‘क्रिटिकल थट’ बौद्धिक व्यक्तिको उपादेयता

प्रायः बुद्धिजीवीभन्दा हामीले बौद्धिकता भएको मान्छे बुझ्छौं। बुद्धिलाई जीवन चलाउनेका रूपमा व्यवसायीकरण गरेपछि बुद्धिजीवी नहुन पनि सक्छ। बुद्धिजीवी भनेको निरन्तर ‘क्रिटिकल थिंकिङ’ राख्ने मान्छे हो। ऊ विवेकले बोल्छ। अध्ययन–अनुसन्धानको ठूलो दायराबाट समाजका समस्याको विश्लेषण गर्छ। यसैका आधारमा जल्दाबल्दा समस्याको समाधान दिन खोज्छ। उसको दृष्टिकोण जित्ने र हार्ने उद्देश्यले राखिएको हुँदैन।

शासन चलाउँदा जसरी ‘क्याबात’ ! भन्दै उसको दृष्टिकोण आएको हुँदैन। उसले मूल्य, मान्यता र आदर्शका कुरा अघि सार्छ। अन्याय र अत्याचारलाई खुलेर राखिदिन्छ। सार्वजनिक बहसको विषयवस्तु बनाउँछ। त्यसैले एउटा बौद्धिक व्यक्तिले राखेको दृष्टिकोणलाई समाजका विभिन्न पक्षले आधिकारिकता दिन्छन्।

विचार गर्नुस् – इमान्युयल कान्ट, सात्र्, नोम चोम्स्की, बर्ट्राण्ड रसेललाई शासक बनाएको भए कति दिन टिक्थे होलान् ? शासन चलाउन बेग्लै क्षमता चाहिन्छ। कान्टको बौद्धिकता पर सार्नुभयो भने दर्शनशास्त्रको कुनै 'च्याप्टर' पूरा गर्न सकिँदैन। चोम्स्कीलाई बुझ्नुभएन भने वर्तमान अमेरिकी सोचको सीमितता के हो थाहा हुँदैन। अमेरिकी समाजको पर्दापछाडिका अव्यक्त चेतना के के हुन् बुझ्न सकिंदैन ।

बिहेबटुलो र नैतिकतादेखि युद्ध र शान्तिका बारेमा रसेलको धारणाले दोस्रो विश्वयुद्धताका हरेक साम्राज्यवादी र धार्मिक रुढिग्रस्त शासकलाई प्रभावित गर्थ्यो । तर विन्स्टन चर्चिलको ठाउँमा रसेललाई बेलायतको प्रधानमन्त्री बनाइदिएको भए के दोस्रो विश्वयुद्ध समाप्त हुन सक्थ्यो होला ? बुद्धिजीवीहरूले आफ्नो कित्ताबाट स्वतन्त्र बौद्धिक दृष्टिकोण राख्ने हो। शासन चलाउने होइन। फेरि बुद्धिजीवी भन्दैमा सबै राम्रो बाकसको साँचो उनीहरुसँग हुन्छ भन्नु हुँदैन। ‘क्रिटिकल थट’ बाट शासकहरू जहिल्यै पनि लाभान्वित हुनुपर्छ। तर शासन गर्न अरु गुणहरू पनि चाहिन्छ।

विज्ञ र बौद्धिकता फरक–फरक कुरा हुन सक्छन्। विज्ञ प्रायः विषयगत हुन्छ। जस्तो – कोही व्यक्ति भौतिकशास्त्र, अर्थशास्त्र, समाजशास्त्र वा नागरिकशास्त्र पढेको वा प्रयोग गरेका विषयसँग सीमित हुन सक्छ। तर बौद्धिकताको परिवेश ठूलो हुन्छ। उसले विविध विषयदेखि मूल्य र मान्यताका आधारभुत पक्षहरू सबैको बारेमा अध्ययन गरेको हुन्छ। ऊ आफ्नो ‘डिसिप्लिन’ भन्दा बाहिर पनि हुन सक्छ।

ठूलो धरातलबाट उसले मानवीय समस्यालाई हेर्दछ। उसमा भाषा, धर्म, संस्कृति, साहित्यदेखि लिएर इतिहास, भूगोल, कूटनीति वा राजनीतिजस्ता सबै पक्षको उत्तिकै रुचि हुन्छ। बौद्धिक व्यक्तिको उपादेयता भनेको ‘क्रिटिकल थट’ हो। क्रिटिकल थट हुने व्यक्तिहरू राम्रो शासक हुन्छन् भन्ने छैन। तर राम्रा शासकले उनीहरूको चुनौती खेपेका हुन्छन्। त्यसले उनीहरूलाई योग्य शासक बन्न मद्दत गर्छ।

नेपाल बुद्धिजीवी फलेफुलेको ठाउँ होइन। अधिकांश पढेलेखेका मानिसको यहाँ 'करियर' खोज्ने बानी देखिन्छ। यो स्वाभाविक पनि हो तर यसले क्षमतावान् मान्छेलाई शासककहाँ पुर्‍याउँछ। शासकले भक्तहरूलाई मन पराउँछन । यसकारण बौद्धिक व्यक्ति पनि झोले बन्न पुग्छन्। त्यसबाट पार्टीगत सोचाइ वा ‘पार्टीसन थिंकिङ’ को वीजारोपण हुन्छ। अवसरको खोजीमा रहेका मान्छेले ‘क्रिटिकल थट’ राख्न सक्दैन। शासकले समर्थन खोज्छ। बौद्धिक चुनौती उसलाई मन पर्दैन।

अर्कोतर्फ बौद्धिकलाई पनि लाग्छ भोको पेटले कति दिन ‘क्रिटिकल थट’ राख्ने ? बरु विवेकलाई खोपामा राखी हिँड्यो भने ज्ञान–विज्ञानलाई कमाउने औजारका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसैले त हो नि हिजोआज हाम्रा ‘थिंक ट्यांंक’ हरू परामर्श सेवाभन्दा पर जान सकेका छैनन्। हामी सबैमा समस्या छ।

तर यिनै समस्याबीच समाधान खोज्नुपर्छ। स्कुल, कलेज र विश्वविद्यालयहरूलाई स्वायत्त संस्थाको रूपमा विकसित हुन राज्यले प्रशस्त लगानी गर्नुपर्छ। पढ्नेलेख्ने संस्कृति त्यस्ता स्कुल, कलेज र विश्वविद्यालय जस्ता शैक्षिक केन्द्रहरूबाट सार्वजनिक पार्क, सामुदायिक समारोह तथा सामाजिक एवं सांस्कृतिक अभ्यासहरूसम्म पुग्नुपर्छ। फरक विचार र दृष्टिकोण बचाउनुपर्छ। विविधताले वैचारिक शुद्धीकरणलाई पनि मद्दत गर्छ।

हामीकहाँ पत्याएका मान्छेहरू नभएका होइनन्। हिजो पनि बीपी कोइराला, प्रोफेसर यदुनाथ खनाल, ऋषिकेश शाह, योगी नरहरिनाथजस्ता प्रतिभा थिए। स्वामी प्रपन्नाचार्य पनि अद्भुत बौद्धिकताका धनी थिए। तर बौद्धिक व्यक्तिहरूको निर्माण सोचेजस्तो छिटो हुँदैन। हेनेरी किसिन्जर वा अमर्त्य सेन दुवैले लामो जीवन बाँचेका छन्। उनीहरूको बौद्धिकता आज आएर संसारले झिलिमिली देख्ने गरी खुलेको छ।

हिन्दु धर्म र सभ्यताका बारेमा धेरैले बौद्धिक विश्लेषण गरेका छन्। मलाई काँणेको धर्मशास्त्रको इतिहास बेजोड लाग्छ। वास्तवमा हिन्दु दर्शनलाई कर्मकाण्डले धेरै लामो समयदेखि स्वाहा पारेको छ। भारतका रामशरण शर्मा भन्ने विद्वान् थिए, केही वर्षअघि बिते। पूर्वी सभ्यताको बौद्धिकता र यसले खेपेको चुनौतीलाई उनको अध्ययनले नवीनतम् दृष्टिकोण दियो। यसभन्दा अघि पनि सयौंले यसबारेमा लेखेका छन्। तर बौद्धिकताले पनि चुनौती खेप्दै जानुपर्छ। त्यसो भएन भने बौद्धिकतामै टेकेर हिटलर र मुसोलिनी जस्ता व्यक्ति जन्मिन पुग्छन्। उनीहरूमा बौद्धिकता नभएको भए त्यो ठाउँमा पुग्न सक्ने थिएनन्। जुन ठाउँमा उनीहरू पुग्न सके।

तर बौद्धिकतामा धर्म हुन्छ। त्यो भनेको ‘क्रिटिकल थट’ हो। जुन दिन त्यो हार्‍यो, उनीहरू मानव सभ्यताको कलंकको रूपमा स्थापित भए।

(विनोद न्यौपाने संगको कुराकानीमा आधारित)