"बीपीले बिटुलिन दिनु भएन" - गंगा रिजाल (२०७१ आश्विन ४, कान्तिपुर दैनिक)
बिहान नौ पनि बजेको थिएन । पटना विमानस्थलमा अवतरण गरेर विमानस्थल गृहतिर लागेँ । पटना विमानस्थलको त्यो पातलो प्यासेन्जर लञ्जमा पाइला राख्ने ठाउँ थिएन । बिहानको नास्ता त्यहीं गर्ने सिलसिलामा आफ्ना अन्य क्रुसँगै त्यहाँ पुगेको थिएँ । तर बे्रकफास्टको त के कुरा त्यहाँ चिया पाउनसमेत दुर्लभ थियो । यति धेरै मान्छे सम्भवत: उक्त एयरपोर्टले यसअघि कहिल्यै देखेको थिएन । जयप्रकाश नारायण, देवेन्द्र बाबु, कर्पुरी ठाकुर, कुनै सिंह थरका नेता (जसलाई सबैले नेताजी सम्बोधन गर्थे) आदि थुप्रै भारतीय नेताहरू वीपीलाई विदाई गर्न त्यहाँ उपस्थित थिए । वीपीसँगै स्वदेश र्फकने समूहमा उहाँसँग उड्नेहरूमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, निलाम्बर पन्थी, प्रकाश कोइराला (वीपी पुत्र होइन) आदिलाई त्यहीं भीडमा प्रस्ट देखिरहेको थिएँ । हाल प्रधानमन्त्री सुशील कोइराला, चक्र बास्तोला, विनोद अर्याल आदि त्यहीं भएर पनि सम्भवत: हाइज्याकिङ काण्डले होला, उक्त सफरमा सम्मिलित देखिएनन् । एउटा टवनअटर विमान र अर्काे एभ्रो विमान दुइटै पटना एयरपोर्टमा ओर्लंदा विमानस्थल नेपालमय भएको थियो । दुवै विमान निश्चित समयमा काठमाडौं त्रिविस्थलमा ओर्लियो, तर एभ्रो विमानलाई आफ्नो निश्चित स्थानमा यात्रुहरू ओराल्ने अनुमति टावरले दिएन र रिमोट पार्किङ जहाँ केही पालहरू गाडिएका भएतिर लगेर ओराल्नुपर्यो । पञ्चायत सरकारको कपटपूर्ण योजनाअनुरूप यतिका वर्षपछि आफ्नो देशको माटोमा टेक्न पनि नपाउँदै वीपीलाई गिरफ्तार गरेर जेल चलान गरियो । विमानस्थलमा वीपीको स्वागतार्थ आएको विशाल भीडका अगाडि भाडामा ल्याइएका तथा राज्यकोष खर्च गरेर पालिएका मण्डलेहरूको समूह प्रहरी सुरक्षामा एउटा कुनामा 'वीपी मुर्दावाद', 'वीपीलाई फाँसी दे', 'अराष्ट्रिय तत्त्व मुर्दावाद' आदि नारा कुर्लंदै थिए । वीपीलाई जेलमा कैद गरेर राजा वीरेन्द्रले के हासिल गरे ? आफ्नो बुबाले ८ वर्ष थुन्नसके भने म पनि के कम भन्ने देखाउन अथवा दरबारका भाइभारदारहरूको दूषित सल्लाह र दबाबले हो वा तत्कालीन पञ्चायती शासन चलाउने धूर्त चाटुकारहरूका योजनाअनुरूप वीपीको राजनीतिक उदयले देशमा ल्याउने हलचल समाप्त पार्ने हेतुले हो, थाहा छैन । तर उनले जे गरे, त्यो देशकै निम्ति कुठाराघात गरे । पछि सायद प्रायश्चितस्वरूप नै होला, २०३६ सालतिर उनै वीरेन्द्रले वीपीको जीवन मूल्यवान छ, जसको सहयोग र सहायता पाएमा नेपालमा पञ्चायती शासनमा सुधार गर्दै देश विकासनिम्ति अग्रसर हुनसक्ने अभिप्रायले वीपीलाई परिवारसहित अमेरिका उपचार गर्न पठाउने प्रबन्ध मिलाए ।
२०३६ जेठ १० गते बिहान ६ बजे रेडियो नेपालको धार्मिक कार्यक्रमको स्थानमा राजा वीरेन्द्रको राष्ट्रका नाममा घोषणा आयो । जसमा उनले 'रेफरेन्डम'को घोषणाद्वारा निर्दल (पञ्चायत) पहेंलो वा बहुदल (नीलो) रङमा मत दिने जनअधिकार दिएका थिए । यतिका सालपछि जनताले पाएको अधिकार सदुपयोग गर्दै बहुदलका प्रचार-प्रसारका निम्ति वीपी नेपालका विभिन्न स्थानहरूमा जानुहुँदा पञ्चायतका लठैतहरूद्वारा उहाँको विरोधमा विभिन्न विमानस्थलहरूमा अवरोध खडा गरिन्थ्यो । कतिपय स्थानमा त विमानस्थलमा भाडाका मानिस धावनमार्गमै सुताएर विमान अवतरण गर्नै नदिई काठमाडौं नै फर्काउनुपरेको थियो । जसमा विराटनगर र पोखरामा भएका घटनाहरू उल्लेखनीय छन् । एकदिन वीपी आफैंले फोन गरेर भन्नुभयो, 'गंगा, मेरो धनगढीमा कार्यक्रम छ । उक्त दिन तिमीले नै आफैं फ्लाइट राखेर मलाई त्यहाँ पुर्याउनुपर्छ ।' 'हुन्छ म आफैं उडाएर धनगढी पुर्याउनेछु' भनेपछि वीपी केही ढुक्क हुनुभएको मैले महसुस गरेँ । वीपीले मलाई पत्याउनुको पछाडि विराटनगरीया भएर मात्रै नभई बाल्यकालमा आदर्श विद्यालयमा ४, ५ कक्षामा पढ्दादेखिको लामो इतिहास कुनै अरू प्रसंगमा पाठकसामु प्रस्तुत गर्नेछु । निश्चित दिन उक्त फ्लाइट मैले नै गरेँ र वीपीलाई उहाँका पार्टीका अरू सहयोगीसहित धनगढी पुर्याएँ ।
केही वर्ष पहिले होटल सोल्टीमा कान्तिपुरले भव्य वाषिर्कीको आयोजना गरेको थियो । ठूलाबडाहरूको बाक्लो जमघटमा एउटा कुनामा बद्री श्रेष्ठ (त्रिवि विद्यालय प्राध्यापक) तत्कालीन संसदीय दलको प्रमुख सचेतक तथा पूर्वमन्त्री टेकबहादुर चोख्याल फुल मुडमा गफिँंदै थिए । हातमा ग्लास लिएपछि गफको तापक्रम र रवाफ विशेष रूपले बढ्ने नै भयो । छेवैमा मलाई देखेपछि नजिकै आएर बद्री श्रेष्ठले टेकबहादुर चोख्याललाई सम्बोधन गर्दै भने, 'मिट गंगा दाइ, क्याप्टेन गंगा रिजाल' । बद्रीले मेरो परिचय टुङयाउन नपाउँदै चोख्याल एक कदम अझ अगाडि बढेर बद्रीलाई नै सटाएर कस्ने पाराले भने, 'उहाँसँग मेरो परिचय तंैले गराइराख्नुपर्छ ? उहाँसँग त मेरो वीपीको सम्मुख नै परिचय भएको थियो । उहाँलाई बोलाउन वीपीले नै मलाई एयरपोर्ट पठाउनुभएको थियो, तँलाई के थाहा', रौवसाथ चोख्यालले बद्रीलाई झट्का दिए । हुन पनि वीपी धनगढीमै हुनुहुँदा मेरो फ्लाइट फेरि धनगढी पर्यो । धनगढीबाट साँफेबगर, डोटी, बैतडी तथा बझाङमा खाद्य संस्थाको दुर्गम क्षेत्रमा वितरण गर्ने चामल ओसार्ने काममा म उक्त क्षेत्रको उडानमा संलग्न थिएँ । बझाङबाट मेरो जहाज अवतरण गर्ने प्रतीक्षामा रहेका चोख्याल जहाजका दुइटै इन्जिन बन्द भएपछि मेरो नजिक आए । जहाजबाट ओर्लने बित्तिकै चोख्यालले 'वीपीले तपाईलाई बोलाउनुभएकोले लिन आएको भने ।' म पनि उनको पछि लाग्दै वीपी बस्नुभएको नागरिक उड्डयनको गेष्टहाउस पुगेँ । वीपी भुइँमा ओछ्याइएको सेतो तन्नाले टिमिक्क पारिएको गद्दीमा वालिस्टामा अडेस लागेर बस्नुभएको थियो । अन्य कार्यकर्ता तथा स्थानीय नेताहरूलाई उहाँले पहिले नै विदा गर्नु भइसकेको रहेछ । उहाँ बसेको नजिकै बस्दै मैले उहाँको अभिवादन नमस्कारले गरेँ । टेकबहादुर चोख्यालाई दुई कप चिया भित्र पठाउने आदेश दिँदै उनलाई 'म गंगासँग केही बेर कुरा गर्छु । तिमी बाहिरै बस है' भन्नुभयो । राजनीतिका भन्दा पहाडी दुर्गम क्षेत्रको जनजीवन, गरिबी, अशिक्षा, स्कुल तथा अस्पतालहरूको दुरावस्था, बाटोघाटोको संकट र संक्षेपमा उक्त क्षेत्रका जनताहरूको दु:खका बारेमा बयान गर्दै मैले वीपीलाई आफ्नै फ्लाइटमा एकपटक बझाङ र अर्काे फ्लाइटमा साँफेबगर वा डोटी लाने इच्छा प्रकट गरेँ । कच्चा उमेरको मेरो अपरिपक्व आग्रह वीपीको तीक्ष्ण विवेकले पहिल्याइहाल्यो र मलाई भन्नुभयो, 'गंगा, मेरा कार्यक्रम निश्चित छन्, यसरी फुत्त निस्केर म कहाँ जान पाउँछु र ?' मेरो आग्रहको विषयवस्तु बदल्दै मैले बझाङ जाँदा बाटोमा पर्ने खप्तडको अलौकिक प्राकृतिक सुन्दरता र उत्तरमा देखिने सेताम्मे हिमालको वर्णनले उहाँलाई आकषिर्त गर्ने कोसिस गरेँ । अत्यन्त चातुर्य तथा डिप्लोमेसी प्रयोग गर्दै उहाँले भन्नुभयो, 'ल यसपाली सुष्मा (प्रकाश पत्नी) र रुचिरा (श्रीहर्ष पत्नी) लाई लगेर देखाउ, उनीहरूको मुखको बयानबाट म आधा आनन्द लिन्छु र निर्वाचन सम्पन्न भइसकेपछि कुनै बेला तिम्रै फ्लाइटमा म हुम्ला, जुम्ला, डोल्पा, बझाङ आदि सबै ठाउँको भिजिट गर्नेछु ।' मेरो चित्त नदुखोस् भन्ने हेतु उतिबेला त्यसो भनेको भन्ने मैले कहिल्यै ठानिन । काँचो उमेर, जहाजको क्याप्टेनको उन्माद (म आफूलाई उक्त जहाजको सर्वेसर्वा राजा नै ठान्थेँ) र देशको यति ठूलो राजनेतालाई म के दिउँ भन्ने एक्साइटमेन्टले भावविहल थिएँ । अगाडि, पछाडि, घर, परिवार र तीन-तीनजना छोराहरूको भविष्यलाई आफ्नै भाग्यमा छोड्दै वीपीको सम्मोहक व्यक्तित्वका अगाडि म कैलाशबाट बग्ने गंगा भएँ र वीपीसँगै बग्न चाहेँ, उहाँ चाहे जहाँ पुग्नुहोस् । 'सान्दाजु, म यो फ्लाइङ प्रोफेसन आजै काठमाडौं पुगेर राजीनामा गर्छु, मलाई तपाई आफ्नै हातबाट पार्टीको सदस्यता दिनुस् ।' मेरो अनुरोध थियो । 'गंगा, तिमी होशमा छौ ? हाम्रो पार्टीलाई तिमी जहाँ, जुन पोजिसनमा छौ, त्यही हैसियत र योग्यताको जरुरत पर्नेछ । आतुर र अधैर्य नहोऊ, समय आउँछ, पार्टीले तिम्रो सुझबुझ र शक्तिको भरपुर प्रयोग गर्नेछ ।'
वीपीको विलक्षण, दूरदर्शिता कार्यान्वयन हुने कुरा मेरानिम्ति अवसर र चुनौती दुइटै रूपमा प्रकट भए । २०४६ को जनआन्दोलनमा पञ्चायतले आफ्नो फौलादी हात सर्वत्र फिंजाएको थियो । धेरैजसा नेताहरू कित घरमै नजरबन्द थिए वा जेलचलान भइसकेका थिए । पञ्चायतले जताततै बाक्लै गुप्तचरहरू परिचालन गरेको थियो । कुचिकार, सुचिकार वा कुनै पनि स्तरका रुचिकारले गृहबाट यसबापत पैसा लिएर घर बसीबसी छेउका मानिस वा गाउँटोलको गुप्तचरी गथ्र्याे । यस्तोमा पञ्चायतका सलहझैं छरिएका गुप्तचर, सेना प्रहरी तथा अन्य सम्बन्धित निकायलाई चक्मा दिँदै जनआन्दोलनको दैनिक क्रियाकलाप तथा काठमाडौंका कुनै पनि स्थान तथा गल्लीहरूमा भएका प्रदर्शन र पञ्चायतको प्रहरी दमनको भिडियो छायांकन दिल्ली, फ्रयाङ्कर्फट, फ्रान्स, जर्मनी, लन्डन, स्वीट्जरल्यान्ड तथा अमेरिकासम्म पुर्याउने नेटवर्क कसरी कायम गरिएको थियो, त्यो कांग्रेसका थोरै नेताहरूलाई मात्र जानकारी थियो । सीएनएन तथा बीबीसीजस्तो शक्तिशाली अन्तर्राष्ट्रिय मिडिया नेटवर्क पनि छिर्न नसकेको फौलादी किल्ला काठमाडौंभित्र जनआन्दोलनको दैनिक दृश्य गुप्त रूपले छायाङ्कन गर्दै फ्रयाङ्कर्फटको डोर्सेभिले टिभीबाट विश्वभर टेलिकास्ट गर्ने इत्यादि कार्यका निम्ति नै रहेछ, वीपीले मलाई पार्टी प्रवेशमा रोकेको । स्मरण रहोस्, अन्तर्राष्ट्रिय उडान छोडेर सानो भिडियो क्यामेराले खिचेका दृश्य थिएनन् ती । जर्मनीको विश्व प्रसिद्ध डोर्सेभिले टिभी नेटवर्कका क्यामेराम्यान विशाल क्यामेरा र अन्य टिभी कर्मचारीको टिमलाई फ्रयाङ्कर्फटबाट सोझै काठमाडौं प्रवेश नगराई दिल्लीबाट भित्र्याएको कार्यलाई गिरिजाप्रसाद कोइराला कहिलेकाहीं 'टिभीलाई तपाईले स्मगलिङ गरेर भित्र्याएको' भन्नुहुन्थ्यो । यसै सिलसिलामा जनआन्दोलनका योद्धाहरूमध्ये पूर्वमन्त्री जगन्नाथ आचार्य, देवेन्द्रराज पाण्डे, डा. मथुरा श्रेष्ठ तथा पीएल सिंहको आन्दोलनलाई हाँक्ने अन्तर्वार्ताको विश्वव्यापी टेलिकास्ट जर्मन टिभी डोर्सेभिलेले नै गरेको थियो । मुख्य-मुख्य नेताहरू नजरबन्दमा भएका कारण उनीहरूको टेलिकास्ट विश्वले हेर्न पाएन ।
यसै प्रसङ्गमा सुशीला भाउजूको दु:खद निधनका बेला महाराजगन्जमा डा. शशाङ्क कोइरालालाई संवेदना प्रकट गर्न जाँदा 'गंगा दाइ, तपाईले हाम्रो परिवारका लागि धेरै गर्नुभएको छ' भनेको कुराले म धेरै प्रभावित भइन । कारण, मैले जेजति आफ्नो विवेकले गरेँ । एउटा नागरिकको कर्तव्यबोधबाट प्रभावित भएर प्रजातन्त्रका निम्ति गरेको कुरा तुरुन्तै फर्काएको थिएँ । जनआन्दोलनमा संग्लनताका निम्तिमात्र नभएर मेरो मनको दार्शनिक विश्लेषण गर्दै मलाई उतिबेला पार्टीको सदस्यताबाट टाढा राख्ने वीपीको अभिप्राय मलाई रातो पासपोर्ट बेच्ने, रक्तचन्दनको ओसारपसार गर्ने, केटीहरू तथा मानव बेचबिखन गर्ने, तस्करी तथा कालोधन्दा गर्ने, राजनीतिक हत्याहिंसा गर्ने, फिरौती असुल गर्ने, नक्कली नोटको कारोबार गर्ने, पजेरो बेचबिखन गर्ने, आकाशमा उड्दा-उड्दैको जहाज बेच्ने, धनिजा काण्डद्वारा निगमको विनाश गर्ने, साउथ चाइना हवाइकाण्डको मतियार हुने, लाउडा काण्डद्वारा देशको एकमात्र ध्वजावाहकको सर्वनाश गर्ने, सांसद बेचबिखन गर्ने, सुत्केरी बिल बनाउने इत्यादि हुनु थिएन । त्यतिमात्र हैन, राजनीतिक व्यापारकै सिलसिलामा महाकालीजस्तो घातक सम्झौता गर्ने, अरुण तेस्रो विफल गराउन विदेशमा लेखापढी गरेर देशलाई अन्धकारमय बनाउने, वन्यजन्तुको अंग ओसारपसार गर्ने, जंगल फँडानी तथा डाँडापाखामा प्लटिङ गर्ने निहुँमा डोजर चलाएर बाढी र पहिरोको विपत् निम्त्याउने, चुरे विनाश र नदीनालाका गिटी, बालुवा, ढुङ्गा ओसारेर सबै पुलहरू ध्वस्त पार्ने, डन राज्य स्थापित गर्ने, भ्रष्टाचारको संरक्षण गर्ने इत्यादि हुनबाट पनि बचेँ । सबैभन्दा महत्त्वपूर्ण उपरोक्त क्रियाकलापमा मात्र संलग्न पाँच-पाँच करोड मूल्यका ६०१ जनाको पेसेवर समूह जसको संविधान निर्माणमा कुनै रुचि तथा चासो छैन, त्यस्ताको कुनै पनि रूपमा मतियार हुनबाट वीपीले नै बचाउनुभएको हो । जर्मनीको विश्व प्रसिद्ध डोर्सेभिले टिभी नेटवर्कका क्यामेराम्यान, विशाल क्यामेरा र अन्य टिभी कर्मचारीको टिमलाई फ्रयांकर्फटबाट सोझै काठमाडांै प्रवेश नगराई दिल्लीबाट भित्र्याइएको कार्यलाई गिरिजाप्रसाद कोइराला जिस्किने पारामा जर्मन टिभीलाई तपाईले 'स्कटिङ' गरेर ल्याएको नभनी 'स्मग्लिङ' गरेर भित्र्याएको भन्नुहुन्थ्यो ।
प्रकाशित मिति: २०७१ आश्विन ४, कान्तिपुर दैनिक
Back