“सुशीलाप्रति मैले आफ्नो जवाफदेहीता पूर्णरुपमा पूरा गरिनँ । यद्यपि पत्निप्रति कर्तव्याकर्तव्यको बौद्धिक निश्चिततामा शायद कोही पुग्न सक्नेछैन, र मेरो आरचण– यौनस्वच्छन्दतालाई म पापयुक्तता या कर्तव्यविहीनताको संज्ञा दिन सक्तिनँ ।”
“म आफ्नो आचरणका लागि अन्तस्करणको इजलासमा आफूलाई दोषी भनी स्वीकार गर्न कसैगरी पनि सक्तिनँ तर, हमेशा एउटा कुराको समस्या मेरो आत्माका लागि बनिरहेको छ । यदि सुशीलाको दृष्टिमा मेरो आचरण क्षम्य छैन भने मेरो के कर्तव्य हुन्छ; र यदि उसले आफ्नो निर्णय अपूर्ण बुद्धिले गर्दा या आफ्नो स्वार्थबाट प्रेरित भएर लिएको भएपनि उसको आत्माको सन्तोषका लागि के मैले आफ्नो आचरण उसको नैतिक निर्णय अनुसार गर्नुपर्दैन र ? आज मलाई बारम्बार यो कुराले व्यग्र पारिरहेको छ ।”
“धेरै दिन पहिले मलाई उसको आग्रह थियो कि म धुम्र–सुरापान नगरुँ र अवैध यौन सम्बन्ध नराखूँ । उसको दृष्टिमा वैध यौन सम्बन्ध ‘मोनोगामिक’ [एकसंगमन] मात्र हुन्छ ।”
“यता आएर दुई कुरामा त एक वर्ष जति भयो, उसको आग्रहलाई मान्ने निश्चय गरेर धुम्र–सुरापान अबदेखि कैलेपनि नगर्ने प्रतिज्ञा गरेको छु ।”
“स्त्री संगमका सम्बन्धमा निर्णय लिन गाह्रो परिरहेको थियो । बारबार उसउपर विचार गर्दा मलाई भीष्मप्रतिज्ञा गर्न सम्भव हुँदैन कि जस्तो लागिरहन्थ्यो । आज भने कुन्नि कहाँबाट आन्तरिक शक्तिको अनुभव गरेर मैले यो दृढ निश्चय गरें कि सुशीलाको तृतीय आग्रहलाई म अबदेखि कैलेपनि टाल्दिनँ । यसले गर्दा मैले धेरै कुरादेखि आफूलाई वञ्चित राख्नुपर्ला तर सुशीलाको परमविश्वास पाउनको लागि मलाई कुनैपनि बलिदान ठूलो हुनेछैन ।”