राजाले किन ‘कु’ गरे ?

‘धरणीधर दाइले [पत्र लेखेर] राजा र ममा सुलह हुन सके – वहाँबाट सुलह गराउन सके कत्रो राम्रो कुरो हुने थियो भन्ने संकेत गर्नुभएको छ । कस्तो सुलह? म अचानक, मेरा साथीहरुका साथ गिरफतार गरिएँ, अचानक देशमा एक व्यक्तिको हुकुमी शासन स्थापित भयो; अचानक देशले एउटा बाटोमा अग्रसर भइरहेको अवस्थामा ठूलो बाधा पायो; अकारण देशमा एउटा विषम परिस्थिति उत्पन्न गरियो । किन? मैले के त्यस्तो कुरा गरेको थिएँ जसबाट यत्रो ठूलो कदम लिनुपर्ने खण्ड राजालाई पर्यो ? मलाई आफ्नो गल्तीको अनुभव हुँदैन ।’

“डा. गिरी भन्थे कि राजा मसँग ईर्ष्या गर्छन रे । किन ? म देशका लागि राजाको आवश्यकताको पक्षपती मसँग ईर्ष्या र डाहा किन ? – म उनीसाग तर्क गर्थे ।”

“मेरो अझ पनि विश्वास छ – व्यक्तिगत दृष्टिबाट मलाई जतिसुकै कष्ट पुगेको होस्, अथवा मेरो आस्थामा जत्रो ठूलो चोट पुगेको होस् पौष १ को घटनाले ममाथि जस्तो ठूलो विश्वासघात गरिएको होस् – कि देशमा राजा र संसद दुवैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता छ । राजाले केवल मिलिटरीको जोरमा हुकुमी शाशन चलाउँछु भन्ठान्नु ठूलो भूल हो । साथै देशको वर्तमान अवस्थामा राजाको अस्तित्वको परवाह नै नगर्नु पनि उत्रै ठूलो भूल हो । दुइटै शक्तिको हार्दिक मेलमा देशको रथ अगाडि बढ्छ; विकास कार्य राष्ट्रिय आधारमा सम्पन्न गर्न सकिन्छ; र राष्ट्रको अन्तर्राष्ट्रिय सम्मान बढ्छ ।”

“अहिले जुन तरिकाबाट हामीमाथि अत्याचार गरिएको छ, त्यसबाट स्वभावत: हृदयमा ठूलो तिक्तताको बाढी आउँछ; यस्तो क्रोधको वेग पनि आउँछ जसमा परिणाम – देश र व्यक्तिमा निश्चित परिणामको प्रवाह नगरेर यो घोषणा गर्ने इच्छा हुन्छ कि नेपालका लागि गणतन्त्र अब आवश्यक भएको छ, तर क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको शाही कदममा निहित विचार जस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हो । राजाको स्थान हाम्राृ राजनीतिमा के हुुुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।”

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts