२२ कात्तिक, काठमाडौं । ‘शिखर चढ्न जानुअघि पर्याप्त तयारी र अध्ययन गर्नुपर्छ ताकि लक्ष्य हासिल गर्ने क्रममा बीचमा पुगेर अलपत्र पर्नु नपरोस् ।’ ठूला योजना बनाउने सोच बनाएपछि अधिकांश परिकल्पनाकार यो भनाइ सम्झन्छन् ।
जसले यो भनाइलाई गहन ढंगले बुझेर व्यवहारमा उतारे, उनीहरूले आफ्नो क्षेत्रमा नेतृत्व गरिरहेका छन् । यो भनाइलाई व्यवहारमा नउतार्नेहरू श्रम, समय र पैसाको बर्बादी गरेको भन्दै पछुताइरहेका छन् ।
पछुताउनेहरूको लामो सूचीमा आफ्नो नाम नथपियोस् भनेर नेपाल विश्वविद्यालय निर्माण अभियानमा लागेका प्राज्ञहरू पटक-पटक बौद्धिक मन्थन गरिरहेका छन् । ‘बिहानीले दिन कस्तो हुनेछ भन्ने संकेत गर्छ’ भने झैं नेपाल विश्वविद्यालयले शुरूआतमै फरक छाप छोड्न सफल भएको प्राध्यापक केदारभक्त माथेमा बताउँछन् ।
माथेमाका अनुसार एउटा सार्वजनिक संस्था निर्माणको लागि फरक क्षेत्रका विज्ञहरू सार्वजनिक रूपमा पटक-पटक विचार-विमर्श गरेर आम वैधताका लागि कसरत गर्नु अत्यन्त सकारात्मक कदम हो । ‘यो अभियानलाई लिएर म निकै उत्साहित र आशावादी छु’, माथेमा भन्छन् ।
२०७८ कात्तिक दोस्रो साता नवलपरासीको गैंडाकोटमा विश्वविद्यालय निर्माण अभियानमा जुटेका ४० जनाभन्दा बढी प्राज्ञ र त्यस क्षेत्रका स्थानीय र जनप्रतिनिधिहरू वैचारिक बहस गरिरहेका थिए । यसअघि नै तयार भइसकेको विश्वविद्यालयको परिकल्पना, लक्ष्य, मूल्यमान्यता र काम गर्दै जाँदा आउन सक्ने अप्ठ्याराका विषयमा विज्ञहरूले तीन दिनसम्म खुलेर तर्क, वितर्क गरे ।
नेपाल विश्वविद्यालय निर्माण अभियानमा होमिएका प्राज्ञहरूको यो अन्तरक्रिया पहिलो भने होइन । चार वर्षअघि यसको परिकल्पना भएयता यो समूहले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राज्ञ र सरोकारवालासँग दर्जनौं पटक छलफल गरिसकेको छ।
नेपाली समाजको भाग्य र भविष्य निर्माण गर्न योगदान दिने परिकल्पना गरेर अभियान शुरू गरेकाले यसलाई सार्थक गन्तव्यमा पुर्याउन बौद्धिक विमर्श आवश्यक रहेको विश्वविद्यालयका परिकल्पनाकार डा.अर्जुन कार्की बताउँछन् ।
अहिलेका विश्वविद्यालयले पर्याप्त रूपमा दिन नसकेको ज्ञान, सीप र चेतना दिने उद्देश्य राखेपछि त्यो कसरी पूरा गर्न सकिन्छ भनेर बहस गर्नैपर्ने उनको भनाइ छ । ‘परिकल्पना र लक्ष्य अनुरुप विना पूर्वाग्रह सार्थक बहस गरौं भनेर हामी निरन्तर छलफल गरिरहेका छौं’, डा. कार्की सुनाउँछन् ।
१२ कात्तिक २०७८ को पारिलो बिहानीमा गैंडाकोटको नारायणी रिसोर्ट हलमा पूर्व प्रशासक तथा नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेले जोशिलो आवाजमा ‘कस्तो विचार र हुटहुटीले पोलेर विश्वविद्यालय निर्माणको परिकल्पना गरेको’ भनेर आफैंलाई प्रश्न गरेर त्यही अनुसारको सोच बनाउन आग्रह गरेपछि छलफल अघि बढ्यो ।
उनले डा.अर्जुन कार्की, अनुसन्धाता डा. प्रत्युष वन्त, डा.अनुप सुवेदी, डा.प्रमोद ढकाल, प्राज्ञ चैतन्य मिश्र, डा.कृष्णकुमार पाँडे लगायत प्राज्ञहरूले आफ्नो घरमा बसेर विश्वविद्यालयको परिकल्पना गरेको स्मरण गर्दै उक्त परिकल्पनालाई सार्थक तुल्याउने विचार र दृष्टिकोण निर्माण गर्ने गरी बहस गर्न आग्रह गरे । पाण्डेले थपे, ‘धैर्य र फोकस विना उद्देश्यमा पुग्न सकिन्न, एउटा अब्बल संस्था बनाउन सबै क्षेत्रका विज्ञहरूसँग पटक पटक बहस हुनैपर्छ, हामी सही ट्रयाकमा छौं ।’
८० वर्ष नाघेका पाण्डेको जोश र उत्साहले अन्य प्राज्ञहरू समेत विषयवस्तुमाथि गम्भीर विमर्श गर्न प्रेरित भइरहेका थिए । छलफललाई सहजीकरण गरिरहेका डा.पूर्णकान्त अधिकारीले त्यहाँ उपस्थित प्राज्ञ र स्थानीयलाई छुट्टाछुट्टै समूहमा राखेर एउटै विषयमा छलफल गरेर निष्कर्ष लेख्न लगाएका थिए।
हरेक समूहले छलफलबाट निकालेको निष्कर्षको सारमाथि प्रस्तुतीकरण दिनुपथ्र्याे । उक्त प्रस्तुतीकरण सुनेपछि अर्को समूहले सुझाव र प्रश्न राख्थ्यो । जसको कारण छलफलमा सहभागी सबै समूह र व्यक्तिको विचार र दृष्टिकोण प्रष्ट हुन्थ्यो ।
अन्योल र फरक मत रहेको विषयमा फेरि छलफल गरेर टुंग्याइन्थ्यो । यसरी छलफल गरेर अघि बढ्दा अभियानमा जोडिएका सम्पूर्ण प्राज्ञहरूको वैचारिक प्रष्टता आउने र कसरी अघि बढ्ने भन्ने सामूहिक दृष्टिकोणमा एकरूपता निर्माण हुनेमा सबै जना विश्वस्त थिए ।
नेपाल विश्वविद्यालयको अहिलेसम्मको उपलब्धि, अवसर, दुर्बल पक्ष र चालिनुपर्ने कदम के के हुन् ? डाक्टर अधिकारीले छलफलको शुरूआतमा नै हरेक समूहलाई यो प्रश्नमा छलफल गरेर निष्कर्ष निकाल्न अनुरोध गरे । विश्वविद्यालयको परिकल्पना र लक्ष्यमा पटक-पटक छलफल भइरहेकोले यसको निष्कर्ष निकाल्न अप्ठ्यारो भएन ।
विश्वविद्यालयको दुर्बल पक्षमा संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीको समूहले ‘दलीय तटस्थताको अभाव रहेको’ उल्लेख गरेपछि यो विषयमा केही क्षण छलफल भयो । त्यसपछि विश्वविद्यालय निर्माणमा होमिएका प्राज्ञले कुनै पनि राजनीतिक दलको समर्थन या विरोधमा अभिव्यक्ति दिंदा विश्वविद्यालयको मिसनमा धक्का लाग्न सक्ने सामूहिक निष्कर्ष निकालियो ।
वैचारिक रूपमा व्यक्तिविशेषले कुनै पनि पार्टीलाई समर्थन गरे पनि राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउने परिकल्पना गरेकाले कुनै पनि राजनीतिक दलको समर्थन या विरोधमा प्राज्ञहरू सम्मिलित हुँदा विश्वविद्यालयको अभियान र सञ्चालन प्रक्रिया बिथोलिने उनीहरूको भनाइ थियो ।
नेपाली विश्वविद्यालयहरूमा साँघुरो तहको सिकाइ भएकाले उदार बौद्धिकता उत्पादन भइरहेको छैन । त्यसैले स्वदेशको भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझेको जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित नेपाल विश्वविद्यालय खोल्ने विमर्श भइरहेको छ
‘विश्वविद्यालयमा तटस्थ प्राज्ञहरूको सबल नेतृत्व कायम भए मात्र आफूले चाहेको ज्ञान र सीप दिन सकिन्छ तर राजनीतिक हस्तक्षेप भयो भने हाम्रो उद्देश्य प्राप्तिको प्रक्रिया क्षत-विक्षत हुने जोखिम हुन्छ, त्यसैले हामी सचेत हुनुपर्छ’ छलफलबाट यस्तो सामूहिक निष्कर्ष निस्कियो ।
‘विमर्श जरूरी छ’
नेपालमा भएका विश्वविद्यालयहरूले आलोचनात्मक चेत भएका जनशक्ति उत्पादन गर्न नसकेका कारण नेतृत्व तहमा भएका मानिसले राम्रो परिणाम दिन नसकेका हुन् । यो निष्कर्ष सहित प्राज्ञहरू त्यो ‘ग्याप’ पूरा गर्न सक्ने बाटो भेट्न बहस गरिरहेका छन् ।
विश्वविद्यालयले उत्पादन गरेको जनशक्तिले विकासको योजना बनाउँदा होस् या कुनै ऐन कानून बन्दै गर्दा बहस गरेर निचोड दिन सक्नुपर्ने उनीहरूको निष्कर्ष हो । तर कसरी ? त्यसको लागि के गर्ने ? यही प्रश्नको जवाफ खोज्नु उक्त विमर्शको उद्देश्य थियो ।
‘पटक-पटकको छलफल र बहसबाट कसरी अघि बढ्ने भन्ने अवधारणा बनाइसकेको भए तापनि काम थाल्नुअघि सबै क्षेत्रका प्राज्ञको दृष्टिकोण बुझेर थप परिष्कृत बनाउन यस्तो विमर्श गरेका हौं’ वातावरण विज्ञ डा.उत्तमबाबु श्रेष्ठ विमर्शको औचित्य सुनाउँछन् ।
हाल सञ्चालनमा रहेका नेपाली विश्वविद्यालयहरूमा साँघुरो तहको सिकाइ मात्रै हुने भएकाले उदार बौद्धिकता उत्पादन भइरहेको छैन । स्वदेशको भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझेको जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित नेपाल विश्वविद्यालयको सोच जन्मिएको हो ।
के अहिलेको समय र समाजमा साँच्चिकै फरक सोच र मनोविज्ञान निर्माण गर्न सहज छ त ? परिकल्पनालाई यथार्थमा परिणत गर्ने बाटो भेटिएला त ? अभियानमा होमिएका प्राज्ञहरूले आफैंलाई यो प्रश्न गर्दै उत्तर खोजिरहेका छन् ।
वातावरण विज्ञ श्रेष्ठ लक्ष्यमा पुग्न कठिन हुने भएकाले नै बहस आवश्यक रहेको बताउँछन् । ‘गर्न सक्ने मात्र बोल्ने र बोलेको कुरा पूरा गर्ने भन्ने हाम्रो नीति हो’, उनी भन्छन् ।
एउटा समुन्नत र स्वस्थ समाज निर्माण गर्न सामाजिक उत्तरदायित्व बोध गर्ने दक्ष जनशक्ति उत्पादन गर्नु अपरिहार्य हुन्छ । देश र समाजलाई चाहिने थिंकट्याङ्कको उत्पादन विश्वविद्यालयहरूले गर्छन् भन्ने विश्वव्यापी मान्यता छ । तर, नेपालका विश्वविद्यालयले उक्त राष्ट्रिय आवश्यकतालाई पूरा गर्न नसकेको उनीहरूको निष्कर्ष छ ।
अहिलेका विश्वविद्यालयले किन समाज र राष्ट्रप्रति उत्तरदायी जनशक्ति निर्माण गर्न सकेनन् भन्ने प्रश्नको उत्तर भेट्टाउनु पनि यो उक्त छलफलको उद्देश्य हो । अरूभन्दा फरक हुनको लागि फरक सोच, दृष्टिकोण र फरक काम नै गर्नुपर्ने डा. कार्कीको भनाइ छ ।
‘सोही कारण हामीले फरक-फरक विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र स्थानीय समुदायको कुरा समेत सुनेर एउटा सामूहिक दृष्टिकोण निर्माण गरिरहेका छौं’, डा.कार्की भन्छन् ।
विश्वविद्यालयको काम अघि बढाउँदा आइपर्ने समस्या र त्यसलाई कसरी हल गर्ने भन्ने थाहा पाउन मात्र नभएर कसरी नमूना विश्वविद्यालय बनाउन सकिन्छ भन्ने अभियान भएकाले विमर्श आवश्यक रहेको धेरैजसो प्राज्ञहरूको बुझाइ छ ।
उनीहरूका भनाइमा, नेपालको राजनीति, विकास र समाजमा देखिएको ‘ग्याप’लाई सम्बोधन गर्ने विषयवस्तु राखेर पाठ्यक्रम तयार गर्ने उद्देश्य भएकाले यस्ता बहस आवश्यक परेको हो । यस्ता अन्तरक्रियाले परिकल्पनाको स्वरुपलाई थप परिष्कृत गर्न सहयोग गर्ने भएकाले आफूहरू एकीकृत भएर विषय केन्द्रत सार्थक छलफल गरिरहेको उनीहरूको भनाइ छ ।
काठमाडौं युनिभर्सिटी स्कूल अफ लको डीनको जिम्मेवारी सम्हालिसकेका प्राध्यापक तथा संविधानविद् डा.विपिन अधिकारी पनि विश्वविद्यालय निर्माणको अभियानमा जोडिएका छन् । के गर्ने भन्नेमा प्रष्ट भए तापनि कसरी गर्ने र केही बाधा आइपरे त्यसको समाधान खोज्नका लागि लगातार विचार मन्थन गरिरहेको उनको भनाइ छ ।
उनका अनुसार यस्तो विमर्शमा सामूहिक विवेक प्रयोग गर्ने अवसर प्राप्त हुन्छ, जसको कारण सम्बोधन गर्न छुटेका विषय थपिन्छन् भने समावेश गरेका विषयमा विमर्श गरेर थप परिष्कृत र परिमार्जनका साथ अगाडि बढ्न सकिन्छ । ‘परिकल्पनामा प्रष्ट भए तापनि असन्तोषी भएर लगातार विचार-विमर्श गर्नुको कारण थप परिपक्व विचार र दृष्टिकोण जन्माउनको लागि हो, असन्तोषी प्रवृत्तिले नै नयाँ-नयाँ आविष्कारको जन्म हुन्छ’, प्राध्यापक अधिकारी भन्छन् ।
जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध ‘पोलिसी थिङ्कट्याङ्क’मा वरिष्ठ अनुसन्धानकर्ता भइसकेका डा.सूर्यराज आचार्य सामूहिक सपना निर्माण गर्न र त्यसलाई अपनत्व महसूस गराउन बौद्धिक विमर्शले सहयोग गर्ने बताउँछन् । सोही कारण विश्वविद्यालय निर्माण अभियानमा जोडिएका सबै सरोकारवालाहरू छलफलमा हुनु अर्थपूर्ण रहेको उनको भनाइ छ ।
आचार्यका अनुसार, यस्ता विमर्शले हामीले कस्तो अभियान शुरू गरेका छौं र यो समाज र देशको लागि कति धेरै महत्वपूर्ण छ भन्ने चेतना निर्माण हुन्छ । ‘कुनै पनि क्षेत्रमा नमूना काम गर्छु भनेर लागेपछि त्यसको आधार निर्माण गर्न धेरै नै विमर्श गर्नुपर्छ, त्यसले हामीलाई गलत मार्गपट्ट हिंड्नबाट जोगाउने मात्र नभएर हाम्रो परिकल्पना सही छ/छैन भनेर सोच्न र समीक्षा गर्न समेत बाध्य बनाउँछ’, डा. आचार्य भन्छन् ।
यस अभियानसँग जोडिएका सबै प्राज्ञहरूसँग विमर्श गर्दा प्रस्तावहरू थप परिष्कृत हुने डा. कार्की बताउँछन् । फरक विधाका प्राज्ञहरूले फरक सोच र दृष्टिकोण दिंदा परिपक्व निष्कर्ष निस्कने उनको भनाइ छ । ‘कुनै पनि काम गर्दा जति धेरै बहस गरिन्छ त्यति धेरै माझिएको विचार उत्पन्न हुन्छ, जसको कारण भविष्यमा काम गर्न सजिलो हुन्छ’, कार्की भन्छन् ।
यसअघि नेपालमा धेरै सार्वजनिक संस्था निर्माण भए तापनि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राज्ञ तथा सरोकारवालाहरूसँग खुल्ला छलफल भएको उदाहरण विरलै भएको वातावरण विज्ञ डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार नेपालमा बन्ने सार्वजनिक संस्था निर्माण प्रक्रियामा विमर्शको अभाव भएका कारण त्यसमा कुनै एक पात्रको परिकल्पना र उद्देश्य लादिने खतरा बढी हुन्छ । जसका कारण अभियानमा जोडिएका पात्रहरूले अपनत्व महसूस गर्दैनन् ।
‘यो संस्था कस्तो बन्ला त्यो भविष्यको गर्भमा छ, तर चार वर्षदेखि यस अभियानमा जोडिएका हामीले जसरी विमर्श र योजना बनाएर काम गरिरहेका छौं, त्यो नेपालमा पछि बन्ने संस्थाको लागि पनि केस स्टडी नै हुन सक्छ’ वातावरण विज्ञ श्रेष्ठ थप्छन्, ‘हामीले अरू संस्था असफल हुनुको कारणदेखि हामीले काम थाल्दा आउन सक्ने चुनौतीसम्मका विषयमा व्यापक विमर्श गरेर योजना बनाइरहेका छौं ।’
उच्च शिक्षा पढाउने अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा अनुसन्धान विना पठनपाठन नै हुँदैन । विद्यार्थीले आफूले पढेका विषयमा व्यापक अध्ययन र अनुसन्धान गरेर देशको नीतिनिर्माणमा सघाइरहेका हुन्छन् । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जल्दोबल्दो समस्याका विषयमा विद्यार्थीले दिनहुँ अनुसन्धान गरेर नयाँ-नयाँ निष्कर्ष निकालिरहेका हुन्छन् ।
तर, नेपाली विश्वविद्यालयहरूमा अनुसन्धान गर्ने परिपाटीको अभाव छ । विश्वविद्यालयहरूले नै घोकन्ते र परीक्षा पास गर्ने मनोविज्ञान भएका विद्यार्थी उत्पादन गर्ने भएकाले त्यस्ता जनशक्ति देश र समाज रूपान्तरणमा खासै काममा आउँदैनन् । यही परिपाटी अन्त्य गर्ने पाठ्यक्रम बनाउने सोच सहित नेपाल विश्वविद्यालयको परिकल्पना भएको डा.असिम ढकाल बताउँछन् ।
अनुसन्धान विनाको ज्ञानको जग कमजोर हुने भएकाले अनुसन्धानमा जोड दिएर पाठ्यक्रम निर्माण गर्न लागिपरेको उनको भनाइ छ । उनका अनुसार कुनै बेला हाम्रो देशमा विश्वकै उत्कृष्ट किसिमका सम्पदाहरू बन्थे, सार्वजनिक संस्थानहरूले राम्रो काम गरिरहेका थिए तर हाम्रो पुस्ताले त्यसलाई बिगार्ने बाहेक काम गरेन । ‘हामीले बिगार्ने बाहेक के गर्यौं, सोच्न जरूरी छ, त्यसैले पनि अनुसन्धानलाई केन्द्रमा राखेर नयाँ सोच र दृष्टिकोण जन्माउने विश्वविद्यालयको जरूरी छ’, ढकाल भन्छन् ।
कस्तो होला नेपाल विश्वविद्यालय
बन्दै गरेको संस्थाको भविष्यवाणी गर्न सहज नभए तापनि त्यस संस्थामा जोडिएकाहरूको पृष्ठभूमि, सोच, दृष्टिकोण, मनोविज्ञान र संस्था निर्माण प्रक्रियामा भएका अभ्यास हेर्दा संस्थाको भविष्यमाथि केही हदसम्म आशा गर्न सकिन्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापित गरेर देशकै नमूना बनाउने डा. अर्जुन कार्कीले यो अभियानको नेतृत्व गरेकाले पनि धेरै हदसम्म यो विश्वविद्यालयसँग आशावादी हुन सकिने डा. देवेन्द्रराज पाण्डेको भनाइ छ ।
देशी तथा विदेशी प्राज्ञ तथा स्थानीय समुदाय र सरकारसँग शुरूआतदेखि नै नियमित विमर्श गरेर योजना बनाउँदै अघि बढेकाले पनि यो संस्था अब्बल हुनेमा आशावादी रहेको डा. पाण्डे बताउँछन् । ‘नेपाल विश्वविद्यालय अत्यन्तै ऊर्जाशील प्राज्ञहरूको सामूहिक सपना भइसकेकाले यसले छुट्टै छाप छोड्नेमा म विश्वस्त छु’, उनी भन्छन् ।
विश्वविद्यालयको उपलब्धि, अवसर, अप्ठ्यारा/दुर्बल पक्ष र चालिनुपर्ने कदमको बारेमा डा.अधिकारीले प्राज्ञहरूलाई विभिन्न समूहमा बाँडेर छलफल गराएका थिए । त्यसैगरी विश्वविद्यालयको परिकल्पना र लक्ष्य र त्यसको लागि अबको पाँच वर्षभित्रमा गर्नुपर्ने कामको विषयमा पनि छुट्टाछुट्टै समूहमा छलफल भयो । छलफलमा नेपाल विश्वविद्यालयको प्राज्ञिक कार्यक्रम तर्जुमा गर्दा पाठ्यक्रममा समावेश गरिनुपर्ने आवश्यक विषय, ती विषय पढाउँदा आइपर्ने अप्ठ्यारा र गर्नुपर्ने कामका बारेमा विज्ञहरूले आफ्नो ज्ञान र अनुभवको आधारमा दृष्टिकोण राखे ।
थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) अन्तर्गतको स्कूल अफ इन्भायरोमेन्ट, रिसोर्स एन्ड डेभलपमेन्टका एसोसिएट प्रोफेसर तथा भाइस प्रेसिडेन्ट डा.शोभाकर ढकाल पनि उक्त छलफलमा सहभागी थिए । ऊर्जा वातावरण, जलवायु परिवर्तन र शहरी दिगो विकासका विज्ञ ढकालले नेपालमा नयाँ सोचको विश्वविद्यालयको आवश्यक रहेकाले त्यही अनुसारको पाठ्यक्रम बनाउन सुझाए।
विश्वविद्यालय देशको थिंकट्यांक भएकाले नेपालको लागि अत्यन्तै महत्वपूर्ण विषय दिगो विकास र नयाँ प्रविधि पढाउने पाठ्यक्रम बनाउन जरूरी रहेको उनको भनाइ थियो । ‘फरक-फरक क्षेत्रका प्राज्ञहरू सही नियतले राम्रो काममा होमिनुभएको छ, तपाइँहरूको मिसनमा व्यक्तिगत तथा म कार्यरत संस्थाबाट सहकार्य र सहयोग गर्ने प्रतिबद्धता गर्छु’ भन्दै उनले नेपाल विश्वविद्यालय नेपालकै नमूना बन्न सक्ने बताए ।
नेपालमा अहिले पनि चार वटा विश्वविद्यालय स्थापनाका लागि पहल भइरहेको छ । तर कुनै पनि विश्वविद्यालयले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बृहत् विज्ञहरूका माझ पटक-पटक छलफल गरेर काम गरिरहेका छैनन् । तर, नेपाल विश्वविद्यालयले भने तीनै (संघ, प्रदेश र स्थानीय) तहमा पटक-पटक विश्वविद्यालय निर्माण अभियानको विषयमा खुल्ला बहस गरिरहेको छ ।
भारतको अहमदावाद विश्वविद्यालयको हेरिटेज म्यानेजमेन्ट विभागका निर्देशक डा. नीलकमल चापागाई यसरी खुला रूपमा व्यापक तयारी गरेर विश्वविद्यालय निर्माण हुन लागेकाले आफू जोडिएको बताउँछन् । देशको उच्च शिक्षा सापेक्षित रूपमा दिशाहीन र गतिहीन भएको अवस्थामा विश्वका विभिन्न विश्वविद्यालयमा काम गरिरहेका प्राज्ञहरू नेपालको शिक्षा सुधार्ने अभियानमा लागेकाले आफू पनि जोडिएको उनको भनाइ छ ।
उनका अनुसार विभिन्न क्षेत्रका प्राज्ञ, स्थानीय तथा विदेशी प्राज्ञहरूको छलफल औपचारिकतामा मात्र नभएर मुद्दामा प्रष्टता ल्याउने माध्यम पनि हो । ‘यस्ता बहसले हामी अरूभन्दा फरक हुन्छौं भन्ने मात्रै होइन कसरी फरक हुन्छौं भन्ने दृष्टिकोण निर्माण गर्छ’, चापागाई भन्छन् ।
अहिले चलिरहेका विश्वविद्यालयहरूले पनि हामी फरक छौं भनेर दाबी गर्ने गर्छन् । तर नेपाल विश्वविद्यालय अभियानमा लागेका प्राज्ञहरू उच्च शिक्षालाई कसरी बढी सार्थक बनाउने, समाजले त्यसलाई पत्याउने आधार के र नवीन, उपयोगी, गुणस्तरीय पाठ्यक्रम कसरी निर्माण गर्ने भन्ने विषयमा ‘माथापच्ची’ गरिरहेका छन् ।
उनीहरूका भनाइमा, विश्वविद्यालयहरूको भीडमा अर्को एउटा विश्वविद्यालय थपिने मात्रै त होइन भन्ने आशंका चिर्न ठूलो चुनौती छ । सोही कारण अरू विश्वविद्यालयको गल्तीलाई मिहिन ढंगले केलाएर, त्यस्ता गल्ती कसरी नदोहोर्याउने भन्ने विषयमा उनीहरू योजना बनाउँदै छन् । अरूको गल्तीबाट पाठ सिक्दै आउन सक्ने चुनौती र हुनसक्ने सम्भावित गल्तीहरूको विषयमा विमर्श भएकाले पनि यो अभियान अन्य भन्दा फरक देखिन्छ ।
विश्वविद्यालयका परिकल्पनाकार कार्की पनि आफूले गल्ती गरेर सुधार्ने समय नहुने भएकाले अहिले नै व्यापक छलफलमा लागेको बताउँछन् । नेपाल तथा अन्य देशका विश्वविद्यालयका सकारात्मक/नकारात्मक, उनीहरू सफल/असफल हुनुको कारण मिहिन ढंगले केलाउन लागिपरेकाले पनि अरूको गल्ती नदोहोरिने उनको विश्वास छ ।
गैंडाकोटका जनप्रतिनिधि र स्थानीयको उल्लेख्य सहभागिता रहेको उक्त छलफलमा शिक्षा मन्त्रालयका पदाधिकारीहरू पनि उपस्थित थिए । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले रणनीति बनाएर अघि बढे काम गर्न असम्भव नरहेको भन्दै ऐन बनाउनका लागि आवश्यक तयारी सक्न आग्रह गरे । त्यसैगरी गैंडाकोटका स्थानीयले पनि विश्वविद्यालय निर्माणको क्रममा आइपर्ने सहयोगका लागि आफूहरू तयार रहेको प्रतिबद्धता जनाए ।
फेरि अर्को विश्वविद्यालयको आवश्यकता किन ? छ भने त्यो कस्तो हुनुपर्छ ? त्यस्तो बनाउन कसरी काम गर्नुपर्छ ? अप्ठ्यारा आएमा कसरी हल गर्ने भन्ने विषयमा विचार-विमर्श भएको उक्त छलफलले समुन्नत, दिगो, स्वतन्त्र र न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्याउनका लागि ज्ञानको सिर्जना, प्रसार, विस्तार र प्रयोग गरिने परिकल्पना गरेको छ । अहिलेका विश्वविद्यालयहरूले गर्न छुटाएको काम गर्नु नेपाल विश्वविद्यालयको उद्देश्य हुने डा. कार्की बताउँछन् ।
चुनौतीको चाङ
विश्वविद्यालय परिकल्पनाको चार वर्षको अवधिमा ठूलो समूहमा छलफल, परिकल्पना निर्माण र त्यसलाई पूरा गर्नको लागि प्राज्ञहरूको समूह बनाउने काम सम्पन्न भएको छ । तर यति भएतापनि चुनौती अझै सकिएका छैनन् । विश्वविद्यालय निर्माणमा काम गर्न सरकारले विकास समिति स्थापना गरे तापनि विश्वविद्यालय ऐन बनाउन बाँकी नै छ । राजनीतिक अस्थिरताको कारण ऐन निर्माणमा सकस हुनसक्ने उनीहरूको आशंका छ ।
कुनै पनि ठूलो योजना पूरा गर्न प्राज्ञहरूसँग राजनैतिक नेतृत्वको पनि सद्भाव र सहयोग चाहिन्छ । राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालयको परिकल्पना गरिएकाले प्रशासनिक कार्यमा प्रक्रियागत ढिलासुस्ती र वित्तीय स्रोतसाधन जुटाउन सकस हुने सम्भावना उस्तै छ ।
गैंडाकोटको कोटिहोम लगायत ठाउँमा जग्गा निरीक्षण गरिएको भए तापनि त्यसलाई प्राप्ति गर्दा लाग्न सक्ने प्रक्रियागत झञ्झटको बारेमा पनि उनीहरू जानकार छन् । ‘यस अभियानमा संलग्न प्राध्यापकहरूमा लरतरो प्रयत्नले यहाँसम्म आयपुगेका छैनौं र, अब आउने चुनौती पनि पार गर्न सक्छौं भन्ने विश्वास छ । त्यो चुनौती पार गर्न सबै क्षेत्रबाट आवश्यक सद्भाव, समर्थन र सहयोगको आशा गरेका छौं’, परिकल्पनाकार डा.कार्की भन्छन् ।
नेपालमा भन्दा विदेशमा विभिन्न अवसर र सुविधा पाइने कारण उच्च शिक्षा हासिल गर्ने धेरै विद्यार्थीको रोजाइ विदेश बन्ने गरेको छ । नेपालमा उच्च कोटिको विश्वविद्यालय स्थापना हुँदैमा नेपाली विद्यार्थीको विदेशमोह रोक्न सकिन्छ भन्ने निश्चित छैन । त्यसैगरी विश्वविद्यालय उपत्यका भन्दा बाहिर स्थापना हुने भएकाले विद्यार्थी तथा आवश्यक फ्याकल्टीलाई आकर्षण गर्न पनि कठिन छ ।
तर यी सबै चुनौतीको पूर्व अनुमान गरेर विश्वविद्यालयसँगै प्रारम्भिक शिक्षा, स्वास्थ्य र रोजगारमूलक क्षेत्र निर्माणको लागि समेत योजना बनाइरहेको डा.कार्की बताउँछन् । उनका अनुसार, गैंडाकोटलाई शैक्षिक हब बनाउने अभियान भएकाले विश्वविद्यालय सँगसँगै अन्य क्षेत्रको पनि विकासको योजना बनिरहेको छ ।
‘उत्पादित जनशक्तिलाई उद्योग वा व्यावसायिक क्षेत्रसँग कसरी जोड्दै लैजाने भन्ने मात्रै होइन, यहाँ अध्यापन गराउन आउने फ्याकल्टी र उनीहरूका परिवारलाई चाहिने सामाजिक, आर्थिक र शैक्षिक वातावरण निर्माण गर्ने विषयमा समेत योजना बनाइरहेका छौं’, कार्की भन्छन् ।
अमेरिकाको वेन स्टेट विश्वविद्यालयमा न्यूक्लियर फिजिक्समा विद्यावारिधि गरी लरेन्स टेक र साउथ डकोटा विश्वविद्यालयहरूमा अध्यापन गरेर नेपाल फर्किएका डा. राजेन्द्र पोखरेल नकारात्मक मानसिकता र यथास्थितिमा रहन मनपराउने प्रवृत्ति विश्वविद्यालय स्थापनाका लागि चुनौती हुनसक्ने बताउँछन् । विद्यार्थीको विदेश मोह पूरै रोक्न नसकिने भएतापनि उल्लेख्य संख्यामा विद्यार्थी रोक्ने उनको भनाइ छ । ‘धेरै कुरा अहिले नै भन्न सकिन्न तर नेपाल विश्वविद्यालय नेपालको शिक्षा क्षेत्रमा मानक बन्नेछ’, उनी भन्छन् ।
यो संस्था कस्तो बन्ला अहिल्यै भन्न सकिन्न । तर वातावरण विज्ञ श्रेष्ठले भने झैं चार वर्षदेखि यस अभियानमा जोडिएका विज्ञहरूले जसरी विमर्श र योजना बनाएर काम गरिरहेका छन् त्यसले नेपालमा पछि बन्ने सार्वजनिक संस्थाको लागि पनि यो एउटा ‘केस स्टडी’ चाहिं पक्कै नै हुनसक्छ ।