संस्मरण : बीपी स्वदेश फर्किंदा - ईश्वरी ज्ञवाली (२०७० वैशाख १०, कान्तिपुर)
Print Friendly and PDF

द स्टेट्सम्यानका सम्पादक सुनन्दा के दत्त रायले आफ्नो पुस्तक स्म्यास एन्ड ग्य्राभ : द एनेक्सन अफ सिक्किममा बीपी कोइराला सँग भएको कुराकानीलाई उद्धृत गरेका छन्, 'सिक्किमलाई विलय गराउन यत्रो नाटक रच्नुपर्ने के आवश्यकता थियो ?' राजा चोग्यालका विरुद्ध रहेका सिक्किमीहरूसँग पनि बीपीको राम्रै सम्बन्ध थियो। तर, बीपी स्पष्ट हुनुहुन्थ्यो, 'प्रजातन्त्रका पक्षमा लड्नूस्। तर, चोग्याललाई भित्तैसम्म पुर्यारउने ढंगले नलाग्नूस्। किनभने, बन्द कोठामा बिरालो थुनेर चुट्न थालियो भने कि उसले तपाईंमाथि आक्रमण गर्छ, होइन भने ऊ त्यहीँ निसासिएर मर्छ। त्यो अवस्था पनि नल्याउनूस्।'

सिक्किम प्रतिनिधिसभाका २९ सांसदमध्ये २८ जनाले सिक्किम भारतमा विलय हुनुपर्ने पक्षमा मतदान गरे। चोग्यालका धर्मपुत्रका रूपमा रहेका तत्कालीन शिक्षामन्त्री रामचन्द्र पौडेलले पनि विलयको पक्षमै मतदान गरे। घटनालगत्तै इन्दिरा गान्धीले भारतीय सीमाभन्दा ६० किलोमिटरभित्र सबै किसिमका राजनीतिक क्रियाकलापमाथि प्रतिबन्ध लगाइन्।

त्यो प्रतिबन्ध खासगरी नेपाली कांग्रेसप्रति लक्षित थियो। त्यसै कारण बीपीले फारविसगन्ज, गोरखपुर, नक्सलबाडी आदि ठाउँमा राखेका क्याम्प सार्नुपर्ने र स्वदेश फर्किनुपर्ने कारणका बारेमा ठूलै विमर्श चलाउनुपरेको थियो। टिम्बुरबोटे काण्ड र इन्दिरा गान्धीको प्रतिबन्धसँगै भारतमा नेपाली कांग्रेसको मनोबल घट्ने चरणमा पुग्यो। सम्पूर्ण राजनीतिक प्रक्रिया पुनःविचार गर्नुपर्ने अवस्था आयो।

अफगानिस्तान र भियतनामबाट अमेरिकी सेना फिर्ता भएका थिए। र, भर्खरै बंगलादेशको उदय भएको थियो। साथै, विधिवत् रूपमा सिक्किम भारतमा विलय भएको थियो। यस्ता केही घटनाले इन्दिरा गान्धीमा राजनीतिक महत्त्वाकांक्षा पनि बढेको थियो। तर, भारतीय समाजवादी नेता जयप्रकाश नारायण -जेपी), राममनोहर लोहियासँगको बीपीको सम्बन्ध र बीपी स्वयंको राजनीतिक र बौद्धिक व्यक्तित्वबाट इन्दिरा गान्धी अत्तालिएकी थिइन्। अटलविहारी बाजपेयीले त इन्दिरा गान्धीको त्यस बेलाको क्रियाकलापलाई लिएर 'इन्दिरा गान्धीको रौद्र रूप' भनेर टिप्पणी नै गरेका थिए।

एकातिर इन्दिरा गान्धीको भारतीय सीमाको ६० किलोमिटरभित्र कुनै किसिमको राजनीतिक क्रियाकलाप गर्न नपाउने प्रावधान र अर्कोतर्फ सशस्त्र क्रान्तिमा टिम्बुरबोटेमा बेहोरेको क्षतिले बीपीलाई तत्काल स्वदेश फर्किनुको विकल्प थिएन। उहाँले राष्ट्रियतामाथि आँच आउन सक्ने खतरा देखेरै स्वदेश फर्किने निर्णय गर्नुभयो।

भारतका धेरै राजनेता बीपीको स्वदेश फिर्तीप्रति असन्तुष्ट थिए। चन्द्रशेखर, कर्पुरी नारायणजस्ता थुप्रै नेता पटनाको देवेन्द्रप्रताप सिंह -देवेन्द्रबाबु)को घरमा जम्मा भएका थिए। बीपीको स्वदेश फिर्ताप्रति सबैको असहमति थियो। तर, जेपीले भने, "स्वदेश फिर्ता हुने कि नहुने भन्ने निर्णय गर्ने अधिकार बीपीलाई नै छोडिदिउ"। किनभने, भोलि फाँसी पनि हुन सक्छ भन्ने कुरा उनी स्वयंलाई थाहा छ।" त्यतिबेला म बीपीसँगै पटनामा थिएँ।

१६ पुस २०३३ मा बीपी स्वदेश फर्किने तयारी थियो। बिहानैदेखि देवेन्द्रबाबुको घरमा भारतीय समाजवादी पार्टीका नेताहरूको घुइँचो थामिनसक्नु थियो। स्वदेश फर्किने बेला त्यो मनोवैज्ञानिक दबाबका बीच बीपी भेटघाट र कुराकानीमै व्यस्त हुनुहुन्थ्यो। बीपीको स्वदेश फिर्ता हुने त्यो क्षण वास्तवमै भावनात्मक थियो। शैलजा आचार्य, रामबाबु प्रसाईं, भूविक्रम नेम्वाङ, खुमबहादुर खड्का आदि उहाँसँगै स्वदेश फर्किनेमा हुनुहुन्थ्यो। बीपीले गिरजिाप्रसादतर्फ फकिर्ंदै भन्नुभयो, "तँ मसँग जाने होइन। यहीँ बस्ने हो।" बीपीले यसो भनिरहँदा वातावरण ज्यादै भावुक थियो।

फणीश्वरनाथ रेणु सिकिस्त बिरामी परेर अस्पताल भर्ना हुनुभएको थियो। बीपीले रेणुलाई भेट्ने कार्यक्रम पनि थियो। उहाँ हतार-हतार अस्पतालतर्फ लाग्नुभयो। मानिसहरूको भीड जस्ताको तस्तै रह्यो। धेरैका आँखा रसाइरहेका थिए। सुशीला भाउजू सम्झाइरहनुभएको थियो।

यत्तिकैमा रेणुलाई भेटेर बीपी अस्पतालबाट फर्किनुभयो। भोला चटर्जीले बीचमै रोकेर बीपीसँग कुरा गरे। बीपी एउटा सादा कागजको पाना लिएर कोठाभित्र पस्नुभयो। सात मिनेटमै केही लेखेर बाहिर निस्किनुभयो र चटर्जीलाई दिनुभयो। त्यो त भूमिका पो रहेछ। अहिले पनि उनको पुस्तक प्यालेस, पिपुल्स एन्ड पोलिटिक्सः नेपाल इन प्रस्पेक्टिभमा त्यो पढ्न पाइन्छ।

मलाई राम्रोसँग सम्झना छ, बिहान ९ बजेको उडान थियो। एयरपोर्ट जाँदा विमान अपहरणमा वारेन्ट काटिएर नसमातिएका दुई जना पनि थियौँ, म र नागेन्द्र ढुंगेल। बीपीलाई चिन्ता थियो, हामी एयरपोर्टसम्म गयौँ भने समातिन्छौँ कि भन्ने। तर, हामी समातिएनौँ। एयरपोर्टको वातावरण अलिक बेग्लै खालको थियो।

नेपालबाट गएका केही व्यक्ति, गुप्तचर विभाग र एयरलाइन्सका मानिसहरू त्यहाँ न स्वागत न त विरोधको शैलीमा उभिएका थिए। तर, विमानका पाइलट भने बडो हार्दिक ढंगले प्रस्तुत भए। हाम्रो सानो एउटा ब्याग उनैले उठाएर राखिदिए। त्यस विमानमा आधाजति यात्रु हाम्रै साथीहरू थिए। गिरिजाप्रसाद र मैले विमानभित्र चढेर ' बीपी कोइराला को स्वदेश आगमनको अपिल' बाँड्यौँ। त्यहाँ हृषीकेश शाह पनि थिए। उनी कुन भूमिकामा त्यहाँ गएका थिए, त्यो भने थाहा भएन। त्यसपछि हामी विमानबाट झर्यौँ।

बीपीलाई अन्तिमपटक जयप्रकाश नारायणले हात हल्लाएर बिदाइ गर्नुभयो भने मन्त्री कर्पुरी ठाकुरले एयरपोर्टमै नारा लगाए, 'नेपाल-भारत मैत्री अमर रहे, बीपी कोइराला जिन्दावाद।' नोना भाउजू, गिरिजाप्रसाद, देवेन्द्रबाबुलगायत केही मानिस त्यहीँ बस्यौँ। नेपालमा विमान अवतरण गरेपछि अवस्था बुझ्न हामी त्यहाँ बसेका थियौँ। करबि ४५ मिनेटभित्रै बीपीलगायत सबैलाई त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरएिको सूचना पायौँ र भारी मन बोकेर निवासतिर लाग्यौँ।

प्रकाशित मिति: २०७० वैशाख १०, कान्तिपुर

Back