काठमाडौँ। वरिष्ठ कानुनविद विपिन अधिकारीले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमण रद्द गर्न माग गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा आफ्नो राय प्रकट गर्दै अधिकारीले सेनाध्यक्षको नेपाल भ्रमणको विरोध गरेका हुन्।
अधिकारीले नेपाल र भारतबीच सिमा विवाद रहेको र नेपालका बारेमा नराम्रो बोलेकाले उनलाई तामझामका साथ स्वागत गर्न नहुने बताएका हुन्। उनि लेख्छन्, ‘सरकारले यो भिजिट् तत्कालै रद्द गरोस। हामी बीच सिमा विवाद छ।उनले नेपालका बारेमा नराम्रो बोलेका छन्।’
अधिकारीले नरवाणेलाई मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह पनि दिन नहुने राय प्रकट गरेका छन्। नेपालको बारेमा अहित बोल्ने नरवाणेलाई मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह दिदा अन्तराष्ट्रिय समुदायमा गलत सन्देश जाने उनको ठम्मयाइ छ। ‘यस्तालाई कसरी अनररी दर्ज्यानी चिन्ह दिन मिल्छ ? के अर्थ लाग्छ अन्तर्राष्ट्रिय समुदायमा,’ उनि लेख्छन्।
त्यस्तै, कानुनविद अधिकारीले राजनीतिक तहबाट समाधान गर्नु पर्ने विषयमा सेनालाई बीचमा किन ल्याएको भन्दै सरकार समक्ष प्रश्न गरेका छन्। उनि लेख्छन्, ‘यो राजनीतिक तहमा समाधान गर्नु पर्ने विवाद हो ।सेना संग किन कुरा गर्ने ?’
नरवाणेको नेपाल भ्रमण अगावै भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका छन्। उनको उक्त भेटले नेपालको राजनीतिमा तरंग नै ल्याएको थियो। यसै सन्दर्भमा धेरै कुटनीतिक जानकारहरुले नेपाल भारत सम्बन्ध फेरी राजनीतिक तहबाट गुप्तचरी हैसियतमा झरेको टिप्पणी गरेका थिए।
नरवाणेको भ्रमणलाई केहि मुलधारका पत्रपत्रिका, वरिष्ठ पत्रकारहरु र केहि परराष्ट्र जानकारहरुले नेपाल-भारत सम्बन्धमा आएको संवादहिनताको स्थितिको ‘आइसब्रेक’ हुने भनेर प्रचार गरिरहेका छन्। यस भन्दा अघि पनि नाकावन्दीको समयमा, नेपाल-भारत सम्बन्धमा सहजता ल्याउन ‘मिलिटरी डिप्लोमेसी’ अर्थात् नेपाली र भारतीय सेनाको मुख्य भूमिका रहेको बताइन्छ।