नेहरुको मृत्यु सम्बन्धमा बीपीका भावनाहरु

“जवाहरलालजीको मृत्युको सम्वाद सुनेदेखि मन बडो बेचैन छ । थामीथामी मनमा हुक उठ्छ । कतिचोटि कोठामा आएर एक्लै रोएँ । रोएपछि लाग्थ्यो मन केही हलुको भयो । कस्तो आस्था, विश्वास र स्नेह रहेछ ममा तिनका प्रति । पितातुल्य भाव–मूर्ति बनाएर राखेको रहेँछु तिनको आफ्नो हृद्यमा । लाग्छ, हामी माथिबाट एउटा छत्रछाया हटयो । एकप्रकारले अनाथ भयौं हामी । हाम्रो परिवारसँग उनको राम्रो सम्बन्ध थियो । उनले धेरैचोटि हामीलाई मद्दत पनि गरेका थिए । मेरो त एक अवसरमा उनको दृढताले गर्दा प्राण बाँचेको थियो, जब मैले मोहनशमशेरको जेलमा २९ दिनको अनशन गरेको थिएँ । मलाई त्यसले सदाका लागि कृतज्ञ बनाइदिएको थियो उनकाप्रति ।”

“हाम्रो नेपाली काँग्रेसको के हुने हो अब? सुवर्णजी र अरु साथीहरु उनकै आधार मान्दै थिए, र हालै पनि मलाई खबर आएको थियो कि राजाको र नेहरुको मई महिनामा परामर्श हुने भएको छ, र त्यस्ता केही लाभप्रद कुरा निस्किए भने भैहाल्यो नत्र हाम्रा मानिसहरु फेरि उठ्ने भएका छन् । निश्चय नै जवाहरलालजीको मृत्युले हिन्दूस्तानमा आधारित हाम्रो संगठनलाई ठूलो धक्का लाग्यो होला।”

“हाम्रो कठिनाई यसले बढ्न गएको छ । उनको केही मद्दत नभए पनि एउटा आधार मान्ने गरेका थियौं हामी उनलाई । यसप्रकारका दुश्चिन्ताका कुराहरु मनमा आइरहन्छन । जीवन खल्लो भएको जस्तो हुन्छ । सारा दृश्य– आँखाका अगाडिका सारा दृश्यबाट केही कुरो हराएको जस्तो छ । कताकता खालीखाली भएको जस्तो ।”

“ठूलो सम्मानका साथ आज ४… बजे अपरान्हमा उनको दाहसंस्कार गरे – दागबत्ती उनका नाति सञ्जयले दिए । विदेशबाट धेरै राजकीय प्रतिनिधिहरु आए सम्मान प्रदर्शनार्थ यस अवसरमा तर के नेहहरुलाइ देख्न पाइन्छ अब? उनको सुसंस्कृत चेहरा, उनको मर्यादायुक्त आचरण, उनको मधुरो स्वर, जसमा पूर्वीय र पश्चिमी सभ्यताको सम्मिश्रण ध्वनित हुन्थ्यो, उनको करुणामय दृष्टि – सारा लोप भए, उनका कलकलाउँदा हातगोडा सहित ।”

“हजारौं बालबालिका रोए रे– आज उनको शब देखेर सडकमा । आश्चर्य छ, तीन पिँढीलाई एकसाथ मोहित गर्ने जादु थियो उनको । मैले एकदिन उनलाई यसको रहस्य सोधेको थिएँ– जवाहरलालजी, क्या है आप में कि एकसाथ तीन पिँढीयों को आप प्रभावित कर रहें – हमारे पिताकी पिँढी हमारी पिँढी और हमारे लडकेकी पिँढी ।”

“उनले भने – मैं बहुत खूशकिस्मत हूँ, विश्वेश्वर । और मुझे लड्के बडे पसन्द हैं ।”

“नेहरु विश्ववन्द्य भएर चितामा चढे । उनको मरणले लाखौं–लाख आँखामा आँसु ल्यायो । उनको शवको यात्राले इतिहासका महत्तम चक्रवर्तीहरुको शवयात्रालाई उपेक्षा गरेको थियो होला । नेहरु धन्य–धन्य भएर गए । व्यक्तिगत जीवनमा त्योभन्दा बढी के चाहना हुनसक्छ?” (मे ३१, २०६४)

“… नेहरुको मृत्युले त मलाई लाग्यो– अब हाम्रो के हुने? अहिले त एकदम अन्धकार लागिरहेको छ । भविष्यको गर्भमा कुन्नि के कुरा लुकेको छ – असल या अहिलेको भन्दा पनि खराब ? सहनशीलता र धैर्यको सीमामा पुगिसकें जस्तो हुन्छ मलाई । डर हुन्छ कहिं म भाँचिन त भाँचिन्न । भविष्यका प्रति निराशा भएपछि मानिस अत्यन्त कमजोर हुँदो रहेछ । कम्युनिष्ट रुसमा राजनीतिक बन्दीहरुको नैतिक पतनको शायद यही कारण होला– कि उनीहरुलाई भविष्यका प्रति कुनै विश्वास रहेन । जारको जमानामा भविष्यका प्रति आशावान् थिए उनीहरु, त्यसो हुनाले यातना सहन समर्थ भए, तर तिनीहरु नै स्टालिनको जेलमा पर्दा एकदम परास्त भाएर गए – टुटेर गए, भाँच्चिए । भविष्यका प्रति विश्वास बडो ठूलो नैतिक शक्ति रहेछ, जसले वर्तमानको कष्टलाई सह्य बनाउन सक्छ । मलाई डर यसै कुराले छ कि कहिं म भविष्यका प्रति एकदम आस्थाहीन नहोऊँ । भविष्य मेरो मात्र होइन– मेरा सन्तानहरुको पनि छ र आफ्नो भविष्य एकदम अन्धकार भएपनि मैले यस्तो कुनै काम गर्नु हुँदैन जसले मेरा सन्तानहरुको भविष्य बिग्रियोस, या उनीहरुको इज्जतमा केही धक्का लागोस् । यदि मबाट अहिले कमजोरीको काम हुन गयो भने म त बिग्रें बिग्रेँ, मैले उनीहरुलाई छोडेर जाने उत्तराधिकारको सम्पत्ति– इज्जत र मर्यादालाई पनि नष्ट गरेर जानेछु । तसर्थ, जे भएपपनि, मृत्युलाई अँगालेर पनि मैले नैतिकतालाई छाड्नुहुन्न, मैले आफूलाई भाँचिन दिनुहुन्न ।” (२९ / ०५ / १९६४)

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts