...
महराको राजीनामा र राजीनामा पत्र !

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका संघीय संसदको प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले पदबाट सशर्त राजीनामा दिएका छन् ।आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन्।

राजीनामा पत्रमा प्रयोग भएको भाषामा उनले सभामुख पदबाट राजीनामा दिएको हो कि होइन भन्ने सन्देह उत्पन्न भएको छ । उनले उपसभामुखसमक्ष बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । उनले आफ्ना प्रमुख स्वकीय सचिव सागर केसीमार्फत् उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामापत्र बुझाएको बताइएको छ ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ महराले उपसभामुखलाई सम्बोधन गरी दिएको राजीनामामा उल्लेख छ ।

राजीनामालाई लिएर विवाद

तिनिधिसभाको सभामुखलाई राज्यका अति विशिष्ट पदमध्येमा राखिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, प्रधानन्यायाधीशलगायत पदलाई अति विशिष्ट पद भनिएको छ । अति विशिष्ट पदलाई ‘सम्माननीय’ शब्दले सम्बाेधन गर्ने चलन छ भने सांसदलाई ‘माननीय’ शब्दले सम्बोधन गर्ने चलन छ ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो । तर उनको राजीनामा पत्रमा सभामुख पदबाट मात्रै राजीनामा दिएको प्रष्ट हुन्छ । किनभने उनले संघीय संसदको सभामुखको लेटरप्याडमा राजीनामा दिएका छन् ।

राजीनामा शर्तसहित हुँदैन – विपिन अधिकारी

महराले आफ्नो रानीनामामा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ शर्त राखे पनि राजीनामा शर्त राखेर नहुने संविधानविदहरु बताउँछन् । संविधानविद विपीन अधिकारी भन्छन्, ‘राजीनामा शर्तसहित हुँदैन ।’

राजीनामा दिनासाथ पद रिक्त हुन्छ- सुवास नेम्वाङ

पूर्वसभामुख तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सभामुखको राजीनामा सशर्त नहुने बताए । नेम्वाङले भने, ‘सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनासाथ त्यो पद रिक्त हुन्छ । के भनेर, कस्तो भाषा प्रयोग गरेर राजीनामा दिइयो भन्ने कुरा गौण हुन्छ ।’

राजीनामापत्रमा रहस्यमयी चलाखी गरियो – भीमार्जुन आचर्य

संविधानविद् भीमार्जुन आचार्यले महराले राजीनामापत्रमा रहस्यमयी चलाखी गरेको बताए । राजीनामा सशर्त नहुने भन्दै उनले आफूमाथि लागेको अभियोगमा छानबिन नभएसम्म नयाँ सभामुख निार्वचन नगराउन दबाब दिने उद्देश्यले सशर्त राजीनामा दिएको हुन सक्ने बताए ।उनले भने, ” राजीनामा भनिसकेपछि शर्त भन्ने हुँदैन, त्यो पदबाट राजीनामा नै हो ।’

राजीनामा हो कि कार्यवाहक हो ? – कांग्रेस

सभामुख महराले पद त्याग गरेको घोषणा गरेको विषयलाई कांग्रेसले राजीनामा कार्यवाहक दिएजस्तो भएको टिप्पणी गरेको छ । “छानबिन निष्पक्ष रुपमा अगाडि बढाउनका लागि सभामुख महराले जिम्मेवारी परित्याग गर्नुपर्छ भन्ने मान्यता कांग्रेसले सार्वजनिक गर्यो । र, महराले पनि पद त्याग गरेको घोषणा गर्नुभएको छ । तर, राजीनामा दिनुभएको हो कि कार्यवाहक दिनुभएको हो ?,” प्रवक्ता शर्माले प्रश्न गरे ।

उनले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यवाहकले चलाउने ? भन्ने प्रश्नसमेत गरे । प्रवक्ता शर्माले प्रश्न गरे, “उपसभामुखलाई कार्यवाहक दिने भन्ने जुन व्यवस्था छ, त्योअनुसार राजीनामा दिएँ भन्नुभएको छ । तर, उहाँले आफैँ समयावधि किटान गर्नुभएको छ– छानविन प्रक्रिया नसकिएसम्म । यस बीचमा छानबिन गर्न एक वर्ष लाग्यो भने नेपालको संसद सभामुखविहीन भएर एक वर्षसम्म कार्यवाहकको नेतृत्वमा जाने ?”

राजीनामामा जे लेखिएको छ, कुरो त्यही हो – डिल्ली मल्ल

महराका प्रेस सल्लाहकार डिल्ली मल्ल भने राजीनामामा जे लेखिएको छ, त्यही नै भएको बताउँछन् । ‘मैले भन्नुपर्ने कुरा केही छैन, राजीनामा नै आइसकेको छ, राजीनामामा जे लेखिएको छ, कुरो त्यही हो,’ मल्लले भने ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।