बिपीको पत्र रमेशनाथ पाण्डेलाई - वीपी कोइराला (मिति : २०७० मंसिर २९, शनिबार)
Print Friendly and PDF

प्रिय रमेश
तिम्रो चिठ्ठी पाइरहेको छु। सायद प्राय: सबै।

आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको स्रोत मानिसको अन्तरहृदयमा सरस्वतीजस्तो अदृश्य भएर प्रवाहित भइरहेको छ, जसमा वेसुध भएर मानिस युग-युगान्तरदेखि बग्दो छ, बग्दो छ। श्रद्धा र विश्वासको यत्रो सहज दृश्यका सम्मुख नास्तिकताको स्थापना दर्प र अहंकारको भंगीजस्तो लाग्छ।

तिम्रो आज जन्म दिवस पनि हो। तिमीले कुन प्रज्ञात चातुर्यद्वारा आजको बडा दिनमा पृथ्वीमा अवतीर्ण हुने निधो गर्‍यौ? तेसैले- जसले तिमीलाई आफ्नो जन्म दिवस रोजायो- तिमीलाई जीवनमा बडाबडा कार्यपट्टि अग्रसर गराइरहने छ। तिमीलाई मेरो आशीर्वाद छ- ठूलोठूलो भए। कुनै प्रकारको नि नता र तुच्छताले तिमीलाई स्पर्श गर्न नसकोस्।

सत्य या असत्य के हो तेसको चर्चा या अनुसन्धानपट्टि मात्र मानिस लागिरह्यो भने ऊ रहस्यवादको लोकमा पुग्छ जहाँको प्राप्ति, देखिने नदेखिने, बुझिने नबुझिने, प्रकाश र छायाँको द्वाभामा झुलुक्क हुने र नि ने कुनै वस्तु भेट्टाएको जस्तो भान, अनुमान र अनुभवको हलुको स्पर्श मात्र हुन्छ। जीवनमा तेस्तो परास्तकारी रहस्यवादको स्थान होला। तर आज तिमीलाई यौटा कुरा सम्झाउन चाहन्छु। त्यो के हो भने, तिमी कर्तव्यशीलताको आधार रहस्यवादी लोकको कुनै मापमा नभएर, दैनिक जीवनमै उपलब्ध हुने वस्तुमा नै अडोस्।

कन्फ्युसियसको भनाइ छ कि मानिस उसको आचरणको संज्ञा हो र आचरणबाट उसको पहिचान हुन्छ। तेसो हुनाले मानिसले कस्तो आचरण गर्ने भन्नेमा उनको उपदेश छ कि तिमीले अरूका प्रति तेस्तै आचरण गर जस्तो तिमी अरूद्वारा आफ्नाप्रति चाहन्छौ। कान्टले पनि पछि जीवनको यै सिद्धान्तलाई प्रतिपादन गरेका थिए। नैतिकताको योभन्दा भरपर्दो अर्को सिद्धान्त छैन, जसलाई जीवनमा प्रयोग गर्न सकिन्छ। आजको दिन तिमीलाई आशीर्वाद पठाउँदा यो व्यावहारिक दर्शन र नैतिकताको उपदेश पनि पठाइरहेको छु।

मेरो स्वास्थ्य बडो राम्रो छ। वजन यता एकडेढ महिनादेखि लिएको छैन, तेसो हुनाले यता म बढेको छु कि छैन त्यो त भन्न सक्दिनँ तर स्फूर्ति छ मलाई। ले न पनि मन लागिरहेको छ। म आफ्नो जीवनगाथा पनि लेख्दैछु तर तेसमा मलाई उति दिलचस्पी लागिरहेको छैन। यद्यपि म आफ्नो जीवनीलाई ५० वर्षको नेपालको राजनीतिक सामाजिक इतिहासको पृष्ठभूमिमा टाँसेर तेसलाई केही तटस्थतासँग अध्ययन गरिरहेछु र तसर्थ यस्तो केही मूल्य हुन जाला जस्तो लाग्छ, तर मेरो जीवन त अझै निर्मित हुँदैछ जसले कुनै स्पष्ट मूर्तिमा आकार ग्रहण गरिसकेको छैन।

प्रति नयाँ वर्षले पहिलेका वर्षहरूलाई या त गलत या निष्प्रयोजनीय र अप्रासंगिक पार्दै जान्छ। तैपनि तिम्रो आग्रहमा आत्मकथामा पनि हात हालेको छु। मलाई लाग्छ, म नेपाली समाजको संक्रमणकालमा जीवित छु र मेरो जीवनी तीन पिँढीमा फैलिएको छ- एक त आफ्नै पिँढी, अर्को मेरो पिताजीको र तेस्रो मेरा छोराहरूको अर्थात् बिलाउन लागेको समाजलाई पनि मैले देखेँ र त्यहाँ पनि मैले सास फेर्ने मौका पाएँ, र निर्मित हुन लागेको समाजको गठनमा पनि, मेरो सानो योगदान रह्यो।

तेसो हुनाले एक दृष्टिमा यानि आँखाको एक घुमाइमा- म ५० वर्षको नेपालको बदलिँदो इतिहासलाई टिप्न सक्छु। आत्मकथामा तेस्कै प्रयत्न गर्दैछु। तर, धेरै मेहनत लाग्ने भएको छ। ऐले त भरखर प्रार भमात्र गरेको छु। म आउने आश्विनमा ४९ वर्ष पूरा गरेर ५० वर्षमा प्रवेश गर्छु। तिमीले केही वर्षलाई केही घटाएर लेखेका थियौ, तेसो हुनाले सच्याई पठाएको छु।

तिमीले आफ्नो चिठ्ठीमा यौटा बडो रोचक प्रश्न उठाएका छौ कि प्रत्येक रामचन्द्रले किन वनवास जानुपर्ने, प्रत्येक क्राइस्टले किन सुली चढ्नुपर्ने, प्रत्येक गान्धीले किन हत्याराको सिकार हुनुपर्ने? उत्तर म पनि खोजिरहेको छु। मलाई लाग्छ, तेस्को कारण समाजको द्विपक्षीय तानातान हो। समाजको एक पक्ष छ यथास्थितिताको ठूलो भार जसले समाजलाई एक ठाउँमा अड्याएर राखेको छ। समाजको साधारण दैनिक जीवनको एकनासको स्थितिलाई यस पक्षले सुरक्षा गरिराखेको छ।

यस पक्षको महत्त्व यस्मा छ कि यसले समाजमा प्राणीलाई आफ्ने आफ्नो थान्कोमा र पेसामा संलग्न पारिराखेको छ, यसले हाम्रो मुखमा माड हाल्छ, हाम्रो पिठ्यूँमा कपडा र हाम्रो टाउकोमाथि छाना। यस पक्षले समाजलाई जीवित राखिछोडेको छ। तर, समाजको अर्को पक्ष पनि छ- यथास्थितितामै नअडिइरहने, अगाडि प्रगति गर्ने। समाजको विकासको पक्ष। इतिहास यही पक्षको गाथा हो- कसरी मानिस आफ्नो तत्कालको स्थितिमै आउन नचाहेर अगाडि बढ्ने बाटो बनाउँदै आएको छ।

समाजको यथास्थितिताको भारको आफ्नो खिचाव र प्रगतिको अगाडिपट्टिको तनाइले संघर्ष सृष्टि गर्छ र यस संघर्षमा प्रार भमा अगुवालाई बारबार समाजको अप्रगतिशील तत्त्वबाट दण्डित भइरहनुपर्छ। पछिपछि समाज अगुवाले निर्देशन गरेको बाटोलाई अपनाउन थाल्छ र सुलीमा चढाइएको क्राइस्टलाई देव-पुत्र भनेर पूजा पनि गर्न थाल्छ। रामको पनि त्यै गति भयो। गान्धीको पनि त्यै। तेसो हुनाले मौलिक प्रश्न यो छ- के समाजको तेस्तो गठन सम्भव छैन, जसमा प्रगति, क्रान्तिकारी नभएर, संघर्षमय नभएर, शान्तिमय र 'अटोमेटिक' (स्वयं चालित) हुन सकोस्?

तिम्रो पत्र (नयाँ संदेश) १९ गते पछिको आएन। समयमा निकाल्ने प्रयत्न गर्नु। पत्रका सम्बन्धमा यो ध्यान राख्नुपर्छ कि त्यो आदर्श लक्षित होस्। अहिले जुन कठिनाइमा तिमीले पत्र निकाल्नु परेको होला, त्यसको म अनुमान गर्न सक्छु।

श्री गुनदाले पठाएको 'इन्काउन्टर' हरू कतै पनि मैले पाइनँ। तिम्रो चिठ्ठीमा उनको चर्चा थियो। उनी मेरा परम मित्र र हितैषी हुन्। जे.पी.ले पठाएका प्रस्तावहरू आउनेबित्तिकै मकहाँ पठाइदिनू। यसपालि सुशीलाहरू कसैको वनारसबाट खबर आएन। सुशीलालाई चिठ्ठी पठाउँदैछु। उनको मलाई चिन्ता लागिरहन्छ। कामिनीको बारेमा मलाई लेख्नू।

तारिणीहरू कस्ता छन्? के गर्छन्? सबैलाई मैले एकएक गरेर सम्झेको छ भन्नु। शैलजाहरूकहाँ पनि। उनीहरूको याद आइरहन्छ। तारिणी र नोनाहरूको बारेमा विस्तारपूर्वक लेख्नू।

मेरा साथी कस्ता छन्?

रोसालाई चिठ्ठी लेखेको छैन मैले यसपालि।

न्हुच्छेमानलाई मैले सम्झेको छु। मीराले लुगा धुएर पठाउँथिन् मलाई। यसपालिदेखि आफैं धुन्छु। उनलाई भनिदिनू। नसके फेरि पठाऊँला।

बुनूले भेट्ने अनुमति पाइनन् कि क्या?

नारायणजीका निम्नलिखित पुस्तकहरू मकहाँ छन्। दीर्घराजलाई भनदिने। म अहिले आफैंसँग राख्छु। दीर्घराजमार्फत आएको एउटा अमेरिकन लाइब्रेरीको पुस्तक पनि छ। तेसलाई पनि अहिले राख्छु।

    १. थ्री प्लेज- सात्रँ
    २. इन क्यामेरा- सात्रँ
    ३. मिथ अफ सिसिफस- कामु
    ४. दी क्यासल- काफ्का
    ५. एक्जाइल दी किङ्डम- कामु
    ६. डायरी अफ र राइटर्स- दोस्तोभस्की
    र लाइब्रेरीको डुरान्ट्स हिस्ट्री अफ फिलोसफी ।

नारायणजीकहाँ किताबहरू आएका भए दीर्घराजलाई भनेर मागी पठाउनू।
भयो आज-

मायाका साथ
सान्दाजु

(स्रोतः२०७० मंसिर २९, शनिबार, अन्नपूर्ण पोस्ट्)

Back