Sports
Print Friendly and PDF

"बीपीको त्यो गोल" (राजनीतिमा दरबारबाट जति नै ठूलो हन्डर खाए पनि फुटबलमा भने बीपीले महेन्द्रलाई चित ख्वाए) - नवीन अर्याल (६ असार २०७१, कान्तिपुर (कोसेली))

यो खेल यसकारण पनि महत्त्वपूर्ण थियो, महेन्द्रले अनिच्छाका बाबजुद प्रधानमन्त्रीमा शपथग्रहण गराएको ५ महिनापछि बीपी तिनै राजाविरुद्ध फुटबल मैदानमा उत्रिँदै थिए । त्यतिबेला लामा नेपाल प्रहरीको सइ थिए । उनको 'डिउटी' थियो, खेल अवधिभर रंगशालामा हुन सक्ने गडबडी रोक्ने ।

त्यतिबेला राजा महेन्द्र र बीपीबीच फुटबल हुँदै छ भन्ने हल्ला साताअघि नै काठमाडौंमा डढेलो सल्किएझैं फैलिसकेको थियो । डिल्लीबजारको चर्चित लप्टनको खाजा पसलदेखि सुन्धाराको तिलरी माइलाको चिया पसलसम्म हरेक दिन यही खेलको चर्चा चल्थ्यो । अझ, कलेजमा कांग्रेस समर्थक विद्यार्थी हल्ला गर्थे- बीपीले नराम्ररी हराउँछन राजालाई । राजावादीहरूको पनि आफ्नै तर्क थियो- नर (नरशमशेर) र नीर (नीरशमशेर) जस्ता नरेश-११ का खुंखार खेलाडी छन्, राजाको टोलीमा । त्यसैले बीपीको हालत पतला हुन्छ ।

खेल हुने दिन न्युरोड, ठमेल र डिल्लीबजारका गल्लीहरू सुनसान थिए । त्यतिबेला काठमाडौंको जनसंख्या १० हजारभन्दा माथि थिएन । त्यही पनि करिब १ हजार मानिस उक्त ऐतिहासिक खेल हेर्न दिउँसै रंगशाला पुगिसकेका थिए । त्यो भीडमा एनआरटी क्लबका पूर्वडिफेन्डर डाक्टर समरबहादुर मल्ल पनि थिए । ५५ वर्षअगाडिको त्यो घटना सम्झिदा अहिले पनि उत्साहित हुने यि ८४ वषर्ीय यी डिफेन्डर भन्छन्- राजा महेन्द्रका दुई भाइ माइला (हिमालय) र कान्छा (बसुन्धरा) २००८ सालमा न्युरोड टिम (एनआरटी) बाट खेलिसकेका थिए । त्यसैले बीपीसँग महाराजधिराज र युवराजहरू पनि खेल्ने रे ! भन्दै सबै खेल हेर्न गएका थियौं ।'

खेल साँझ ४ बजे सुरु भएको थियो । महेन्द्रको टोलीमा सुवर्णशमशेर राणा (अर्थमन्त्री), रंगविक्रम शाह (प्रहरी प्रमुख), युवराजद्वय हिमालय र बसुन्धरा, शेरबहादुर मल्ल (राजा महेन्द्रका एडीसी), लोकविक्रम शाह (नरेश-११ का गोलरक्षक), नरशमशेर, नीरशमशेर, हरिविक्रम शाह, सुरेन्द्रशमशेर राणा समावेश थिए । बीपीको टोलीमा होराप्रसाद जोशी -सहायकमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का पहिलो सदस्य(सचिव), तुलसी गिरी (विदेशमन्त्री), भरतशमशेर राणा (गोर्खा दल), जमानसिंह गुरुङ (मन्त्री), डा. त्रिवेणी प्रधान (सहायकमन्त्री), महेश्वरशमशेर राणा (पूर्वअर्थमन्त्री मधुकरशमशेरका पिता), प्रकाशचन्द्र ठाकुर, सुरेन्द्रबहादुर शाह (पूर्व आर्मी प्रमुख), रोमविक्रम थापा (पूर्व पुलिस प्रमुख), धीरविक्रम शाह (पाइलट बबी शाहका पिता) सहभागि थिए । यो खेल पूर्व जर्नेल तथा जलस्रोतमन्त्री पदमबहादुर खत्रीले सञ्चालन गरेका थिए । नेपालमा यतिबेलासम्म ९० मिनेटको खेल हुँदैनथ्यो । महेन्द्र र बीपीबीचको खेल पनि ६० मिनेटमै सीमित रह्यो । २०१३ सालमा राजा महेन्द्रकै राज्याभिषेकमा फुटबल खेल्न हुने बनाइएको दशरथ रंगशालालाई त्यतिबेला राष्ट्रिय रंगशाला भनिन्थ्यो । अहिलेजस्तै प्याराफिट बनिसकेको थिएन । त्यसैले डोरीले घेरिएको मैदानमा राजा र प्रधानमन्त्रीलाई आफू नजिकै देखेका दर्शकहरूले संयमित हुँदै 'हुटिङ' गरेका थिए ।

बीपीले बल पाउँदा लैजा-लैजा, हान-हान भनेर कंग्रेसीहरू खुब हल्ला गर्थे । अझ पछाडि विपक्षी टोलीका खेलाडी आए भने बाहिरबाटै चिच्याउँथे- पछाडि आयो भनेर । 'महेन्द्रले बल पाउँदा पनि राजा समर्थक दर्शकको यस्तै हल्ला हुन्थ्यो,' मल्ल भन्छन् ।

बीपी र महेन्द्र दुवैले यो खेल पूरा खेलेका थिए । होराप्रसाद जोशी पहिलेदेखि नै दौडिन माहिर मानिन्थे । एनआरटीबाट पहिले फुटबल खेल्दा उनको नामै घोडा थियो । यही खेल हेर्न होरासँगै रंगशाला पुगेका एनआरटीका अर्का खेलाडी ८० वषर्ीय दामोदर सुवाल भन्छन्, 'मलाई त्यतिबेला बीपी र महेन्द्रभन्दा पनि सुवर्णशमशेर दौडिएको देखेर मजा लाग्यो । त्यति ठूलो ज्यान । त्यही पनि सकिनसकी दौडिरहेका थिए ।'

बीपीको मन्त्रिमण्डलका 'पावरफुल' मन्त्री सुवर्णको महेन्द्र-११ बाट खेल्ने निर्णयले त्यहाँ उपस्थित धेरैलाई चकित तुल्याएको थियो । कतिले यसलाई महेन्द्र र सुवर्णको बढ्दो निकटतासँग जोडे । २००७ सालमा बीपीकै नेतृत्वमा राणा शासन फ्याँकिएको भए पनि उनलाई प्रधानमन्त्री हुन नदिन दरबारले ५ जना प्रधानमन्त्री प्रयोग गर्‍यो । त्यो सफल हुन नसकेपछि २०१५ मा महेन्द्रले सुवर्णलाई नै अगाडि सारेर निर्वाचन गराए । दरबारको निष्कर्ष थियो, निर्वाचनमा कांग्रेसको पराजय निश्चित छ । तर, फागुन ७ गते निर्वाचन परिणाम सार्वजनिक हुँदा कांग्रेसले दुई तिहाई बहुमत ल्यायो । त्यसपछि पनि बीपीलाई प्रधानमन्त्री हुन नदिन महेन्द्रले विभिन्न बहाना बनाउँदै तीन महिना शपथग्रहण कार्यक्रम लम्बाएका थिए । यस्तो रस्साकस्सीबीच बीपीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नु र लगत्तै नरेश-११ र प्रधानमन्त्री-११ बीच फुटबल हुनुलाई अहिले पनि धेरैले 'विशेष' रूपमा लिन्छन् । मल्ल भन्छन्, 'भन्नलाई यस खेललाई च्यारेटी भनियो । तर, पैसा उठाएको हामीलाई थाहा छैन । त्यसैले म यसलाई राजनीतिक हत्कण्डा भन्न रुचाउँछु ।'

नभन्दै, यो खेल भएको १४ महिनापछि नै राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्त गरे । त्यतिबेला पनि उनले सुवर्णलाई तीन दिनअघि भारत जाने स्वीकृति दिएका थिए । अन्य मन्त्री सबै जेल चलान भए । यस खेलमा गोर्खा दलका अध्यक्ष भरतशमशेर बीपीको टिमबाट खेल्नु पनि अर्को आश्चर्य थियो । किनभने २००८ सालमा बीपी गृहमन्त्री हुँदा उनले नै बीपीलाई मार्न त्रिपुरेश्वरस्थित मन्त्री क्वाटरमा मान्छे पठाएका थिए । त्यो घटनामा बीपीले हानेको बन्दुकबाट उनलाई मार्न आउने एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । पछि उनी नेपाली कंग्रेसमै आवद्ध भए ।

राजनीतिमा दरबारबाट जति नै ठूलो हन्डर खाए पनि बीपीले त्यो खेलमा भने राजा महेन्द्रलाई चित ख्वाए । खेल प्रधानमन्त्री-११ ले १-० गोलले जित्यो । रमाइलो कुरा, उक्त एक मात्र निर्णायक गोल बीपीले नै गरे, त्यो पनि खेलको अन्त्यतिर होराकै पासमा । महेन्द्रको टिमबाट त्यतिबेला खेलेका पूर्व आर्मी प्रमुख नीरशमशेर राणाले एउटा अन्तर्वार्तामा भनेका छन्, त्यो गोल आफ्नो टिमका डिफेन्सले जानीजानी छोडेका थिए । खेल सकिएपछि सिंहदरबारभित्र ठूलै पार्टीको आयोजना गरिएको थियो ।

प्रकाशित मिति: ७ असार २०७१