"बीपी विचार यात्रासँग जोडिएको संविधान निर्माण" - धर्मेन्द्र झा (२०७१ भाद्र २७, अन्नपूर्ण पोष्ट्)
Print Friendly and PDF

'राजनीतिक नेताले आउँदो चुनाव मात्र हेर्छ तर राजनेताले बीस वर्षपछिको आकलन गरेर निर्णय लिन्छ।' महामानव बीपी कोइरालाको यो भनाइ यतिबेला लोकतन्त्र र दलीय व्यवस्थाका पक्षपातीले स्मरण गर्नु सान्दर्भिक हुन्छ।

भदौ २४ गते बीपी कोइरालाको जन्मशताब्दी देशभित्र र बाहिर भव्य रूपमा मनाइयो। बीपीले स्थापना गरेको पार्टी नेपाली कांग्रेसलगायत उनको विचारका अनुयायीले विविध कार्यक्रम आयोजना गरी बीपीप्रति सम्मान व्यक्त गरे।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले ५५ दिने बीपी विचार यात्रा आयोजना गरेर महामानवको विचारको सान्दर्भिकता पुष्टि गरेको छ। २००३ सालमा विराटनगरमा बीपीलगायत उनका पाँचजना सहयोगीलाई पक्राउ गरी तत्कालीन राणा सरकारले अड्डासार गर्दै धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे र भक्तपुरको बाटो सुन्दरीजल पुर्‍याएर बन्दी बनाएको थियो।

विचार यात्राले कांग्रेसजनमा पुनर्जागरण गराएको छ।बीपीलाई सम्झने काम त विभिन्‍न ढंगबाट गरियो तर उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलगायत उनका विचारको अनुशरणको प्रयास र प्रयत्‍न कति भयो? यो प्रश्‍न आज आम कांग्रेसजनसामु उभिएको छ।

कांग्रेस पार्टीको तेह्रौं महाधिवेशन निकट छ। भावी नेतृत्वका लागि निर्वाचन पनि हुनेछ।कांग्रेसीजनमा विकसित पछिल्लो संस्कृतिका आधारमा सर्वसम्मति हुने सम्भावना न्यून छ। कोही विजयी हुनेछन् र कोही पराजित। महाधिवेशनस्थलमा बीपीका तस्बिरहरू यत्रतत्र टाँसिनेछन्।

कांग्रेसको अहिलेको अवस्था र नेतृत्वको होडबाजी देखेर ती तस्बिरमा देखिने बीपीको मन्दजस्तो देखिने गम्भीर मुस्कान अझ बढी गम्भीर र गाढा हुनेछ। तर बीपीकै नाममा सत्तासीन हुन चाहनेहरूले बीपीको तस्बिरको त्यो गम्भीरतालाई अनुभूत गर्न सक्ने छैन।

यो सत्य हो। गाउँमा जन्मेर त्यहीँ हुर्केबढेका कांग्रेसका नेताको आजभोलि गाउँसँगको साइनो टुटेको छ। उनीहरू सहरकेन्द्रित भएका छन्। पद र पैसाकेन्द्रित भएका छन्। देशको विकासभन्दा स्वविकासलाई महत्त्व दिने वर्तमानको कांग्रेसी पुस्ताका लागि बीपीको देशप्रतिको प्रतिबद्ध मुस्कानको के महत्त्व?

तर बीपी विचारयात्राले कांग्रेसजनको यस प्रवृत्तिमा परिवर्तनको संकेत दिएको छ। देश बुझ्ने अवसर दिएको छ। आवश्यकताको पहिचान भएको छ। सहरका झन्डा र गाउँ जंगलका रूख जोडिएका छन्। एकपटक फेरि बीपी र कांग्रेसी जनजनमा प्रवेश गरेका छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा, विपरीत ध्रुवमा रहेका कम्युनिस्टलाई सहमतिमा ल्याएर संविधान निर्माणको भगीरथ यात्राको गोरेटो कोर्न हौस्याएको छ। अहिलेको समय संविधान निर्माणको समय हो।

बीपीले विकसित मुलुकका जनतासरह नेपालीलाई पनि विकास र सम्पन्‍नता प्रदान गर्ने सपना देख्नुभएको थियो। त्यही सपना पूरा गर्न गठन गर्नुभएको थियो कांग्रेस पार्टी। अहिलेको बीपीले देखेको त्यो सपना साकार गर्ने समय हो।

त्यो सपना संविधानसभाबाट नयाँ संविधानको निर्माणले मात्र साकार पार्न सक्छ। दुर्भाग्य बीपीले आर्जेको त्यो प्रजातान्त्रिक पार्टी यतिखेर आपसी अविश्वासको ठूलो भुमरीमा फस्न पुगेको छ।

संसदीय दलको बैठकमा शीर्षनेता बाझाबाझ गरेको समाचार बीपीको जन्‍नदिनको दिन प्रकाशित भएका अखबारहरूका हेड लाइन बन्‍न पुगे। यसले आम कांग्रेसजनमा के सन्देश जाला?

सरकारको नेतृत्व गरिरहेको प्रजातान्त्रिक पार्टीले संविधान निर्माणको महाअभियानलाई कसरी पूरा गर्ने भन्‍ने बहस गर्नुपर्ने बेला आन्तरिक कलह तीव्र भएको सन्देश दिनुले आम कांग्रेसजनलाई दु:खी तुल्याएको छ।

हो, बीपीको जन्मशताब्दीका अवसरमा आयोजित कार्यक्रमले मात्र नेपाल सम्पन्‍न र समृद्ध हुन सक्दैन। बीपीले प्रतिपादन गरेका कार्यक्रमको कार्यान्वयनमा जुट्नैपर्छ। यसका लागि कांग्रेसजनले भविष्यको मार्गचित्र स्पष्ट र पारदर्शी बनाउनुपर्छ।

राजनीतिमा कहिलेकाहीं अलोकप्रिय निर्णय पनि लिन सक्नुपर्छ भन्‍ने बीपी कोइरालाकै अर्को भनाइबाट प्रेरणा लिँदै पार्टीका नेताहरूले संविधानसँग जोडिएका अलोकप्रिय निर्णयलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प देखिन्‍न- खासगरी दलहरूबीच अविश्वास र दूरी बढिरहेको अहिलेको अवस्थामा।

बीपी विचारयात्राका सन्दर्भ पारेर गाउँ पसेका कांग्रेसीले संविधानमार्फत सम्बोधन गरिनुपर्ने स्थानीय मुद्दाको पहिचान गरेकै हुनुपर्छ। कांग्रेसका लागि निश्चय पनि यो ठूलो सम्पत्ति हो।

यतिबेला दैनिक राजनीतिमा हुने घाटानाफाभन्दा पनि लोकतन्त्र र दलीय पद्धतिप्रतिको आफ्नो आदर्श जोगाउने दायित्वको बोध सबैमा हुनु आवश्यक छ। सायद उग्रवामपन्थी दर्शनबाट दीक्षित एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीका हकमा यो यथार्थको बोध तत्काल नहुन सक्ला तर लोकतन्त्रवादी बाँकी दल गम्भीर देखिनु जरुरी छ।

यसको नेतृत्व बीपीले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले लिनु अपरिहार्य छ। विचारयात्राले पनि यही अभिप्रेरणा प्रदान गरेको छ भन्नु अस्वाभाविक नहोला। लोकतन्त्रवादीले माओवादीद्वयलाई मूलधारको राजनीतिबाट पन्छिन नदिन र लोकतन्त्र जोगाउन फेरि पनि 'केही' त्याग गर्दै संविधान निर्माण सुनिश्चित गर्नु जरुरी छ।

एकीकृत नेकपा माओवादी र नेकपा-माओवादी वास्तवमै, महान् लेखक जर्ज ओरवेलको कृति चौपायाको घरजमको पात्रका प्रवृत्तिका छन्। आमजनताका लागि देशको भविष्य कोर्न बाटो देखाउने माध्यम भए पनि उनीहरूका लागि संविधानरूपी कागजको खोस्टो जरुरी छैन।

यसैले उनीहरू संविधान बनाउन चाहँदैनन् र बनिहाले पनि आफूहरू संविधानभन्दा माथि रहनुपर्ने मान्यताबाट निर्देशित छन्। अहिलेको नेपाली राजनीतिको मिलनबिन्दु संविधान निर्माण नै हो। यसको विकल्प छैन।

संविधानविना लोकतन्त्रलाई जीवित राख्ने प्रयत्न सार्थक हुन सक्दैन। अहिले यदाकदा समयतालिकाको कुरा उठाएर संविधान निर्माण प्रक्रियालाई आशंकाको घेराभित्र ल्याउने प्रयत्न गर्ने गरिएको अनुभव गरिएको छ। यो सन्दर्भ महत्त्वपूर्ण छ।

कथंकदाचित निर्धारित समयमा संविधान निर्माण हुन सकेन भने त्यस्तो अवस्थामा देश र जनताले कस्तो परिणाम बेहोर्नुपर्ने हो, त्यसको आकलन भने हुन आवश्यक छ। अब पनि संविधान नबन्‍ने हो भने देशको राजनीतिले नयाँ 'कोर्स' समाउने निश्‍चित छ।

यसका लागि राजनीतिक दलहरू तयारी अवस्थामा रहे हुन्छ। समयमा संविधान ल्याउने नाममा जनतालाई अलोकतान्त्रिक संविधान भने मान्य हुने छैन। लोकतन्त्रवादी शक्तिका हैसियतले कांग्रेस यसतर्फ विशेष चनाखो हुनु आवश्यक छ।

बढी चनाखो हुनु यसकारण पनि आवश्यक छ कि, गत निर्वाचनमा लोकतान्त्रिक संविधानकै अजेन्डाका आधारमा कांग्रेसले ठूलो पार्टीको हैसियत निर्माण गर्न सकेको हो। विचारयात्राका क्रममा स्थानीयले यस्तै विषयको उठान गरेर कांग्रेसको अडानलाई बल प्रदान गरेका छन्।

बीपी जन्मशताब्दीका अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेको कांग्रेसका लागि सम्भवत: सबभन्दा ठूलो कार्यक्रम लोकतान्त्रिक संविधान सुनिश्चित गर्नु नै हुनेछ। जन्मशताब्दीका अवसरमा आयोजित विचार यात्रालगायतका कार्यक्रमले यस दिशामा ऊर्जा थप्ने विश्‍वास गर्न सकिन्छ।

कांग्रेस विश्वसनीय लोकतान्त्रिक शक्ति हो। यस देशका जनताले विभिन्‍न कालखण्डमा अन्य राजनीतिक दललाई पनि विश्वास नगरेका होइनन् तर त्यस्तो विश्‍वास परीक्षणका रूपमा मात्र गरिएको इतिहासले पुष्टि गरेको छ।

जब-जब देश संवेदनशील मोडमा उभिएको हुन्छ तबतब जनताले कांग्रेसमाथि भरोसा गरेका छन्। यसपटक पनि संविधानसभाको दोस्रो निर्वाचनमार्फत संविधान बनाउन जनताले कांग्रेसमाथि विश्‍वास व्यक्त गरेका छन्। यस आधारमा कांग्रेस नेपाली जनताको आस्था र विश्‍वासको पार्टी हो भन्दा फरक पर्दैन।

नेताहरू निश्‍चय पनि अज्ञानी छैनन्। संविधान निर्माणमार्फत देश निर्माणको बीपी सपना साकार पार्ने प्रयत्न गरिरहँदा कांग्रेस नेताहरूले निश्चय पनि नेपालको सुन्दर तस्बिरको कल्पना गरेको हुनुपर्छ।

अहिले संविधान निर्माणका सम्बन्धमा नेपाली कांग्रेस र यसको समग्र नेतृत्व पंक्तिविरुद्ध विविध कोणबाट आरोप लगाउने गरिएको छ। संघीयतासम्बन्धी आरोप मुख्य हो। यस्ता आरोपप्रति नेताहरू अनभिज्ञ छैनन्। ती आरोपलाई निराधार प्रमाणित गराउन पनि उनीहरूले प्रयत्न गरेकै हुनुपर्छ।

यसको लेखाजोखा भावी दिनले गर्ने नै छ। मूल कुरा, समृद्ध नेपालको सपना कसरी पूरा गर्ने भन्ने हो? प्रत्येक जनताले आफ्नो भावनाको प्रतिविम्बन भएको देश देख्न चाहेका छन्। कांग्रेसले यसको हेक्का राख्न जरुरी छ। निश्‍चय पनि यो बुझाइ निर्माण गर्न विचार यात्राले सघाएको छ।

संविधानसभा निर्वाचनपछि दुईपटक सरकारको नेतृत्व गरेको एमाओवादी र उसबाट अलग भएको नेकपा-माओवादीले अहिलेसम्म विश्वसनीय छवि निर्माण गर्न सकेका छैनन्। संविधान निर्माणको सबभन्दा ठूलो बाधक नै उनीहरूको यही छवि हो।

कांग्रेसले उनीहरूको छवि परिवर्तन गर्न सघाउनु छ। उनीहरूलाई पनि समाहित गरी संविधान बनाउनु छ। यस्ता केही विषय विचारयात्राका क्रममा पनि उठेका छन्। कांग्रेसले ती सबै विषयमा आवश्यक दृष्टिकोण आफ्नो व्यवहार र कार्यक्रममार्फत सार्वजनिक गर्न सके मात्र विचारयात्राको औचित्य पुष्टि भएको मानिनेछ।

निश्‍चय पनि, त्यस्तो व्यवहार र कार्यक्रमको मापदण्डको आधार नयाँ संविधान हुनेछ। विचारयात्रापछिका दिनमा नेपाली जनता त्यही संविधानको पर्खाइमा छन्। कांग्रेसले सहमति निर्माण गरी जनताले अपनत्व महसुस गर्न खालको संविधान दिने अभियानको नेतृत्व गर्नेछ।

प्रकाशित मिति: २०७१ भाद्र २७, अन्नपूर्ण पोष्ट्

Back