“के उनको [जवाहरलाल नेहरुको ]जीवनलाई सफल भन्न सकिन्छ? हिन्दूस्तानको स्वतन्त्रताको पछि लगत्तै प्रधानमन्त्री भएर १७ वर्षसम्म देशको एकछत्र राज्य गरे । प्रजातान्त्रिक व्यवस्थामा यदि सर्वेसर्वा कोही व्यक्ति इतिहासमा भयो भने नेहरु नै भए । साम्राज्यवादको विरुद्ध राष्ट्रिय संग्राममा सेनानी भएकोले उनको राष्ट्रिय नेतृत्वमा (केरिज़्मैटिक) चमत्कारी गुण पनि आयो जसले गर्दा जनतामा उनको ठूलो भावनात्मक प्रभाव रह्यो । अंग्रेजले छाडेर जाँदा एउटा सम्झौताद्धारा शक्ति हस्तान्तरित भयो । त्यसले क्रान्तिबाट उत्पन्न हुने राजकीय अव्यवस्था र विशृंखलाबाट देश जोगियो । गान्धीजीको अहिंसा आन्दोलनले शासकीय व्यवस्थामा खलबली पार्दै थियो, त्यसको सरकार जसमा क्रान्तिकारीहरुको आफ्नो सरकारी संगठन, सैनिक तथा निजामती संगठन, खडा हुँदैन, जुन सरकारले क्रान्ति सफल भएपछि पहिलेको सरकारलाई प्रतिस्थापना (रिप्लेस) गर्छ ।”
“अंग्रेजहरुको पनि राजनीतिक प्रतिभा यस्तो छ कि भविष्यपट्टि ध्यान राखेर आफू सम्पूर्ण रुपले पराजित हुनभन्दा पूर्व नै उनीहरु सम्झौता गरेर आफै हटेर जान्छन् । यरुी दुई कारणले गर्दा हिन्दूस्तानको स्वतन्त्रता द्वितीय महायुद्धपछिको अन्तर्राष्ट्रिय स्थितिमा दुई विरोधी शक्ति– हिन्दूस्तानको राष्ट्रिय आन्दोलन र अंग्रेज सरकार बीच भएको सम्झौताको परिणाम थियो ।’
“अंग्रेजहरुले एउटा व्यवस्थित, दक्ष र कार्यक्षम शासन व्यवस्था हिन्दूस्तानीहरुको हातमा छाडेर गए – जसको एकछत्र शासक नेहरु भए । यद्यपि हिन्दूस्तानको विभाजनले भयंकर समस्याको सृष्टि गर्यो, तर स्वतन्त्रतताको उत्साहको ज्वारमा, नेहरुको नेतृत्वले राजकीय शक्ति, सैनिक तथा असैनिकको पूर्ण संयोगले त्यस भयंकर स्थितिको मुकाबिला गर्यो । नेहरुलाई त्यस समय मद्दत दिने गान्धी पनि थिए र उनका ठूला–ठूला सहयोगी जसमा पटेलको नाम उल्लेखनीय छ, साथै तत्कालीन गभर्नर जेनरल माउन्टवेटनको उपस्थितिले पनि ठूलो मद्दत गर्यो, विशेष रुपले सरकारी कर्मचारीहरुको एकनिष्ठ राजभक्तिलाई खुकुलो नहुन दिनमा।’
“त्यसपछि जब नेहरुले एकछत्र शासन आफ्नो हातमा लिए, गान्धीको मृत्यु भयो, पटेल पनि मरे । राजेन्द्रप्रसाद नयाँ संविधानको आधारमा प्रेसिडेण्ट भए । यो सोह्र सत्रह वर्षको अवधिमा १९४९ देखि १९६४ सम्म नेहरु नै सर्वेसर्वा भए । उनको सफलता असफलता उनले प्राप्त गरेको वैयक्तिक प्रतिष्ठा सम्मानले आँक्न हुन्न । वैयक्तिक प्रतिष्ठा तथा सम्मान अभूतपूर्व ढंगले उनले प्राप्त गरे – देश र विदेशमा, तर जुन कुराको जवाफदेही उनको काँधमा परेको थियो त्यसैलाई कस्तो किसिमले उनले पूरा गरे? यहाँ उनलाई पूर्णाङ्क दिन सकिन्न ।”
“१) प्रजातन्त्रको जग जति सुदृढ हुनुपर्ने देशमा उति भएन ।
२) विदेशी नीति पनि सफल भएको जस्ते लाग्दैन। अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको मुकाबिलामा हिन्दूस्तानको भावमूर्ति धेरै धमिलो छ । हिन्दूस्तानका छिमेकी सबै सँग राम्रो सम्बन्ध छैन ।
३) काश्मिर समस्या झन् जटिल भएको छ ।
४) कांग्रेस पार्टी झन् कमजोर ।
५) प्रजातान्त्रिक विरोधी दल पनि सप्रिन सकेनन् । यसको पनि केही न केही अंशमा जवाफदेही उनमै [नेहरुमै] छ ।
६) आर्थिक विकास मध्यम नै छ ।
७) जनचेतनामा ठूलो शिथिलता आएको छ ।
८) जनसंख्याको डरलाग्दो अभिवृछि रोकिन सकेको छैन आदी ।”
“उनको [नेहरुको] उत्तराधिकारका लागि कांग्रेसमा जोरतोर छ रे– लालबहादुर शास्त्री र मोरारजी देसाईमा । यो राम्रो लक्षण होइन । लालबहादुर शास्त्री ज्यादा उपयुक्त छन्, तर उनको व्यक्तित्व देसाईको जस्तो प्रभावशाली छैन । लालबहादुर भएको खण्डमा नेपालसँगको नीति नेहरुकै कायम रहेनछ भन्ने लाग्छ । मोरारजी भए भने शायद परिवर्तन आओस्, र हामीलाई केही नोक्सान हुन जाओस् भन्ने भय छ ।”