"बहुआयामिक बीपी" - डा. अंगराज तिमिल्सिना (२०७१ भाद्र २४, कान्तिपुर दैनिक)
Print Friendly and PDF

बीपीको बहुआयामिक व्यक्तित्वलाई अक्सर राजनीति र साहित्यसँग जोडेर धेरै चर्चा गरिएको छ भने दुई ठूला देशहरू चीन र भारतबीच तरुलझैं च्यापिएको नेपाल र नेपालजस्तै विश्वका अरु साना देशहरूले कूटनीति र विदेशनीतिका सहाराले आफ्नो अस्तित्व, पहिचान र प्रभुत्व कसरी बढाउन सक्छन् भन्ने बीपीको योगदानबारे बिरलै चर्चा गरिन्छ। यद्यपि नेपालको अहिलेको विदेशनीति बीपीले सन् १९६० मा प्रतिपादन गरेको नीतिमै चलिरहेको देखिन्छ।

कसै-कसैले के भन्छन् भने संयुक्त रास्ट्रसंघ लगायत विश्वका महत्त्वपूर्ण राजनीतिक मञ्चहरूलाई आफ्नो हितअनुकूल सदुपयोग गर्न सिपालु बीपीदेखि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू भित्रभित्रै ईष्र्यालु थिए। सायद त्यसैले होला, बीपी नेपालमा प्रधानमन्त्री रहिरहँदा असंलग्न आन्दोलनमा एकछत्र छाएको नेहरूको व्यक्तित्व विस्तारै गिर्दै जाने भयले नेहरूकै उक्साहटमा राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गर्ने साहस गरेका हुन् भन्ने गरिन्छ। वास्तवमा भन्ने हो भने राजनीति सर्प, भ्यागुता र बिच्छीको जस्तो खेल देखिन्छ, कसलाई कसले क्षति पुर्‍याइरहेको हुन्छ भन्न नसकिने।

उता पाकिस्तानका मोहम्मद अली जिन्ना नेहरूको व्यक्तित्वदेखि डराउँथे। विदेश मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्री नेहरूले 'एसियाली मोनरोय सिद्धान्त' अर्थात् अमेरिकी राष्ट्रपति जेम्स मोनरोयले युरोपेली शक्तिहरूले अमेरिकी द्विप (वेस्टर्न हेमिसफियर) मा हस्तक्षेप गर्न हुँदैन र यसो गरे अमेरिका चुप बस्दैन भनेझैं कुनै विदेशी शक्तिले एसियाली देशमा शासन गर्न पाउँदैन भन्ने सिद्धान्त प्रतिपादन नेहरूले गरेको ठानिन्छ। पाकिस्तानका जिन्नाले आरिस गरेर भन्ने गर्थे, नेहरूले विश्वका सबै देशको भारी आफ्नो काँधमा बोक्ने कोसिस गरेका छन्, केवल आफ्नो देशको जिम्मेवारीबाहेक।

बीपीका सुपुत्र शशांक कोइरालाकै शब्दमा भन्ने हो भने बीपी र नेहरूबीच विश्व राजनीतिमा कसरी आफू प्रभावकारी बन्ने भन्ने होडबाजी चलिरहेकै बेला भारतलाई उछिनेर बीपीले इजरायललाई देशको मान्यता दिने नेपाल एसियाको पहिलो राष्ट्र बनेको कुरा नेहरूलाई मनपरेको थिएन। यो निर्णयले विश्वमा नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दियो। नेपालको यो निर्णयपश्चात तत्कालीन युगोस्लाभियाका राष्ट्रपति जोसेफ मार्सल टिटोले बीपीलाई 'एसियाको क्षिितजमा एक उदाउँदो तारा'को संज्ञा दिएका थिए भने सन् १९६० को संयुक्त राष्ट्रसंघको साधारण सभामा बीपीले दिएको 'साना राष्ट्रहरूको महत्त्वपूर्ण भूमिका छ' भन्ने नीतिगत सम्बोधनले विश्वभरिको ध्यान नेपालतिर आकर्षित गर्‍यो।

बीपीले राष्ट्रसंघको मञ्चलाई शीतयुद्धमा होमिएका अमेरिकी रास्ट्रपति आइजन हावर र तत्कालीन सोभियत संघका नेता ख्रुश्चेबलाई विश्व शान्ति, विकास र निशस्त्रीकरणका लागि तत्काल वार्तामा आउन र शक्तिराष्ट्रहरू समस्या होइन, समाधानको हिस्सा बन्नुपर्ने स्पष्ट धारणामात्र राखेनन्, स्वाधीनता र स्वतन्त्रताको लडाइँ लडिरहेका थुप्रै अफ्रिकी देशहरू (जस्तो कि फ्रान्सबाट स्वतन्त्रता खोज्ने अल्जेरिया र बेल्जियमबाट मुक्ति चाहने कंगोको आन्दोलनहरू) लाई युरोपेली देशहरूको शोषणयुक्त शासन र प्रभुत्वबाट मुक्तिका लागि कहिल्यै कसैको साम्राज्यवाद स्वीकार नगरेर स्वाभिमानी इतिहास बोकेको नेपालका तर्फबाट बुलन्द आवाज उठाए।

बीपीको भनाइ थियो, 'म कुनै निहित स्वार्थ नभएको सानो राष्ट्रको हैसियतले बोल्दैछु। कुनै शक्तिशाली राष्ट्र समय र इतिहासको कदमभन्दा ठूलो हुनसक्दैन। समय र इतिहास दुबै अहिले स्वतन्त्रताको लडाइँ लड्ने साहसिक अफ्रिकीहरूको पक्षमा छन्।' सन् १९७१ सम्म पनि अहिलेको ताइवानले राष्ट्रसंघमा खास चिनियाँ गणतन्त्रको मान्यता पाएको थियो भने बीपीले '६३ करोड जनसंख्या भएको मूलभूमि चीनले मान्यता नपाउनु तर सानो ताइवानले वास्तविक चीनको हैसियत पाउनुले संयुक्त राष्ट्रसंघको समावेशीकरण र विश्वव्यापी प्रतिनिधित्वलाई कमजोर तुल्याएको' स्पष्ट धारणामात्र राखेनन्, दोस्रो विश्वयुद्धबाट विभाजित जर्मनी, कोरिया र भियतनामका दुबैतिरका राष्ट्रहरूले राष्ट्रसंघको सदस्यता पाउनुपर्ने जिकिर गरे। विश्वका सबै राष्ट्रहरूलाई छुने प्रमुख मुद्दाहरूमा बीपीको विदेश नीतिको दख्खलले धेरै विश्व नेताहरूको ध्यानाकर्षण गरायो।

बीपी बाहेकका नेपालका प्रधानमन्त्रीहरू हरेक वर्ष आयोजना हुने राष्ट्रसंघको साधारण सभामा तीर्थाटन गरेझैं न्युयोर्क जाने र भाषण गरेर नेपाल फर्किने कर्मकाण्डी जस्तो भएको छ भने बीपीले यो अन्तर्राष्ट्रिय मञ्चबाट छिमेकी र शक्तिशाली राष्ट्रहरूको सहयोग चाहिएको तर हस्तक्षेपचाहिँं निन्दनीय हुने कडा सन्देश दिएका थिए। बीपीकै शब्दमा 'यद्यपि हामी भारतीय, अमेरिकी, चिनियाँ, सोभियत संघ र बेलायतजस्ता मित्र सरकार र अरु संस्थाहरू (जस्तो कि राष्ट्रसंघ) को सहयोगको स्वागत गर्छौं र यो सहयोगप्रति कृतज्ञ पनि छौं। तर हामी कुनै देशले नेपालले के सोच्नुपर्छ वा नेपालले आफ्नो आन्तरिक क्रियाकलाप कसरी अगाडि बढाउनुपर्छ भनेको सुन्न वा हेर्न चाहँदैनौं।' राष्ट्रसंघ जस्तो ठूलो मञ्चको भरपुर उपयोग गरी दिइएको यो हुंकारबाट विश्व राजनीतिमा दक्षिण एसियाका तर्फबाट आफू निर्विवाद एकल नेता भएको ठान्ने भारतका नेहरूलाई चस्का परेको सजिलै आँकलन गर्न सकिन्छ।

विश्वको असंलग्न आन्दोलनका संस्थापक मध्येका एक नेहरूलाई उक्त आन्दोलनका पञ्चशील सिद्धान्तका प्रवर्तक मानिन्छ। तर बीपीले असंलग्न आन्दोलनलाई आफ्नै व्याख्या दिएर नेहरूभन्दा भिन्न रूपमा प्रस्तुत भएको देखिन्छन्। बीपीकै शब्दमा 'नेपालजस्ता साना देशहरूका लागि असंलग्न आन्दोलन भनेको अमेरिका वा रूसका आआफ्ना शक्तिशाली गठबन्धनमध्ये कतैतिर नलाग्ने वा तटस्थ बस्ने भन्ने होइन। हामी असंलग्न किन छौं भने हामी आँखा चिम्लेर कसैको समर्थन गर्न जाँदैनौं। हामी असंलग्न हुनुको अर्थ हरेक अन्तर्राष्ट्रिय मुद्दालाई स्वछन्द र निष्पक्ष भएर केलाउने र त्यसपछि मात्र आफ्नो धारणा बनाउनका लागि हो। हामीले सत्य ठानेको कुनै मुद्दामा प्रस्टसँग हाम्रो धारणा राख्न हामी कहिल्यै हिच्किचाएका छैनौं। तर हामी हरेक अन्तर्राष्ट्रिय मुद्दाहरूलाई गम्भीर र वस्तुगत भएर हेर्छौं। किनभने हामीलाई थाहा छ, धेरै अन्तर्राष्ट्रिय मुद्दाहरू सेतो वा कालोमात्र हुँदैन।'

अन्तर्राष्ट्रिय राजनीतिमा त्यो पनि शीतयुद्धताका कित अमेरिकी पक्षमा कित रूसका पक्षमा बाँडिएको विश्वमा अक्सर साना राष्ट्रहरू 'साँढेको लडाइँ बाछाको मिचाइ'जस्तो परिस्थितिमा हुन्थे। सुरक्षा र विकास सहयोगका लागि अक्सर एउटा खेमामा नलागी सुख नपाइने बेलामा साना राष्ट्रहरूले बोल्नु भनेको 'सानो मुख, ठूलो कुरा'जस्तो हुन्थ्यो। तर बीपीले विश्व शान्ति र स्थिरताका लागि साना राष्ट्रहरूले कसरी महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् भन्नेबारे आफ्नो तर्क राम्रोसँग प्रस्तुत गरे।

भारतसँग गण्डक सम्झौता सुवर्ण शमशेरका पालामा गरिएको भए पनि २०१५ सालको चुनावपछि प्रधानमन्त्रीको बागडोर आफूले समातेपछि बीपीले 'नेपालले यो सम्झौता नगरेको भए भारतले गण्डक परियोजना एक्लैले निर्माण गथ्र्यो र नेपालले यति पाएको सुविधा पनि पाउँदैनथ्यो' भनेका थिए। त्यसरी बचाउ गरेका कारण बीपीलाई भारतपरस्त भएको आरोप पनि लाग्छ, तर वास्तवमा प्रधानमन्त्री भएपछि उनले भारत र चीनसँग कस्तो सम्बन्ध बनाउनुपर्छ भन्ने सिद्धान्त अहिले पनि सान्दर्भिक छ।

खुला सिमाना, रहनसहन, धर्म, भाषा, रीतिरिवाज र पारिवारिक सम्बन्ध आदिका कारण भारतसँग राजनीतिक र आर्थिक हिसाबले चीनभन्दा नजिकको सम्बन्ध राख्ने तर यसो गर्दा सानो देश नेपाल वैदेशिक नीति र कूटनीतिका हिसाबले पुरै भारतका भरमा छ भन्न देखिन नहुनेमा उनको जोड थियो। यही भएर होला, सन् १९६० मार्चमा भारतसँग 'आर्थिक र सीमा सम्झौता' गरेका बीपीले चीनका प्रधानमन्त्री चाउएनलाईलाई नेपाल बोलाएर चीनसँग त्यही वर्ष अपि्रलमा 'शान्ति र मैत्री सन्धि' गरे, जसले नेपाल पूर्णरूपमा भारतसँग निर्भर छैन भन्ने देखायो। तर भारतलाई हेर्ने दृष्टिकोण बीपीले समयअनुसार बदल्दै गएको देखिन्छ।

नेपाली र हिन्दी भाषा दुबैमा पोख्त युवा बीपी आफ्नो आत्मकथामा लेख्छन्, 'हिन्दी र नेपाली र दुई देश भारत र नेपाललाई मैले समान रूपले अंगीकार गर्नुपरेकोले ममा अन्तर्राष्ट्रिय भावनाको तीव्रता छ। यसो विचार गरेर ल्याउँदा म बडो आश्चर्यजनक परिणाममा पुग्छु, आफ्नो सम्बन्धमा। माक्र्स भनुँ, लेनिन वा गान्धी भनुँ, केवल बुद्धबाहेक मेरो आदर्श पुरुष एउटा पनि नेपालको इतिहासमा पाइँदैन।' तरुण बीपीका लागी नेपाल-भारत बीचको सम्बन्ध 'वसुधैव कुटुम्बकम्'द्वारा प्रेरित अन्तर्राष्ट्रिय भावनाले डोर्‍याए जस्तो लाग्थ्यो।

तर बीपी जब राजनीतिमा हाम्फाल्छन्, त्यसपछि उनलाई भारतको नेपालको राजनीतिमा हुने हस्तक्षेपको फाइदा र बेफाइदा थाहा हुँदै जान्छ। शंकर घोषले नेहरूको आत्मवृत्तान्तमा लेखेका छन् कि २००७ सालको नेपालको क्रान्ति र राजा त्रिभुवनले भारतमा शरण लिएका बेला नेपालको समस्या कसरी सुल्झाउने भन्नेबारे नेहरू र नेता जयप्रकाश नारायणबीच ठूलो खटपट परेको थियो। यसको कारण थियो, राणाहरूलाई तह लगाउन भारतले सेना पठाउनुपर्छ भन्ने माग लिएर दिल्ली आएका बीपीलाई नेहरूले भेटसम्म दिएनन् भने बीपीका मित्र जयप्रकाशलाई नेहरूको यो कदम प्रजातान्त्रिक आन्दोलनका विरोधमा छ भन्ने लाग्यो।'

२००७ सालपछि बनेको सरकारका गृहमन्त्री बीपीले तत्कालीन भारतीय राजदूत सीपी सिन्हासँग खटपट भएर राजीनामा दिएका थिए भन्ने गरिन्छ भने अर्कोथरीले बीपी यस घटनापछि केही वर्ष भारतले प्रधानमन्त्री बनाइदिन्छ भन्ने आशामा थिए पनि भनिन्छ। सायद भारतका कारण प्रधानमन्त्री बन्न नसकेका तर निर्वाचनद्वारा संसदमा दुई तिहाइ मत ल्याएर सरकार बनाएका बीपीले भनेका छन्, 'मभन्दा अगाडिका प्रधानमन्त्रीहरू भारतीय राजदूतहरूकहाँ जान्थे, मैले भारतीय राजदूतलाई सिंहदरबार बोलाएँ।' यसो भन्नुको अर्थ बीपीले नेपाल एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र हो भन्ने सन्देश दिनु थियो।

सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीजस्तै बीपीलाई नेपालमा स्थापना गराउने कुरो तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीबाट आएको र भारतमै बसेर नेपालको प्रजातन्त्र स्थापनाको लडाइँ लडिरहेका बीपी त्यसपछि भारतको नियतबाट झस्केको अनुमान पनि गरिन्छ। भारतबाट खासै सहयोग नपाएको बरु इन्दिरा गान्धीबाट अपमान मिलेका कारण परम्परागत शक्ति राजतन्त्रसँग हात मिलाएर राष्ट्रिय एकता र मेलमिलापलाई बलियो बनाउन बरु राजासँगै सम्झौता गरेर प्रजातन्त्रतिर अगाडि बढ्ने निर्णय बीपीले गरेका हुन् भन्ने गरिन्छ। यी घटनाक्रमले बीपीलाई तरुण बेलाको 'वसुधैव कुटुम्बकम्'बाट 'राष्ट्रियताका हकमा भारतसँग सतर्कता'को नीतितिर पुर्‍याएको देखिन्छ।

हरेक महापुरुषले एउटा युगको नेतृत्व गर्छ। निःसन्देह बीपीको विचारले एउटा युगमा राज जमायो भने अहिले पनि उनका विचारले राजनीतिक खुराक दिइरहेको छ। वामपन्थी हुन् वा प्रजातन्त्रवादी, दक्षिणपन्थी हुन् वा राष्ट्रवादी हरेकले बीपीलाई आफ्नै तरिकाले विश्लेषण गरेका छन्। बीपीका धेरै किताबहरू सम्पादन गर्ने गणेशराज शर्माले गिरिजाप्रसाद कोइरालालाई एकपटक सिधा प्रश्न गरेका थिए, 'अहिलेका राजनीतिज्ञहरूलाई १५ वर्षपछि नेपालीहरूले किन सम्झिएलान् त?' सरलजस्तो देखिने यो प्रश्नको जवाफ त्यति सहज छैन। नेपालमा दीर्घकालीन छाप छोड्ने नेताहरू औंलामा गनिन्छन्, तर बीपी आफू जन्मेको सय वर्षपछि पनि नेपालको साहित्य, राजनीति र कूटनीतिमा अजम्बरी भएर बाँचिरहेको महसुस हुन्छ।

प्रकाशित मिति:२०७१ भाद्र २४, कान्तिपुर दैनिक

Back