दुवै ऊर्जावान् तर महत्त्वाकांक्षी - विश्वबन्धु थापा (२०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक)
Print Friendly and PDF

पहिली पत्नी इन्द्र राज्यलक्ष्मीको निधनपछि तत्कालीन युवराज महेन्द्रको रत्नसँग गहिरो प्रेम थियो। तर, त्यसलाई विवाहमा परिणत गर्न राजा त्रिभुवन तयार थिएनन्। त्यसैले विवाहका कुनै कार्यक्रममा त्रिभुवन उपस्थित भएनन्। बीपी कोइरालाले भने महेन्द्रलाई साथ दिए।

यहीबीचमा बहालवाला मन्त्री महावीरशमशेरलगायतले महेन्द्रको ठाउँमा उनकै भाइ हिमालयलाई युवराजाधिराज बनाउने षड्यन्त्र सुरु गरे। त्यसका लागि गोरखा दरबार सरसफाइ गरी तयारी अवस्थामा राखे। जब बीपीले यो कुरा थाहा पाए, राजा महेन्द्रको पक्षमा लागे। महेन्द्रलाई आश्वस्त पार्न बीपीले सेनाको साथ लिएर भए पनि विस्थापित हुन नदिने वचन दिए।

यी र यस्ता घटनाबाट महेन्द्र बीपीको जोखिम मोल्ने क्षमताबाट परिचित मात्र भएनन्, उनको सुरो स्वभावबाट उनको मनमा चिसो पनि पस्यो। तर, बीपी भने महेन्द्रलाई साथ लिएर अघि बढ्न खोज्दै थिए।

००७ सालको क्रान्तिपछि राजा त्रिभुवनले बीपीका दाजु मातृकाप्रसाद कोइरालालाई काखी च्यापे। बीपी स्वाभाविक रूपमा महेन्द्रतिर लाग्नुपर्ने अवस्था आयो। यसका पछाडि राजदरबार र कोइराला परिवारका पारिवारकि आयाम पनि थिए। बाबु त्रिभुवनले मातृकालाई साथ दिए पनि छोरा महेन्द्रको साथ आफूलाई रहन्छ भन्ने बीपीको ठम्याइ थियो। कोइराला परिवारभित्रको द्वन्द्वले पनि बीपीलाई महेन्द्रतिर हुत्याएको थियो। मातृका कृष्णप्रसाद कोइरालाकी जेठी श्रीमतीका छोरा थिए भने बीपी कान्छीपट्टिका।

बीपीले महेन्द्रलाई विश्वास र प्रभावमा राख्न जतिसुकै प्रयास गरे पनि परिणाम सोचेजस्तो भएन। न त ०१५ सालअगावै महेन्द्रले बीपीलाई प्रधानमन्त्री बनाए, न त्यसपछिका दिनमा सुमधुर सम्बन्धका लागि प्रयास गरे। यी दुईको पारिवारकि पृष्ठभूमि, संस्कार, चिन्तन, अध्ययन र व्यक्तित्व विकासको प्रक्रियाले यिनलाई कहिल्यै एक ठाउँमा रहन दिएन। साथै, राजा महेन्द्र र बीपीबीच फाटो ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने व्यक्ति र शक्तिका कारण पनि उनीहरूबीच मेल सम्भव भएन।

व्यक्तित्वको टक्कर
महेन्द्र र बीपी दुवै महत्त्वाकांक्षी थिए। दुवैमा देशका लागि केही गरौँ भन्ने भावना थियो। राजनीतिमा पनि दुवै उत्तिकै चलाख थिए। मै खान्छु, मै लाउँछु भनेर पनि राजाले कदम चालेका थिएनन्। दुवै युवा थिए, ऊर्जावान् थिए। दुवैको चाहना प्रत्यक्ष नेतृत्व दिने नै थियो। राजा महेन्द्र पनि पार्टी खोल्न चाहन्थे। बीपी पनि पूर्णतः राजाविरोधी होइनन्, राजा पनि पूर्णतः प्रजातन्त्रविरोधी होइनन्। यद्यपि, परिभाषा आ-आफ्नै थियो।

धेरै कुरामा उनीहरूबीच समानता रहेकाले नै संघर्ष भयो। कसैको भूमिकामा कोही व्यक्ति बाधक भयो भने त्यहाँ द्वन्द्व हुन्छ। महेन्द्र र बीपीबीच त्यही भयो। राजा महेन्द्रको आफ्नै व्यक्तित्व थियो, बीपीको आफ्नै। त्यसैले सँगै बस्न सकेनन्। समान व्यक्तित्वमा दोस्ती हुँदैन, संघर्ष हुन्छ। दोस्ती हुन त एउटा अनुसरणकर्ता हुनुपर्छ। उनीहरू त दुवै बाघ थिए। कुनचाहिँ बाघलाई कसले मान्ने भन्ने कुरा थियो। राजा बलिया भए, बीपीलाई निकालिदिए तर हराउन भने सकेनन्।

राजाका अगाडि बीपी र बीपीका अगाडि राजा समर्पित हुने कुरा कल्पनै गर्न नसकिने कुरा थिए। फेरि बीपीको व्यक्तित्व राष्ट्रप्रमुखको व्यक्तित्वले थिचेर थिचिने खालको थिएन। चाकरी गर्ने प्रवृत्ति बीपीमा थिएन। दरबारको संस्कार र राणाको संगतमा हुर्किएकाले महेन्द्र नोकर/चाकरमा विश्वास गर्ने नै भए। राजा स्वभावैले आज्ञाकारी मानिस खोज्थे। बहस/प्रतिवाद गर्न खोज्ने उनको नजरमा राम्रा ठहरिँदैनथे। राजाले जेजे भन्छन्, त्यही कुरा मान्ने मान्छे बीपी थिएनन्। तर, मिलेर जानुपर्छ भन्ने मान्यताका पक्षपाती थिए उनी।

झगडा भनेको जहिले पनि व्यक्तित्वकै हुन्छ। आखिर मिल्नका लागि त एउटाले त्याग देखाउनैपथ्र्यो। महेन्द्र-बीपी दुवैले त्यो त्याग देखाउन सकेनन्। टक्कर टक्करकै रूपमा चलिरह्यो। हुन त राजा प्रतिस्पर्धा गर्ने मान्छे थिएनन्। उनी त जन्मजात नेतृत्वमा स्थापित थिए। बीपी जनताका बीचमा प्रतिस्पर्धा गरेर आएका थिए। यो कुरा राजाले बुझिदिएका भए पनि बेमेल हुँदैनथ्यो होला। तर, महेन्द्रलाई लाग्यो, बीपीले आफूले भनेको मान्नुपर्छ। बीपीचाहिँ राजाले भनेको खुरुखुरु मान्ने स्वभावका थिएनन्। उनलाई आफू जनताबाट चुनिएर आएको भन्ने हुने नै भयो। झगडाको कारक यही बन्न पुग्यो।

जनताका छोरा भएकाले बीपीको व्यवहार जहिले पनि जनताकै जस्तो हुन्थ्यो। राजाका छोरा भएकाले महेन्द्रमा दरबारकै व्यवहार देखिन्थ्यो। बीपीलाई भेट्न समकालीन नेताहरूले समय लिनुपर्दैनथ्यो। जहाँ जसरी बसे पनि अप्ठ्यारो हुँदैनथ्यो। तर, राजाका अगाडि पुगेको मानिस उनको आज्ञाबेगर कुर्सीमा पनि बस्न सक्दैनथ्यो। उनीहरूले बस नभनुन्जेल उभिनैपथ्र्यो। राजाले नसोधेसम्म कुरै गर्न मिल्दैनथ्यो। बीपीसँग आफूलाई लागेका कुरा मजाले भन्न पाइन्थ्यो। बीपीको अर्को विशेषता के थियो भने समकालीन नेता/कार्यकर्तालाई भन्दा तिनका परिवारलाई बढ्ता माया गर्थे। साथीभाइ नभएको अवस्थामा कसैको घरमा पुगेका छन् भने पनि उनीहरूका परिवारसँग बसेर गफ गर्ने, खाने स्वभाव थियो।

राजा त्यस्तो गर्न सक्दैनथे। उनको परिवेश र कूलले नै यस्तो गर्न दिँदैनथ्यो। आफन्तहरूसँग नजिकिने व्यवहार राजामा हुँदैनथ्यो। त्यस्तो घनिष्टता देखाउन सक्दैनथे। जहिले पनि दूरी रहन्थ्यो। त्यसैले राणा-शाह परिवार र अन्य परिवारका बीचको विभेदजस्तै हो, राजा र बीपीबीचको दूरी। यो वर्गीय दूरी हो।

भिन्न शैली
महेन्द्र र बीपीको काम गर्ने शैली भिन्न थियो। बीपीकै कुरालाई आधार मान्ने हो भने राजा त भावनामा बग्ने मानिस हुन्। बीपी राजा महेन्द्रलाई मियोका रूपमा ठड्याउन चाहन्थे। भोलि चीन र भारतको दबाब पर्यो भने पनि राजालाई देखाउन सकिन्छ भन्ने उनको ठम्याइ थियो। बीपीको भनाइ नै थियो, 'राष्ट्रियताको नेता राजा हो, प्रजातन्त्रको नेता म हुँ।'

बीपी जनताप्रति उत्तरदायी हुन खोज्थे। त्यो कुरा राजालाई चित्त बुझ्दैनथ्यो। किनभने, राजालाई लाग्थ्यो 'ऊ त मेरो प्रधानमन्त्री हो। मप्रति उत्तरदायी हुनुपर्छ।' डा तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट आदि प्रधानमन्त्री त राजाकै भए। सुवर्णशमशेरले पनि राजाकै भावना बुझेर काम गरे। मातृका, डा केआई सिंह पनि राजाकै प्रधानमन्त्री भए। यही कुरा महेन्द्र बीपीसँग पनि चाहन्थे। राजाहरू भनेका ऐन-कानुन वास्ता गर्दैनन्। जुन प्रवृत्ति महेन्द्रमा पनि थियो। त्यसैले उनी जहिले पनि आफूले अह्राएको होस् भन्ने चाहन्थे।

महेन्द्रको स्वभाव कस्तो थियो भने कसैलाई ल्याउन पनि धक नमान्ने र निकाल्न पनि बेर नलगाउने। जस्तोः यसबीचमा धेरै व्यक्तिलाई प्रधानमन्त्री बनाए, निकाले । प्रत्यक्ष शासनको अनुभव पनि बटुले। तुलसी गिरी, सूर्यबहादुर थापा आदिलाई प्रधानमन्त्री बनाए । सूर्यबहादुरले बाहिर आएर के के बोले, उनलाई थुनिदिए। भारत बलियो थियो र सूर्यबहादुर बाँचे, नभए उनको हैसियत अर्कै हुन्थ्यो।

बीपी हरेक कुरा सुझबुझ र सल्लाहमा गर्थे। सुवर्णशमशेरलाई सभापति बनाउँदाकै कुरा गरौँ। सुवर्णलाई नेतृत्व दिने प्रस्ताव केन्द्रीय समितिबाट पारति भयो। गणेशमान सिंह उनका विरुद्धमा उठे। बीपी चुप लागेर बसे। उनले गणेशमानले कुनै हालतमा जित्नु हुँदैन तर साह्रै धेरै मत अन्तरले पनि हार्ने अवस्था आउन नदिनू भनेका थिए। भयो पनि त्यस्तै, ६० प्रतिशत सुवर्ण र ४० प्रतिशत मत गणेशमानलाई आयो। सुवर्ण सभापति भए।

पैसा कमाएर धनी हुँला भन्ने इच्छा दुवैमा थिएन। फरक के थियो भने महेन्द्र स्वतः धनी थिए। उनलाई धनी बन्न केही गर्नैपर्ने थिएन। तर, राजा भएर श्रीपेच लगाएर पनि हिँड्दैनथे उनी। राजामा हुने गुण उनमा कम थियो र शासन गर्ने गुण प्रशस्त थियो। 'देशको नेतृत्व गर्छु, देशै बनाउँछु, एक्लै बनाउँछु' भन्थे उनी। बीपी मात्र नेपालका यस्ता प्रधानमन्त्री थिए, जसको राजधानीमा आफ्नो घर थिएन, मोटर थिएन। अधिकांश समय पैदलै हिँड्थे। पुख्र्यौली सम्पत्ति जे थियो, उनले थप केही जोडेनन्। विशालनगरमा बस्दा वसन्तशमशेरले भाडा लिँदैनथे। भाडा तिर्न पनि गाह्रो थियो उनलाई। बीपी पत्नी सुशीलाले घरखर्चकै निम्ति आफ्ना गहना बेचिन्। बीपी प्रधानमन्त्री हुँदा सुशीलासँग गहना नदेखेर रानी रत्नले गहना उपहार दिएकी थिइन्। ती गहना बीपी गिरफ्तारीमा परी सुन्दरीजल जेलमा परेपछि फिर्ता गरिदिइन्। बीपीकै स्वाभिमानका कारण उनले ती गहना राख्न सकिनन्।

भारतमा नेहरुको जे भूमिका रह्यो, नेपालका सन्दर्भमा बीपी त्यही भूमिकामा थिए। तर, राजा महेन्द्रलाई प्रधानमन्त्रीले धाक लगाएको मनै पर्दैनथ्यो। कहिलेकाहीँ बीपी रानीसँग गएर खुसुक्क कुरा गरिदिन्थे। जबकि, दरबारियाहरू कोही पनि त्यसरी जान सक्दैनथे। रानीसँग शिर ठाडो पारेर, आँखा जुधाएर कुरा गर्न सक्दैनथे। बीपी भने आफ्ना कार्यकर्तासँग जसरी कुरा गर्थे, त्यसरी नै रानीसँग प्रस्तुत हुन्थे। यो कुरा दरबारियाहरूले मन नपराए पनि बोल्दैनथे। तर, पछिपछि कुरा काट्थे।

तीक्ष्ण बौद्धिकता र स्वाभिमानी व्यक्तित्व थियो बीपीको। त्यसैले कहीँ पनि उनले हेपिएर रहनै परेन। राजाको नजिक हुँदा पनि उनले आफ्नोपना कायम राखे। आफूलाई सधैँ जनप्रतिनिधि नै ठाने। 'नेपाल जोगाउने हो भने सरकार र म मिल्नुपर्छ' भन्थे। बीपीले आफूसँग तुलना गरेको राजालाई मन पर्दैनथ्यो। राजालाई सेनाको बल थियो। उसैको सहयोगमा प्रधानमन्त्री बीपीलाई थुनियो। त्यहीँबाट यी दुई नेता दुई किनार भए। मूल्य मुलुकले चुकायो। आत्मसमर्पण राजाले त गर्दैनथे, प्रधानमन्त्रीले नै गर्नुपथ्र्यो। राजा महेन्द्र जसरी हुन्छ, आत्मसमर्पण गराउन चाहन्थे।

फाटो ल्याउने प्रवृत्ति
राजा महेन्द्रले ०२५ मा बीपीलाई औषधोपचारका लागि भारत पठाए। राजालाई विश्वास थियो, उपचारमा सहयोग गरेको गुन फर्काउन बीपी आफ्नो पक्षमा आउनेछन्। बीपी पञ्चायतमा फर्किन्थे कि फर्किंदैनथे, त्यो बेग्लै कुरा हो। तर, उनी राजासँग संवाद चाहन्थे। त्यसैका लागि उनी विराटनगर हुँदै काठमाडौँ आउँदै थिए। तर, तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र कांग्रेसकै सूर्यप्रसाद उपाध्यायले सल्लाह गरेर विराटनगरबाट काठमाडौँ आउन तयार भएका बीपीलाई 'यहाँ आउनुभयो भने पक्राउ पर्नुहुन्छ' भनेर उताबाटै भगाइदिए। बीपीले पनि जेल जानुभन्दा भारततिर लाग्नु नै उपयुक्त ठाने। यसरी महेन्द्र र बीपीबीच फाटो ल्याएर आफ्नो दुनो सोझ्याउन खोज्नेहरू प्रशस्तै थिए।

नेपाली कांग्रेसका महामन्त्री रहेका थापा १ पुस ०१७ को घटनापछि राजाका पक्षमा लागेका थिए ।)

प्रकाशित मिति: २०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक

Back