"देशलाई नयाँ जङ्गवहादुरको खाँचो छ" - सुरेन्द्र पौडेल (१३ फाल्गुन २०६७, surendrapaudel.wordpress.com)
Print Friendly and PDF

ब्रायन हज्सन् (नेपालका लागि वेलायतका राजप्रतिनिधी): 'तिमी त बेलायतको असल मित्र भएर पनि तिव्वतमाथि आक्रमणगर्दा हामीलाई थाहा दिएनौं । युद्धमा चीन खनिन सक्छ ।'

जङ्गवहादुर राणा: 'अब इश्वरका कृपाले जे हुँनेछ हुँनेछ मैले आक्रमण गरिदिएँ । तिमीले अहिलेसम्म कति राज्य जित्यौ के त्यो बेला म तिम्रो साथी थिइन के मलाई जानकारी दियौं ।'

नेपालले सन् १८५५ मा तिव्वतमाथि आक्रमण छेड्यो । त्यो आक्रमण प्रति बेलायतले निकै चासो थियो । नेपाल-तिव्वत युद्धबारे बुझ्न बेलायतले नेपालस्थित आपुनो राजप्रतिनिधी ब्रायन हज्सन्लाई आदेश दियो । माथिका वाक्य बेलायती आदेश बमोजिम ब्रायनले तत्कालिन प्रधानमन्त्री जङ्गवहादुरलाई पठाएको पत्र र बदलामा जङ्गवहादुरले पठाएको प्रतिउत्तरको एक अंश हुन् ।

'जङ्गवहादुर राणा बेलायतका अन्धो भक्त थिए,' इतिहासले यहि भन्छ, 'उनी साम्राज्यवाद र विस्तारवादको पृष्ठपोषक हन् ।' माथिका वाक्य पढ्दा इतिहासले कोरेको जङ्गवहादुरको आकृती र वास्तविक जङ्गवहादुर बिच मेल देखिदैन ।

जङ्गवहादुर र ब्रयानका यि वाक्य लामो समयसम्म गुप्तवास रहे । बेलायतस्थित रोयल एसियाटीक सोसाइटी अफ लण्डन र बि्रटिस लाइब्रेरीमा सुरक्षित रहेका यस्ता ऐतिहासिक दस्तावेजलाई खोजी नेपाल ल्याए इतिहास तथा संस्कृती विशेषज्ञ डा रमेश ढुङ्गेलले ।

**********

संचारकर्मी: प्रधानमन्त्री ज्यू परम्परा तोड्दै तपाईले त चीनको भ्रमण पहिले गर्नु भयो नि अब भारत रिसाउँदैन ?

पुष्पकमल दाहाल (पूर्वप्रधानमन्त्री): 'चीन भ्रमण मेरो अनौपचारिक हो, मेरो पहिलो औपचारिक राजनैतिक भ्रमण भारत नै हुने छ ।'

सन् २००८ मा चीनको वेजिङ्गमा सम्पन्न ओलम्पीक खेलको समापन समारोहमा सहभागी बनी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा संचारकर्मीसँग कुराकानी गर्दै तत्कालिन प्रधानमन्त्री दाहालले दिएको अभिव्यत्ती हो यो ।

दश वर्षे जनयुद्ध अनि संविधानसभाको निर्वाचन मार्फत प्रधानमन्त्रीको कुर्ची सम्हाल्न पुगेका दाहाल र उनको पार्टीले सधै साम्राज्यवाद तथा विस्तारवादको चर्को रुपमा विरोध गर्दै आयो । खासगरी अझ अमेरिका र भारतको ।

निरन्तरताको क्रमभङ्ग र क्रमभङ्गताको निरन्तरता यहिनै हो प्रधानमन्त्री दाहालको सुगा रटान । प्रधानमन्त्रीको हैसियतमा गरेको चीनको पहिलो विदेश भ्रमणलाई उनले औपचारिक भन्न चाहेनन् र रोजे दक्षिण तिरको छिमेकी भारतलाई नै । निरन्तरताको क्रमभङ्ग गर्न उनले पनि चाहेनन् ।

**********

प्रसङ्ग हो नेपालको परराष्ट्र नीति र यसको विस्तार । माथि उल्लेखित दुई प्रसङ्ग नेपालको परराष्ट्र नीति प्रतिविम्वीत गर्ने विगत र वर्तमानका दुई उदाहरण मात्र हुन् । नेपाली नेतृत्वको वोली र व्यवहार बिचको दुरी मापन गर्न यि दुई उदाहरण यथेष्ट छन् ।

प~चशिल, असंलग्न, संयुक्त राष्ट्रसंघ र सार्क वडापत्र नेपालका परराष्ट्र नीतिका प्रमुख आधार हुन् । यिनै आधारमा टेकेर नै नेपालले कुटनैतिक सम्बन्ध कायम र विस्तार गर्दै आएको छ । प्रत्येक सरकारले भन्दै आएको यहि हो ।

परराष्ट्र नीतिको उदेश्य एउटै छ, 'राष्ट्रको सार्वभौमिकता अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै अन्तराष्ट्रिय जगतमा नेपालको छवी उच्च बनाउने ।'

एकअर्काको सार्वभौमिकताको सम्मान एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने एकअर्काको विरुद्ध आपुनो भूमी प्रयोग हुन नदिनु नेपालले अँगालेको परराष्ट्र नीतिका सिद्धान्त भित्र पर्छन् ।

नेपालले सन् १९३४ मा लण्डनमा पहिलो दूतावास खोलेको अहिले ७७ वर्ष पुगेको छ । यो अवधिमा नेपालले जम्मा २७ वटा देशमा आपुनो दूतावास विस्तार गर्न सक्यो । जबकी सन् १९७१ मा स्वतन्त्र भएको दक्षिण एसियाली राष्ट्र बंगलादेशले ७० भन्दा बढि देशमा आप्ना दुतावास विस्तार गरिसकेको छ ।

नेपालको परराष्ट्र नीतिमा उल्लेख जे नै गरिए पनि नेपालको आन्तरिक मामलामा बारम्बार हस्तक्षेप गरिदै आइएको छ । खासगरी दक्षिण तर्फबाट । यसले नेपालको परराष्ट्र नीतिको कार्यन्वयन पक्षलाई त कमजोर पार्यो नै साथसाथै विस्तार हुँनबाट पनि बिाचत गर्यो ।

नेपालको इतिहास पल्टाउने हो भने विगत र वर्तमानमा यही देखिन्छ । आन्तरिक मामलमा हस्तक्षेप गर्न कहिले आफैले बिदेशी गुहारिएको छ त कहिले मिचेर आएका छन् । धज्जी उडाइएको छ परराष्ट्र नीतिको अनि स्वतन्त्र राष्ट्रको ।

विगतमा फर्कौं । 'प्रारम्भीक युग' पृथ्वीनारायण शाहले नेपाल एकिकरण प्रारम्भ र उनको मृत्युहुनु अगाडिको अवधि । विदेशी हस्तक्षेप नेपाल एकिकरण प्रारम्भसँगै अगाडि बढेको पाइन्छ । इतिहास तथा संस्कृतीविद ढुङ्गेलको शब्दमा प्रारम्भीक युगमा परराष्ट्र नीति 'गुहार नीति'मा आधारित थियो । उनले थपे, ' समय गुहार युग थियो ।'

प्रारम्भीक युगमा आपुनो अस्तित्व जोगाउन राज्यहरुले खतरा सत्रुलाई पनि स्वागत गर्ने परिपाटी बसाले । पृथ्वीनारायणले काठमाडौं आक्रमणगर्दा जयप्रकाश मल्लले भारतमा रहेका अंग्रेज गुहारे । क्याप्टेन किनलोकको नेतृत्वमा अंग्रेज फौज आयो । तर पृथ्वीनारायणको फौजसँग क्याप्टेन किनलोकको केही लागेन । क्याप्टेन किनलोकका धेरै अत्याधुनिक हतियार पृथ्वीनारायणले कब्जा गरे जसले उनलाई नेपाल एकिकरण गर्न थप सघायो ।

यस्तै भयो मकवानपुर सेन राज्यमा पनि । पृथ्वीनाराणले आक्रमण गर्ने भेउ पाएपछि सेन राजाले गुहारे बंगालका नवाब मिर काशिमलाई । मिर काशिमको पनि केही चलेन अन्ततः पराजित भई उनी पनि फर्के ।

'पृथ्वीनारायणले गुहार युगको अन्त गरे,' इतिहासविद ढुङ्गेल भन्छन्, 'पृथ्वीनारायणले अंगे्रजको ठाडो विरोधगरी उनीहरुसामु नदब्ने नीति लिए।'

अंग्रेजको ठाडो विरोध गर्ने नीति पृथ्वीनारायणको दिव्यउपोदेशमा पनि भेटिन्छ ।' फिरिङ्गी आइरहेछ हिन्दुस्ताना दबाईरहेछ शर जिमीमा परिरहेछ ,' उनले दिव्यउपोदेशमा भनेकाछन्, 'यो राज्य नेपाल भनेको असली हिन्दुस्ताना रहेछ ।' यहाँ पृथ्वीनारायणले उल्लेख गरेको हिन्दुस्ताना भारत होइन त्यतीबेलाको साँस्कृतिक भुभाग हो । जहाँका अधिकांस भूभाग बि्रटीसले कब्जा गरेपनि नेपाललाई भने लिनसकेको थिएन। जसकाकारण पृथ्वीनारायणले नेपाललाई 'असली हिन्दुस्ताना' र अंग्रेजलाई फिरिङ्गीको संज्ञा दिएका थिए ।

'त्यो समयमा अंग्रेज विरोध नीति नै आवश्यक थियो जुन पृथ्वीनारायणले अवलम्वन गरे । नत्र नेपाल राज्य नै नरहन सक्थ्यो,' इतिहासविद ढुङ्गेलको ठम्याई छ, 'यो नीतिलाई निरन्तरता दिन गाह्ो भयो जसले गर्दा नेपाल राज्यको विस्तार त रोकियो नै भएको भूभाग पनि सम्हाल्न गाह्ो भयो ।'

पृथ्वीनारायणको ५२ वर्षको उमेरमा मृत्यु भएपछि समय सुहाउँदो परराष्ट्र नीति बनाउने नेतृत्वको अभाव खड्कियो । यसको फाइदा उठाउँदै अंग्रेज नेपालमाथि जाइलाग्यो त नेपालको दरबार भित्र भाईभारदार र काजीहरु एक आपसमा भिड्न थाले । फलस्वरुप नेपाल पूर्वमा टिस्टाबाट मेची र पश्चिममा गढवालबाट महाकालीमा खुम्चीन पुग्यो । अन्ततः सन् १८१६ मा सुगौली सन्धी भयो ।

'सुगौली सन्धी त्यतीबेला हाम्रो परराष्ट्र नीति सही थिएन भन्ने एउटा उदाहरण हो ,' इतिहासविद ढुङ्गेल भन्छन्, 'यो सन्धी गर्दासम्म नेपालले अंग्रेज विरोधी नीति लिएको थियो जुन समयसापेक्ष थिएन ।'

राजेन्द्र विक्रम शाहको शासन कालमा त अंग्रेजले सिधै नेपालको मन्त्रीमण्डलमा हस्तक्षेप गरेको पाइन्छ । केही मन्त्री अंग्रेज विरोधी देखिएपछि ती मन्त्रीहरु हटाई आपुनो इशारामा नाच्नेलाई नियुक्त गर्न अंग्रेजले दवाव दिएका थिए। जसका कारण राजेन्द्र विक्रमले नयाँ मन्त्रीमण्डल गठनगरी हज्सनलाई सन् १८४० मा पठाएको वोधार्थपत्रमा उल्लेख सानो अंश यस्तो छः

'कलकत्ताबाट लाट लर्ड गौरन गभर्नर जनरल अकिलंद अकल्याण्ड साहेब वहादुर बाट दुई सरकारको दोस्तिका विचमा र नेपाल सरकारका दर्वारका सलतनत विगान्र्या मानिसहरु खारिज हउन् दुइसरकारका दोस्तिमा खलल गन्र्या र सलतनत विगान्र्या मानीसहरु खारिज भयेनन् भन्या दोस्ती रहन्या छैन भन्या लेखि आउंदा सोहिवमोजीम् हज्सन साहेवले दर्खास्त गर्याको हुनाले ………हाम्रा सरकारले सबै सलतनत् विग्रन गयाको दोषि हाम्रा तजवीजले सलतनत्मा विगार गन्र्या तप्सील वमोजीम्का भारदार खारिजगरि सबैकामकुराको मुखतियारि श्री चौतरिया फत्यजङ्ग साहलाई वक्सी इन्का मद्धत सल्लाहकार निमित्त तप्सील वमोजिम्का भारदार मुकरर गरि दुई सर्कारको दोस्ति पि्रति अघिदेखि चलिआयाको कायम रहन्या कुरामा मुखतियार र मुकरर भयाका तप्सील वमोजीम्का भारदारहरुले दुइ सरकारको दोस्ति बढाउंज्याल् बदलिहुन्या छैनन्।'

फत्यजंग शाह त्यसबेला घनघोर अंग्रेज समर्थक थिए । विरोध गुटका मिश्र गुरुजी र एकथरी पाँडेभाइहरुलाई राजेन्द्रविक्रमले खारेजगरे । फत्यजंगको नेतृत्वमा गुरु रंगनाथ पौडेल राजगुरु कृष्ण पंडित र अरु प्रभावशाली दूई चौतरीया- पुष्कर शाह र गुरुप्रसाद शाह तथा दलभंजन पाण्डे र कालु शाहि समेत संलग्न अंग्रेज समर्थक समूहको मन्त्रिमण्डल बनाएर तत्कालिन राजा राजेन्द्रले अंग्रेजभक्ति देखाउनु परेको उदाहरण हो यो पत्र ।

भिमसेन थापा निकै प्रभावशाली प्रधानमन्त्री थिए । उनले ३३ वर्ष नेतृत्व गर । उनको एक वर्षको तलव ८४ हजार रुपैयाँ तोकिएको थियो जबकी राजाको चौतरियाको तलव मात्र २२ हजार थियो । उनले नेतृत्व सम्हालेको समयमा नेपालले धेरै भूभाग गुमाउन पर्यो । इतिहासविद ढुङ्गेलले थप स्पष्ट पारे 'भिमसेन थापाको पतनको कारण उनले अँगालेको परराष्ट्र नीति असफल हुनु हो । उनलाई अँग्रेजले जन्मजात सत्रु भन्थे । उनले अँग्रेजसँग तालमेल मिलाउन सकेनन् ।'

हजुरवुबा भिमसेनको पतन देखेका जङ्गवहादुरले सक्ता हत्याउने वित्तिकै परराष्ट्र नीतिमा परिवर्तन ल्याए । पृथ्वीनारायणले कायम गरेको परराष्ट्र नीति जङ्गवहादुर आएर परिवर्तन गरि 'लोलोपोतो नीति' मा रुपान्तरण गरे ।

'अंग्रेजसँग शत्रुवत नीति लिएर हुँदैन उनीहरुलाई प्रयोगगरी आँपुू र राष्ट्रले फाइदा लिने काम लोलोपोतो नीति अँगालेर जङ्गवहादुरले गरे,' इतिहासविद ढुङ्गेलको तर्क छ , 'जङ्गवहादुरको यो नीति धेरै पछिमात्र अँग्रेजले थाहा पाए । वास्तवमा जङ्गवहादुर इतिहासले चित्रण गरेजस्तो अन्धो अंग्रेज भक्त थिएनन् । उनको इतिहास फेरी लेखिन आवश्यक छ । नेपालको इतिहासमा अहिलेसम्म परिपक्क परराष्ट्र नीति लिने व्यक्ति पृथ्वीनारायण र जङ्गवहादुर मात्र हुन् ।'

साम्राज्यवादको पछि लागे आँफु सुरक्षित भइन्छ भन्ने जङ्गवहादुरले बुझेका थिए । उनले अंग्रेजलाई सहयोग आपुनो स्वार्थको लागि मात्र गरेनन् राष्ट्र हितको निम्ती पनि प्रयोग गरे । जुन उनमा रहेको चतुर्याइ अंग्रेजलाई बुझ्न समेत हम्मेहम्मे पर्यो । 'अंग्रेजलाई सहयोग गरेर जङ्गवहादुरले नेपाललाई स्वतन्त्र त राखे तर साम्राज्यवादको छायाँले भने तसा्रइनै रहयो,' परराष्ट्रविज्ञ भेषवहादुर थापाको बुझाई छ ।

जङ्गवहादुर अंग्रेजको अन्धो भक्त थिएनन् भन्ने पाईएका पछिल्ला दस्तावेजले पुष्टी गर्छन् । सक्ता हत्याउने विक्तिकै उनले वेलायत जानपाउँ भनी अंग्रेजसामु विन्ती पत्र हालेको थिए । फलस्वरुप उनी सन् १८५० मा वेलायत पुगे । इतिहासविद ढुङ्गेलको शब्दमा 'वेलायतकी महारानी भिक्टोरिया र जङ्गवहादुर बिच भेट्ने समय तोकियो । जङ्गवहादुर रिचमण्ड टेरेसमा थिए । उनलाई लिन केही गार्ड सहित सामान्य वग्गी आइपुग्यो । तर उनी जान मानेनन् । उनले अड्डी कसे। आँपुू पूर्ण अधिकार युक्त राजप्रतिनिधी भएकोले २२ वटा रिसल्ला क्याबलरी ल्याउन भने अन्यथा महारानीसँग भेट नगर्ने बताए। स्वतन्त्र राष्ट्रले पाउने सम्मान पाउनुपर्छ भने उनले । यसो नभए आफ्नो देशको अपमान हुँने तर्क उनको थियो । अन्ततः २२ वटा रिसल्ला ल्याइयो । निर्धारित समय भन्दा दुई घण्टा ढिला महारानी र उनीबिच भेटवार्ता भयो ।'

जङ्गवहादुर कति निडर थिए भन्ने सन् १८५५ को यस घटनाले पनि देखाउँछ । वेलायतकी महारानीले उनलाई सम्मान स्वरुप 'काइट ग्राण्ड क्रस अफ दि अर्डर अफ दि बाथ' तक्मा पठाइन् जुन राजा महाराजहरुले मात्र पाउँने गर्थे । तक्मा लिन जङ्गवहादुर भारत गए । नेपाल फर्केपछि आपुनो असन्तुष्टी जङ्गवहादुरले नेपालकालागि वेलायती राजप्रतिनिधी हज्सन्लाई पठाएको पत्रमा यसरी छचल्कीएको छ 'महारानी भिक्टोरियालाई भेट्न बेलायतजाँदा मलाई १९ तोपको सलामी दिइन्थ्यो । कलकक्तामा महारानीले दिएको पदक थाप्न जाँदा १७ तोपको सलामी दिई २ तोप घटाएर मर्यादामा आँच पुर्याउने काम गरियो । मेरो दुईवटा तोपको सलामी खोई यो विषयमा मलाई स्पष्टीकरण चाहीयो होइन भने पदक महारानीकहाँ फिर्ता पठाउन सक्छु ।'

जङ्गवहादुरले भारतबाट फर्कदा दूईलाख कम्पनी पनि भारतस्थित अंग्रेज सरकारबाट ल्याए । प्रमुख सिमामा जङ्गे पिल्लर र पर्खाल लगाई उनले सिमा निर्धारण गर्ने कार्य पनि गरे ।

'जङ्गवहादुरले गर्दा बाँकी रहेको नेपाल बच्यो,' इतिहासविद ढुङ्गेलले भने, 'नेपालले गुमाएको केही भूभाग पनि उनले फिर्ता ल्याउने काम गरे ।'

जङ्गवहादुरले लिएको परराष्ट्र नीति चन्द्रसम्सेरको शासनकालमा आएर परिवर्तन भयो । चन्द्रसम्सेरले 'पूर्ण अंग्रेज भक्त नीति' अँगाले । जुन राष्ट्रका लागि घातक सावित भयो ।

२००७ सालको परिवर्तनपछि नेपालले अंग्रेजसँगको एकपक्षिय नीति तोड्दै पाचशिल असंलग्न र राष्ट्रसंघ वडापत्रलाई परराष्ट्र नीतिको आधार बनाउँदै आएको छ । परिवर्तनले नेपालले अन्ताराष्ट्रिय जगतसँग बढि घुलमेल हुने मौका पायो । कुटनीतिमा केही आधुनिकिकरण भयो । तर अंग्रेज भारत छाडी गएपनि भारतीय प्रभाव भने कायमै रहिरह्यो । यतिसम्म की मन्त्रीपरिषद बैठकमा समेत भारतिय राजदूतको उपस्थित हुनेगथ्र्यो । तर पछि यसको विरोध भएपछि यो प्रचलन हटाइयो ।

सन् १९६० मा तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनले विश्व हल्लायो । उनले साम्राज्यवाद अन्तगर्नु पर्ने उद्घोष मात्र गरेनन् प्रत्येक देशको परराष्ट्र नीतिले आपुनो देशको राजनैतिक स्वतन्त्रता अखण्डता सार्वभौमिकताको रक्षा गर्दै विश्व शान्ति तथा सहयोगलाई बढावा दिने हुनु पर्ने उल्लेख गरे ।

'प्रत्येक अन्तराष्ट्रिय घटनालाई हामी कसैको दबाव र प्रभावमा नपरी आपुनै विवेकले विष्लेषण गर्ने छौं,' बिपीले सम्बोधनमा भनेका थिए, 'हामी यो चाहदैनौं कि कुनै पनि देशले हामी कसरी सोचिरहेका छौं र आन्तरिक मामला कसरी समाधान गछौं भन्नेमा चासो राखोस् ।'

अंग्रेजले भारत छोडे पनि नेपाललाई हेर्ने भाव तेही नै रह्यो । परराष्ट्रविज्ञ थापा भन्छन्, 'शक्तिकेन्द्र परिवर्तन हुँदैमा स्वार्थ परिवर्तन हुँदैन । त्यही भयो नेपाल र भारतबिच । भारतको आँखा नेपालको पानीमा अड्कियो ।'

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रत्यक्ष शासन आपुनो हातमा लिएपछि फेरी नेपाली परराष्ट्र नीति 'चाइना कार्डु' रुपमा प्रस्तुत भयो । भारतसँगको एकोहोरो नीतिलाई सन्तुलन गर्ने प्रयास उनको थियो ।

'महेन्द्रको राष्ट्रिय आकांक्षा दह्ो भए पनि कार्यन्वयन गर्ने पक्ष साँगुरो भयो । संर्किण राजनीति उनले गरे जसलेगर्दा उनको आकांक्षा स्थायी हुन सकेन ,' परराष्ट्रविज्ञ थापाको ठम्याई छ ।

महेन्द्रले चीनसँग सम्बन्ध विस्तार गरेपनि 'पिपुल टु पिपुल' साचारलाई भने बन्देज लगाए । इतिहासविद ढुङ्गेल भन्छन्, 'महेन्द्र भारतसँग ज्यादै अड्डी कसेर बसेका भने होइनन् । तर अन्तमा उनीपनि भारतसँग झुके ।'

२०४६ सालपछि नेपालको परराष्ट्र नीति झनै धराशायी बन्दै गएको बुझाई विज्ञको छ । नेपालको इतिहासमा परराष्ट्र नीति सबैभन्दा कमजोर र अनिस्चित अवस्थामा अहिले रहेको छ ।

'भारतसँग परम्परागत सम्बन्ध छ तर अब कुण्ठीत हुनुपर्ने अवस्था छैन । परिस्थिती फेरिएको छ,' परराष्ट्रविद थापाले भने, 'सबै पार्टी भारत परस्त रोगबाट ग्रसित भएका छन् यसले स्वतन्त्र राष्ट्रको छवी धमिलाउने काम गरेको छ ।'

देशमा जे भएपनि भारतसँग सोध्न जाने परम्परा झाङ्गिदै छ । परराष्ट्र नीतिले राष्ट्रियता भूभागको निश्चितता र प्राकृतिक संपदाको संरक्षण निश्चित गर्नुपर्ने ठहर विज्ञको छ । 'समस्या परे जनता माझ जानु पर्छ , यहाँ त्यस्तो हुन सकेको छैन। भारत गुहार्ने मात्र काम हूँदै आएको छ,' परराष्ट्रविज्ञ थापाले भने ।

अरु त अरु राष्ट्रियताको सवालमा पनि नेपाली नेतृत्व पंत्तिमा साझा धारणाको खडेरी देखिन्छ । एउटा पार्टीको नेता सिमा मिचियो भन्छन् त अर्को पार्टीको नेता भन्छन् 'भाकै छैन'। परराष्ट्रविज्ञ थापा भन्छन्, 'कतन्त्रमा मतभेद त जहाँ पनि हुन्छ तर राष्ट्रियतामा नै पार्टीहरु एक हुन सक्दैनन् भने अरुले फाइदा त उठाउने नै भए ।'

दुई वर्ष अगाडि भारतको नयाँदिल्लीमा सम्पन्न बिमिस्टेक बैठकमा सहभागी बनी स्वदेश फर्किने क्रममा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले भनेका थिए, 'अन्मिनको समयअवधि थप्ने कि नथप्ने विषयमा पनि भारतिय समकक्षिसँग छलफल भयो ।'

'के त्यसो भने अन्मिनको समय थप गर्ने कि नगर्ने भनेर भारतसँग सोध्न पर्ने रहेछ,' प्रधानमन्त्रीको वाक्य टुङ्गीन नभ्याउँदै एक पत्रकारले सोधेका थिए ।

प्रतिउत्तरमा आक्रोषितहुँदै दाहालले जवाफ फर्काए, 'सबैकुरा सोचेजस्तो हुँदैन ।'

'जुनदेशसँग सम्बन्ध बढाउँदा राष्ट्रलाई बढि फाइदा हुन्छ त्यही देशसँग सम्बन्ध बढाउनु पर्छ,' परराष्ट्रविज्ञ थापा भन्छन्, 'यो सम्भव तब मात्र हुन्छ जब राष्ट्रिय हितका विषयमा सबैपार्टी एकभई राष्ट्रिय नीति निर्माण गर्छन् ।'

इतिहासविद ढुङ्गेलको बुझाइमा देशलाई नयाँ जङ्गवहादुरको खाँचो छ । यो आवश्यकता परराष्ट्र नीतिको मामलामा मात्र हो । परराष्ट्र नीतिमा जङ्गवहादुर जस्तो सफल शासक अरु जन्मन सकेका छैनन् । देशको सिमा निर्धारण गर्ने गुमेको भूभाग फिर्ता ल्याउने राष्ट्रलाई स्वतन्त्र मूलुकको हौसियतमा जोगाइराख्ने र अन्य सहयोग भित्राउने सवालमा जङ्गवहादुरले निकै चतुर्याइ देखाएका थिए । इतिहासविद ढुङ्गेलले थपे, 'परराष्ट्र मामलमा कोही न कोही नेता अब नयाँ जङ्गवहादुर बन्नुपर्छ अन्यथा राष्ट्र झन् धरासायी हुन्छ ।'

स्रोत: १३ फाल्गुन २०६७, surendrapaudel.wordpress.com

Back