एशिया, अफ्रीका र प्रजातन्त्र

“प्रजातन्त्रको व्यवस्थामा एशिया–अफ्रिकाका मुलुकहरुमा एक–एक गरेर लोप हुँदै गएकोले, कतिपय विचारक था राजनीतिज्ञहरुका लागि प्रजातन्त्र वास्तवमा एशिया र अफ्रिकाका मुलुकहरुका लागि अनुपयुक्त व्यवस्था हो भन्ने परेको छ । द्धितीय महायुद्धपछि एशियामा र अफ्रिका महादेशहरुमा बीसौं देशहरु पश्चिमी–साम्राज्यबाट मुक्त भएर बडो प्रजातान्त्रिक आशा र भविष्यका लागि उत्साहका साथ यी राष्ट्रहरुको स्थापना भयो । यी मध्ये कतिपय देशमा राष्ट्रिय आन्दोलनले बलियो जरो पनि हालेको थियो र त्यस्ता आन्दोलनमा स्वतन्त्रताको भावनाका साथ प्रजातन्त्रको पनि भावना सन्निहित थियो ।”

“यथार्थमा स्वतन्त्रताको अर्थ – स्वराज्यको अर्थ – प्रजातन्त्र नै थियो, यदि जापानीले पश्चिमी राष्ट्रहरुका दाँजोमा पुग्दा र उनीहरुबाट समकक्षीको मर्यादाको प्रयत्न गर्दा एशियाली भावनालाई आन्तरिक सन्तोष हुन्थ्यो भने मेजेनी गेरिवाल्डीका क्रियाकलाप, फ्रान्सको राज्यक्रान्ति, ब्रिटेनको पार्लियामेन्ट, अमेरिकाको मानव अधिकारको घोषणाद्धारा राष्ट्रको स्थापना आदि पनि एशियालीहरुलाई अनुप्राणित गर्ने ऐतिहासिक घटना थिए । राष्ट्रिय आन्दोलनले प्रेरणा दिने भावनामा अस्पष्ट भएपनि प्रजातन्त्रको समानता जो कि एउटा अभिन्न पक्ष हो, गासिँएको थियो ।”

“परतन्त्र भारतमा अंग्रेजहरुका विरुद्ध जुन विद्वेषको भावनाले शिक्षित भारतवासीहरुको हृदयलाई तिक्त बनाइरहेको थियो त्यसमा यो अस्पष्ट विचारले काम गरिरहेको थियो कि समाजमा अंग्रेजहरुको तुलनामा उनीहरुको स्थान हेय छ । के राणाहरुका विरुद्धमा शिक्षित नेपालीहरुको हृदयमा पनि सदृश भावना थिएन? विदेशी अंग्रेज र स्वदेशी राणाहरुले भारतवासी र नेपालीहरुमा आफ्नो असमानताको बोधद्धारा समाजमा आफ्नो हेय स्थानको बोध – विद्वेषको भावना जागृत गराएका थिए । प्रजातन्त्रको एउटा पक्ष– समानताको सिद्धान्तले दुवै देशका बासीन्दाहरुलाई समान रुपले अनुप्रमाणित गरेको थियो । त्यसो हुनाले जब द्वितीय महायुद्धपछि पश्चिमी राष्ट्रहरुको साम्राज्यबाट एशिया र अफ्रिकाका देशहरु स्वतन्त्र हुँदै गए । प्रजातन्त्रको भविष्य बडो उज्ज्वल देखापरेको थियो र प्रजातन्त्रवादीहरुले आफ्नो पक्षको संख्यावृद्धि हुने कल्पना भविष्यका प्रति पूरा आशा राखेका थिए ।”

“यस्तो आशा अकारण थिएन, किनभने, जस्तो कि माथि उल्लेख गरिएको छ, विदेशी सत्ताबाट स्वतन्त्रताको मागमा राष्ट्रिय आन्दोलनले प्रजात्नत्रको भावना अभिन्न रुपले संलग्न पारेको थियो तर, यस्तो व्यापक आशाको विपरीत स्वतन्त्र भएका राष्ट्रहरु एकएक गरेर प्रजातन्त्रको बाटो पहिल्याउनुको सट्टा एकतन्त्री व्यवस्थाको लौह बन्धनमा बाधिँदै गए । त्यस्ता राष्ट्रहरु जसले राष्ट्रिय स्वतन्त्रतामा सन्निहित प्रजात्नत्रका भावनालाई बलपूर्वक निमोठेर स्वतन्त्रतालाई एकतन्त्रवाद – तानाशाही – को मौकामा परिणत गरे र राष्ट्रिय स्वतन्त्रतालाई तानाशाहीको पर्यायवाची हो भन्ने प्रमाणित गरेका छन्, को विषादमय सूची लामो हुँदै गएको छ – एशियामा भारत, मलाया, फिलिपिन्स र वर्तमान अप्रजातान्त्रिक प्रवृत्तलाई अस्थायी लक्षण भन्ने हो भने श्री लंका यी ४ राष्ट्रहरुबाहेक सबै स्वतन्त्र भएका राष्ट्रहरु तानाशाही व्यवस्थामा जकडिन पुगेका छन्।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *