‘प्रारम्भिक मस्यौदाले जगायो संविधान निर्माण आधार’

काठमाडौँ, असार १७ गते । आठ वर्षको लामो प्रयासपछि मुलुकको भाग्य र भविष्यको फैसला गर्ने मूल कानुन संविधानको पहिलो मस्यौदा संविधानसभामा प्रस्तुतिपछि संविधान निर्माणको आधार तयार भएको छ । ढिलै भए पनि संविधानको प्रारम्भिक मस्यौदा आउनु सकारात्मक भएको र त्यसले संविधान लेखनको औपचारिक प्रक्रिया सुरु भएकाले जनतामा आशाको सञ्चार जगाएको संवैधानिक कानुनका जानकारहरूले बताएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदाले संविधान लेखनको ढोका खुलेकाले त्यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्य । उहाँलाई प्रस्तुत मस्यौदा लामो भएकाले कार्यान्वयनमा कठिनाइ होला भन्ने लाग्छ ।

संवैधानिक कानुनका अर्का जानकार डा विपिन अधिकारी संविधानको मस्यौदा आउनु उत्साहप्रद भएको र त्यसले एकीकृत रुपमा धेरै विषय समेटेको प्रतिक्रिया राससलाई दिनुभयो ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानको पहिलो मस्यौदाले जनतालाई जगाएको र अब संविधान आउने दरिलो आधार तयार भएको बताउनुभयो । उहाँले मस्यौदाका अधिकांश पक्ष राम्रा भए पनि प्रस्तावनामै संसदीय लोकतन्त्रलाई असंशोधनीय उल्लेख गरिएको भए संसदीय लोकतन्त्रको स्थायित्वका लागि दह्रो आधार हुन्थ्यो भन्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले मस्यौदामा गरिएको न्यायपालिकासम्बन्धी प्रावधानलाई केही परिमार्जन गर्नुपर्ने देखिएकाले त्यसमा बारले छलफल गरी चाँडै आफ्नो अवधारणा सार्वजनिक गर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले संविधानको मस्यौदाले नेपाली जनताको दशकौँदेखिको लोकतान्त्रिक संविधान पाउने आकाङ्क्षा पूरा हुने सङ्केत गरेको बताउनुभयो । संविधान जारी भएपछि त्यसको कार्यान्वयनमा नेतृत्व पङ्तिले गम्भीर भएर लाग्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

त्यस्तै बारका पूर्व महासचिव रमण श्रेष्ठले संविधानको मस्यौदाले नेपालीलाई उत्साहित तुल्याएको प्रतिक्रिया दिनुभयो । “जसरी पनि नेपाली जनतालाई एक थान संविधान चाहिएको छ” – संविधानको अपरिहार्यतामा जोड दिँदै उहाँले भन्नुभयो ।

संविधानसभामा प्रस्तुत नेपालको संविधान, २०७२ को मस्यौदामा ३७ भाग, २९६ धारा र सात अनुसूची छन् । रासस

गोरखापत्र
http://gorkhapatraonline.com/news/8699
Facebook
Twitter
LinkedIn

Related Posts