पहिलोपल्ट वि.पी. लाइ पढ्दा - वसन्त बलामी (२५ श्रावण 2069, kunakani.blogspot.com)
Print Friendly and PDF

चिसापानी ब्लग,बुक संसार र श्रुतिसंवेग बाट साहित्यलाइ सुन्न सकिने कुरा थाहा पाएदेखि डाउनलोड गर्दै सुन्न थालेको छु । अचेल उपन्यासहरु सुनेर पढ्ने गरेकोले नयाँ अनुभूति गरिरहेको छु । प्रत्येक बिहान काममा हुँदा नै मेरा कानमा उपन्यास वाचन चलिरहने हूँदा समयको पनि सहि उपयोग भएको जस्तो लागेको छ ।

वि.पी. कोइरालाले लेखेको उपन्यास सुम्निमा श्रुतिसम्बेगबाट डाउनलोड गरेर सुनियो । फ्रायडको यौनमनोविञान लाई आफ्नो रचनामा जमाएर व्यक्त गर्ने साहित्यकार वि.पी. कोइरालाको यसअघि पनि केही किताब पढ्ने कोशिस गरेको थिएँ । तर किताब हातमा परेपनि पूरा पढ्न कहिले सकिएको थिइन । यस पल्ट भने आफुले आँखा फारेर अक्षर हेर्न नपरेर हो की अर्कैले पढेर सुनाएकोलाइ कानमा सुनेर हो पूरै उपन्यास सुनिभ्याएँ ।

उपन्यास सुनिसके पछि लाग्यो – उनका कृतिहरु कसैले सित्तैमा पढ्न दिएका भए पनि पढ्न सक्ने थिइन होला । किनकी भाषिक रुपमा यो उपन्यास मलाइ एकदम क्लिष्ट लाग्यो । केही समय यता खगेन्द्र संग्रौला, बुदिसागर, तसलिमा नसरीन जस्ता साहित्यकारको किताब पढिसकेपछि र त्यस अघि पनि साहित्य सरल भाषामा लेखिएको हुनुपर्छ भन्ने मान्यता नै मेरो थियो ।

यस उपन्यासमा भएका बाल पात्रहरु पनि कति सजिलै दर्शन छाँटिरहेका हुन्छन् भने मैले बालकृष्ण समका नाटकका गाउँका पात्रको संवादलाइ पनि सम्झाइदियो । बाल पात्रको उमेर करिब सात आठ वर्ष भनिएको छ तर उनका संवादमा पूर्णरुपमा लेखक मनमौजी भएर बोलिरहेका हुन्छन् ।

उपन्यासमा आधा त संस्कृत शब्दकै प्रयोग गरिएको छ ।

उपन्यासको कथा भने ठिकै लाग्यो । आफूलाइ पूजा, हवन तपस्या गरेर शुद्द बनाउने नाउँमा एउटा ब्राम्हण समूदायका युवक कसरी निर्जीव हुनपुग्छ ? सांसारिकताको परित्याग गर्ने मन र वंशको परम्परा कायम गर्नुपर्ने कर्तव्य पूरा गर्न गरिने विवाह यि दुइले जन्माएको अन्तर्मनको र बाह्य द्वन्दको गजबको चित्रण यस उपन्यासमा उतारिएको छ ।

किराँत समूदायकी सुम्निमाको निश्चलता र प्राकृतिक सरलताले जनजातीहरुको संग्लो चित्र तयार गरेको छ ।

भाषिक दृष्टिबाट यो उपन्यास पढ्न गाह्रो भएपनि कथानकले भने नौलो अनुभूति नै दिएको छ । त्यसैले यो राम्रै प्रयोग बन्न पुगेको छ ।

स्रोत: २५ श्रावण 2069, kunakani.blogspot.com

Back