अब नेकपाले सभामुखमा उम्मेद्वारी दिन पाउँदैन

बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका छन् ।

उपसभामुखलाई दिइएको राजीनामा पत्रमा महराले अनुसन्धान प्रक्रियालाई सहज बनाउनका निम्ति राजीनामा दिएको उल्लेख गरेका छन् ।

महराले अनुसन्धान प्रक्रिया नटुंगिएसम्मलाई राजीनामा दिएको पनि उल्लेख गरेका छन् ।

महराको राजीनामा पछि उपसभामुखले नै कार्यबाहक भएर संसद चलाउने नियत देखिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रश्न उठाएको छ ।

तर, संविधानमा निलम्बनको व्यवस्था नभएकाले राजीनामा बुझाएपछि नयाँ सभामुख चयन प्रक्रिया अगाडि बढ्ने संविधानविद् बिपिन अधिकारी बताउँछन् । अधिकारी भन्छन्, “जेसुकै शब्द राखेपनि राजीनामा दिइसकेपछि उक्त पद रिक्त हुन्छ ।”

संवैधानिक प्रक्रियाअनुसार, महराको राजीनामा अब राष्ट्रपतिबाट स्वीकृत गराउने प्रक्रिया अगाडि बढाइनेछ ।

सभामुखको राजीनामा स्वीकृत भएपछि रिक्त पदमा प्रतिनिधिसभा बैठकबाट नयाँ सभामुख चयन प्रक्रिया अगाडि बढाइनेछ ।

नयाँ सभामुख चयनबारे भने संविधानले केही बलियो प्रावधान राखेको छ । सभामुख र उपसभामुख मध्ये एक जना अनिवार्य महिला हुनुपर्नेछ । संविधानको धारा ९१ (२) मा अर्को प्रावधानमा उल्लेख छ । उक्त व्यवस्थाअनुसार, अब नेकपाले सभामुख पदमा उम्मेद्वारी दिन पाउँदैन ।

किनभने, तत्कालीन एमाले र माओवादी केन्द्र बीच एकीकरण भइ बनेको नेकपा निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भइसकेको छ । केही दिन अगाडि मात्रै निर्वाचन आयोगले नेकपालाई सूर्य निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।

यस्तो अवस्थामा अब नेकपा बाहेक संसदमा प्रतिनिधित्व गर्ने कुनै दलबाट सभामुखमा उम्मेद्वारी दिनुपर्नेछ ।

संविधानविद् अधिकारीका अनुसार, सभामुख पद नेकपाले नै राख्नलाई भने अब एउटै विकल्प छ– उपसभामुखको पनि राजीनामा गराउने । “तर, त्यसो गर्दा उपसभामुखको मानमर्दन हुनपुग्छ । पदकै इज्जत रहँदैन”, अधिकारी भन्छन् ।

सइन्द्र राई
Himal Khabar Patrika
https://www.himalkhabar.com/news/15242
Facebook
Twitter
LinkedIn

Related Posts