नेपाली धर्मनिरपेक्षताका सम्भावना र सीमा

संविधानले घोषणा गरेको धर्मनिरपेक्षता नेपाली धर्मविहीनता निम्त्याउने गरी घातक नबनोस् भन्नेतर्फ सबैको चासो र अग्रसरता आवश्यक छ।

साढे दुई दशकअघि भारतको दिल्ली विश्वविद्यालयमा कानून विद्यावाचस्पति तहमा अध्ययनरत रहँदा म त्यहाँको पुरुष छात्राबासको गेस्ट हाउसमा बस्थें। म सँगै केरलातिरका एक शोधकर्ता पनि बस्थे। उनी निधारमा तीनधर्के सेतो चन्दन लगाउँथे, ध्यान पनि गर्थे।

एक दिन म नुहाएर बाथरुमबाट निस्किँदै थिए। मेरो जिउतिर हेर्दै उनले सोधे, “तिमी ब्राह्मण होइनौ र! जनै खोइ लगाएको?” मैले हाँस्दै भनें, “चाहिंदा लगाउने हो, सधैं किन लगाउनुपर्‍यो र? फेरि म कर्म गर्ने ब्राह्मण पनि त होइन।” उनले भने, “त्यो त अवसरवादी ब्राह्मण पो भयो, होइन र?”

मैले जवाफ दिएँ, “हेर, नेपालमा ब्राह्मणलाई बाहुन पनि भन्छन्। हामी खस बाहुन हौं। हिमवत् खण्डमा कर्मकाण्ड बाध्यता होइन, हरेकको रुचिको कुरा हो। त्यसैले हामीलाई काठे बाहुन पनि भन्छन्। हाम्रो सभ्यताको धेरै लामो अवधि यसै गरी चलेको हो। पछि पछि मान्छे बनारस, प्रयाग जस्ता ठाउँमा दीक्षा लिन गए, यताको सिको त्यताकाले पनि गर्न थाले। तथापि, आज पनि धार्मिक रूपमा नेपालमा सरलता छ। यो कुरा हिन्दूमा मात्र होइन, नेपालका अरू धर्म-संस्कृतिमा पनि छ।”

मेरा सहपाठीलाई मेरो कुरा बनावटी लागेको थियो। त्यसैले उनले भने, “सबैले ब्राह्मण हुनुपर्छ भन्ने छैन। तर, नभएको जात हो भनेर दाबी गर्नु हुँदैन।” उनलाई म अन्य जात जस्तो लागेछ। यही सरलता र लचिलोपनले गर्दा आज नेपालको म जस्तो धेरै हिन्दू धर्म-संस्कृति मान्नेहरू विदेशीको धार्मिक चोटमा पर्दै छन्।

सनातन धर्म भन्ने बित्तिकै कतिपयले हिन्दू धर्म बुझ्छन्। तर, सनातन धर्म भनेको प्राचीन कालदेखि निरन्तर प्रयोगमा रहेका सबै धर्म हुन्। नेपालको सन्दर्भमा किराँत, हिन्दू र बौद्ध धर्म नै सनातन धर्म हुन्।

नेपालको संविधान-२०७२ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मात्र नभनी धर्मनिरपेक्ष राज्य पनि भनेको छ। संविधानले धर्मनिरपेक्षताबारे स्पष्टीकरणमा ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनी उल्लेख गरेको छ। साधारण अर्थमा सनातन भनेको शाश्वत या सधैं कायम रहेको भन्ने बुझिन्छ। सनातन धर्म भन्ने बित्तिकै कतिपयले हिन्दू धर्म बुझ्छन्। तर, सनातन धर्म भनेको प्राचीन कालदेखि निरन्तर प्रयोगमा रहेका सबै धर्म हुन्। नेपालको सन्दर्भमा किराँत, हिन्दू र बौद्ध धर्म नै सनातन धर्म हुन्।

संविधानको धारा ४ (१) को स्पष्टीकरणले कम्तीमा चार कुरा भन्छ। पहिलो, केही धर्म-संस्कृतिहरू नेपालमा सनातनदेखि चलिआएका छन्। दोस्रो, त्यस्ता धर्म-संस्कृति यी हुन् भनी संविधानले उल्लेख गरेको छैन। तेस्रो, राज्यले ती धर्म-संस्कृतिको संरक्षण गर्ने वचन दिएको छ। चौथो, धर्मनिरपेक्षताले सनातनदेखि चलिआएका सबै धर्म-संस्कृतिलाई संरक्षणको वाचा गर्दै आजको नेपालका सबै धर्म-संस्कृतिलाई धार्मिक, सांस्कृतिक स्वतन्त्रता दिएको छ। धर्मनिरपेक्षताको यो अवधारणा नेपालको मौलिक हो।

संविधानको उक्त अवधारणा तब मात्र राम्ररी स्पष्ट हुन्छ, जब यसलाई संविधानले सुनिश्चित गरेको धारा २६ अन्तर्गतको धार्मिक स्वतन्त्रताको हकसँगै राखेर हेरिन्छ। यस धारा अनुसार, धर्ममा आस्था राख्ने धर्मनिरपेक्ष नेपालका प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्राप्त छ। यो उद्देश्यका लागि प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक दिइएको छ।

तर, धार्मिक स्वतन्त्रताको नाममा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न वा गराउन पाउँदैन। त्यस्तै, कसैले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन वर्जित छ, यसो गरेमा कानून बमोजिम दण्ड हुने स्पष्ट व्यवस्था छ।

धर्म परिवर्तनको ज्वरो

केही प्रकारका धर्म परिवर्तनलाई नेपालमा वर्जित गर्नुका खास कारण छन्। नेपालका सबै धर्म-संस्कृति र पहिचान आपसमा सह-अस्तित्वमा गाँसिएका छन्। जनसङ्ख्याको हिसाबले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी छन्। तर, यो कोटि कोटि देवता, आस्था र सम्प्रदायमा आधारित छ। उनीहरूबीचमै प्रशस्त विविधता छ।

नेपालका सबै पहाडी क्षेत्र तथा कतिपय हिमाली क्षेत्रमा हिन्दू, बौद्धिक तथा किराँत धर्म-पहिचान समान रूपमा छन्, तर तिनमा धर्म परिवर्तन गर्ने, गराउने चलन छैन।

नेपालका सबै पहाडी क्षेत्र तथा कतिपय हिमाली क्षेत्रमा हिन्दू, बौद्धिक तथा किराँत धर्म-पहिचान समान रूपमा छन्, तर तिनमा धर्म परिवर्तन गर्ने, गराउने चलन छैन। बौद्ध धर्म अङ्गीकार गर्न सकिन्छ, तर यो सहित किराँत धर्ममा धर्म परिवर्तन गर्ने ठेकेदारहरूको व्यवस्था छैन। त्यसैले यी सबै धर्म-संस्कृतिका साझा क्षेत्रहरू छन्। हिमवत् खण्डमा प्रयोगमा रहेको तान्त्रिक, बोन तथा स्थानीय संस्कृतिसँग हुर्केको बौद्ध धर्म तथा परम्परा नेपालका पहिचान हुन्। यहाँ किराँत धर्मको ठूलो क्षेत्र छ। यिनीहरूबीच हुर्केबढेका स-साना संस्कृति तथा परम्पराहरू छन्। यी सबैलाई सुरक्षा वा संरक्षण दिन संविधानमा प्रावधान राखिएको छ।

उक्त पृष्ठभूमिमा मुलुकी अपराध संहिता, २०७४ ले धर्म सम्बन्धी कसूरबारे प्रस्ट व्यवस्था उल्लेख गरेको छ। यसको दफा १५५ अनुसार, कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीबुझी कुनै धार्मिक पूजा प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मसानघाट वा चिहानलाई हानिनोक्सानी पुर्‍याउन वा कुनै किसिमले दूषित गर्न, बिगार्न हुँदैन।

दफा १५६ ले पनि कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरू कुनै किसिमबाट कुनै जात, जाति, सम्प्रदायको धार्मिक भावनामा आघात पु¥याउन नहुने स्पष्ट गरेको छ। त्यस्तै, दफा १५७ मा कसैले सनातनदेखि अपनाउँदै वा चलिआएको अरूको धार्मिक रीतिस्थितिमा जानीजानी बाधा पुर्‍याउन हुँदैन भन्ने व्यवस्था छ। दफा १५८ ले नेपालमा धर्म परिवर्तनलाई जुनसुकै आवरणमा रोक लगाउने गरी कडा प्रावधान राखेको छ।

जस अन्तर्गत कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख छ। त्यसै गरी, कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम गर्न वा खलल हुने गरी अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले धर्म वा मत प्रचार गर्न निषेध गरिएको छ।

संविधानको प्रावधान र मुलुकी ऐनमा कुनै समस्या छैन। यति हुँदाहुँदै नेपालमा धर्म परिवर्तन अन्धाधुन्द चलेकै छ। न राज्यले कानून बमोजिम भूमिका निर्वाह गरेको छ, न त नेपाली जनता यसप्रति जागरुक देखिएका छन्। सन् २०१८ मेमा द डेटाबेस अफ रिलिजियस हिस्ट्री जर्नलमा जापानको क्योटो विश्वविद्यालयका शोधार्थी स्टिफेन क्रिस्टोफरको लेख ‘ट्राइबल क्रिश्चियानिटी (एन्ड एलाइड कास्ट्स) इन द हिमालयज’ मा प्रकाशित छ, जसमा हिमाली क्षेत्रमा कसरी धर्म परिवर्तन भइरहेको छ भन्ने विश्लेषण गरेको छ। संविधानले घोषणा गरेको धर्मनिरपेक्षता नेपाली धर्मविहीनताका रूपमा नफैलियोस् भन्नेतर्फ सबैको चासो र अग्रसरता आवश्यक भएको छ।

नेपालका सनातन धर्म, संस्कृति र तिनको आडभरोसामा सिर्जना भएका सम्पदाहरू यहाँको संस्कृति र सभ्यताका निधि हुन्। सबैजसो ऐतिहासिक तथा धार्मिक स्मारक, पुरातात्त्विक स्थान, कलात्मक तथा पुरातात्त्विक वस्तु, धार्मिक नाचगान, जात्रा, रीतिरिवाज तथा पर्वहरू सनातन धर्म-संस्कृतिसँग सम्बन्धित छन्। यहाँका वास्तुकला, मूर्तिकला, ऐतिहासिक वस्तुहरू, स्मारकहरू, निजी ऐतिहासिक घर, भवनहरू तथा अभिलेखहरूले सनातन जीवनशैली र संस्कृतिको परिचय दिन्छन्। नेपालीहरूलाई कुनै पनि किसिमले हजारौंको दरमा धर्म परिवर्तन गर्नु, गराउनु यी सम्पदाको विनाश निम्त्याउनु हो।

नेपाल १०३ भन्दा बढी जातजातिको सम्पदा भूमि हो। बहुलताले सुसज्जित यो भूगोलमा हिमाली क्षेत्रका प्रकृतिपूजकदेखि विभिन्न देवीदेवता पितृ र प्रेतसम्म भाक्ने परम्परा छन्। नेपालमा भएको यस्तो जातीय, सांस्कृतिक र परम्पराको विविधता संसारमा कतै छैन। धार्मिक तथा सांस्कृतिक पक्ष, लोकसङ्गीतको लामो परम्पराले नेपालीलाई भावनात्मक एकतामा गाँसेको छ। यी सम्पदालाई अलग राखेर नेपालीको सामूहिक आस्था, विश्वास र मूल्य-मान्यताको निर्माण वा निरन्तरता हुन सक्दैन।

अहिले जुन रूपमा धर्म परिवर्तन भइरहेको छ, यो कायम रहने हो भने निकट भविष्यमा कतिपय मन्दिर तथा परम्परागत अनुष्ठानहरूमा धुपौरो घुमाउने मान्छे नभेटिने अवस्था पनि आउन सक्छ। किनकि, अमूर्त संस्कृतिहरू ती समुदायको मान्यतामा गरिएको बलात् परिवर्तनबाट टुहुरो हुन जान्छन्।

नेपालको अमूर्त सम्पदा संरक्षणको अधिकार अन्तर्राष्ट्रिय कानून अन्तर्गत पनि सुरक्षित छ। सन् २००३ मा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि विश्वस्तरमा एउटा महासन्धि जारी गरिएको छ। महासन्धि अन्तर्गत नेपाली जातिलार् अमूर्त सांस्कृतिक सम्पदाको संवाहकका रूपमा भाषा सहित मौखिक अभिव्यक्ति तथा परम्परा, प्रस्तुति कला, सामाजिक प्रचलन, रीतिरिवाज एवं चाडपर्व, प्रकृति तथा ब्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा अभ्यासहरू, परम्परागत शिल्प जोगाइराख्ने अधिकार प्राप्त छ।

सिद्धान्ततः व्यक्तिविशेषको चासोको विषय हो, धर्म। राज्यको कुनै धर्म हुँदैन, हुनु हुँदैन। राज्यलाई कुनै धर्मविशेषसँग जोडिदिंदा स्वाभाविक रूपमा अन्य धर्म वा संस्कृतिका अनुयायी या विधर्मीहरूलाई यो राज्य मेरो चाहिं होइन रहेछ भन्ने भावना आउँछ।

त्रासका आधार

सिद्धान्ततः व्यक्तिविशेषको चासोको विषय हो, धर्म। राज्यको कुनै धर्म हुँदैन, हुनु हुँदैन। राज्यलाई कुनै धर्मविशेषसँग जोडिदिंदा स्वाभाविक रूपमा अन्य धर्म वा संस्कृतिका अनुयायी या विधर्मीहरूलाई यो राज्य मेरो चाहिं होइन रहेछ भन्ने भावना आउँछ। त्यसैले नेपालको हिन्दू राज्यको औपचारिक परिचय संविधान मार्फत हटाइयो। यो प्रयासबाट राष्ट्रिय एकतामा बल पुग्नुपर्छ, न कि यसलाई मुलुकमा रहेको धार्मिक बहुमतको कमजोरी वा धर्म परिवर्तनका लागि मलिलो वातावरण प्राप्तिका रूपमा लिइनु हुँदैन।

धर्म परिवर्तन गर्न पाइन्छ, तर यो वैयक्तिक स्वतन्त्रता र स्वेच्छाले गर्ने हो। चेतनाको प्रयोगमा संविधान बाधक हुन सक्दैन। तर, धर्म परिवर्तन गराउने सङ्गठित प्रयास तथा यसका लागि प्रयोग हुने हतियारहरूले नेपालको धर्मनिरपेक्षतालाई ढाल बनाउने अवस्था हुनु हुँदैन।

नेपाल हिन्दू राज्य नै हुँदा पनि हिन्दूहरूको बारेमा निर्णय लिने वा हिन्दूका लागि धार्मिक अभ्यासमा सामूहिकता ल्याउन कुनै सङ्गठन अस्तित्वमा थिएन। २००७ सालअघि होस् या प्रजातन्त्र आगमनपछि, नेपालमा हिन्दू प्रशासनका लागि न त कुनै मन्त्रालय वा विभाग बनाइयो, न त धार्मिक कर असुल गर्न कानून बनाइयो। धार्मिक अदालत पनि गठन भएन।

स्थानीयता कहिल्यै हराएन पनि। धर्मका नाममा निजामती प्रशासन, सैन्य प्रशासन आदि केही पनि नबनाइनुले हिन्दू राज्यको कमजोरीको स्तर निर्धारण गर्न सकिन्छ। हिन्दू समुदायभित्र कथित सानो जातका नाममा भएको शोषण बरु एउटा महत्त्वपूर्ण विषयका रूपमा उठ्यो। सामान्यतया ख्रीष्टियन, यहुदी वा मुस्लिम परम्परामा अन्य मुलुकहरूमा भएको जस्तो अतिशयोक्ति नेपालमा देखिएन।

नेपाल राज्यका केही समूहमा धर्म परिवर्तनको उत्पात छ। लामो परम्परामा दशैं-तिहार तथा अन्य चाडपर्व मानी आएका समुदायहरू धर्म परिवर्तनका कारण हरेक वर्ष बिलखबन्दमा पर्नुपर्ने अवस्था छ। भर्खरै आफ्नो धर्म परिवर्तन गरेका एक जना नवधर्मीलाई यस पङ्क्तिकारले ल्होसार, दशैं-तिहार आउँदा कसरी मन बुझाउनुहुन्छ भनेर सोध्दा उनले भने, “गाउँमा ख्रीष्टियनहरू धेरै छन्। पहिले बिराइहालियो। मलाई त मावली गएर चाडबाड मनाऊँ कि जस्तो लाग्छ। तर, आफ्नो मात्र कुरा भएन, जहान छोराछोरी छन्।”

यो एउटा उदाहरण मात्र हो। धर्म परिवर्तन गरेका धेरैजसो नेपालीहरू यसबारे आफैं निर्णय गर्न सक्ने क्षमता राख्दैनन्। यसको असर आफू र आफ्नो समुदायको जीवनमा कसरी पर्छ भन्ने उनीहरूलाई थाहा हुँदैन। आफूले मानिआएको मन्दिर, चैत्य तथा जीवन र मृत्यु जस्ता संस्कार एकैपल्ट लुटिंदा मानसिक रूपमा पर्न जाने पीडाको सुनुवाइ गर्ने सार्वजनिक संरचना देशमा छैन।

वेलामौकामा निम्तिने प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनका लागि संरचना भए पनि गाउँका गाउँ धर्म परिवर्तनको मुस्लोमा पर्दा पनि यो स्वैच्छिक हो कि बाध्यात्मक वा नियोजित हो भनी हेर्ने सार्वजनिक संरचना नहुनु उदेकलाग्दो हो। सरकारले पीडितहरूलाई नागरिक शिक्षा दिने हो, स्थानीय प्रहरीले सजिलोसँग उजूरीको कारबाही गरिदिने हो भने मानिसहरूले कसले गर्दा र कसरी धर्म परिवर्तन खप्नुपर्‍यो तथा मानसिक रूपमा लुटियो भन्ने बयान दिन सक्छन्।

पर्यटक भिसामा नेपाल आई धर्म परिवर्तनको अभियानमा लागेका विदेशीहरू अहिले पनि गाउँ-गाउँमा कार्यरत छन्। एउटा सूचनाले ती सबैलाई प्रहरीको कारबाहीको दायरामा ल्याउन सकिन्छ। तर, राज्यको सोचमा त्यो छैन। गरीबी, अज्ञानता र राज्यबाट धर्म-संस्कृति र परम्पराप्रतिको बेवास्ताका कारण एक-दुई दशकभित्रै नेपालले आफ्नो हजारौं वर्षको परम्परागत पहिचान गुमाउने जोखिम छ।

यसो भन्दैमा राज्यलाई दोष दिएर उम्किने छूट आम नेपालीलाई छैन। उनीहरू सजग हुनुपर्छ। हिन्दू हठवादीहरूले दलित समुदायलाई उनीहरूको उपयुक्त स्थान दिन ढिला गर्नु हुँदैन। विभेद विरुद्ध राजनीतिक दलहरू परिचालित हुनुपर्छ। संविधानले सुनिश्चित गरेको भाषा, धर्म, संस्कृति तथा सामाजिक रूपान्तरणका प्रतिबद्धताहरू कार्यान्वयन गर्नेतर्फ तत्काल अग्रसर हुनुपर्छ।

नेपालभित्र हिंडडुल गरिरहने सबैले भन्न सक्छन्, नेपालको मध्यपहाडी क्षेत्र मात्र होइन, हिमाली क्षेत्रहरू पनि धर्म परिवर्तनको चपेटामा आइसकेका छन्। यस सम्बन्धमा राज्य चनाखो नहुने हो भने बुद्धिज्मको आधार क्षेत्रका रूपमा रहेको हिमाली क्षेत्रको वर्तमान परिचय ध्वस्त हुनेछ। पछिल्लो समय किराँत क्षेत्र पनि यही भेलमा परेको देखिन्छ। झापा, मोरङ र सुनसरीमा जुन रूपमा धर्म परिवर्तन गराइँदै छ, त्यो हेर्दा तराई पनि अब सङ्क्रमणमा पर्ने सम्भावना देखिन्छ।

मेरा एक विद्वान् युगान्डाली मित्र छन्, इरेनिओ नाम्बोका। फ्रान्सका बासिन्दा उनी अफ्रिकी जनजातिबाट क्रिश्चियन बनेको परिवारका सन्तान हुन्। उनी हरेक आइतबार र विशेष उत्सवमा चर्च जान्छन्। मैले एक पटक उनलाई सोधें, “तिमी जातीय, धार्मिक तथा क्षेत्रीय रूपमा अफ्रिकन हौ। तिमीले आराधना गर्ने जिससको अनुहार, रूपरङ र कपाल आफ्नो भन्दा फरक देख्दा मेरो ईश्वर यिनै हुन सक्दैनन् जस्तो कहिलेकाहीं लाग्दैन?” उनको जवाफ थियो, “लाग्छ। युगान्डाको इतिहासले बेहोरेको दुर्घटनाले हाम्रो ईश्वर हराएको हो।” भन्नु नपर्ला- त्यो दुर्घटना भनेको उनको मुलुक तथा अन्य कतिपय क्षेत्रले भोग्नुपरेको धर्म परिवर्तनको वितण्डा नै हो।

(अधिकारी संविधान विज्ञ हुन्। हिमालको २०७८ पुस अङ्कबाट।)

विपिन अधिकारी
हिमालखबर अनलाइन
https://www.himalkhabar.com/news/127516?fbclid=IwAR28RGuy10i5luvDwvsCLN291pjCTGle_DxhzK46Ac__6RMzTok26cgR-a8
Facebook
Twitter
LinkedIn

Related Posts