केही महत्वपूर्ण संवैधानिक फैसलाहरुको अध्ययन (काठमाण्डौः नेपाल कन्स्टिट्युसन फाउण्डेसन, २०६९/२०१२)

मन्तव्य

प्रस्तुत पुस्तक केही महत्वपूर्ण संवैधानिक फैसलाहरुको अध्ययन सर्वोच्च अदालतबाट हालैका वर्षहरुमा गरिएका आठवटा संवैधानिक फैसला एवम् ती फैसलहरुमा प्रतिपादित सिद्धान्तहरुको समीक्षा हो ।

यसमा संविधानसभाको म्याद थप सम्बन्धमा परेको रिट निवेदनमा सर्वोच्च अदालतबाट भएका विभिन्न निर्णयहरुको संक्षिप्त पुनरावलोकनदेखि लिएर प्राकृतिक स्रोतमा नेपाल सरकारको हैसियत सर्वेसर्वा नभई केवल ट्रष्टिसम्मको मात्र हुने र यस अर्थमा सरकारले वातावरणमा प्रतिकूल प्रभाव पार्नेगरी कसैलाई कुनै कार्य गर्न दिन नहुने भन्नेसम्मको ठहरको चिरफार गरिएको छ । यी फैसलाहरुलाई विभिन्न कानुनविद्हरुबाट विश्लेषण गरिएको छ । सोमध्ये केही कानुन व्यवसायी हुनुहुन्छ भने केही कानुन शिक्षणसँग सम्बन्धित विज्ञहरु हुनुहुन्छ ।

यस पुस्तकलाई सर्सर्ती हेर्ने जोसुकैले पनि यहाँ सम्मिलित सबै फैसलाहरुको अलग–अलग दृष्टिकोणबाट अध्ययन गरिएको देख्न सक्दछ । वस्तुतः कानुन पेशामा संलग्न व्यवसायीहरुले विवादग्रस्त कानुनी र संवैधानिक विषयहरुमा गर्ने व्याख्या एवम् सोका लागि लिइने सैद्धान्तिक आधारहरु बीच मत–मतान्तर देखिनु सामान्य नै हो । तर अन्ततः सर्वोच्च अदालतले गरिदिएको व्याख्या एवम् प्रतिपादन गरेको सिद्धान्तले नै अन्तिम अख्तियारी पाउँदछ । यस्ता व्याख्याहरुमा जबसम्म संविधान वा कानुन संशोधनको माध्यमबाट वैध रुपमा परिवर्तन गरिँदैनन्, वा सर्वोच्च अदालतले नै उपयुक्त समयमा पुनर्विचार वा पुनव्र्याख्या गर्दैन, तबसम्म त्यस्ता सिद्धान्तहरु कायमै रहन्छन् । तिनलाई समालोचना गरेर फैसलाको स्तर वृद्धि वा सैद्धान्तिक रुपमा त्यसलाई परिष्कृत गर्ने प्रयास प्राज्ञिक क्षेत्रको उत्तरदायित्व हो । समीक्षात्मक अध्ययन एवम् अनुसन्धानको माध्यमबाट त्यस्ता प्रयासहरुलाई सहयोग गरिने दृष्टान्तहरु सबै कमन ल प्रणाली भएका मुलुकहरुमा पाइन्छ । हाम्रै देशमा पनि यदाकदा यसतर्फ प्रयास नभएका होइनन् । त्यस्तो अध्ययन एवम् अनुसन्धानले सर्वोच्च अदालतसहित सम्बद्ध सबै पक्षलाई उचित परिस्थितिमा उचित प्रक्रिया बमोजिम आफूले स्थापित गरेको सिद्धान्तहरुलाई पुनर्लेखन वा परिमार्जन गर्ने अवसर प्रदान गर्दछ । त्यसैले यस प्रकारको अध्ययन एवम् तिनको प्रकाशनले निरन्तरता पाउनु जरुरी छ ।

यस पृष्ठभूमिमा यो पुस्तकका सम्पादकद्वय डा. विपिन अधिकारी तथा सहप्राध्यापक गणेशदत्त भट्टलाई केही महत्वपूर्ण संवैधानिक फैसलाहरुको अध्ययन प्रकाशन गर्न लाग्नुभएकोमा धन्यवाद दिन चाहन्छु । नेपाल कन्स्टिट्युसन फाउण्डेसनबाट भविष्यमा पनि यस प्रकारका प्रयासहरुले निरन्तरता पाउन् भन्ने मेरो शुभेच्छा छ ।

डा. सूर्य ढुंगेल
वि.सं. २०६९ साउन १५ 

विपिन अधिकारी/गणेश दत्त भट्ट (सम्पादन)
नेपाल कन्स्टिट्युसन फाउण्डेसन
Facebook
Twitter
LinkedIn

Related Posts