“प्रजातन्त्र दिवस यसपालि सरकारी पक्षबाट बडो धूमधामसँग मनाइयो रे– एउटी कूलटाले पतिव्रताको स्वाँग गरेजस्तो, तर यसले पनि मलाई सन्तोष दियो, किनभने यो एउटा नयाँ पुष्टि थियो पुरानो भनाइको कि अधर्मले देखावटी अनुशरण गरेर धर्मको बडप्पनलाई स्वीकार गर्छ । आज जुन व्यक्तिले आफ्नो भयानक अहंकारमा देशमा प्रजातन्त्रलाई निमोठेर राखेको छ, त्यस व्यक्तिले नै बारम्बार घाँटी सुकाउने गरी प्रजातन्त्रको नामको दुहाई दिनु परेको छ ।”
“अस्तिको टुँडिखेलमा रचिएको नाटक – प्रजातन्त्र दिवस, जसका सबै पात्रहरुका हातमा निमोठिएका प्रजातन्त्रको ताजा रगत, कम या बेसी अझै छदैँ छ, एउटा ठूलो परिहास, व्यंग्य र बिडम्वना थियो । राणा काललाई सम्झाउने सलामी दिइयो रे, जय जयकारले आकाश गुञ्जायमान भयो रे; हेलिकप्टरले पुष्पवृष्टि गर्यो रे; गुब्बारा उडाइयो रे, एउटा बिशाल रमिता थियो रे– निर्जीव स्पन्दनहीन मृत्युको अनुहारको हाँसो, तर के त्यहाँ केवल निर्जीवता, शुन्य निर्जीवता मात्र थियो त ? के त्यहाँ केवल संगीन र बन्दुक, फेरि संगीन बन्दुक, नसिद्धिने गरी संगीन र बन्दुक, स्वास्नीमानिस जस्तै विभिन्न गहना, तक्मा इत्यादिले सिंगारिएर आएका व्यक्ति, इन्द्रधनुषलाई बिर्साउने गरी रंगीचंगी पोशाक लगाएका पुरुषबाहेक–तिनीहरुलाई विस्फारित नयनले हेर्न आउने रमिते आइमाइबाहेक हरु कोही थिए ? के प्रजातन्त्र दिवस त्यसरी मनाइयो ?”
“हामीलाई थाहा थियो त्यो दिन त्यसरी नै मनाइन्छ । प्रजातन्त्र त अहिले– प्रजातन्त्रको प्रतीक संसद र त्यसका सदस्यहरु, रैतीले स्वेच्छाले रोजेका प्रतिनिधिहरु त जेलमा बन्दी छन् । बाहिरको ठूलो कोलाहल आहारा भकुरेपछिको पशुको सन्तोषको गुर्राहट थियो । त्यहाँ – त्यस अभिनयको मध्यक्षणमा त्यस अध्यारो बादलको सबभन्दा कालो क्षेत्रमा – एउटा बिजुली हठात् झल्केछ, त्यहाँका नरनारी, सैनिक असैनिक, दाजुभाइ, दिदीबहीनीहरु अनुहारलाई एकछिन उज्यालो पार्दै – केवल बादलको अन्धकारलाई झन् कालिमामय बनाउँदै ।”
“तिमीले त्यो घटनाका सम्बन्धमा सुनिसकेकी हौली । कसरी शैलजा, उसकी साथी विजया बराल, र अन्य युवक युवतीहरुले ठीक सलामीको मञ्च अगाडि प्रदर्शन गरे, कसरी जिन्दावादको नारा लगाए, कसरी सलामी ग्रहण गरिरहेका व्यक्ति हतप्रभ भए, कसरी प्रदशनकारीहरुलाई नराम्रोसँग व्यवहार गर्दै लगे, कसरी ती यावत् कुराहरु भए हजारौं संगिनधारी सैनिकहरुले घेरिएर राखेको त्यो सुरक्षित स्थलमा जहाँ देशको किलाबन्दीको एकमात्र केन्द्र आफ्नै पुरुषार्थको सलामी लिइरहेका थिए । यो एउटा बडो साहसको कार्य थियो, जुन साहसलाई आफ्नो महान् लक्ष्यका निम्ति मानिसले जिवनमा कहिलेकहिले मात्र प्रदर्शित गर्छ । नेपालको इतिहासमा साहसका कार्यका उल्लेख धेरै भएका छन्; यो अनुपम साहसको कार्य त्यस नेपाली परम्पराको एउटा उज्जवल हिस्सा भएको छ ।”
“कमसेकम म यहाँ कोठामा बसेर त्यहाँको तस्बीर मनमा खिच्न चाहन्छु; म त्यहाँको रमिते भीडलाई सम्झिन्छु; त्यहाँ भेला भएका सैनिकहरुलाई देख्छु, अफिसरहरुलाई, मन्त्रीहरुलाई, राजालाई, शायद रानीलाई पनि र राजकुमारलाई, र विदेशी गणमान्य व्यक्तिहरुलाई – अनि म मनमनै सोच्दछु – हामी कति मा त्यो साहस आउने थियो, के ममा आफ्नो आदर्शका प्रति त्यो अविचलित आस्था छ जस्ले मात्र त्यत्रो साहसिलो कार्य गर्ने प्रेरणा दिन्छ? त्यस दिनको त्यो घटनाको बारेमा हामीले त्यहि दिन बेलुकीपख सुन्यौं । मलाई बडो उत्साह र खुसी भयो, हामी सबैलाई खुसी भयो । मेरो हृदयमा शैलजा र विजया एउटा ज्योतिको रुपमा टलक्क टल्केका छन् । मलाई जब कहिले मानव जातिको खोक्रोपनले उदास पार्छ, एउटा ठूलो नैराश्यको बाढी हृदयमा उर्लेर आउँछ र जीवनमा पुरुषार्थ भन्ने वस्तु छैन कि जस्तो पनि हुन्छ । त्यसबखतमा इतिहासका यी साना साना कुरा– मानिसले नै आफ्नो सानो मुटुमा सम्पूर्ण साहस बटुलेर मृत्युको सामना गर्दे पाशविकतालाई चुनौती दिईको कुरा सम्झिन्छु र भन्छु – ‘मनुष्यलाई’ हरेस खाने आवश्यकता छैन ।”
“अर्को यस्तै घटना अस्तिमात्र भएछ, शायद १३ या १४ गतेका दिन । नोना, कुन्दन र अरु नरनारीहरुले वर्तमान तानाशाही व्यवस्थाको विरुद्ध जुलुस झिकेछन् । पहाडका दाजुभाइ दिदी–बहीनीहरु– गरीब देशवासीहरु मेरा माटाका देवता– पनि त्यसमा लागेका रहेछन् । ती पहाडिया नागरिकहरुलाई स्वतन्त्रता, प्रजातन्त्र भन्ने थाहा थिएन होला; उनीहरु केवल एउटा कुरा जान्दथे कि उनीहरुले स्थापित गरेको– उनीहरुको आकाक्षाको प्रतीक – सरकार अब रहेन र पुरानो राणाकालको जस्तो सरकार उनीहरुमाथि थुप्रिएर बसेको छ । उनीहरुले तानाशाही व्यवस्थाको अनुभव आ–आफ्ना गाउँघरतिर नै पाइसकेका होलान्– कि शोसक सामन्ती, जाली, फटाहा जो पहिले डरले टाउको राम्ररी उठाउन सक्तैनथे, ती फेरि जु्रमुराएर उठेका छन्– झन् दुगुना द्वेष र हिंस्रकताको वेग लिएर । जुलुसमा पश्चिम एक नं. का गरीब तामाङहरु अधिक संख्यामा थिए । मलाई आजको नेपालको स्थितिमा जुन कुराले प्रभाव पार्छ त्यो हो साहसिलो काम ।”
“आजको सैनिक शासनमा जब कसैलाई चुँइक्क बोल्ने साहस छैन, त्यसबखतमा नोना र अरुहरुले मिलेर वर्तमान व्यवस्थाको खिलाफ आवाज उठाउँछन्, र जुलुश झिक्छन् । त्यस जुलुश माथि बडो बर्बतासँग पुलिस जागेछ – लाठीले कतिको टाउको फुटेछ, कति चोटले सडकमा पछारिएछन् । पुलिसले लुछ्तै, घसार्दै, पिट्दै तिनीहरुलाई नयाँसडकबाट थाना लागेछ । जंगलीपन स्वभावतः तानाशाही व्यवस्थाको एउटा मूख्य लक्षण हो, तर यहाँ यो पशुता पनि आफ्नो नग्नतामा उस्तै अतुलनीय भएछ, जति नोनाहरुको साहस ।”
“केही नेपाली पत्रिकाहरुले – स्तुति पत्रिकाहरुले पनि यस काण्डलाई बर्बरताको संज्ञा दिए । किन दिए? के तिनीहरुमा अझै मानवता अवशेष छ, त्यो उनमा अझै प्रकट हुने क्षमता राख्छ,? उनीहरुको मानवता या त मरिसकेको छ या त्यो कहिं स्वार्थ, लोलुपता, खलता, वञ्चना र प्रपञ्चले पुरिएर रहेको छ। तिनीहरुले अकस्मात् तानाशाही व्यवस्थाको नग्नतालाई देखेको जस्तो गरे । जे होस्, मलाई रातभरि नोना, कुन्दनहरुको सम्झना भो; दुवै दुब्ला कमजोर लड्की । उनीहरुमाथि के कस्तो अत्याचार भयो होला? के नरभक्षी तानाशाही शासनले साँच्चै नरमेध गर्ने भयो त? काठमान्डौंको त्यो दृश्य देख्ने रमिते नागरिकहरुले गर्न त केही गरेनन्; तिनीहरुमा त्यो साहसको म आशा गर्दिनँ – हृदयमा कस्तो प्रभाव पर्यो होला ? घरमा गएर उनीहरुले के सोचेँ होलान्?”
“तर ती अखबारवालाहरुले किन हठात् जुर्मुराएर उठेको जस्तो गरेर पुलिसले बर्बरता भनी अग्रलेख पनि लेखे ? म त्यसलाई मानवताको झल्को भन्ने संज्ञा दिन चाहन्नँ । त्यसमा शायद दुईवछा कुरा थिए । एक त पुलिसमाथि दोषारोपण गरेपछि त्यो बर्बरताको उत्तरदायित्व अरु कसैको काँधमा पर्न जाँदैन, र पाशविकता तानाशाही व्यवस्थाको आफ्नो विशेष गुण हो भन्ने पट्टिबाट मानिसको ध्यान झिक्न सकिन्थ्यो, र अर्को विदेशी पत्रकारहरुको काठमान्डौमा उपस्थिति । तिनताका एलिजावेथको नेपाल भ्रमणको सिलसिलामा धेरै विदेशी पत्रकारहरु काठमान्डौ आएका थिए । उनीहरुको अगाडि – या सामिप्यमा – यस्तो घटना हुन दिनु बडो भद्दा दुर्भाग्य थिायो । नेपालको पत्रिकाहरुका्े अग्रलेखमा शायद यहि व्यग्रता प्रदर्शित थियो ।”