नेपाली कांग्रेस स्थापनाको दिन (गोरखापत्र अनलाइन डट कम)
Print Friendly and PDF

पुरुषोत्तम बस्नेत, अनेक आरोह र अवरोहहरूलाई छिचोल्दै, अनेक ऐतिहासिक घुम्तीहरूबाट अघि बढ्दै, नेपाली कांग्रेस आज सात दशक लामो एउटा अवधिको नजिकै पुग्न लागेको छ । यो अवधिमा कांग्रेसले सधैं निरंकुशताको विरोधको अनेकौं संघर्षमा आफूलाई उभ्याइरहन प¥यो । यद्यपि नेपाली कांग्रेसको इतिहास पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट निरपेक्ष गरिबीमा रहेका नेपाली जनताले लगाउनु परेको झुत्रो कपडाको पार्सल चन्द्र शम्शेरलाई सिंहदरबारमा पठाएकै दिन, वि.सं. १९७४ को श्रावणबाट प्रारम्भ भएको हो । तर यसको विधिवत स्थापना वि.सं. २००३ को माघ १२ गते कलकत्ताको भवानीपुरको अधिवेशनबाट भएको हो ।

बृटिस औपनिवेशिक शासनबाट भारत मुक्त नभएसम्म त्यसको आडमा टिकेको नेपालको एकतन्त्रीय राणा शासनलाई समाप्त पार्न सकिन्न । त्यसैले भारतबाट बृटिस उपनिवेशलाई समाप्त पार्नु राणातन्त्र समाप्तिको पहिलो कदम हो भन्ने वस्तुगत यथार्थलाई पिताजीले महसुस गर्नु भएको थियो । भारतको १२ वर्षसम्मको लामो निर्वासनकालमा उहाँ त्यसैकारण एकसाथ राणा शासनको विरोधमा र भारतको स्वतन्त्रताको संघर्षमा सक्रियताका साथ संलग्न हुनुभयो । त्यसले भारतमा रहेका नेपालीहरूमा नयाँ जागरण ल्यायो । आफ्नो स्वतन्त्रताको निमित्त संघर्ष गरिरहेका भारतीयहरूमा नेपालीहरूका प्रति ऐक्यवद्धता र सद्भाव बढायो । उनीहरूमा छिमेकी देश नेपालका जागरुक वर्गको पनि भारतको स्वतन्त्रता संघर्षमा सहयोग प्राप्त छ भन्ने हौसलायुक्त भावनाको विकास गरायो । जलियावाला वागको बर्बर हत्याकाण्डमा बृटिसहरूले त्यहाँको नेपाली सेना (गोरखा पल्टन) लाई प्रयोग गरेको थियो । राणाहरूले त्यस्ता कतिपय घटनाहरूमा बृटिस शासनकलाई सहयोग पु¥याइरहेका थिए । त्यसले भारतवासीमा नेपाल र नेपालीका प्रति नकारात्मक सोचाइ उत्पन्न गरेको थियो । तर नेपालीहरूले भारतको स्वतन्त्रताको संघर्षमा पु¥याएको सहयोगले नेपाल सरकार मात्र भारतको स्वतन्त्रताको आन्दोलनको विरोधी हो । नेपालका चेतनशील जनता भारतीय जनताको पक्षमा छन् भन्ने धारणा भारतवासीमा विकसित हुँदै गयो ।

नेपालको एकतन्त्रीय राणा शासन र भारतको औपनिवेशिक शासन विरुद्धको संघर्षको वातावरणमा बी.पी. कोइरालाको चेतनाका आँखाहरू खुले । सन् १९२० मा ६ वर्ष पुग्दानपुग्दै बीपी र उहाँको दाजु मातृकाप्रसाद कोइरालाले महात्मा गान्धीको असहयोग आन्दोलनको आह्वानमा सरकारी विद्यालय बहिष्कार गर्नुभयो । त्यसबेला बनारसको घर–घरबाट बेलायती कपडाहरू एकठ्ठा गर्दै जलाउने एक सशक्त बाल स्वयंसेवक हुनुहुन्थ्यो बीपी । सन् १९३४ मा आइपुग्दा बीपी भारतीय स्वतन्त्रता संघर्षको एक वरिष्ठ तरुण नेताको ठाउँमा आइसक्नु भएको थियो । त्यही बेला आफ्ना केही थप योजनाहरूको आधारमा समाजवादी समूहले भारतीय राष्ट्रिय कांग्रेसभित्र बेग्लै अस्तित्व कायम राखेर काम गर्न थाल्यो । समाजवादी समूहको विहार र यूपी प्रान्तको संगठन सेक्रेटरीको हैसियतले, त्यस समूहको प्रचार एवं किसान, मजदुर र विद्यार्थी संगठनको मुख्य दायित्व बीपीले बहन गर्नुपरेको थियो । उनीहरूले गरेको विभिन्न आन्दोलनलाई नेतृत्व प्रदान गर्दै बीपीले अनेकपटक भारतको विभिन्न जेलमा रहनुप¥यो ।

भारतीय राष्ट्रिय कांग्रेसको सन् १९४२ को अगस्तमा भएको सम्मेलनले 'भारत छोडो' (क्वेट इन्डिया) आन्दोलन प्रस्ताव स्वीकृत ग¥यो । त्यसपछि तुरुन्त आम गिरफ्तारी प्रारम्भ भयो । त्यो आन्दोलनमा समाजवादी समूहको उल्लेखनीय भूमिका रह्यो । केही समयसम्म भूमिगत रहेर बीपीले विहारमा यो आन्दोलनको नेतृत्व गर्नुभयो । अन्ततः १९४२ को नोभेम्बरमा बीपी पटनामा पक्राउ पर्नुभयो । १९४४ को उत्तराद्र्धदेखि राजबन्दीहरूको रिहाइको क्रम प्रारम्भ भयो । १९४५ को जनवरी १७ का दिन हजारिवाग जेलबाट धेरै राजबन्दीहरूका साथ बीपी पनि रिहा हुनुभयो । रिहाइको पुर्जीसँगै, जेल कार्यालयमा बीपीले काठमाडौबाट भाइ केशवप्रसाद कोइरालाले पठाएको टेलिग्राम पनि पाउनुभयो । त्यो पिताजीको निधनको दुःखद समाचारको टेलिग्राम थियो । वि.सं. २००१ को माघ ३ गते पिताजीको काठमाडौंमा बन्दी अवस्थामा नै निधन भएको थियो ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै कतिपय मुलुकहरूबाट औपनिवेशिक शासन समाप्त हुँदै थियो । भारत पनि स्वतन्त्रता प्राप्तिको नजिकै आइसकेको थियो । सन् १९४६ को अक्टोवर ४ का दिन बीपी कोइरालाले एक वक्तव्य दिनुभयो । त्यसमा उहाँले, निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न संगठित भएर आप्mनो देशप्रतिको कर्तव्य पूरा गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्नुभएको थियो ।

बीपीको यो आह्वानले भारतमा रहेका र देशभित्रका चेतनशील नेपालीहरूमा नयाँ हलचल ल्यायो । नयाँ उत्साह र नयाँ जागरण ल्यायो । बीपीले दिएको ठेगानामा धेरैतिरबाट पत्रहरू आउन थाले । कतिले आफैं आएर बीपीलाई भेटे, विचार–विमर्श गरे । बीपीले भारतको विभिन्न भागमा पुगेर, त्यहाँका नेपालीहरूसित भेटघाट गर्नुभयो । अन्तोगत्वा १९४६ को अक्टोबर ३१ (२००३ को कात्तिक १५) का दिन बनारसमा 'अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस' गठन गरियो । त्यसको संयोजकमा बीपी कोइराला रहनु भएको थियो । देवीप्रसाद सापकोटा त्यसको अध्यक्ष, वालचन्द्र शर्मा उपाध्यक्ष, कृष्णप्रसाद भट्टराई महामन्त्री, गोपालप्रसाद भट्टराई प्रचारमन्त्री, दीननाथ सापकोटा र लक्ष्मीप्रसाद सापकोटा सदस्य तथा ईश्वर बराल यसको कार्यालय मन्त्री रहनुभयो । एकतन्त्रीय राणाशासनको विरोधमा छिटै एक नयाँ पार्टीको स्थापना गर्न त्यसको अधिवेशन, नाम, झण्डा, विधान आदि सबै तयारीको जिम्मेवारी दिएर यसको गठन गरिएको थियो । त्यसको डिसेम्बर ३ र ४ मा बसेको बैठकले निर्धारण गरे अनुसार वि.सं. २००३ को माघ १२ र १३, तदनुसार १९४७ को जनवरी २५ र २६ का दिन कलकत्तास्थित भवानीपुरको खाल्सा स्कुलको प्रांगणमा यसको पहिलो अधिवेशन भयो । त्यसमा भाग लिन नेपालका केही प्रमुख स्थानहरूबाट र भारतको विभिन्न भागबाट प्रतिनिधिहरू आएका थिए । बीपी कोइरालाको अध्यक्षतामा भएको यो अधिवेशनले नवगठित पार्टीको नाम 'नेपाली राष्ट्रिय कांग्रेस' राख्यो । यसको झण्डा– माथिल्लो भाग सेतो, बीचको हरियो, तल्लो भाग पहेंलो र त्यसको बायाँपट्टिको मध्यभागमा रातो रङको उदाइरहेको सूर्य अंकित थियो । त्यसै दिन यसको विधान र विभिन्न प्रस्तावहरू पारित गरियो । यसको उद्देश्य अहिंसात्मक साधनद्वारा, जनताको सहयोगले नेपालमा जनउत्तरदायी सरकारको गठन गर्ने भनिएको थियो ।

भोलिपल्ट माघ १३ गते दोस्रो दिनको अधिवेशनले यसको कार्यसमितिको चयन ग¥यो । जसमा नेपालको जेलमा कष्टकर यातना बेहोरिरहेका टंकप्रसाद आचार्य सभापति, बीपी कोइराला कार्यकारी सभापति, वालचन्द्र शर्मा महामन्त्री डा. डिल्लीराम रेग्मी प्रकाशन विभागको अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री थिए । सदस्यहरू थिए, गोपालप्रसाद भट्टराई, देवव्रत परियार, डीएन प्रधान, ल्हाक्पा क्षिरिङ शेर्पा र रुद्रप्रसाद गिरी । ईश्वर बराल कार्यालय अध्यक्ष रहेका थिए । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा गणेशमान सिंहको पनि उल्लेखनीय योगदान थियो । उहाँ नेपालको जेलबाट भागेर आएकोले भारतमा पनि उहाँले भूमिगत तवरमै रहनु परेको थियो । त्यसैले उहाँ यो कार्यसमितिमा रहनु भएन । त्यसै दिन यसको केन्द्रीय कार्यालय तत्काललाई काशीमा राखिने र उचित समयमा काठमाडौंमा सारिने, शाखा कार्यालयहरू विभिन्न स्थानमा राखिने निर्णय गरिएको थियो । नेपाली राष्ट्रिय कांग्रेसको गठनको मूलभूत उद्देश्य– एकतन्त्रीय राणा शासनको विरोधमा यथाशीघ्र देशभित्रैबाट सशक्त ढंगले गतिविधिहरू सञ्चालन गर्ने थियो । तदनुसार २००३ को फाल्गुण २१ देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ भयो । नेपाल भूमिमा भएको यो पहिलो ऐतिहासिक आन्दोलन थियो । राणाहरूले यसको कठोर दमन गर्न काठमाडौंबाट थप सेना पठाए । २००३ को चैत्र १२ का दिन बिहानै सेनाले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ ग¥यो । उहाँहरूलाई धनकुटा पु¥याएर, त्यहाँबाट पहाडै पहाड काठमाडौं ल्याइयो । त्यसको विरोधमा मजदुरहरूले सशक्त रूपमा आन्दोलन अघि बढाएर, चैत्र १४ गते विशाल जुलुस प्रदर्शन गरे । सेनाले बर्बरतापूर्वक गोली वर्षायो । मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए । अरू अनेकौं घाइते भए । आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरी एवं वालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई र अरू दर्जनौंलाई पक्राउ गरेर धनकुटा जेलमा राखियो । नेपाली राष्ट्रिय कांग्रेसको चैत्र २७ र २८ गते जोगवनीमा सम्मेलन भयो । त्यसले आन्दोलन स्थगित ग¥यो । चैत्र मसान्तभित्र पक्राउ गरिएका सबैलाई रिहा नगरिए, २००४ को वैशाख १ देखि देशव्यापी सत्याग्रह गर्ने निर्णय ग¥यो ।

२००४ को वैशाख १ देखि देशको विभिन्न ठाउँमा सत्याग्रह प्रारम्भ भयो । अनेकौंले गिरफ्तारी दिंदै गए । राजधानी उपत्यकामा महिनौंसम्म लगातार अति सशक्त तवरले सत्याग्रह सञ्चालन भैरह्यो । यो सत्याग्रहले राणातन्त्रका निरंकुश शासक 'श्री ३ महाराज' लाई– सत्याग्रह रोकियोस्, राजबन्दीको रिहाइको साथै, संवैधानिक सुधार गर्छु भन्न बाध्य पा¥यो ।

२००४ को भाद्रमा बीपीलाई रिहा गरियो । २००४ को फाल्गुण २० देखि २२ सम्म बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशन भयो । त्यसले बीपीलाई सभापति छान्यो । यहाँसम्म आइपुग्दा नेपाली राष्ट्रिय कांग्रेस विरोध र संघर्षको एक सशक्त राजनैतिक पार्टी भएर देशको प्रत्येक भागमा पुगिसकेको थियो । सबै सीमावर्ती स्थानमा यसको शाखा कार्यालयहरू थिए ।

२००५ को कार्तिकमा बीपी भूमिगत रूपमा काठमाडौं आउनुभयो । केहीपछि उहाँ पक्राउ पर्नुभयो । उहाँलाई अत्यन्त क्रूरताका साथ एक्लै, नेल र हतकडी लगाएर एक अस्वस्थकर जेलमा राखिएको थियो । केही महिनापछि उहाँले आमरण अनशन शुरु गर्नुभयो । अनशनको २९औं दिनमा मृत्युको छेवैमा पुगेपछि मात्र उहाँलाई २००६ को ज्येष्ठ १५ गते रिहा गरियो । उहाँ जेलमै रहेको बेला २००५ को फाल्गुण १८, १९ र २० मा दरभङ्गामा नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन भयो । त्यसले बीपीको यथाशीघ्र रिहा नगरे, २००६ को ज्येष्ठ १८ देखि सत्याग्रह गर्ने निर्णयसहित अरू विभिन्न प्रस्तावहरू पारित ग¥यो । त्यही अधिवेशनले मातृकाप्रसाद कोइरालालाई पार्टीको सभापति छान्यो ।

त्यसबेला भारतमा रहेका सुवर्ण शम्शेर, महावीर शम्शेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्र विक्रम शाह आदि पनि राणा शासनको विरोधमा संगठन तयार पार्ने योजनामा हुनुहुन्थ्यो । बीपीले उहाँहरूसित भेटेर नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित हुन विशेष आग्रह गर्नुभएको थियो । नेपाली राष्ट्रिय कांग्रेस अहिंसात्म मर्यादालाई पूर्णतः पालन गर्ने पार्टी थियो । तर कुनै नियम र कानुनको परिधिभित्र नरहेको नेपालको निरंकुश हुकुमी शासनको विरोधमा अहिंसात्मक कार्यविधि सर्वथा अनुपयुक्त हुन्छ । त्यसको विरोधमा सशस्त्र संघर्ष गर्न सक्ने संगठनको आवश्यकता छ भन्ने उहाँहरूको धारणा थियो । त्यसैले उहाँहरू नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित हुनु भएन । २००५ को पौष १५ गते कलकत्ताको टाइगर सिनेमा भवनमा अधिवेशन गरेर उहाँहरूले बेग्लै पार्टी– 'नेपाल प्रजातन्त्र कांग्रेस'को गठन गर्नुभयो । यसको सभापति महेन्द्र विक्रम शाह, महामन्त्री सूर्यप्रसाद उपाध्याय, कोषाध्यक्ष राजेश्वरीप्रसाद उपाध्याय, सहायक महामन्त्री प्रेमबहादुर कंसाकार तथा सदस्यहरू– सुवर्ण शम्शेर, महावीर शम्शेर, सुन्दरराज चालिसे, लक्ष्मी दत्त उपाध्याय, भीमभक्तमान सिंह बस्नेत, आरबी गहतराज, श्रीमती माया शाह र बाबुलाल मोक्तान हुनुहुन्थ्यो । यसको झण्डा– तीन समान भागमा माथि र तलको भाग रातो, बीचको भाग सेतो र त्यसमा चारवटा राता तारा अंकित थियो । यसको केन्द्रीय कार्यालय, फ्री स्कुल स्ट्रिट कलकत्तामा र अरू विभिन्न स्थानमा शाखा कार्यालयहरू थिए ।

वि.सं. २००६ को मध्यतिर आइपुग्दा बीपीले पनि राणाहरूको कठोर निरंकुशता, उनीहरूको बर्बरता र पाशविक व्यवहारलाई नजिकैबाट देखिसक्नु भएको थियो । बीपी र नेपाली राष्ट्रिय कांग्रेसका अरू नेताहरूलाई पनि राणातन्त्रको विरोधमा अहिंसात्मक पद्धति उपयुक्त हुनसक्तैन भन्ने महसुस हुन थालेको थियो । यसले नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको सम्बन्धलाई नजिक पार्दै लग्यो । यी दुई पार्टीका नेताहरू मुख्यतः बीपी र सुवर्णको बीचमा अनेकपटक छलफल र विचार विमर्श भयो । अन्ततः १९५० को अप्रिल ९ अर्थात् २००६ को चैत्र २७ गते कलकत्ताको टाइगर सिनेमा भवनमा यी दुबै पार्टीको प्रतिनिधिहरूको संयुक्त अधिवेशन भयो ।

त्यही अधिवेशनले यी दुई पार्टीको विधिवत एकीकरण गरेर 'नेपाली कांग्रेस'को गठन ग¥यो । यसको सभापति नेपाली राष्ट्रिय कांग्रेसबाट र महामन्त्री नेपाल प्रजातन्त्र कांग्रेसबाट रहने सहमति अनुसार मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसको सभापति र महेन्द्र विक्रम शाह महामन्त्री हुनुभयो । दुवै पार्टीबाट चार–चार जना केन्द्रीय सदस्य रहने निर्णय अनुसार नेपाली राष्ट्रिय कांग्रेसबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र दयाशंकर मुन्सी तथा नेपाल प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, महावीर शम्शेर र कुँवर कल्लु सिंह यसको सदस्यमा रहनुभयो । नेपाली कांग्रेसले नेपाल प्रजातन्त्र कांग्रेसको झण्डलाई आफ्नो झण्डा अपनायो ।

दुई बेग्लाबेग्लै पार्टीको आ–आफ्नो अस्तित्व कायम राखेर 'नेपाली कांग्रेस' को गठन भएको थियो । दुई पार्टी एकीकरणको अधिवेशनलाई पार्टीको पहिलो अधिवेशन मानेर चैत्र २७ लाई यसको स्थापनाको दिन मान्नुपर्छ भन्ने धारणा पनि व्यक्त भएको थियो । तर नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो स्थापनासँगै देशभित्रै आन्दोलन, सत्याग्रह र अरू अनेक ऐतिहासिक गतिविधिहरू सञ्चालन गरिसकेको थियो । यसको कतिपय कार्यकर्ताहरूले नेपालको जेलको कठोर यातना बेहोरिरहेका थिए । यसले विधिवत आफ्नो तीनवटा अधिवेशन सम्पन्न गरिसकेको थियो । एकीकरण अधिवेशनलाई त्यसमा आवद्ध गरेर लग्नु पर्छ भन्ने धेरैको धारणा रह्यो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र यसको इतिहाससँगै नेपाली कांग्रेसलाई आवद्ध गरियो र एकीकरण अधिवेशनलाई चौथो अधिवेशन मानेर माघ १२ लाई नै नेपाली कांग्रेसको स्थापनाको ऐतिहासिक दिन मानियो ।

नेपाली कांग्रेसको २००७ को ऐतिहासिक जनक्रान्तिले देशमा प्रजातन्त्रको स्थापना ग¥यो । त्यसपछि देशभित्रै जनकपुरमा, २००९ को ज्येष्ठमा यसको महाधिवेशन भयो । जनकपुर अधिवेशनलाई पाँचौं महाधिवेशन मान्दै नेपाली कांग्रेसले अहिले आप्mनो बाह्रौं महाधिवेशन सम्पन्न गरिसकेको छ ।

नेपालमा राणातन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्मका अनेक युगान्तकारी परिवर्तनहरू नेपाली कांग्रेसको नेतृत्वमा भएका हुन् । देशलाई अघि बढाएर जनतालाई अधिकार सम्पन्न बनाउने कार्यको संवाहक नेपाली कांग्रेस हो । नेपाली कांग्रेसलाई यो शक्ति, सामथ्र्य, अवसर र दुरदृष्टि जननायक बीपी कोइरालाबाट प्राप्त भएको हो । अहिले उहाँको सतवार्षिकी मनाउँदा नेपाली कांग्रेसको स्थापनाको दिन माघ १२ को ऐतिहासिक पक्ष पनि जोडिन आउँछ ।

Back