"देश बनाउन मेलमिलाप नीति" - विपुल पोख्रेल
Print Friendly and PDF

वीपी कोइरालाको एउटा मर्मस्पर्शी भनाई छ, 'राष्ट्रियता नरहे प्रजातन्त्र पनि रहदैन ।' यही मान्यतामा टेकेर बीपीले राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्नुभएको थियो । एकोहोरो रुपमा प्रजातन्त्रको लडाइमात्र लड्दै गर्दा राष्ट्रियता कमजोर हुनपुग्यो भने कस्कालागि र कहाँका लागि प्रजातन्त्र ? भन्ने प्रश्न उब्जन्छ । राष्ट्रियतालाई बचाउनका लागि देशभित्रका शक्तिहरुबीचमा न्यूनतम एकता कायम गरेर जानु पर्छ र शासकीय स्वरुप अर्थात प्रजातान्त्रिक पद्दति स्थापनाका लागि आफ्नो लडाइलाई संझौताबिहिन रुपमा अगाडी बढाउनु पर्छ मान्यता नै परिस्कृती राष्ट्रियताको सिद्धान्त हुनुपर्दछ । यो सिद्धान्तमा टेकेर राष्ट्रियताको संरक्षण गर्नेतर्फको उदाशिनताले देशलाई कमजोर बनाउछ । देशमा बाह्य हस्तक्षप बढ्नु र त्यसलाई तर्कशास्त्रिहरुले स्वाभाविक भनी टिप्पणी गर्नुको कारण यही उदाशिनता नै हो ।

आज भन्दा ३७ बर्ष अगाडी बीपी कोइरालाले अख्तियार गरेको मेलमिलापको नीति नेपालको राष्ट्रियता कमजोर बन्दै गएको अबस्थाका लागि एउटा सञ्जिबिनी थियो । यो सञ्जिवीनिका बैद्य थिए, बीपी कोइराला । राष्ट्रियता र प्रजातन्त्रबीचको अन्तरसम्बन्धका बिषमा स्पष्ट एकमात्र समकालिन नेता बीपी कोइरालाले यो नीति अख्तियार नगरेको भए स्वतन्त्र नेपालको पहिचानमाथी धब्बा लागेको अबस्था हुन्थ्यो भन्नेमा धेरैको सहमति पाइन्छ । देशमा राजाको शासन, राजाको सक्रिय शासनलाई अस्वीकार गरिरहेकाहरुलाई अराष्ट्रिय तत्व भनेर देश निकाला वा कैदको सजाय दिदै गरेको अबस्था र दक्षिण एशियाका साना देशहरुको अस्तीत्व नै संकटमा पर्दै गरेको सन्दर्भमा बीपी कोइरालाले मेलमिलापको नीति अख्तियार गरी राष्ट्रियतालाई पुनरजीवन दिनुभएको थियो ।

प्रजातन्त्रको पक्षमा उभिदा राष्ट्रियताको अबस्थामा ध्यान दिइएन भने प्रजातान्त्रिक अभ्याष कहाँ र कसका लागि गर्ने भन्ने खतरा उपस्थीत उत्पन्नहुन्छ । त्यस्तै राष्ट्रियताको पक्षमा मात्र उभिदा उग्र राष्ट्रवादको नाममा तानाशाही जन्मने खतरा हुन्छ । राष्ट्रियता र प्रजातन्त्रकावीचको अन्तरसम्बन्ध संवेदनशिल हुन्छ । ०३३ सालको बीपी कोइरालाको मेलमिलापको नीति प्रजातन्त्रका लागि भैरहेको लडाईलाई जारी राख्दै राष्ट्रियताका सवालमा एकठाउमा उभिन देशभित्रका सबै शक्तिहरुलाई गरिएको आह्वान थियो । यो संझौता थिएन । देशको एउटा मुख्य शक्ति राजा थिए र लोकतान्त्रिक आन्दोलनको बिपक्षमा उनि उभिएका थिए । त्यसकारण राष्ट्रियताका सवालमा राजासंग पनि मिलाप गर्न तयार रहेको भनी बीपीले यो नीतिको गुरुत्व बढाउनु भएको थियो ।

राष्ट्रियताका सवालमा राजासंग आफ्नो घाँटी जोडिएको भनी बीपीले देशभित्रका सबै शक्तिहरु राष्ट्रियताका सवालमा इमान्दार हुनुपर्छ भन्ने सन्देश दिन खोज्नु भयो । कम्तीमा राष्ट्रियताका सवालमा सबै शक्तिहरुबीच मिलाप नहुने हो भने राष्ट्रियता कमजोर हुन्छ भन्ने 'बीपी डक्ट्रिन' थियो राष्ट्रिय मेलमिलापको नीति । आक्षेपले लथालिङ्ग बनाउछ । न्युनतम समझदारीले सुसंस्कृत सभ्यता प्रदर्शन गर्छ । राष्ट्रियता पनि यस्तै सभ्यताबाट मात्र बलियो हुन्छ । घरेलु शक्तिहरु एक अर्कालाई आक्षेप लगाउदै लडामाती गर्दा राष्ट्रियता बलियो हुनै सक्दैन । यस्तो अबस्थामा बिपक्षीहरुको प्रहार वा हस्तक्षेप अनपेक्षित रुपमा बढ्दै जान्छ । यो नेपालको राजनीतिक इतिहासमा सबैले महशुस गर्नेगरी प्रमाणीत भैसकेको तथ्य पनि हो । राष्ट्रियता मजबुदत गराउनका लागि बीपी को मेलमिलाप नीतिबाट आज सबैले प्रेरणा लिन सक्नु पर्दछ ।

वीपी कोइराला आफैमा बिचारक थिए । प्रजातन्त्रका सवालमा उनी स्पष्ट थिए । नेपालको आर्थीक सामाजिक अबस्थाका बारेमा मसिनोसंग अध्ययन गरेका थिए । नेपालमा बिकासको मोडेल कस्तो हुने भन्ने कुरामा उनि स्पष्ट थिए । प्रजातान्त्रिक समाजवादको सिद्धान्तका आधारमा नेपालको सम्बृद्धिको मार्ग कोर्न उनि सफल भएका थिए । त्यस्तै उनि आफैमा 'प्रोएक्टिभ' पनि थिए । आफ्नो छोटो प्रधानमन्त्रीको कार्यकालमा उनले देशलाई सम्बृद्धिको मार्गमा आफै हिडाउन अग्रसर पनि थिए । उनको कार्यकाल जनपक्षीय योजनाहरुको ओइरो लगाइएको कार्यकाल थियो । १५ बर्ष शासन गर्न पाए सबै जनताको आर्थीक सामाजिक अबस्था आफ्नो जस्तो अर्थात मध्यमवर्गीय परिवारको जस्तो बनाउने उनको अठोटका पछाडी उनको बैचारिक स्पष्टता र 'प्रोएक्टिभ' चरित्र नै कारक थियो । प्रजातन्त्र, समाजवाद, विकास, जनताको सम्बृद्धि, नेपालको उत्पिडनको अन्त्यगर्ने उपायका बारेमा स्पष्ट रुपमा प्रस्तुत हुँदै कार्यान्वयनमा लम्केका बीपी कोइरालाका मेलमिलापको नीति भनेको राष्ट्रियताको सवालमा मात्र हो । त्यो पनि संझौता होइन, साथ साथै हिड्ने आह्वानहो । त्यसकारण अहिले पनि सबै स्पष्ट हुन जरुरी छ की बीपीको मेलमिलाल भनेको राष्ट्रियताको सवालमा मात्र हो । राजनीतिक, आर्थीक, सामाजिक मुद्दाहरुमा बीपी आफै प्रष्ट र पूर्ण हुनुहुन्थ्यो । राष्ट्रियताको महत्व र त्यसको प्रबर्धनको उपायका सवालमा पनि उहाँ स्पष्ट हुनुहुन्थ्यो । तर त्यसको प्रबर्धनमा सबै पक्षका सहभागिताले त्यसको गुरुत्व बढाउछ र राष्ट्रियता बिरोधी तत्व निरुत्साहित हुन्छ भन्नेर नै उहाँले मेलमिलापको नीति अख्तियार गर्नु भएको हो ।

यहाँनेर भन्नुपर्दा यदी मेलमेलापको नीति संझौता हुन्थ्यो त ०३८ को चुनावमा बीपीले भाग लिनुहुन्थ्यो । त्यो चुनावमा २१ बर्ष पुगेका नेपालीलाई मताधिकार थियो । तर, बैचारिक पहिचान प्रस्तुत गर्ने प्राबधान त्यो चुनाबी प्रक्रियामा नरहेका कारण त्यो प्रजातन्त्रिक हुन सक्दैन भनेर नै बीपीले बहिस्कार गर्नुभएको हो । यो तथ्यले पनि मेलमिलापको नीति राष्ट्रियताको सवालमा मात्र हो र त्यो नीति कुनै पनि संझौता होइन भन्ने प्रष्ट रुपमा प्रमाणित गर्दछ ।

मेलमिलापको नीति बलियो राष्ट्रियता निर्माण गर्ने एउटा माहान मन्त्र हो । यो मन्त्रलाई मनन गर्ने हो भने नेपालको राष्ट्रियता मजबुत हुनसक्छ । अहिले नेपालको राष्ट्रियता इतिहासमै कमजोर हुन पुगेको छ । यो बेला राष्ट्रियताका बारेमा सबै सचेत र गंभिर हुन आबश्यक छ । राष्ट्रियता मजबुद गर्नका लागि 'बीपी डक्ट्रिन' अर्थात घरेलु शक्तिहरुबीचको समझदारी आबश्यक हुन्छ । आन्तरिक आरोप प्रत्यारोप र अबिश्वासले देशको राष्ट्रियता कमजोर हुन्छ भन्ने बुझाई नेपालका सबै शक्तिहरुमा आयो र अरुलाई घृणा नै गर्नु पर्छ भन्ने 'स्कुल अफ थट' बाट मुक्त भएर राजनीतिक अभ्याष गर्न उनिहरु इमान्दार भए भने राष्ट्रियता बलियो हुनेछ ।

संबिधानसभाको निर्वाचन पछी राजनीतिक सन्तुलनमा तलमाथी आएको अबस्था छ । तर, यही तलमाथीलाई आधारमानेर कसैलाई काखा र पाखा गर्ने सोंच दलहरुले राख्न थाले भने त्यहाँ यस्तो छिद्र पैदा हुन्छ, जसवाट बिदेशी हस्तक्षेपका हातहरु छिर्न सक्छन् । संक्रमणकालमा, नयाँ संबिधान निर्वाह गर्नुपर्ने परिस्थीतिमा र सबै मिलेर देशको शासकीय स्वरुप निर्धारण गर्नुपर्ने अबस्थामा दलहरुबीच बेमेल देखिन थाल्नु उचित होइन । कसैलाई निशेष नै गर्ने, संबिधानका अक्षरहरु पढेर एकोहोरो रुपमा अगाडी बढ्न खोज्ने संस्कृति विकास भयो भने संक्रमणकालबाट मुलुकलाई निकास दिन समस्या नै हुने छ । त्यसकारण सहमतिका साथ अगाडी बढ्ने चरित्र विकास गर्न तर्फ सबै राजनीतिक दलहरु लाग्नु पर्दछ । देशभित्रका शक्तिहरुमा आपसी बिश्वासको वातावरण बन्न सकेन भने त्यसले राम्रो परिणाम दिनसक्दैन भन्ने मेलमिलापको नीतिको महत्वपूर्ण सन्देशलाई यतीबेला सबैले महशुस गर्नजरुरी छ । यस बर्षको मेलमिलाप दिवसबाट सबै दलहरुले यही प्रेरणा सबैले लिन सक्ने हो भने समयमै संबिधान निर्माण संभव हुने छ ।

प्रकाशित मिति:१४ पौष २०७०, नागरिक दैनिकको पश्चिमेलीमा प्रकाशित

Back