बीपी र सामयिक राजनीति - गणेश अधिकारी (२०७० श्रावण ६, नागरिक)
Print Friendly and PDF

'नेपाल भारतकै अभिन्न भाग हो। तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो पूर्णरूपमा प्रभावित हुन्छ। त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ।' यी हरफ अरु कसैले होइन, देहावसानपछि आजसम्म पनि नेपालको राजनीतिमा कायम रहेका शिखर पुरुष बीपी कोइरालाले लेखेका हुन। ६७ वर्षपहिले नेपालबाट १ सय ४ वर्ष लामो राणा शासन हटाएर प्रजातन्त्र स्थापनार्थ एउटा क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि नेपाली जनतालाई आह्वान गरिएको आह्वानपत्रमा यी हरफ लेखिएका छन्।

'भारतीय स्वाधीनता आन्दोलनका क्रममा थुनिएका बीपी कोइराला हजारीबाग जेलबाट सन् १९४६ मा छुट्दा भारत स्वाधीन हुने कुरो पक्कापक्की जस्तै भइसकेको थियो। बीपी कोइरालाले त्यसपछि नै नेपाली राजनीतिमा प्रत्यक्ष हामफाल्नु भयो। अब नेपालीहरुले आफ्नो राष्ट्रिय राजनीतिक संगठन बनाउनुपर्छ भन्ने उहाँको पहिलो आह्वान सन् १९४६ को अक्टुबरमा छापिएको भेटिन्छ' भनेर प्रदीप गिरीले सम्पादन गर्नुभएको 'विश्वेश्वरप्रसाद कोइराला : राजनीतिक अभिलेख' भन्ने पुस्तकको भूमिकामा लेख्नुका साथै सो आह्वानपत्र त्यही पुस्तकको परिशिष्ट खण्डमा समावेशसमेत गर्नुभएको छ।

'नेपाल भारतकै अभिन्न भाग हो' भन्ने अंशलाई नेपालभित्रै यदाकदा बीपी विचार विरोधमा उल्लेख गरेको देख्न पाइन्छ। तर त्यो सानो अंश उल्लेख गर्नेहरुले पनि त्यसभन्दा मुनि रहेको बाँकी भागलाई उद्धृत गरिएको पाइँदैन। त्यसैगरी 'नेपालको समस्याको जड पनि भारत नै' भन्ने अंश भारतको विरोध गर्नेहरुले उल्लेख गरेको पाइन्छ तर त्यो सानो अंश उल्लेख गर्नेहरुले पनि त्यसभन्दा माथिको बाँकी भाग उद्धृत गरिएको पाइँदैन। जसले जेसुकै भने पनि र बाहिर जतिसुकै राम्रो देखिए पनि भारत र नेपालबीचमा भित्रभित्रै खटपट चलिरहेकै हुन्छ। यो खटपट बृटिस साम्राज्यवादको हातमा परेको भारतको समयदेखि नै चल्दै आएको हो र यसले युद्ध समेतको रूप लिएर सन् १८१६ को सुगौली सन्धिपछि युद्ध समाप्त भए पनि पुनः यो खटपट आजसम्म निरन्तर चल्दै आएको छ। बीपीले यसै ऐतिहासिक यथार्थलाई व्यक्त गर्न कोसिस गरेजस्तो लाग्छ, यी हरफमा। कुर्सीका लागि राणाहरुले तत्कालीन बृटिस भारतलाई नेपालको भूगोलबाहेक अरु सबैथोक सुम्पेका थिए। त्यसै कारणले पनि हुन सक्छ, बीपीले एउटा स्वतन्त्र र स्वाभिमान नेपालका लागि लड्ने क्रान्तिकारी पार्टीको निर्माणका लागि गरिएको पहिलो आह्वानमै यसो भन्नुपरेको होस्।

नेपाल र भारतबीच भित्रभित्रै चलिरहने असमझदारी कहिलेकाहीँ कसैले थाहै नपाई उत्कर्षमा पनि पुग्दो हो तर त्यस्तो अवस्थामा पनि बीपीले लेखेको त्यो आह्वानपत्रको 'नेपाल भारतकै अभिन्न भाग हो' भन्ने अंश भारतले उल्लेख गर्दैन। कारण सो उल्लेख गर्नासाथै 'नेपालको समस्याको जड पनि भारत नै' भन्ने अंश नेपालले तुरुन्तै उल्लेख गर्ने कुरा भारतलाई थाहा छ। यसरी बीपीले एउटा क्रान्तिकारी पार्टी स्थापना गर्ने कार्यको सुरुमै भारत र नेपालको बीचमा रहेको ऐतिहासिक सम्बन्ध भित्रको द्वन्द्वात्मकतालाई तितोमा कलविष र मीठोमा मह बनाएर करिव तीन हरफको 'स्टेन्जा' मा यथार्थ राखिदिएका छन्। नेपाल र भारतबीच भित्रभित्रै चलिरहने असमझदारी कहिलेकाहीँ कसैले थाहै नपाई उत्कर्षमा पनि पुग्दो हो तर त्यस्तो अवस्थामा पनि बीपीले लेखेको त्यो आह्वानपत्रको 'नेपाल भारतकै अभिन्न भाग हो' भन्ने अंश भारतले उल्लेख गर्दैन। कारण सो उल्लेख गर्नासाथै 'नेपालको समस्याको जड पनि भारत नै' भन्ने अंश नेपालले तुरुन्तै उल्लेख गर्ने कुरा भारतलाई थाहा छ। यसरी बीपीले एउटा क्रान्तिकारी पार्टी स्थापना गर्ने कार्यको सुरुमै भारत र नेपालको बीचमा रहेको ऐतिहासिक सम्बन्ध भित्रको द्वन्द्वात्मकतालाई तितोमा कलविष र मीठोमा मह बनाएर करिव तीन हरफको 'स्टेन्जा' मा यथार्थ राखिदिएका छन्।

पृथ्वीनारायण शाहले नेपाललाई 'दुई ढुङ्गा बीचको तरुल' देखेका थिए। एकीकरणको २ सय ४० वर्षपछि प्रचण्डले त्यसलाई 'दुई ढुङ्गा बीचको डाइनामाइट' देखे। यी दुई अभिव्यक्ति पनि वास्तवमा मीठोमा 'तरुल' र तीतोमा 'डाइनामाइट' सरह सावित हुँदै आएका छन्। एउटै वस्तुमा तीतो र मीठो त हुँदैन तर तीतोको अस्तित्व छ र नै मीठोको पनि अस्तित्व छ। जनयुद्धकालमा प्रचण्डले एकपटक भारतका विरुद्ध 'सुरुङ युद्ध' गर्ने घोषणा गरेका थिए । कांग्रेसको नेतृत्वमा चलिरहेको २००७ सालको क्रान्तिलाई 'भारतले सघाएको' भनेर बेलायत राणाहरुकै पक्षमा उभिएको थियो। यता भारत भने 'तिब्बतमा चीन आइसक्यो' भनेर मात्र हाम्रो पक्षमा लागेको थियो भनेर बीपीले भनेका छन्। त्यसबखतको क्रान्तिको 'लेजिटिमेसी' कांग्रेस हुँदै राजासँग गाँसिएको थियो। यो कुरा बीपीलाई प्रष्ट भएकाले त्रिभुवनलाई नारायणहिटीबाट निकालेर पाल्पामा लगेर लुकाउन चाहेकै बखत बीपीलाई पत्तै नदिइकन भारतले त्रिभुवनलाई भारतीय दूतावासमा भित्र्याएपछि 'अब हाम्रो हातबाट गयो' भन्ने प्रतिक्रिया दिएको कुरा लेखेका छन बीपीले आत्मवृत्तान्तमा। जनयुद्ध हाक्दै गर्दा 'भारतविरुद्ध सुरुङ युद्ध' सोच्नुपर्ने प्रचण्डको आवश्यकता र २००७ सालको सशस्त्र क्रान्ति हाँक्दै गर्दा राजा भारतको हातमा परेपछि 'अब हाम्रो हातबाट गयो' भन्ने बीपीको आत्मवोधको अन्तर्यमा एउटै कुरा देखिन्छ। त्यो एउटा कुरा अरु केही नभएर नेपालमा हुन लागिरहेको युगान्तकारी परिवर्तनको नेतृत्व नेपाली नेताहरुको हातबाट खोस्नु।

सात दल र माओवादीबीच भएको १२ बुँदे शान्ति सम्झौता जनयुद्ध जन्माउने नेपालकै रुकुम वा रोल्पामै हुन नसक्ने कुरै थिएन तर त्यो भयो दिल्लीमा। २००७ सालको क्रान्तिपछि बनेको संयुक्त सरकारका गृहमन्त्री बनेका बीपीलाई मोहन शमशेरकै इशारामा आक्रमण भयो। सो भएपछि मोहन शमशेरको राजीनामाका लागि बाध्य तुल्याउने बीपीको प्रस्तावलाई भारतीय राजदूतले रोके। त्यसको परिणाम पूरै राणा शासन थेग्दै आएको एउटा विशिष्ट पल्टन 'बिजुली गारद' सजिलै त्रिभुवनका हातमा पर्न जाने निर्णय गर्नुपर्दाको बाध्यतालाई बीपी स्वयमले 'मेरो अज्ञान' भनेर स्वीकार्नुबाहेक केही रहेन। यस घटनालाई बीपीले '...त्यस दिनदेखि राजाको हात माथि पर्यो, प्रजातन्त्रको हात तल पर्यो, पल्टन राजाको हातमा आउनेबित्तिकैदेखि उनको प्रवृत्ति अर्कै भयो, उनि बलिया भए' भनेका छन्।

'भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो (नेपाल) पूर्णरूपमा प्रभावित हुन्छ।' बीपीको यो भनाईमा कति यथार्थ थियो भने उनकै जीवनकालमा भारतमा जन्मेको सत्ताविरोधी सशस्त्र युद्धको प्रभाव नेपालमा पर्न धेरै समय लागेन। नक्सालवाडी विद्रोहको प्रभाव नेपालमा 'झापा सशस्त्र विद्रोह' भएर जन्मियो। यसलाई बीपीले 'तरुणहरुको अनुकरणीय साहस' भनेर प्रशंसा गरेका थिए। नक्सालवाडी विद्रोहको जगमा उभिएको भारतको माओवादी सशस्त्र क्रान्ति त्यहाँ आज पनि जारी छ। झापा सशस्त्र विद्रोहको जगमा उभिएर जनयुद्धको स्वरूपमा २०५२ सालमा जन्मिएको नेपालको सशस्त्र विद्रोहलाई '१२ बुँदे सम्झौतामार्फत् शान्ति प्रक्रियामा ल्याइदिएको' भनेर भारत आफैं दाबी गर्दैछ। दाबीलाई सही नै मान्ने हो भने पनि नेपालको शान्ति सम्झौताको प्रभाव भारतमा फिटिक्कै परिरहेको छैन। बरु भारतीय माओवादीले उल्टै नेपालका माओवादीलाई 'गलत बाटो हिँडेको' आरोप लगाइरहेको छ। बाटो कसको गलत हो भन्ने कुरा त प्रयोगपछिको सफलता/असफलताले मात्र देखाउने कुरा भयो। तर राजतन्त्रको उन्मूलनपछि संविधान सभामार्फत् संविधान बनाएर विद्यमान अवस्थामा रहेका अन्यायपूर्ण असमानताको निर्मूल गर्दै सबै किसिमका राष्ट्रियताहरुको अधिकारको ग्यारेण्टी गर्दै न्यायपूर्ण र लोकतान्त्रिक आधारमा आन्तरिक रष्ट्रियता मजबुत गरेर अगाडि बढ्ने प्रयासमा माओवादी एउटा चौबाटोमा आएर उभिन बाध्य भएको छ। यस प्रयासमा 'कार्यदिशा नै बेठीक भयो' भनेर एक भाग अलगसमेत भएर पार्टी फुटेको अवस्था छ यतिखेर।

भारतलाई सुरुमा नेपालको संविधान सभाले उसकै जस्तो एजेण्डामा संविधान बनाउला भन्ने विश्वास थियो। तर शान्तिपूर्ण बाटोमा आउने तरखरमा सशस्त्र विद्रोहले उठाएका एजेण्डा भनेका कांग्रेसको नेतृत्वमा भएको क्रान्तिकालमा बीपीले उठाएका एजेण्डाभन्दा फरक थिएनन्। त्यसैकारण कांग्रेसले त्यसलाई इन्कार गर्न नसकेपछि ती एजेण्डा कांग्रेसका पनि हुन पुगे। संविधान सभाको माग भनेको यथार्थमा बीपीको आफ्नो माग थियो, जसलाई उनले २००७ सालमै राजा त्रिभुवनको घोषणामै पार्न सफल भएका थिए। ५१ वर्षपछि निर्वाचनबाट बनेको संविधान सभाले तिनै एजेण्डा उठाइदियो। ती एजेण्डा भनेका यतिखेर माओवादीका थिए र जसको आधारमा संविधान बन्न दिँदा उसको हित प्रतिकूल ठानिदियो भारतले। त्यसैकारण मुखले 'नेपालको संविधान बनाउने अधिकार नेपाली जनताको हो' भने पनि 'कुनै पनि हिसावले सो संविधान सभा विघटित' होस् र पुनः नयाँ निर्वाचन होस् भन्ने कुरा सुरुदेखि नै भारतले चाहेको थियो।

'नेपाललाई भारतकै अभिन्न भाग र समस्याको जरो पनि भारत' भएको प्रष्ट देख्ने बीपीको दूरदृष्टिले त्रिभुवनको घोषणामा पारेको/परेको 'संविधान बनाउने विधान सभा' को राजनीतिक बाटोलाई मोडेर किन अन्यत्र हिँडाउन बाध्य भएका रहेछन् भन्ने कुरा आज सावित हुँदैछ। प्रचण्ड, बाबुराम र मोहन वैद्यको आजको झगडाको केन्द्र यही हो र पार्टी फुट्नुको कारण पनि यही हो भनेर नबुझ्दा नेपालको ऐतिहासिक राजनीतिलाई गतिमा बुझिँदैन। निर्वाचनमा कथित भाग नलिने वैद्य, पावर सेयरिङमा चित्त नबुझाउने बाबुराम र पार्टीभित्र बलियो पकड भएका प्रचण्ड र माओवादी पार्टीको आज ठीक त्यही अवस्था देखिँदैछ जुन अवस्थामा २०१५ सालको आमनिर्वाचनमा सफलता पाएर सत्तामा गएपछि नेपाली कांग्रेसको देखिएको थियो।

बीपी जस्तै साँचो अर्थमा नेपालका सबै राजनीतिक दलहरु भारतसँग असल सम्बन्ध बनाएर सँगै हिड्न चाहन्छन। शदियौंदेखि नेपाली समाजभित्र रहेको अन्याय, विभेद, असमानता, शोषण आदि उन्मूलन गरेर न्याय, समानता, राष्ट्रिय स्वतन्त्रता, अखण्डता र अक्षुण सार्वभौम सत्ताको निर्वाध उपभोग गर्न पाउने नेपालीको अधिकार बचाइराख्ने प्रण सदाझैं आज बीपी स्मृति दिवसको पुनित अवसरमा पनि गर्न चाहन्छन्।

(एनेकपा (माओवादी) का सल्लाहकार सदस्य)

प्रकाशित मिति: २०७० श्रावण ६, नागरिक

Back