मेलमिलाप गराउन नसकेको सन्दर्भ - प्रस्तुतिः ईश्वरी ज्ञवाली (२०७० श्रावन २०, नेपाल राष्ट्रिय साप्ताहिक)
Print Friendly and PDF

वि सं १ पुस २०१७ मा राजा महेन्द्रद्वारा नेपाली कांग्रेसको दुईतिहाइ बहुमतको सरकार अपदस्थ गरी प्रधानमन्त्री बीपी कोइरालासहित धेरै नेता/कार्यकर्तालाई जेल हालिएको थियो। आठ वर्षको बन्दी जीवनपछि १४ कात्तिक ०२५ मा जेलबाट छुटेपछि बीपीले सरासर चाबहिल पुगेर भन्नुभयो, "श्री ५ को नेतृत्वमा प्रजातान्त्रिक आदर्शहरूप्रतिको आस्था व्यक्त गर्दै नेपाललाई बलियो, एकताबद्ध र उन्नतशील बनाउने मौसुफको सदीक्षालाई भक्तिपूर्वक सहयोग गर्नेछु।" उहाँले अगाडि भन्नुभएको थियो, "पञ्चायतका बारेमा अहिले यसभन्दा धेरै केही बोल्दिनँ। भर्खर जेलबाट बाहिर आएको छु। यस व्यवस्थाका बारेमा बुझेपछि केही कुरा बताउँला।"

१५ कात्तिकका सबैजसो पत्रपत्रिकामा उहाँका यी कुरा छापिए। तर, बीपीको यो कुरा विराटनगरको कोइराला निवासका निम्ति भने चित्तबुझ्दो भएन। त्यहाँ निकै हंगामा र खलबली मच्चिएछ। बीपीले पञ्चायतको विरोधमा कुरा नगर्दा त्यहाँ अनेक मिटिङ् र बैठक भएछन्। तर, लगत्तै उहाँ स्वास्थ्योपचारका लागि विराटनगर हुँदै १८ कात्तिकमा कोलकाताका लागि प्रस्थान गर्नुभयो। जब बीपी तीन महिनापछि विराटनगर फर्किनुभयो, पञ्चायतको विरोधमा बोल्न एलिट क्लबमा एउटा संवाद कार्यक्रम राखियो।

मेरो विचारमा उहाँलाई पञ्चायतको विरोधमा बोल्न लगाइएको थियो। तर, बीपीले पञ्चायतको विरोधमा बोलेपछि मलाई कस्तो कस्तो लाग्यो। झन् त्यस बेला बीपी र राजाका बीचमा मेल नगराएसम्म त देशले सही बाटो लिनै सक्दैनथ्यो। राजा र राजनीतिक दलका नेताबीच मेल भएन भने देशले निकास पाउँदैन र दिगो विकास हुँदैन भन्ने मेरो मत थियो।

त्यस बेला काठमाडौँबाट विराटनगर जान हवाईजहाजमा ५० रुपियाँ लाग्थ्यो। म सरासर विराटनगर गएर आफन्तकहाँ बसेँ र भोलिपल्ट कोइराला निवास पुगेँ। त्यहाँ बरन्डामा बसेर बीपीसँग निकै लामो कुराकानी भयो। 'राजा र तपाईं नमिलीकन देशमा शान्ति आउँदैन' भन्ने मेरो तर्क थियो। करबि ६ दिन म त्यहाँ बसेँ हुँला। उहाँसँग यही विषयमा निरन्तर कुराकानी भइरह्यो, बहस पनि चल्यो। अन्त्यमा उहाँले भन्नुभयो, "पञ्चायतका सम्बन्धमा मेरो वक्तव्य तपाईं नै लेखेर ल्याउनूस्। म सही गरिदिन्छु।" मलाई ठूलो जिम्मेवारी सुम्पिएजस्तो लाग्यो। मैले एक दिनको समय मागेँ।

वक्तव्य तयार गरेर जब म कोइराला निवास पुगेँ, हामीले त्यही बरन्डामा बसेर चार/पाँच कप कफी पियौँ। उहाँले एउटा वाक्य सच्याउनुभयो। मैले 'क्रान्ति' भन्ने शब्द उल्लेख गरेको थिएँ, त्यहाँ उहाँले 'पञ्चायत व्यवस्थाविरुद्ध क्रान्ति गर्ने होइन, आवश्यकता पर्‍यो भने पञ्चायतभित्रै सिजरङि् गर्नुपर्छ भनेको हुँ' भन्ने वाक्य थप्नुभयो। र, सही गर्नुभयो। म ज्यादै उत्साहित भएँ र दंग परेर त्यहाँबाट हिँडेँ।

त्यतिखेर अहिलेजस्तो सञ्चारको सहज सुविधा थिएन। एयर डकुमेन्ट गरेर त्यो सामग्री काठमाडौँ पठाएँ। आफ्नै पत्रिका थियो। नछापिने कुरै थिएन। आज छापिएला छैन, भोलि छापिएला छैन। कुर्दा कुर्दा पाँच दिन बित्यो, छापिँदैन। सोध्ने कुनै माध्यम छैन। आकाशवाणि गरेर सोधौँ, हल्लाखल्ला हुने डर। यता पत्रकारसहित नेताहरूको एक टोली आएर हप्काउँदो रहेछ कि 'मणिजीले गोप्य सामग्री पठाउनुभएको छ रे, त्यो नछाप्नू, छापे जेल पर्ने निश्चित छ। अरू के के हुन्छ, भन्न सकिन्न !' मेरो अनुपस्थितिमा प्रेसको काम छोरा ब्रजेशले हेथ्र्यो। ऊ पनि पढ्दै थियो, सानै थियो। छापे जेल पर्ने कुराले ऊ डराएछ र छाप्न अनकनाइरहेको रहेछ।

त्यत्तिकैमा त्यो कुरा टंकप्रसाद आचार्यले थाहा पाउनुभएछ। उहाँ सरासर डिल्लीबजारको मेरो घर, जहाँ प्रेस पनि थियो, मा आएर सोध्नुभएछ, "मणिले विराटनगरबाट बीपीको वक्तव्य पठाएका थिए रे ! हो ?" छोराले 'हो' भन्ने जवाफ दिएपछि नछाप्नुको कारण सोध्नुभएछ। छोराले मानिसहरू आएर धम्की दिएको कुरा बेलीविस्तार लगाएछ। उहाँ असाध्यै रसिाउनुभएछ, "आफ्नो पत्रिकामा के कुरा छाप्नुहुन्छ, के कुरा छाप्नुहुन्न भन्ने कुरा उनलाई थाहा छैन र ? यत्रो जोखिम मोलेरै यो सब गररिहेका छन्। छापिदिइहाल। रोक्ने कामै छैन।" नभन्दै भोलिपल्ट बीपी कोइरालाको त्यो वक्तव्य छापियो, काठमाडौँमा हंगामा मच्चियो।

नेपाली कांग्रेस र पञ्चायतभित्रकै केही मानिसहरू विराटनगर पुगे। राजा महेन्द्रसँग मिली मुलुकलाई नयाँ दिशा दिने बीपीको तयारीलाई बीचमै तुहाइयो र उहाँलाई विराटनगरबाटै भारततर्फ भगाइयो। यसरी बीपी र राजा महेन्द्रबीच मेल गराउने मेरो प्रयास तुहियो।

विराटनगरबाट काठमाडौँ उत्रिएको मात्र थिएँ, अञ्चलाधीश कार्यालयबाट ताकेता आइहाल्यो। विष्णुमणि आचार्य अञ्चलाधीश थिए। अञ्चलाधीश कार्यालयमा बयानको सिलसिला चल्यो। बयानका क्रममा मैले भनेँ, "एक्लो बीपीले मात्र विरोध गररिहे पनि पञ्चायतलाई कसैले मान्दैनन्। पञ्चायतभित्रै बीपीलाई ल्याएर राजासँग मिलाउन सकियो भने मात्रै देशको हित र कल्याण हुन्छ।"

मेरो यो कुरा उनले राजा महेन्द्रलाई जाहेर गरेछन्। तुरुन्तै मेरो राजासँग दर्शनभेट भयो। मैले बीपीसँग भएका सबै कुरा राजालाई बताएँ। राजा पनि बीपीप्रति सकारात्मक रहेको पाएँ। यदि बीपी त्यस बेला पञ्चायतमा प्रवेश गरेका भए, पञ्चायतको रूपै अर्को हुन्थ्यो।

प्रकाशित मिति: २० श्रावन २०७०, नेपाल राष्ट्रिय साप्ताहिक

Back