"वीपीको प्रधानमन्त्रित्व र संसद् विघटन हुने हल्ला" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. ४१–४५)
Print Friendly and PDF

१. वीपी प्रधानमन्त्री बन्नुभयो, मन्त्रिपरिषद् बन्यो र मन्त्रीहरु सबै आआफ्ना कार्यमा जुटे। संसद्को बैठक बोलाइयो र नेपालको पहिलो निर्वाचित संसद्ले पनि २०१६ साल असार १६ र १७ गतेको मध्यरातमा शपथग्रहण गरी आफ्नो काम थाल्यो। शपथग्रहणका लागि त्यो मध्यरात किन चुनियो? त्यसको खास कारण त थाहा भएन, तर त्यस बेला भनिएको के थियो भने श्री ५ महेन्द्रको तिथिअनुसारको जन्मोत्सव १६ गते र स्व. श्री ५ त्रिभुवनको गतेअनुसारको जन्मजयन्ती १७ गते पर्ने भएकाले दुवैको सङ्गमको त्यो ऐतिहासिक शुभ बेला रोजिएको हो। जे होस; अब मन्त्रिपरिषद् र संसद् दुबै आआफ्ना कार्यमा सक्रिय हुन थालेका थिए।

यता मन्त्रिपरिषद् र संसद् आफ्ना काममा सक्रिय रुपमा जुटेका थिए भने उता बजारमा संसद बिघटन हुने हल्ला पनि त्यसै बेलादेखि नै प्रारम्भ भएको थियो। संसद्मा नेपाली कांग्रेसको प्रबल बहुमत आएको र गोर्खा परिषद्बाहेक अरु पार्टीको अस्थान नगण्य भएकाले साना पार्टीहरु प्रायः सबै नै कांग्रेसका प्रति तीब्र ईष्र्याको भावना राख्थे। संयुक्त पार्टीका नेता डा. के.आई. सिंह त लैनचौरको आमसभाको भाषणमा कांग्रेसले धाँधली गरेर मात्र चुनाब जितेको आरोप लगाउन पुगेका थिए। यस्तो अभियोग लगाउनेमा उनको पार्टी एक्लो थियो र अरु पार्टी चुनावी सरकारमा स्वयं सामेल रहेकाले यस्तो अभियोग लगाउन सक्दैनथे। के.आई. सिंह चाहिँ आफ्नो अभियोग प्रमाणित गर्न कम्मर कसेर लागेका थिए।

संसद् बिघटन हुने हल्ला बजारमा जति गरम भए पनि मन्त्रिपरिषद् वा संसद् यस्ता हल्लाबाट बिलकुलै अप्रभावित रही काममा लागेका थिए। सरकारको कामकारवाही र नेताहरुको आत्मविश्वास देख्दा लाग्थ्यो– यस्ता हल्लामा उनीहरुलाई कुनै विश्वासै छैन।

२. तर हैन, वीपी स्वयम् पनि र सुवर्णशमशेर पनि यस्ता हल्लाप्रति निकै सतर्क हुनुहुन्थ्यो– हावा नचली पात हल्लिदैन। के.आई. सिंहलाई त्यत्रो आत्मविश्वास कहाँबाट आयो त? यसकारण वीपीले आफ्नो स्थानमा दह«ोसँग उभिन तीनवटा उपायको अवलम्बन गर्न लाग्नुभएको थियोः (१) आफ्नो पार्टीका संसद्हरुलाई पूर्णतः आफ्नो विश्वासमा लिने, (२) जनताको निम्ति विकास–निर्माणका कार्यलाई द्रुत गतिमा सञ्चालित गर्ने, (३) पार्टीका कार्यकर्ताहरुमा नयाँ शक्तिसञ्चार गराएर पार्टीलाई सजीव र सक्रिय राख्ने। यसअतिरिक्त संसद्भित्रका अन्य पार्टीसँग आफ्नो सम्बन्ध विकास गर्ने कुरामा पनि उहाँ त्यत्तिकै प्रयत्नशील रहनुभएको थियो।

संवैधानिक प्रावधानको समेत त्यति अपेक्षा नगरी गोर्खा परिषद्का नेता भरतशमशेरलाई विरोधी दलका नेताको मान्यता दिलाउनु पनि यसैको परिणाम थियो। यति मात्र होइन, राजा सँगको सम्बन्ध–सुधारमा पनि उहाँ त्यत्तिकै प्रयत्नशील हुनुहुन्थ्यो। श्री ५ महेन्द्रको पश्चिमका कतिपय जिल्लाहरुको भ्रमणका अवसरमा सवारीसाथ आफ्नो मन्त्रिपरिषद्का कुनै एक सदस्यलाई पठाए पुग्नेमा पोखरादेखि बाग्लुङ हुदै दाङसम्म आफै जानु पनि यसै प्रयत्नको एउटा अङ्ग थियो।

छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नयाँ विश्वास पैदा गर्ने विषयमा पनि उहाँ त्यतिकै प्रयत्नशील हुनुहुन्थ्यो। वीपीको अन्तर्राष्ट्रिय समाजवादी तथा भारतीय समाजवादी (जयप्रकाश नारायण, राममनोहर लोहिया आदि) हरुसँगको सम्पर्क र सान्निध्यका कारण चीन र भारत दुबै वीपीका विषयमा त्यति ढुक्क थिएनन्। त्यस बखत अन्तर्राष्ट्रिय समाजवादीहरु कम्युनिस्टहरुका कट्टर विरोधी भएकाले रुस र चीनसँगको प्रतिद्धन्द्धिताका कारण अमेरिका समाजवादीहरुको समर्थन गथ्र्यो र त्यससँग सम्बन्धित भएका कारण चीनले वीपीउपर सन्देह गर्नु अस्वाभाविक थिएन। यता भारतमा पनि नेहरु र लोहीयाहरुका बीचको पारस्पारिक वैमनस्यका कारण नेहरु वीपीप्रति सन्देहशील रहनु अस्वाभाविक थिएन। तर वीपीले दुबै देशका प्रधानमन्त्रीहरुको काठमाडौंमा स्वागत गरेर तथा आफूले पनि दुवै देशको भ्रमण गरेर उनीहरुका मनमा रहेको त्यस सन्देहलाई पूर्ण मित्रताको रुपमा परिवर्तित गर्नुभएको थियो। राष्ट्र संघको साधारण सभामा स्वयं उपस्थित भएर अन्तर्राष्ट्रिय जगतमा आफ्नो कूटनीतिक चनतुर्यको प्रदर्शन गर्न पनि उहाँ चुक्नुभएको थिएन।

३. यसअतिरिक्त पार्टी र सरकार दुवैतिरबाट आफ्नो संगठन सुदृढ पार्न र जनतामा आफ्नो विश्वसनीयता बढाउन पनि अनेक कार्यको थालनी भएको थियो। पार्टीले आफ्नो विधानअनुसारको आन्तरिक निर्वाचनप्रक्रिया छोटै समयमा पूरा गरेर महाधिवेशन सम्पन्न गरिसकेको थियो र जिल्ला—जिल्लाका कार्यकर्ताहरुलाई जागरुक र सक्रिय तुल्याउन प्रत्येक जिल्लामा केन्द्रबाट अधिकारसम्पन्न व्यक्तिहरु खटिएर गएका थिए र पार्टीमा नयाँ प्राणसञ्चार गर्ने प्रयास भइरहेको थियो। पार्टीका साथीहरुले जिल्लाका विभिन्न समस्याहरुलाई लिएर आफ्नो संघर्षको कार्यक्रम अघि बढाउन थालेका थिए।

सरकारका तर्फबाट पनि प्रत्येक जिल्लामा जिल्ला विकास बोर्डहरुको गठन गरेर ती बोर्डहरुलाई जिल्ला विकास कार्यक्रममा सघाउ पु¥याउन जिल्ला हेरी केन्द्रीय अनुदानको व्यवस्था गरिएको थियो भने प्रजातन्त्रलाई गाउँ तहसम्म पु¥याउन गाउँ पञ्चायतको गठनका लागि प्रत्येक जिल्लामा निर्वाचन खटिएर गइसकेका थिए। प्रत्येक जिल्लाका लागि प्राथमिक विद्यालय र स्वास्थ्य चौकीका कोटा निर्धारित गरेर पठाइएका थिए भने दीर्घकालीन योजनाका लागि दुई अरबको पञ्चवर्षीय योजनानै बनेको थियो। हुन त यस पञ्चवर्षीय योजनालाई ज्यादै महत्वाकाङ्क्षी भन्ने आरोप नलागेको होइन र त्यस बेलाको मुलुकको आय–व्ययको विवरणको हिसाबले दुई अरबको पञ्चवर्षीय योजनाले 'महत्वाकाङ्क्षी' को पगरी पाउनु अत्यन्त स्वाभाविक पनि थियो। तैपनि वीपीमा यति आत्मविश्वास थियो कि पाँच वर्षसम्म निर्बाध रुपमा काम गर्न पाएमा त्यो योजना उहाँले सफल तुल्याइछोड्नु हुनेछ।

४. यसरी पार्टी र सरकार योजनाबद्ध हिसाबले आआफ्ना कार्यक्षेत्रमा व्यस्त थिए भने संसद् विघटन हुने बजारहल्ला पनि त्यतिकै तीव्र हुदै आएको थियो। श्री ५ महेन्द्रको पश्चिमी जिल्लाहरुको भ्रमणको समाप्तिमा मौसुफबाट नेपालगन्जमा बक्सेको भाषणपछि त यस हल्लामा अरु तीव्रता थपिएको थियो। धेरैलाई विश्वास हुन थालेको थियो– अब संसद् पकै पनि विघटन हुनेछ। साँचैनै त्यो भाषण मौसुफबाट बक्सेको चेताबनीजस्तै थियो।

यस्तैमा म एक दिन वीपीकाहाँ पुगेर भनें– "संसद विघटन हुने पक्काजस्तै भो, अब हामीले के उपाय गर्ने?" सवारीमन्त्रीका रुपमा दाङमा राजाको सवारीसाथ वीपीले छोडेर आएका डाक्टर गिरी अब पूर्णतः राजका पक्षमा गइसकेका थिए र मन्त्री बन्न नपाएकोमा असन्तुष्ट विश्वबन्धु थापा पनि अब डाक्टर गिरीका नजीक भइसकेका थिए। कांग्रेस संसदीय दलभित्र ठूलो चर परिसकेका थियो। डाक्टर गिरी र विश्वबन्धु थापा बिस्तारै अरु सांसद्हरुलाई पनि फकाउने क्रममा थियो। विश्वबन्धुको त मसँग पनि धेरैपटक कुरा भइसकेको थियो र मैले उनलाई स्पष्ट जवाफ दिइसकेको थिएँ– "मबाट उनीहरुले कुनै आशा नराख्नु नै बेस हुनेछ।" डाक्टर गिरी र विश्वबन्धुका बारेमा स्वयं वीपीलाई पनि थाहाँ नभएको होइन। वीपीले स्पष्ट भन्नुभयो– "हेर्नुहोस्, हामी राजाको मर्सीमा छौं। हामी यसबखत के नै गर्न सक्छौं र?" वास्तवमा उहाँको भनाइ निकै गम्भीर चिन्तनको निष्कर्ष थियो। सेना पहिलेदेखि नै दरबारका प्रति आस्थावान् थियो।

सात सालको क्रान्तिको संवाहक मुक्तिसेना रक्षादल हुँदै नेपाल प्रहरी भइसकेको थियो र प्रहरीहरुको पनि आस्थाको एक मात्र केन्द्र अब राज संस्था नै थियो। कांग्रेसका क्रान्तिका बखतका सम्पूर्ण शस्त्रास्त्र राष्ट्रिय शस्त्रागरमा जम्मा भइसकेका थिए। यस अवस्थामा राजाबाट सेना र प्रहरीको सहयोगमा कुनै कदम चालिबक्स्यो भने त्यसको प्रतिकार गर्ने क्षमता नै कांग्रेस सँग कहाँ थियो र? वीपीको सङ्केत यसैतर्फ थियो। वीपीले स्पष्ट भन्नुभयो–"हामीले अलिकति मात्र पनि हलचल गर्नु त्यो दुर्दिनलाई चाँडो निम्त्याउनु हो।" वीपीको यस भनाइसँग म असहमत थिइनँ। मेरा मनमा पनि लागेको कुरो त्यही थियो। त्यसैले एउटा नयाँ प्रस्ताव लिएर म वीपीकहाँ गएको थिएँ। वीपीको अनुमतिले मैलै त्यो प्रस्ताव उहाँ समक्ष राखेँ। मेरो प्रस्ताव त यतिमात्र थियो कि अब पार्टीलाई बलियो बनाउनुसिवाय अरु उपाय छैन र यसका लागि वीपीले प्रधानमन्त्रीको कार्यभार सुवर्णजीका जिम्मा लगाएर आफू पार्टीको अध्यक्षको हैसियतले आफ्नो पूरा ध्यान र समय पार्टीका काममा लागानुपर्छ। मेरा विचारमा यसका दुईवटा फाइदा हुन सक्थेः (१) वीपीले आफ्नो पूरा समय दिन थालेपछि पार्टी बलियो हुन्थ्यो भने (२) सुवर्णजी प्रधानमन्त्री बन्दा उहाँप्रति राजाको हृदयको कुनै कुनामा रहेको थोरै मात्र सहानुभूतिले पनि संसद् विघटनको दुर्दिन केही समयका लागि मात्र भने पनि पर सर्न सक्थ्यो। यसको जवाफमा वीपीले मैले सोच्दै नसोचेको कुरो भन्नुभयो। उहाँको भनाइ थियो– "मलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा टाँस्सिएर बसिराख्ने इच्छा छैन र सुवर्णजीका पक्षमा सो पदबाट अवकाश लिन पाए मलाई पनि प्रसन्नता नै हुनेछ। तर मैले राजीनामा दिनेबित्तिकै सुवर्णजी नै प्रधानमन्त्री बन्नुहुन्छ भन्ने के ग्यारेन्टी? सुवर्णजीका पक्षमा राजीनामा दिनासाथ यसैलाई निहुँ बनाएर राजाबाट संसद् विघटन गरिबक्स्यो भने?" अब यसका विपक्षमा मसँग कुनै तर्क थिएन।

त्यसपछि मैले उहाँसमक्ष अर्को प्रस्ताव राख्दै भनेँ– "त्यसो हो भने पार्टीका चारै जना नेताहरु सरकारमा नबस्नुहोस्। गणेशमानजी र सूर्यप्रसादजीलाई मन्त्री पदबाट राजीनामा गर्न लगाएर दुवै जनालाई पार्टीको महामन्त्री बनाउनुहोस्। उहाँहरु महामन्त्री बन्नुभयो भने म उहाँहरुभन्दा मुनि सहमहामन्त्री वा सहायक महामन्त्री भएर काम गर्नेछु।" मैले उहाँलाई आमनिर्वाचनभन्दा पहिले वीपी अध्यक्ष तथा गणेशमानजी र सूर्यप्रसादजी महामन्त्री रहेको कुरा स्मरण गराउँदै भनेँ– "यसबाट पनि पार्टीमा राम्रै प्रभाव पर्न सक्नेछ।" मेरो यस प्रस्तावमा वीपीलाई आपत्ति थिएन। उहाँहरुका बीच पहिले पनि कुरा भइसकेको थियो या थिएन कुन्नि! उहाँले मुसुमुुसु हाँस्दै भन्नुभयो– "एकपटक गएर कुरा गरन त।" म गए र कुरा पनि गरेँ। दुवै जनाबाट मैले सकारात्मक उत्तर पाइनँ। दुवै जना मन्त्रीपद त्याग्न तयार देखिनुभएन। अनि त मलाई लाग्यो– "हामीले अब त्यस दुर्दिनको प्रतीक्षा धैर्यपूर्वक गर्नुभन्दा अरु कुनै उपाय छैन।"

Back