” … वर्तमान सरकार व्यक्तिगत शासन भएकोले त्यस व्यक्तिमाथि पर्ने दबाब अहिले छैन । हाम्रो आन्दोलन स्थगित छ – स्थगित मात्र होइन कि लक्षणले परास्त छ राजालाई अब निर्धक्क भएको होला । त्यस्तो अवस्थामा उनले हाम्राप्रति राम्रा व्यवहार गर्ने खण्ड नै छैन ।”
“यदि शासन व्यक्तिगत नभएको भए शायद यस्तो हुने थिएन । राजालाई ईख पनि होला र त्यसको बदला लिने मौका पाएको जस्तो उनलाई लाग्दो पनि हो । मेरा सामुन्ने प्रश्न आउँछ, जस्तो कि हिजो आएको थियो । बडो तीव्रतासँग जब मलाई अधिकारीहरुको व्यवहारले आत्मसम्मानमा चोट लागेको अनुभव भयो, कि मौका पाएको बखतमा कहिले पनि के बदलाको भावनाबाट प्रेरित भएर कार्य गर्ने? बदलाको भावनामा के कल्याणकारी राजनीतिक व्यवस्था जसमा विरोधीको पनि स्थान सुरक्षित रहन्छ, को जग बसाल्न सकिन्छ? बदला चुकाउने प्रवृत्तिले के त्यस्तो कुचक (भिसियास सर्कल) लाई निर्मित गर्दैन जसबाट त्राण पाउन पछि गाहारो हुन्छ? कुचक्रलाई समाप्त पार्न कुचक्रको चक्करमा आफूलाई पर्न दिन हुँदैन, तर साथै प्रश्न उठ्छ– के इखबिना राजनीतिमा या अरु कुनै व्यावहारिक क्षेत्रमा सफलताका लागि चाहिने ‘प्यासन’ (उत्तेजना, भावोद्रेक) मानिसमा आउन सक्छ? भावना र इखलाई त्यागेपछि जीवनमा रहन्छ के जसले व्यक्तिलाई अगाडि बढ्न अग्रसर गराउँछ?”
“निरपेक्षताको माध्यमबाट शायद व्यावहारिक जीवन चल्न सकदैन, या चलेपनि बडो मद्धिम गतिले चल्छ । म हमेशा यस्तै विचारको द्वन्द्वमा परिरहन्छु, र म जब प्रभावयुक्त हुन सक्तिनँ त्यस समयमा यहि द्विविधाले पीडित भएको हुन्छु । दण्ड र क्षमाका बीच द्वन्द्व ।’
“बडो सजिलोसँग मानिस भन्दिन्छन् कि दोषीलाई दण्ड दिनुपर्छ । यो यस्तो उपदेश हो जसलाई पर्दैन त्यस्ताले दिने किसिमको यो उपदेश हो । यदि दोषीलाई दण्ड दिनु नै पर्ने हो भने, क्षमा कसलाई गर्ने हो, दोषी नभइकन कोही क्षमा पाउने अधिकारी हुँदैन । निर्दोषलाई केको क्षमा?”
“यी सब नैतिक प्रश्नहरुको अतिरिक्त राजनीतिक दृष्टिबाट व्यावहारिक प्रश्न पनि छ यस समस्यासँग संलग्न– कि प्रजातन्त्रका मौलिक मूल्य र आस्थाहरु एकतन्त्रका भन्दा सर्वथा भिन्न छन् । एकतन्त्रमा विरोधीको नष्ट–सम्पूर्ण सम्हार– अपेक्षित हुन्छ; विरोधी तत्वसँग त्यसको सहअस्तित्व सम्भव छैन, र एकतन्त्रमा जीवनको दर्शन उग्रवाद (एक्स्ट्रिमिजम) पट्टि ढल्केको हुन्छ – चरमवाद, उग्रवाद, परमवाद, अतिवाद । त्यसलाई जीवनलाई विभिन्नताया वैचित्र्यको रुपमा देखने प्रवत्ति हुन्न; एकरुपतामा देख्छ त्यसले जीवनलाई, र सरल सूत्रमा जीवनदर्शनलाई बाँध्ने प्रयास हुन्छ । सन्धि गर्दैन त्यसले– हार्छ या हराउँछ; सल्लाह गर्दैन त्यसले आदेश मात्र दिन्छ, या आदेश पालन गर्छ; सम्झौता त्यसमा छैन म या तँ मात्र त्यसमा छ; सेतो र कालोमा यावतवर्णलाई वर्गीकृत गर्छ । प्रजातन्त्र ठीक त्यसको विपरीत छ । म यदि प्रजातन्त्रवादी छु भने मेरो सबभन्दा पहिला विश्वास हुन्छ जीवनको अनेकतामय सत्यमा । सत्यको विभिन्न पक्ष हुन्छ भन्ने व्यक्तिमात्र प्रजातन्त्रको साँचो अनुगामी हुन्छ, र यदि विभिन्न पक्षीय दृष्टिकोण भएको जीवन दर्शनमा त्यसको आस्था छ भने विरोधीको पक्षमा पनि सत्य होला भन्ने उसको विश्वास हुन्छ । विरोधीले पनि त्यसको समाजमा स्थान पाउँछ । छलफल, सल्लाह मसविरा, बादविवादबाट सम्झौताको निष्कर्षमा त्यो पुग्छ । त्यसको जीवनदर्शन उदारवादतिर ढल्केको हुन्छ । यदि हामीले प्रजातन्त्र ल्याउने हो देशम भने बदलाको भावनालाई त चटक्क छाडिदिनुपर्छ । उदाहरणका लागि – राजालाई यदि परास्त गर्ने स्थितिमा आइपुगेका छैनौं भने बदला लिने कुरै उठ्तैन, र यदि परास्त गरेर अधिकारमा आइएको छ– जबमात्र बदला लिने स्थितिमा आफू भइन्छ– बदलाको भावना निरर्थक हुन्छ, एउटा छुच्चो तुच्छपन मात्रै ।”
“हारेको सँग के को बदला? गणेशमानजीलाई म यहि कुरा सम्झाउँछु कि प्रजातन्त्रमा बदलाको भावनाको स्थान छैन । प्रजातन्त्रवादी बदलाको भावनाको शिकार हुन्छ, तर मौका उपस्थित भएको अवस्थामा पनि त्यो बदलाको भावनाले प्रेरित हुँदैन । गणेशमानजी यस तर्कको सूक्ष्मतालाई ग्रहण गर्न सक्नुहुन्न या चाहनुहुन्न । यसलाई मान्नुृहुन्न, तर मेरो मौलिक प्रश्न त त्यसै अनुत्तरित नै रह्यो– कि इख नभै ‘प्यासन’ को अभावमा प्रेरणा कहाँबाट पाउने काम गर्नका लागि?”