Responsive image

श्री विन्ध्यवासिनी मन्दिर संगको सम्वन्ध

श्री विन्ध्यवासिनी मन्दिर आफ्नो धर्म, संस्कृति जोगाउन सचेत केही अधिकारीहरुको सक्रियतामा वि.सं. २०६२  मा स्थापना गरिएको हो । सुरुमा मन्दिर र त्यसपछि क्रमशः मन्दिर परिसरभित्रका अन्य पूर्वाधारहरु निर्माण हुँदै गएको हो । 


यो मन्दिर सिराहा जिल्लाको पदमपुर गाउँमा रहेको छ । महेन्द्र राजमार्गको चोहोर्वा स्टेशनबाट सिराहा सदरमुकाम जाँदा सदरमुकाम पुग्नुभन्दा करिब चार किलोमिटर वरै सडकको पश्चिमपट्टि यो मन्दिर रहेको छ । यस मन्दिरमा मूलभूत रुपमा अधिकारी वंशकि कूलदेवी श्री विन्ध्यवासिनीलाई राख्ने गर्भगृह रहेको छ । प्रत्येक तीन वर्षमा हुने अधिकारीहरुको देवाली पूजामा श्री विन्ध्यवासिनीलाई बाहिर निकालिन्छ तथा पूजा सकिए पछि पुनः यथास्थानमा राखिन्छ । यसका अतिरिक्त यस मन्दिरमा दैनिक रुपमा पूजाआजा गरिने श्री विन्ध्यवासिनीको मूर्ति समेत स्थापना गरिएको छ । यो मूर्तिका साथसाथै मन्दिर परिसरमा विभिन्न अन्य देवीदेवताहरु पनि स्थापना गरिएका छन् । 


श्री विन्ध्यवासिनीको मन्दिर सात कट्ठाको उद्यानमा रहेको छ । यस उद्यानमा विभिन्न किसिमका फलपूmलका बोटहरु रहेका छन् । उद्यान चारैतिरबाट पर्खालले घेरिएको छ । मन्दिर परिसरमा पूजाहारी बस्ने घर तथा आउने–जाने अधिकारी परिवारका भक्तालुका लागि अतिथि गृह पनि छ । खानेपानी तथा स्नानघर समेत रहेको यो परिसरमा भक्तजन आउँदा–जाँदा सुस्ताउने पाण्डालको पनि व्यवस्था छ । 


श्री विन्ध्यवासिनीको मन्दिरमा नित्य पूजाआराधनाको व्यवस्था छ । पूजाआराधनाको जिम्मेवारी मूलभुत रुपमा मन्दिरको पूजाहारीको हो । तर स्थानीय गाउँघरबाट समेत आउनेजानेले धुपबत्ती वा पूजाआजा गर्न पाउँदछन् । पूजाहारी बाहेक अन्यले मन्दिरभित्र प्रवेश गर्ने चलन छैन ।  


श्री विन्ध्यवासिनी अधिकारी समाजको प्रमुख कार्य यो मन्दिरको व्यवस्थापन गर्नु हो । पूजाहारीको नियुक्ति, ढोके, पालेको व्यवस्था तथा आएगएका अधिकारी परिवारको व्यवस्थापनको जिम्मेवारी यो समाजको हो । मन्दिरको व्यवस्थापनका लागि निरन्तर स्रोत र साधनको आवश्यकता हुन्छ । अतः यस समाजले यस मन्दिरका लागि आवश्यक श्रोत र साधनको व्यवस्था र सोको निरन्तर परिचालन गर्ने जिम्मेवारी निर्वाह गर्दछ । 


यस सँगसँगै मन्दिरलाई केन्द्र बनाएर यस समाजले अन्य सामाजिक क्रियाकलापहरु पनि सञ्चालन गर्दछ । समाजले यो मन्दिर, यसको पूजाआजा, कीर्तन–भजन, समाजसेवा, मन्दिर जीवनको व्यवस्थापन तथा बालबालिका, युवायुवती र वयस्कहरुसँगको कार्यलाई समायोजन गर्ने सन्दर्भमा आफ्ना सदस्य तथा शुभेच्छुकहरुसँग निरन्तर संवाद गर्दछ ।

 


Last modified: October 16, 2015

सम्बन्धित

Responsive image