राष्ट्रियताका सबल र दुर्बल पक्ष - दिल साहनी (२०६९ कार्तिक १, कान्तिपुर)
Print Friendly and PDF

झन्डै चार दशक पहिले मैले शिलाङमा कलकत्ताबाट प्रकाशित हुने कुनै एउटा अंग्रेजी पत्रिकामा भोला चटर्जीको लेख पढेको थिएँ । लेख थियो, नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको माओत्सेतुङसित भएको भेटघाट र कुराकानीबारे । त्यतिबेला सगरमाथाको विषयलाई लिएर नेपाल र भारतबीच केही असमझदारी उत्पन्न भएको थियो । कुराकानी मूलतः यसैमा केन्दि्रत थियो । वीपी कोइरालाले चीनका तमाम अधिकारीहरूसित भेटेपछि अन्त्यमा माओत्सेतुङसित भेटघाट गर्ने मौका पाएका थिए । वीपीलाई एउटा होटलमा बडो नाटकीय ढंगले एक्कासि माओसित भेट गराइएको थियो । भोला चटर्जीले लेखेअनुसार, वीपीले माओलाई भेट्नासाथ भनेका थिए, 'म एउटा सानो देशबाट आएको हुँ ।' माओले ठट्टा रमाइलो गर्दै जवाफ दिएछन्- 'तपाईं सानो देशबाट आउनुभएको मान्छे । म ठूलो देशको मान्छे । यसमा त तपाईंलाई नै फाइदा छ । तपाइर्ंले हाम्रो मुलुकमा थिचोमिचो गर्नुभयो भने पनि कसैले पत्याउने छैन । तर हामीले तपाइर्ंलाई छुँदै-नछोए पनि तपाइर्ं थिचोमिचो गर्यो भनेर चिच्चाए सबैले विश्वास गर्नेछन् ।' माओले त्यसपछि गम्भीर हुँदै थपेछन्- 'देश ठूलो या सानो हुनसक्छ । तर त्यसको मान्यता समान नै हुन्छ । ठूलो देश भएको कारणले उसको मान्यता धेरै हुने र सानो भएकोले त्यसको मान्यता थोरै हुने होइन । देश आखिर देश नै हो ।'

बल्ल यसपछि वीपी र माओबीच सगरमाथा विवादबारे कुराकानी प्रारम्भ भयो । वीपीले आफ्नो दाबी पेस गर्दै भने, 'माउन्ट एभरेष्ट हाम्रो हो । किनभने यसको नाम नेपालीमा सगरमाथा हो ।' भनेपछि माओले पनि आफ्नो दाबी पेस गर्दै भनेछन्- 'माउन्ट एभरेष्ट हाम्रो हो । किनभने यसको नाम तिब्बती भाषामा चोमोलुङ्गमा हो ।' यसपछि वीपीले सगरमाथामाथि आफ्नो थप दाबी जनाउँदै भने, नेपालको नक्साअनुसार सगरमाथा नेपालको सीमामा पर्छ । जवाफमा पुनः माओले चीनको नक्साअनुसार चीनको सीमा चोमोलुङ्गमाभन्दा पाँच किलोमिटर दक्षिणसम्म पर्छ भनेर दाबी गरे । यसरी हेर्दा सगरमाथाको विवाद निकै चर्कोजस्तो देखियो । सगरमाथाको सवाललाई लिएर नेपाल र चीनबीच भएको विवादलाई माओले बडो सहज तरिकाले हल गरिदिएछन् । उनले वीपीलाई भनेछन्- सगरमाथाको सवालमा तपाइर्ंकै कुरा सदर भयो । तपाइर्ंले भन्नुभयो, सगरमाथा नेपालको सीमामा पर्छ । सगरमाथा नेपाल र चीनको सीमा भयो । सगरमाथाको चुचुरोलाई हामी नेपाल र चीनको मितेरीको चुचुरो भनौं । वीपीले माओको कुरा सहर्ष स्वीकार गरे । यसरी नेपाल र चीनबीच सगरमाथाको सवाललाई लिएर भएको विवाद एक मिनेटमा समाधान भयो । खेदजनक कुरा के छ भने दक्षिण कोरियास्थित भारतीय राजदूतले हालै पनि भारतको सीमा सगरमाथा हो भनेर दाबी गरे । उनले आफ्नो कुरा सच्चाए पनि भारतीय शासक वर्गको नेपालप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुराको झलक यसबाट मिल्छ । पंक्तिकारको उद्देश्य सगरमाथाको विवादबारे लम्बा-चौडा छलफल गर्नु होइन । वास्तवमा यहाँ मैले चर्चा गर्न खोजेको कुरा भने हाम्रो राष्ट्रियताका सम्बन्धमा नै हो । हाम्रो नेपाली राष्ट्रियताका सबल पाटा पनि छन् र दुर्बल पाटाहरू पनि । सबल पाटाहरू हुन्, हामीले हाम्रो पुर्खाको गौरवगाथा गाउनु । हामी सगर्व भन्ने गछौर्ं, हामी नेपाली कहिले पनि कुनै शक्तिको सामुन्ने झुक्दैनौं । झुकेनौं । हामी भन्ने गछौर्ं, हाम्रा पुर्खाहरूले हातमा नांगा खुकुरी लिएर अंग्रेजहरूका तोपगोलाको सामना गरेका छन् । गोर्खालीहरूको बहादुरीको सामुन्ने बि्रटिस साम्राज्य पनि नतमस्तक हुन बाध्य भएको छ । नेपाल-अंग्रेज युद्धमा हाम्रा पुर्खाले अद्भुत वीरताको प्रदर्शन गरेका छन् । त्यसरी नै हाम्रा पुर्खाहरूले प्रथम विश्वयुद्धमा अद्भुत वीरताको प्रदर्शनी गरेका छन् । दोस्रो विश्वयुद्धमा पनि त्यसरी नै अद्भुत वीरताको प्रदर्शनी गरेका छन् । हामी नेपाली हाम्रो राष्ट्रको संरक्षण गर्न सक्षम छौं । हाम्रो देश कहिले कुनै विदेशी शक्तिराष्ट्रको गुलाम भएन । गुलाम हुने पनि छैन । दुर्बल पाटा हुन्, हामीमा आफ्नो राष्ट्रियता सम्बन्धमा ह्रास हुँदै गएको उदासीन भाव । हामीमा विदेशी थिचोमिचोको सामुन्ने झुक्ने प्रवृत्ति । हामीमा विकसित हुँदै गएको दासत्व मनोवृत्ति । ठूला शक्तिराष्ट्रका सामुन्ने हामी केही पनि होइनौं भन्ने हाम्रो कमजोर मनोविज्ञान । हामीमा गहिरो जरा गाड्दै गरेको हीनताबोध । यसले हामीलाई अत्यन्त कमजोर बनाएको छ । शक्तिहीन बनाएको छ । माओले एक ठाउँमा भनेका छन्- ठूला देशको राष्ट्रिय अहंकारवाद जति खराब कुरा हो, त्योभन्दा कम खराब कुरा होइन, साना देशको राष्ट्रिय हीनताबोध भाव । ठूला देशको राष्ट्रिय अहंकारवादले उसलाई नै हानि-नोक्सानी पुर्याउँछ । त्यसरी नै साना देशको राष्ट्रिय हीनताबोध भावले पनि त्यस मुलुकलाई निकै नै कमजोर बनाउँछ । हानि पुराउँछ । यतिबेला हामी नेपाली राष्ट्रिय हीनताबोधको भावनाले पीडित छौं । ग्रसित छौं । हामीले हाम्रा पुर्खाहरूको गौरवगाथालाई पूरै बिर्सेका छौं । माधव घिमिरेको गाउँछ गीत नेपालीले हामीलाई राष्ट्रिय हीनताबोधबाट मुक्ति दिनुपर्ने । लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ भन्ने निबन्धले हामीलाई राष्ट्रिय हीनताबोधको रोगव्याधिबाट उद्धार गर्न सक्नुपर्ने । भूपी शेरचनको यो नेपाली शिर उचाली भन्ने गीतले पनि हामीलाई राष्ट्रिय हीनताबोधको भावनाबाट छुटकारा दिन सक्नुपर्ने । सानो राष्ट्रको हीनताबोध राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको शत्रु हो । लोकतान्त्रिक गणतन्त्रको शत्रु हो । समानता र सार्वभौमिकताको शत्रु हो । प्रगति र सम्पन्नताको शत्रु हो ।

प्रकाशित मिति: २०६९ कार्तिक १, कान्तिपुर

Back