"बीपीको सपना" - रामचन्द्र पौडेल (२०७१ श्रावण ५, कान्तिपुर)
Print Friendly and PDF

नेपाललाई निरङ्कुश जहानियाँ शासन र सामन्ती युगबाट लोकतान्त्रिक र आधुनिक युगमा प्रवेश गराउने २००७ सालको जनक्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइरालाको यस वर्ष हामी जन्म शताब्दी मनाइरहेका छौं । नेपालको इतिहासमा २००७ सालको जनक्रान्ति, राजनीतिक, आर्थिक र सामाजिक तीन वटै अर्थमा एउटा युगान्तकारी घटना थियो ।

१. त्यो जनक्रान्तिले एउटा परिवारमा सीमित नेपालको राज्यसत्तालाई आम नेपाली जनताको पहुँचमा ल्यायो, लोकतन्त्रको सूत्रपात गरायो ।

२. मुखिया, जिम्मुवाल, जमिनदार र विर्तावाल हुँदै श्री ३ को 'बाहुली दाखिला हुने' थैली प्रथाद्वारा आम जनताको चरम आर्थिक शोषणलाई चुनौती दिने कामको ठोस प्रारम्भ त्यहींबाट भयो । र, ३. नेपाली समाजमा कुसंस्कार बनेर रहेका छुवाछूत, पंक्तिभेद र जातिभेदजस्ता अनेकौं सामाजिक असमानता र भेदभावका विरुद्ध गम्भीर प्रहार गर्दै ती अनेक कुरीति, कुप्रथा र अन्धविश्वासलाई समाजबाट हटाउने काम त्यही जनक्रान्तिबाट सुरु भयो । त्यो युगान्तकारी र मौलिक परिवर्तनको मूल स्वप्नद्रष्टा हुनुहुन्थ्यो-जननायक बीपी कोइराला ।

बीपीको सपना थियो- पूर्णलोकतान्त्रिक नेपाल, आधुनिक समतामूलक समृद्ध नेपाल । सबै नेपालीको न्यूनतम आवश्यकता पूरा भएको सुसभ्य नेपाल । सबै घरपरिवारलाई खान, लाउन पुग्ने स्वतन्त्र र आत्मनिर्भर नेपाल । एकै शब्दमा भन्नुपर्दा प्रजातान्त्रिक समाजवादी नेपाल ।

१५ वर्षमा सबै नेपाली परिवारलाई आफ्नै परिवार सरहको हैसियतमा पुर्‍याउने बीपीको त्यो सपना १८ महिना नपुग्दै २०१७ साल पुस १ गते राष्ट्रघाती घटनाद्वारा भताभुंग पारियो । तत्पश्चात तीस वर्षसम्मको निर्दलीय तानाशाही पञ्चायतको विरोध संघर्ष गर्दै २०४८ मा आएर दोस्रो जननिर्वाचित सरकारद्वारा त्यसलाई पुन: जोडजाड गर्ने प्रयासस्वरूप प्रत्येक गाउँघरलाई बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता परिवर्तित अवस्थाअनुसारका न्यूनतम आवश्यकता पूरा गराउने ग्रामीण स्वावलम्बनको थालनी भयो । तर त्यसउपर पनि २०५२ सालबाट सुरु भएको दस वर्षीय सशस्त्र आतंकले गम्भीर प्रहार गर्‍यो । बीपीको सपनालाई दोस्रोपटक क्षतविक्षत पारियो ।

जसको परिणाम आज पर्यन्त नेपालीहरू गरिबी र बेरोजगारीको अपमानजनक पीडा भोग्न बाध्य छन् । उनीहरूले अरबका खाडी र मलेसियाका झाडीमा भौंतारिरहनुपरेको छ, अनेकौं अपमान र बेइज्जती खेप्नुपरेको छ । यो नियति हाम्रोमात्र हैन, आजको भारत, बंगलादेश र दक्षिण एसियाले नै लगभग बेहोर्नुपरेको छ । र, हामीले अनेक व्यवधान बेहोर्नु परिरहेछ । जहाँसम्म नेपालको सन्दर्भ छ- नेपाललाई सधैं म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भइरहेछ । परन्तु जतिसुकै र जतासुकै प्रहार खप्नुपरे पनि हामीले गरेको त्यो संकल्प- 'बीपी तिम्रो सपना साकार पार्छौं' भन्ने दृढ प्रतिबद्धताबाट हामी पछि हट्ने छैनौं । हामी विचलित छैनौं । त्यो सपनाको मर्म हामीले बुझेका छौं । महसुस गरेका छौं र अठोट पनि गर्दछौं । अब नेपाल बनाउने बेला पुन: आएको छ । कृषि क्रान्ति, पर्यटनको विस्तार, जलस्रोतको विकास र आधुनिक न्यूनतम सुविधाहरू पुगेका चार हजार गाउँहरूको नेपाल । बीपी भन्नुहुन्थ्यो- 'नेपाल गाउँमा बस्छ, सबै गाउँमा आधुनिक सुख सुविधाहरू पुर्‍याएर गाउँबाट विचिलित भएको मनलाई गाउँमै बसौंबसौं हुने बनाऔं ।

हिमाल, पहाड, मधेस-तराई, कोही छैन पराई । बीपीले लोकतन्त्रको विगुल तराईको मैदानमा उभिएर फुक्नुभयो र त्यो विगुलको आवाज पहाडका कुनाकन्दरा र खोलानाला हुँदै हिमालको चुचुरा र सगरमाथासम्म पुग्यो । बीपीको जन्म शताब्दी मनाउँदै गर्दा हामी उहाँको पदचिह्नलाई समाउँदै एउटा मजदुरको वेदना छातीमा बोकेर विराटनगरको जुट मिलबाट मधेसका गाउँहरूका किसानको कठिनाइ मनमस्तिष्कमा समेट्दै गहु्रँगो भारी बोकेर पहाडको उकालो ओरालो खेपिरहेको भरियाको पसिनाको स्पर्श गर्दै आज हामी भनिरहेका छौं- किसानको हलोकोदालो र नाम्लोको भारी अब हलुंगो पार्नुपर्छ । गाउँमा पूर्वाधार पुर्‍याएर गाउँमै आम्दानीका आधार खडा गरेर गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउनुपर्छ साथै सामाजिक न्याय, सामाजिक सुरक्षा, सुशासन, पारदर्शितामा आधारित लोकतान्त्रिक संस्कृतिको निर्माण गर्दै नयाँ नेपाल बनाउँछौं । हामीले नै सुरु गरेको स्वावलम्बन अभियानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर शान्ति, स्थिरता र सम्पन्नताको दिशामा अघि बढाउँछौं । यही हो हाम्रो बीपी विचार यात्रा, यही होबीपीको सपना र भोलिको नेपाल ! जहाँ हाम्रा अनेकौं प्राकृतिक सम्पदा र असंख्यक सम्भाव्यताको उद््घाटन गर्दै बीपीले देखाएको मूल्य र मान्यताको राजनीति, दिगो आर्थिक उन्नति र सुशासनलाई साकार गर्दै शान्त सम्पन्न र सुसभ्य नेपालमा विश्वभर छरिएर बिचल्लीमा रहेका नेपालीलाई फर्केर यहीं बसौंबसौं बनाउने हाम्रो लक्ष्य हो । बीपीको सपनाको भोलिको सुन्दर नेपाल हो ।

भविष्यको नेपाल भन्नेबित्तिकै आजको नेपालभन्दा भिन्न नेपाल कस्तो हुन्छ ? भन्ने कुरा आइहाल्छ । सच्चा राजनेता र युग द्रष्टाहरू आज र हिजोको कुरामात्र गर्दैनन् भोलिको सपना देख्छन् । एउटा भनाइ पनि छ- 'प्रतिक्रियावादीहरूको स्वर्ग अतीतमा हुन्छ, समाजवादीहरूको स्वर्ग भविष्यमा ।' समाजवादी राजनेता बीपीले भविष्य हेरिरहनुभएको थियो, सोचिरहनुभएको थियो । कमसेकम हामीलाई सूत्रहरू दिनुभएको थियो । प्रत्येक नेपाली परिवारको आधारभूत न्यूनतम आवश्यकताको पूर्ति भनेर । कुनै पनि आवश्यकता युग सापेक्ष हुन्छ, त्यसैले हामीले बीपीका सपनाको ३५ वर्षपछि विज्ञान र प्रविधिले ल्याएको परिवर्तित सन्दर्भ सुहाउने त्यसको व्याख्या गर्‍यौं । हरेक गाउँघरमा मोटरबाटो पुगोस्, हरेक घरमा बिजुली बलोस्, पानीको धारा खसोस् आदि । अब भविष्यका लागि गाउँहरूमा सबै पूर्वाधारमात्र पुगेर हुँदैन, आम्दानीको आधार, सुखी जीवनको आधार, उन्नत प्रविधिमा पहुँच भएको उन्नत जीवनको आधारको खोजी हुनुपर्छ । हाम्रा आजका युवा र भविष्यका सन्ततिलाई कस्तो परिपूर्तिको तयारी हुनुपर्छ । हामीलाई बीपीले त्यतैतिर घचघच्याउनुभएको छ ।

यही लक्ष्य बोकेर २००३ सालमा विराटनगर मजदुर आन्दोलनको सन्दर्भमा गिरफ्तार गरी राणा सरकारले बीपी, तारणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, ज्ञहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई धरान, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे र भक्तपुर हुँदै अड्डासार गर्दै काठमाडौं विशालनगर पुर्‍याएको बाटो पछ्याउँदै बीपीको सपनाको खोजी गर्दै पूर्वका गाउँ र सहरहरूमा बीपीको सपना र बीपीको आदर्श स्मरण गराउँदै नेपाली जनताको सेवाका लागि नेपाली कांग्रेसमा नयाँ ऊर्जा थप्न हामी यो अभियान सञ्चालन गर्दैछौं ।

पौडेल नेपाली कांग्रेसका उपसभापति हुन् ।

प्रकाशित मिति: २०७१ श्रावण ५, कान्तिपुर

Back