बीपी र राजतन्त्रबारे वास्तविकता - पुरञ्जन आचार्य (२०७० श्रावन २०, नेपाल राष्ट्रिय साप्ताहिक)
Print Friendly and PDF

बहादुर शाहको नायबीमा पश्चिम नेपालको एकीकरण अभियान चलिरहेको थियो, सवा दुई सय वर्षअगाडि। यो त्यही समय थियो, जतिबेला फ्रान्स र अमेरिकामा मानव सभ्यतालाई उचाइमा पुर्‍याउने क्रान्ति भइरहेका थिए। सन् १७८९ अर्थात् विसं १८४६। यही वर्ष अमेरिकामा संघीयतासहितको संविधान निर्माण भयो र फ्रान्सले राज्यक्रान्तिको बिगुल फुक्यो। अमेरिकामा जर्ज वासिङ्टन र थोमस जेर्फसनहरू राष्ट्रनायक भइरहेका थिए। फ्रान्सको राज्यक्रान्तिमा रोवेसपिरे, दाँते र मिरावोहरू विश्व इतिहास निर्माण गर्दै थिए। यता नेपालमा चाहिँ मुलुक एकीकरण अभियानको तेस्रो चरणलाई अमरसिंह थापा र दामोदर पाँडेहरू पश्चिमका विभिन्न किल्लाबाट अगाडि बढाइरहेका थिए।

बीपी कोइरालाले पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई तत्कालीन समयको ऐतिहासिक आवश्यकता भनेका छन्। तर, अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सको राज्यक्रान्तिबाट भने आफू अत्यन्त प्रभावित भएको भन्दै युवाहरूलाई इतिहासको त्यस कालखण्डलाई बुझ्न क्रेन बि्रन्टोनद्वारा लिखित पुस्तक एनाटोमी अफ रेभोलुसन पढ्न सुझाव दिन्थे। तिनै बीपीको अवसान भएको तीन दशकभन्दा बढी भयो तर अझै पनि नेपाली कांग्रेसभित्र उनका विचारहरू खण्ड-खण्डमा मात्र समात्ने काम भएको छ।

खण्ड-खण्डमा बीपीका विचारलाई समात्ने प्रवृत्तिका कारण उनको राष्ट्रिय मेलमिलापलाई पूर्वपञ्चदेखि कांग्रेस र स्वयं बीपीकै परिवारबाट समेत आफू अनुकूल व्याख्या हुन थालेको छ। बीपीको समग्र व्यक्तित्वलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने कार्यमा राज्य र कांग्रेस दुवै चुकेकाले यस्तो हुन गएको हो।

बीपी विचार के हो ? के बीपी राजावादी र गणतन्त्रविरोधी थिए ? बीपी कोइराला आज जीवित भएका भए कांग्रेसलाई संघीयता अस्वीकार्य हुन्थ्यो ? अहिले नेपाली कांग्रेस बीपी विचारबाट कति टाढा र कति नजिक छ ? वर्तमान राजनीतिमा बीपीले कांग्रेसको मात्र प्रतिनिधित्व गर्छन् कि समग्र राष्ट्रको ? छलफल अझै जारी छ र जारी रहनेछ।

बीपी र कांग्रेस निर्माणको अभियान
बीपी ६४ वर्षअगाडि युवा विद्यार्थीलाई संगठित गरी भारत प्रवासको समयमा नेपाली कांग्रेस निर्माण गर्न सफल भए। भारतमा पढ्न गएका विद्यार्थी र राणा कुलबाट हेपिएका एवं अपमानित भएकालाई समन्वय गरी कांग्रेस निर्माण भयो। त्यस क्रममा स्वाधीन भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुभन्दा भारतका समाजवादी नेताहरू आचार्य कृपालानी, नरेन्द्रदेव, राममनोहर लोहिया र जयप्रकाश नारायणका साथै विजयालक्ष्मी पण्डितको पनि प्रत्यक्ष सहयोग र समर्थन बीपीलाई थियो।

भारतीय समाजवादीहरूको सहयोग र भारतीय राष्ट्रिय कांग्रेसको सद्भाव लिएर ३६ वर्षको उमेरमा उनले ००७ सालको क्रान्तिको नेतृत्व गरे। क्रान्तिअगावै कांग्रेसको ००६ सालको घोषणापत्रमा राजालाई 'तिमीले शासन गर्ने होइन, शासन जनप्रतिनिधिले गर्नुपर्छ' भन्ने चेतावनीयुक्त स्वर बीपीले बोलेर र लेखेर प्रकट गररिहे नै।

००७ सालको क्रान्ति र प्रतिक्रान्ति
राणा शासनको अन्त्यसँगै दिल्ली सम्झौतादेखि नै लोकतन्त्र र बीपीमाथि षड्यन्त्र सुरु भयो। राजा त्रिभुवन भारतसँग मिले। नेहरुलाई बीपीको स्वतन्त्र व्यक्तित्व र समाजवादीहरूसँगको साँठगाँठ मन परेन। अनि, बीपीलाई राजा र भारत मिलेर पन्छाउने खेल सुरु भयो। ००७ सालका क्रान्ति नायक बीपी नभएर राजा त्रिभुवन हुन् भन्ने सन्देश प्रवाह गर्न दिल्ली सम्झौता हातमा हल्लाउँदै राजा त्रिभुवन काठमाडौँ अवतरति भए। तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले राजा त्रिभुवनलाई स्वागत गरे, काठमाडौँका जनताले पनि राजासँगै आएका बीपीभन्दा त्रिभुवनकै जयजयकार गरे।

बीपीको नेतृत्वमा कांग्रेसले गरेको क्रान्तिको परिणाम राणा सत्ताबाट हटे। तर, राजाको जयजयकारमा क्रान्ति टुंगियो। यसबाट बीपी विचलित भएको कुरा धेरै पछिसम्म पनि सुनिन्थ्यो। ००७ सालको क्रान्तिलाई निस्तेज गर्न त्यतिले मात्र पुगेन। बीपीलाई होच्याउन उनका दाजु मातृकाप्रसाद कोइरालालाई गान्धीवादी भनियो, राजा समर्थक बनाउने प्रपञ्च रचियो। भारतले बीपीभन्दा मातृकाप्रसादलाई महत्त्व दिएको कुरा बाहिर आयो। कोइराला परिवारबाट सर्वप्रथम राजाको भक्तिभाव गर्न तम्सने मातृकाप्रसाद शिष्ट र सुसंस्कृत व्यक्तित्वका धनी थिए। तर, उनी दरबार प्रपञ्चमा फसेर जीवनपर्यन्त हीनताबोधमा बस्न बाध्य भए।

००७ सालका क्रान्ति नायक बीपीमाथि भारत र नेपालको राजतन्त्रले सुनियोजित षड्यन्त्र गरे, कांग्रेसलाई परविर्तनको जस दिन तयार भएनन्। दरबारले ००७ सालको परविर्तनको जस आफू लिन र बीपीलाई पन्छाउन कुनै कसर बाँकी राखेन। तत्कालीन राजा त्रिभुवन नै प्रतिक्रान्तिको नेतृत्व लिन अग्रसर थिए। अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले बीपीलाई 'नेपालका राजाहरूलाई तह लगाएर हामी राणाहरूले १ सय ४ वर्ष शासन चलायौँ, तिमीहरूले त्यो नरभक्षी बाघलाई खुला गरेका छौ, पश्चात्ताप गर्नुपर्ला' भनेका थिए।

राजा त्रिभुवनको धोकासँगै बीपी रणनीतिक रूपले युवराज महेन्द्रको मन जित्ने प्रयत्नमा लागेको बुझिन्छ। त्रिभुवनले समेत बीपी रणनीतिक रूपमा महेन्द्रलाई उपयोग गर्दै छन् भन्ने थाहा पाएपछि चेतावनीको स्वरमा 'बीपी तिमीलाई मेरो छोरो महेन्द्रले रुवाउनेछ' सम्म भन्न भ्याएका थिए। राजा त्रिभुवन र युवराज महेन्द्रको संवादहीनता र बिग्रँदो पारिवारकि सम्बन्धलाई बीपीले अग्रसरता लिएर मिलाउँछन्। बीपी राजदरबारको तौरतरिका, षड्यन्त्र र काम गर्ने शैलीबाट अपरिचित भएर भौँतारिएको अवस्थाबाट अचानक कांग्रेसको संगठन र समाजवादी विचारलाई अगाडि बढाउन देश दौडाहामा निस्कन्छन्।

एकातिर अन्तिम राणा प्रधानमन्त्रीले राजतन्त्रलाई लिएर दिएको चेतावनी अनि अर्कोतिर राजा त्रिभुवनले आफ्नै छोरा महेन्द्रबाट सतर्क रहन दिएको खबरले बीपीका अगाडि द्विविधा हुनु स्वाभाविक थियो। बीपी बिस्तारै राजतन्त्र छलछाम र पाखण्डको बीच उभिएको बुझिरहेका थिए। दरबारभित्रका षड्यन्त्र र ढोँगबाट पनि उनी परिचित भए। बीपीको त्यो कालखण्डमा प्रकाशित कैयन् विचार र कार्यक्रमबाट उनी राजावादी हुन सक्छन् भन्ने आधार भेटिँदैन। ००७ सालको आन्दोलनका कमान्डर आफ्नै दाजु मातृकाप्रसादले राजाको निगाहबाट प्रधानमन्त्री पाएपछि पार्टी र जनताको पक्षमा जान चाहेनन्।

राजाको भक्तिभाव र कांग्रेसको नीतिविरुद्ध गएका कारण बीपीले मातृकालाई पार्टीबाट निकाल्नुपर्ने परिस्थिति बन्छ। सिद्धान्त र जनइच्छाविपरीत जाँदा आफ्नै दाजुलाई समेत कारबाही गर्न बाँकी नराख्ने उनको स्वभावबाट नेपालको राजतन्त्र थर्कमान हुन्छ। बीपीको ज्ञान, अन्तर्राष्ट्रिय सम्पर्क र राजनीतिक क्षितिजमा गणतन्त्रको भाव नेपालका राजा र दरबारले बुझिरहेका थिए। बीपी सोसलिस्ट इन्टरनेसनलका नेता थिए। कांग्रेसको अन्तर्राष्ट्रिय आबद्धता सोसलिस्ट इन्टरनेसनलसँग उनैको सक्रियतामा भएको थियो, जुन आजपर्यन्त छ। बीपीलाई पश्चिमा जगत्ले 'एसियाका लेनिन' भनेर चिन्थ्यो। बीपी अवसानको साँझ बीबीसी हिन्दी सेवाबाट प्रसारति उनको संक्षिप्त जीवनीमा उनलाई एसियाका लेनिन भनिएको थियो। चेतनास्तर, अन्तर्राष्ट्रिय सम्पर्क, अभिव्यक्त विचारहरू र कार्यशैलीबाट उनी किमार्थ राजावादी हुन सम्भव देखिँदैन। दरबारले यो कुरा बुझेको थियो।

षड्यन्त्र, जेल र प्रवास
दरबारिय षड्यन्त्रको प्रपञ्चबाट संविधानसभाको ठाउँमा संसद्को निर्वाचन गर्ने घोषणा बीपीले लोकतान्त्रिक अभ्यास भनेर स्वीकारेका हुन्। बीपीले आफ्ना तमाम लेखहरूमा 'दरबार'लाई षड्यन्त्रको थलो भनेका छन्। दरबार र यसका आसेपासेहरू सधैँ जनता र लोकतन्त्रका विरोधी रहेको उनका विचार यत्रतत्र छरिएका छन्। राजतन्त्र अर्थात् राजा बस्ने दरबारलाई सम्पूर्ण षड्यन्त्रको थलो देख्ने बीपी राजतन्त्र पक्षपाती भनेर कांग्रेसबाटै आजपर्यन्त चिच्याहट आउनु दुर्भाग्यपूर्ण हो।

०१५ सालको संसद्को निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याउँछ र दरबारका अनेक षड्यन्त्रलाई चिर्दै बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्छन्। अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरलाई बीपीले १२ वर्षअघि 'पुर्पुरोमा लेखेर होइन, जनताको चाहनाबाट प्रधानमन्त्री बन्ने व्यवस्था नेपालमा आउनेछ' भन्ने संकल्प पूरा भएको दिन थियो त्यो। तर, दरबार आत्तियो, राजा महेन्द्र आत्तिए। अन्ततः बीपीको लामो जेल जीवन र प्रवाससँगै नेपालमा निरंकुश राजतन्त्रले ठाउँ लियो।

बीपीले संविधानसभाको निर्वाचन त्यागेर संसद्को निर्वाचन स्वीकार्नाले राजा महेन्द्रले 'कू' गर्न सकेको भन्ने एकथरी विश्लेषकहरूको आरोप छ। नेपाली समाजको तत्कालीन चेतनास्तर, कांग्रेस पार्टीको बनोट र भारतको चालबाट बीपी अनभिज्ञ थिएनन्। संविधानसभा र गणतन्त्र बीपीको चेतनामा रहेको बुझ्न सकिन्छ, कार्यशैली उनको प्रगतिशील र जनमुखी थियो। उनी संविधानसभाको निर्वाचनद्वारा संविधान निर्माण गरी राजतन्त्रलाई जनइच्छाको कसौटीमा राख्न चाहन्थे। तसर्थ, बीपी लामो समयसम्म संविधानसभाको मागमै अडिग रहे। तर, राजतन्त्र भएको देशमा संविधानसभाबाट संविधान बन्दैन भनेर राजा महेन्द्रले संसद्को निर्वाचन गर्ने घोषणा गरे। महेन्द्र संविधानसभाको माध्यमबाट बीपीले राजतन्त्र उखेल्न पनि सक्छन् भनेर डराएका थिए। युरोपमा संविधानसभाबाट राजतन्त्रहरू फ्याँकिएका उदाहरण उनका अगाडि थिए। बीपी पनि युरोप र छरछिमेकमा भएका क्रान्तिहरूबारे चर्चा गररिहन्थे।

त्रिभुवनले छल गरे, महेन्द्रले जेल र प्रवासमा कांग्रेसका हजारौँ कार्यकर्तालाई पुर्‍याए। तर पनि बीपीले नेपालका राजाहरूबारे तीतो अभिव्यक्ति दिन कहिल्यै रूचाएनन्। 'यदि राजालाई प्रजातन्त्र चाहिँदैन भने हामीलाई पनि राजतन्त्र चाहिँदैन' भन्ने बीपीको अभिव्यक्ति विसं ३० को दशकको सुरुताका लोकतान्त्रिक अभियानमा होमिने युवाका लागि क्रान्तिकारी ऊर्जा थियो। कलेज र विश्वविद्यालय मात्र होइन, सहरका भित्ताहरूमा पनि यस्ता नारा भेटिन्थे। तर, लोकतान्त्रिक अभियानमा सरकिहरूको हत्याका कारण सशस्त्र संघर्ष असफल भयो। बीपीको भारत बस्ने औचित्य पनि सकियो।

नयाँ बीपी, नयाँ नीति
आठ वर्षको जेल र त्यति नै समय प्रवास जीवनपछि बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्के। भारतका समाजवादी मित्रहरू, जो त्यहीँ कमजोर र प्रभावहीन भएका थिए र भारतीय राष्ट्रिय कांग्रेसका नेताहरूबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई निःसर्त सहयोगको सम्भावना समाप्त भएको बुझेपछि नै उनी स्वदेश फर्केका थिए। बीपीको आठ वर्षको भारत बसाइ खासै उपलब्धिपूर्ण नभएको बरू ठूलो क्षति बेहोर्नुपरेको कुरा कांग्रेसको इतिहासमा सदा सुरक्षित रहनेछ।

जीवनको उत्तरार्द्धमा जोखिम उठाई नेपाल प्रवेश गरेका उनले निरंकुश राजतन्त्रको जगै हल्लाइदिए। बीपीको नेपाल प्रवेशसँगै पञ्चहरू झस्के, कम्युनिस्टहरूले फेरि सलबलाउने अवसर पाए र कांग्रेसमा नयाँ ढंगको ऊर्जा जाग्यो।

बीपी नेपाल आउँदा राजाको निरंकुशताले पञ्चायतको नाममा गाउँघर सबैतिर जरा गाडिसकेको थियो। प्रतिपक्षी राजनीतिक छलफल र चर्चा कोठे गफ एवं विद्यार्थी तहबाट माथि उक्लिन सकेको थिएन। झापाली समूहले बालेको नक्सलवादी झिल्को पनि निभेर खरानी भइसकेको थियो। यस्तोमा बीपी नयाँ झिल्को भएर देशमा आएका थिए। शीतयुद्धको कालखण्डमा बीपी कम्युनिस्टहरूसँग हातेमालो गरी लोकतन्त्रलाई धरापमा पार्न चाहँदैनथे। यहीँनेर उनलाई कम्युनिस्टहरूले राजावादीको आरोप लगाए। यो कम्युनिस्ट आरोपलाई बीपीले धेरै खण्डन गर्नुपर्ने आवश्यकता नै थिएन। कम्युनिस्टहरू लोकतान्त्रिक हुन्छन् भनी मान्ने आधार तिनताका विश्वमा कतै देखिएको थिएन र बीपीले कम्युनिस्टको अधिनायकवादी सिद्धान्तसँग सहकार्य गर्न नरुचाउनु स्वाभाविक थियो। ज्ञातव्य रहोस्, बीपीको देहावसान भएको झन्डै एक दशकपछि मात्र नेपालका कम्युनिस्टहरू निर्वाचनको माध्यमबाट राजनीतिमा प्रवेश गरेका हुन्।

राजा वीरेन्द्रले पनि आफ्ना पूर्वजले झैँ भारत प्रवासबाट आएका बीपीको सहयोग र सद्भाव पटक्कै रुचाएनन्। यहाँसम्म कि, बीपीले 'मेरो होइन, देशको स्वास्थ्य बिगि्रएको छ, सरकारलाई भेटेर भन्न चाहन्छु' भन्दा पनि भेट पाएनन्। बीपीलाई उपचारका लागि अमेरिका पठाउने सदाशयता देखाएका तत्कालीन राजाले त्यही अवसर पारेर कांग्रेसका भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई कोसी र कमलाको तीरमा गोली हानेर मारे। यही कालखण्डमा नेपाली कांग्रेसमा राजावादीभन्दा तीन हातमाथि बीपीको आसपास राजावादीहरूको झुन्ड बस्न थाल्यो। बीपीले राजा दरबारमा घेरिएको भनिरहँदा उनी स्वयं राजावादीहरूबाट घेरनि पुगे।

कांग्रेसको यही कालखण्डमा बीपीको तरुणमा छापिएका ऊर्जावान् र क्रान्तिकारी विचारहरू अलप भए। कैयन् लेखहरू पुनःमुदि्रत गरी छापिए। बीपीलाई राजावादी देखाउने 'प्रोजेक्ट' अन्तर्गत कांग्रेसको एउटा समूहबाट राजभक्ति नै सुरु भयो। अहिले बीपी-पुत्र डा सशांक कोइरालाले राष्ट्रियताका लागि राजाको आवश्यकता देख्ने चस्मा त्यही प्रोजेक्टको डिजाइन हो। राजा वीरेन्द्रले बीपीलाई छल गरे। तिनै बीपीले जनमतसंग्रहपछिको राजाको तथाकथित आमनिर्वाचन बहिष्कार गरिदिए।

०३७ को जनमतसंग्रहको अभ्यास पनि बीपीको अनुकूल भएन। यही क्रममा उनले देश-विदेशमा बसेर कांग्रेस कार्यकर्तालाई बुझ्ने र तिनको सामथ्र्य पहिल्याउने अवसर पाएका थिए। तसर्थ, बीपी कुनै आन्दोलनबाट देशमा दबाब दिने पक्षमा गएनन्। प्रखर बौद्धिकता र मानव मनोविज्ञानलाई बुझ्ने क्षमताले बीपी भन्ने गर्थे, 'मसँग देश चलाउने टिम नै छैन।' जनमतसंग्रहमा पराजित भएपछि बीपीले देश भ्रमणको क्रममा यही वाक्य कार्यकर्तामाझ भनेका थिए। वास्तवमा झन्डै दुई दशकको अनवरत संघर्षपछि कांग्रेसमा आन्दोलन उठाउने ऊर्जा नै नभएको बीपीले अनुमान गर्नु स्वाभाविक थियो।

बीपीको देहावसान भएको एक दशकपछि लोकतन्त्र पुनःस्थापित भयो, कम्युनिस्टहरूसँगको कार्यगत एकताले। कांग्रेसले देश सञ्चालनको नेतृत्व पायो। तर, सरकार चलाउन सकेन र पटक-पटक पाएको अवसर गुमायो। बीपीले 'कांग्रेसमा देश चलाउने टिम छैन' भनेको कुरा सत्य प्रमाणित भयो। बीपी तीन जना राजासँग लडे। उनीहरूसँगको बीपीको अनुभव सुखद रहेन।

देहावसानपछि पनि दरबारबाट निस्केको राजा वीरेन्द्रको विज्ञप्तिमा बीपीप्रति घोर उपेक्षा र अनादर प्रस्टै देखिन्छ। सम्भवतः बीपीलाई नेपालका राजाहरूबाट त्यसभन्दा असल नियतको अपेक्षा पनि थिएन होला। तर, किन हो ? कांग्रेसका केही नेता र थुप्रै कार्यकर्ता त्यस बेलादेखि अहिलेसम्म पनि 'राजाबाट कांग्रेसलाई सुमसुमाएर माया गरबिक्सिन्छ' भन्ने भ्रम पालेर बसेका छन्।

यस्तै भ्रम बीपी परिवारबाटै मातृकाप्रसादपछि पनि दुई जनाले पालेका रहेछन, जुन सार्वजनिक भइसकेको छ। जस्तो ः बीपी-पुत्र प्रकाश कोइराला राजालाई सहयोग गर्ने अग्रपंक्तिमा थिए, ०४६ को आन्दोलनताका। कांग्रेसमा धेरैले भविष्यका नेता भन्ने ठानेका प्रकाश कुन तर्क र शास्त्रज्ञानले राजाका हुन पुगे र आज यो हविगतमा पुगेका छन्। त्यस्तै सारा युवाजीवन जेल र प्रवासमा बिताएर क्रान्तिकारी चरत्रि बोकेकी शैलजा आचार्यले बीपीको समग्र व्यक्तित्वलाई बुझेको विश्वास कांग्रेसजनलाई थियो। तर, दुर्भाग्य ! राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध डटेर नेतृत्व दिनुपर्ने बेलामा उनी पनि चुकिन्। क्रान्तिकारी नेतृ आचार्यले जीवनको उत्तरार्द्धमा भोगेका पीडा र छटपटीको वर्णनचाहिँ यहाँ शब्दमा कठिन छ।

गणतन्त्रको बाटो
गिरिजाप्रसाद स्वयं पनि माओवादीलाई मूलधारमा ल्याउँदा बीपीको राष्ट्रिय मेलमिलाप नीतिको विपरीत पुगिने सन्त्रासमा केही कालसम्म रहेका थिए। तर, गिरिजाप्रसाद मानसिक रूपले गणतन्त्रका लागि तयार भइरहँदा त्यसको आवाज राजधानीलगायत देशभरिका सडकमा गुञ्जायमान भयो।

त्यही गणतन्त्र अहिले गन्जागोल भएको भनिँदै छ। तर, ठूलो परविर्तनपछि आउने यस्ता गन्जागोललाई अस्वाभाविक मानिँदैन। विश्व इतिहासले पनि यही सिकाएको छ। भारतका राजाहरू सकिँदा पनि त्यहाँ केही काल गन्जागोल भयो। चीनमा पनि त्यस्तै भयो। युरोपका निकम्मा र षड्यन्त्रकारी राजतन्त्रलाई समाप्त गरी नयाँ सामाजिक र राजनीतिक संरचना निर्माण गर्ने कार्य सजिलो थिएन। पेरसि र मस्कोका सहरका सम्भ्रान्तहरू राजतन्त्र समाप्तिपछि दशकौँसम्म राजाको पुनरागमनको आशमा रातो कार्पेट बिछ्याएर बसेका थिए।

संविधानसभाको निर्वाचन अगाडि छ। तर, संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्न कांग्रेस मानसिक रूपले अझै तयार देखिँदैन। मानसिक, सांगठनिक र कार्यक्रमहरूबाट तयार नभई मुलुकको राजनीतिक संक्रमण समाप्त हुने लक्षण छैन। संविधानसभा-१ बाट नेपालमा कम्युनिस्टहरूको क्षमता र योग्यता प्रस्ट भइसकेको छ। चार जना होनहार कम्युनिस्ट देशका प्रधानमन्त्री भए तर संविधान आएन, संक्रमणकाल समाप्त भएन।

कांग्रेसले माओवादी लडाकू समायोजन र प्रदेश निर्माणमा लिएका आधारहरू जनपि्रय हुँदै छन्। मधेसवादीको टुटफुट, माओवादीको अवसरवादी चरत्रि र एमालेको ढुलमुले नीतिबाट खिन्न र दिक्दार नेपाली जनताले कांग्रेसको मध्यमार्गी सोचसँग आफूलाई सुरक्षित र भयमुक्त बन्ने वातावरण निर्माण भएको छ। यस्तोमा कांग्रेसका महानायक र प्रकाशपुञ्ज बीपी कोइरालाको व्यक्तित्व संकुचन गर्ने कार्य शोभनीय होइन। बीपी राष्ट्रवादी पक्कै हुन्, राजावादी होइनन्।

प्रकाशित मिति: २० श्रावन २०७०, नेपाल राष्ट्रिय साप्ताहिक

Back