीति देश र जनताका लागि हो, आफ्नोलागि होइन। राजनीतिमा लाग्नु भनेको आवश्यक परे राष्ट्रहितका लागि उत्सर्ग गर्न तयार हुनु हो। २०१५ को आमनिर्वाचन गर्न दलीय संलग्नतामा मन्त्रिपरिषद गठन गर्ने तयारीमा थिए, तत्कालीन राजा महेन्द्र। महेन्द्रले बीपीलाई प्रधानमन्त्री बनाउन खोज्दा उनले सुवर्ण शमशेरलाई अघि सारेका थिए। बीपीकै प्रस्ताव बमोजिम राजा महेन्द्रले प्रधानमन्त्री भन्ने पद नराखे पनि २०१५ जेठ २ मा सुवर्ण शमशेरकै अध्यक्षतामा चुनावी मन्त्रिपरिषद गठन गरेका थिए। बीपीले जस्तै त्यागको उदाहरण सुवर्ण, गणेशमानहरूले पनि देखाएका छन्। बीपीका समकालीन नेताहरूमा त्यागको भावना थियो। त्यागको भावनाले पार्टीलाई बलियो बनाउँछ। तर बीपी, सुवर्ण, गणेशमानपछिका नेताहरूमा त्यस्तो त्यागको भावना खासै देखिएन भन्दा अत्युक्ति नहोला। पछिल्ला नेताहरूको मानसपटलमा त्यागको सच्चा भावनाले भन्दा लोभको भूतले डेरा जमाएको छ। नेताहरूको पदलोलुप्तकै कारण पार्टीमा अनावश्यक ढंगबाट विवाद चर्कियो। पार्टी घात-अन्तरघातको चोटहरूले क्षयीकरण हुनथाल्यो। अन्ततोगत्वा नेताहरूको पदलम्पटकै कारण पार्टीसमेत फुटेको तीतो अनुभव हाम्रो अगाडि ताजै छ। फुटेको पार्टी जोडियो, तर जोडिएको ठाउँमा खत बसेको छ। लाग्छ, जोडिएको ठाउँमा बाहिरबाट खत मात्रै देखिए तापनि भित्रपट्ट िराम्रोसँग जोडिएको छैन। त्यसैले ऐनमौकामा दुःख्ने गर्छ। युवा पुस्ताले पनि बीपी, सुवर्ण, गणेशमानले देखाएको त्यागको संस्कारलाई अनुशरण गर्दै व्यवहारमा उतार्न सकेनन् भने पार्टी नफुटे पनि भित्रभित्रै कुहिएर नष्ट हुनसक्छ। तसर्थ युवा पुस्ताले त्यागको चौडा राजमार्गको यात्रामा यात्री बनेर आत्मैबाट बीपीको सम्झना गरौं र पार्टीलाई थप क्षति हुनबाट जोगाऔं।

बीपीको देहावसानपछि जन्मिएका कति बच्चाहरू त नेपालको संविधान बनाउने ऐतिहासिक संविधानसभा सदस्य बनिसकेका होलान्। जबकि नेपालको संविधानसभाको सूत्रधार बीपी नै थिए भन्ने जानकारीसमेत उनीहरूलाई नहुन सक्छ। यसरी समयले कोल्टो फेरिसकेको अवस्थामा पनि बीपीकै नामको सहारामा कांग्रेस पार्टी चलाउन खोज्नु समयको प्रवाहलाई नबुझ्नु हो। बीपीको नाममात्रै भजाएर कांग्रेस भन्ने पार्टी चल्न त सक्छ, तर राष्ट्रिय राजनीतिको केन्द्रबाट उछिट्टएिर किनारा लाग्न सक्छ। त्यसैले बदलिँदो परिस्थिति बमोजिम कांग्रेसजनले आफ्नो भूमिकालाई पनि बदल्नु आवश्यक छ। अब सिङ्गै पार्टी लोककल्याणकारी कार्यमा समाहित हुनुपर्छ। बीपीको सम्झनामा कर्मकाण्डी कार्यक्रम गर्नुभन्दा कांग्रेस पार्टीले नै बीपीको सम्झनामा एउटा 'ट्रष्ट'को स्थापना गरौं। नेतादेखि क्रियाशील सदस्यसम्मकाले बीपीको जन्म/स्मृति दिवसका दिन गच्छेअनुसार दान गरौं। दानबाट जम्मा भएको रकमले देशको विभिन्न गाउँहरूमा बीपीकै नाममा कुनै न कुनै लोककल्याणकारी कार्य गरौं।

समाजवादलाई सरल ढंगले बुझौं र सरल ढंगबाट यसको प्रयोग गरौं। लगानी मैत्री वातावरणको सिर्जना गर्ने, लगानी मैत्री कानुनको तर्जुमा गर्ने, लगानीकर्तालाई प्रोत्साहित गर्ने र लगानीको सुरक्षाको प्रत्याभूति गराउने। जब लगानीबाट आम्दानी हुन्छ, आम्दानीमा प्रगतिशील कर लगाउनुपर्छ। प्रगतिशील करबाट जम्मा भएको राजस्व गरिबको उत्थानको लागि राज्यको तर्फबाट लगानी गरिनुपर्छ। धनी बन्ने अवसर राज्यले प्रदान गर्ने र धनीबाट जबर्जस्ती खोसेर नभई कानुनसम्मत ढंगले प्रगतिशील कर लगाएर जम्मा हुनआउने राजस्वबाट गरिबलाई माथि उठाउने आर्थिक नीति नै लोकतान्त्रिक समाजवादी नीति हो। तर यतिखेर कांग्रेसकै नेतृत्वमा सरकार बनेको समयमा प्रगतिशील कर वा विशेष कर लिने व्यवस्था नगरिनुले समाजवादको लिकबाट कांग्रेस पछाडि हटेको त होइन? भन्ने शंका गर्ने ठाउँ रहेको छ।

लेखक कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हुन्।

प्रकाशित मिति: २०७१ भाद्र २४, कान्तिपुर दैनिक

Back