नेहरुको मृत्युताका हिन्दुस्तानको हालत

“हिन्दूस्तानको हालत बडो नराम्रो छ – आर्थिक, सामाजिक, राजनीतिक दृष्टिबाट । १७ वर्षसम्म नेहरुले एकछत्र राज्य गरे अंग्रेजबाट पाएको सुसंगठित शासन व्यवस्थालाई उत्तराधिकारमा पाएर । १७ वर्षको अविच्छिन्न शासन एउटै व्यक्ति तथा एउटै पार्टीको हातमा रह्यो । यस्तो सुयोग इतिहासमा विरलै उपलब्ध हुन्छ, विशेष गरेर वर्तमानकालको जस्तो संक्रमणकालमा ।”

“हिन्दूस्तानमा भौतिक तथा बौद्धिक सामग्रीहरु पनि प्रशस्त छन् । विकासशील अर्थ व्यवस्था पनि यस प्रकारका नवोदित राष्ट्रहरुको दाँजोमा उपेक्षा योग्य थिएन, अंग्रेजले भारत छाडेर जाँदा । यहाँको राष्ट्रिय आन्दोलनले पनि आफ्नो लामो अवधिमा एउटै सुसंगठित रुप लिइसकेको थियो र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय अधिकारका लागि लड्नेहरुका लागि उदाहरण प्रस्तुत गर्थ्यो ।’

“यद्यपि भारतको विभाजनले अधिकारको हस्तान्तरणलाई चोखो भन्न सकिन्न तथा पूर्ण शान्तमय ढंगबाट त्यो सुसम्पन्न भयो भन्न सकिन्न, तैपनि अपेक्षाकृत त्यो शान्तिपूर्ण हस्तान्तरण थियो जसमा अधिकार छाडेर जाने विदेशी शासक तथा अधिकार प्राप्त गर्ने स्वदेशी शासक वर्गहरुमा आपसी सौहार्दपूर्ण सम्बन्ध स्थापित भयो अधिकारको हस्तान्तरणबाट ।”

“गान्धी, नेहरु आदि राष्ट्रिय नेताहरुको जादुले जनता वशीभूत थियो । त्यो जादूलाई राम्ररी प्रयोग गर्न सकेको भए जनताबाट ठूलो बलिदान तथा सहयोग प्राप्त गर्न नसकिने पनि थिएन ।’

“यस पृष्ठभूमिमा विचार गर्दा १७ सालको नेहरुको शासनलाई पूर्ण असफल शासन भन्न सकिन्छ, किनभने उनीबाट कुनै किसिमको समस्याको पनि समाधान भएन, बरु १७ वर्षको अवधिमा उनले वसीयतको रुपमा प्राप्त गरेको प्राप्ति मूलधन (क्यापिटल) लाई बढाउने सट्टा क्षीणतर बनाउँदै गए ।”

“१) काश्मिरको समस्या जस्ताको त्यस्तै छ,
२) पाकिस्तानसँग सम्बन्ध राम्रो हुन सकेन,
३) चीन शत्रु भएर निस्क्यो,
४) एशिया अफ्रिकामा भारतको प्रतिष्ठा लुप्तप्रायः छ
५) देशको आर्थिक व्यवस्था यस्तो दयनीय छ कि अमेरिकन मद्दत नभएको भए अहिले भारतमा भयंकर दुर्भिक्ष भएर ठूलो उत्पात हुनेथियो,
६) तुलनात्मक दृष्टिबाट भारतको आर्थिक विकास अत्यन्त मध्यम छ,
७) जनसंख्याको वृद्धिले भयंकर सम्भावनापट्टि संकेत गर्छ,
८) बर्माबाट भारतीयहरु निकालिँदै छन्,
९) लंकामा भारतीयहरुको दूरावस्था छ,
१०) नेपालमा भारतको प्रतिष्ठा माटोमा मिलेको छ,
११) जहाँजहाँ भारतीयहरु गएर बसोबास गरेका छन् अफ्रिकामा त्यहाँ – त्यहाँबाट खेदिने भएका छन् जस्तो लाग्छ,
१२) सामरिक दृष्टिबाट भारतजस्तो खोक्रो रहेछ त्यसको प्रमाण २ वर्ष पहिले चिनीयाँहरुको सफलताले प्रमाणित गरिदिएको छ,
१३) भारतका जाति र प्रान्तहरुमा आपसी सद्भावना र भावात्मक एकताको नितान्त अभाव छ,
१४) नागाहरुलाई सन्तुष्ट पार्न असमर्थ भएका छन्,
१५) दक्षिणीहरुको पनि बीचबीचमा स्वतन्त्र हुने भन्ने आवाज सुनिन्छ,
१६) कांगे्रस पार्टीको संगठन अत्यन्त कमजोर भएको छ,
१७) विरोधी पार्टीमध्ये कुनै पनि त्यस्तो संगठन छैन जसले हिन्दूस्तानको राजनीतिलाई सम्हाल्न सकोस् । कुनै पनि बढ्न सकेनन् । आदि, आदि…”

“किन यसो भयो? मुख्यतः मलाई लाग्छ, हिन्दूस्तानको संस्कृति नै बडो दोषपूर्ण छ । यस संस्कृतिमा सामाजिकताको भावना बडो अल्प छ, व्यक्तिवादको प्रोत्साहन यसमा बढी छ – आत्मामा अत्याधिक जोर दिएकोले (मोक्ष व्यक्तिगत प्राप्ति हो) । यस संस्कृतिको सुन्दर रुप (एस्थेटिक) छ, कलात्मक, किनभने व्यक्तिवादको प्रोत्साहनले कला र सुरुचिको स्रोत अकुण्ठित रहेको छ यसमा, तर व्यवहारिक दृष्टिबाट यो संस्कृति असांसारिक दर्शनमा आधारित भएकोले सामाजिक छैन र नैतिक (इथिकल) पनि छैन ।”

“मलाई एउटा गम्भीर दोष लाग्छ, असांसरिकतामा अव्यावहारिकताको दोषको अतिरिक्त । त्यो गम्भीर दोष के भने असांसरिकता किनभने अव्यावहारिक भएकोले मानव जीवनलाई ढोंग, पाखण्डपूर्ण (हिपोक्रिटिक) बनाउँछ । मानौं, जीवनले आफ्नो निर्वाहका लागि पनि ढोंगको आचरण गर्नुपर्छ, त्यस संस्कृतिमा जसमा संसारलाई तुच्छ र माया मानिएको छ । मलाई लाग्यो – भारतीय संस्कृतिको सबैभन्दा ठूलो दोष कपटाचारको प्रोत्साहन हो । भारतीयहरु बडो ढोंगी हुन्छन् । यही कारण हो कि भारतीयहरु खुला हृदयका हुन नसकेकाले आफ्नो आचरणबाट विदेशमा राम्रो प्रभाव पार्न सकेका छैनन्, यद्यपि कैयौं पिढीदेखि त्यहाँ तिनीहरु बसोबास गर्दै आएका छन् । राष्ट्रिय आन्दोलनको दरम्यान राष्ट्रिय भावनाको जागृतिले भारतवासीहरुको संस्कृतिमा जुन ‘ह्युमिलिटि’ हुनुपर्ने (कि भारतीय संस्कृतिमा ‘ह्युमिलिटि’ लाई चरित्रगुण मानिएको छैन, उदाहरणस्वरुप ब्राह्मणको दर्प?) त्यो मारिदिएको छ । उनीहरु आफूलाई सबभन्दा ठूलो सभ्यताका वाहक भन्ठान्छन् ।”

“यो त त्यस्तो मौलिक दोष हो, राष्ट्रिय सांस्कृतिक चरित्रको, जसले गर्दा ३००० वर्षको लामो इतिहासमा भारतले कहिल्यै पनि विदेशीहरुको आक्रमणबाट देशलाई राम्ररी रक्षा गर्न सकेन (कुन्नि हुणको आक्रमणको के भो?) र देश कहिले पनि एउटा राजनीतिक सूत्रमा बाँधिएन अंग्रेज शासनकालभन्दा पूर्व – कि जसमा नेहरु या अरु कसैले केही गर्न सक्तैन थिए । यस मौलिक दोषका अतिरिक्त अरु पनि कनटेम्पोररी कारणहरु छन् जसले गर्दा भारतको उन्नतिको समग्र उपदानहरु प्रस्तुत थिए अंग्रेजले छाडेर जाँदा । मुख्य कारण मलाई लाग्छ, भारतको राष्ट्रिय जीवन चिरैचिरा परेको छ ।”

“(१) राष्ट्रिय आन्दोलनको चिरा परेको व्यक्तित्व । अहिंसात्मक आन्दोलन शुद्ध राजनीतिक अधिकारका लागि एउटा चिरा परेको दुर्गुणले आवृत हुन्छ किनभने राजनीति छद्म अथवा प्रकट रुपबाट हिंसाको माध्यमवादी प्रयोग हो । अहिंसाको कुरा गरेर राजनीतिमा चिरा परेको (स्प्लिट) व्यक्तित्वको सृष्टि गर्छ, कपटाचार पनि जो कि हिन्दूस्तानको राष्ट्रिय आन्दोलनको गति भएको छ । अंग्रेजहरुले अनेक कारणबाट भारतलाई छाड्नु पर्थ्यो । हो, ती कारणहरुमध्ये भारतको बलियो राष्ट्रिय आन्दोलन र जनभावना पनि एउटा प्रमुख कारण हुनसक्छ (तर बर्मा नि? सिलोन नि? र अफ्रिकाका उपनिवेशहरु नि) । जे होस् हिन्दूस्तानीहरुलाई अहिंसाको राजनीतिक प्रयोगको सफलताको प्रमाण आफ्नो स्वतन्त्रताले दिएको छ भन्ने भ्रम पर्न गएको छ – एउटा राष्ट्रिय (मिथ) को यसरी सृष्टि भएको छ । हिन्दूस्तान जसले विकासमा बाधा पारेर पनि अरबौं रुपियाँ सैनिक संगठन र आयोजनामा प्रतिवर्ष खर्च गर्छ उसको राष्ट्रपिता अहिंसाको अवतार गान्धी छन्, यो भन्दा ठूलो विरोधाचार अरु के हुन सक्छ?”

“(२) नेता नेहरु र नेहरुको पार्टी कांग्रेस आपसमा एक हुन नसकेका पृथक तत्व थिए, त्यसो हुनाले चिरा परेको व्यक्तित्व दुवैको बन्न गयो, नेताको र संगठनको । नेहरुको व्यक्तिगत प्रतिष्ठा प्राप्त नगरेर पार्टीले अधिकारासीन हुन सक्तैन थियो, त्यसो हुनाले नेहरुको उसलाई खाँचो थियो, त्यस्तै नेहरुलाई पनि आफ्नो नेतृत्वका लागि संगठनको आवश्यकता थियो । उनको अभूतपूर्व जनप्रियता रिक्ततामा सक्रिय हुन सक्दैन थियो पार्टीको माध्यमको अभावमा । एउटालाई अर्काको आवश्यकता भएपनि दुवैको दृष्टिकोण भिन्नाभिन्नै थियो । कांग्रेसको समाजवाद नेहरुको शर्त – कांग्रेसले स्वीकार गरेको हो, उनको सेवा प्राप्त गर्नका खातिर तर हृदय भने समाजवादमा छैन पार्टीको । नेहरुले पनि आफ्नो समाजवादलाई पन्यालो पार्नु परेको थियो पार्टीलाई त्यो कुरो स्वीकार्य बनाउनका खातिर । नेहरुले गर्दा कांग्रेसले जो शायद पूर्ण रुपले राष्ट्रिय हिताहितको मात्र ख्याल राखेर आफ्नो शुद्ध राष्ट्रिय नीति बनाउने थियो, त्यसो गर्न सकेन । कांग्रेसले गर्दा नेहरु पनि त्रिशकुं भएर रहे । यस्तो स्थितिले गर्दा जुन नेतृत्व पार्टी र त्यसको नेताले राष्ट्रलाई दिनुपथ्र्यो त्यो दिन सकेनन् । हिन्दूस्तानको ‘कनट्म्पोररी’ दुर्भाग्य त्यहि हो ।’

“मेरो आफ्नो अनुभव छ कि जनतालाई नेतृत्व चाहिन्छ । असल नेतृत्वमा जनताले आफ्नो तर्फबाट गर्नुपर्ने काममा त्रुटि ल्याउँदैन । नेतृत्व नै ‘स्प्लिट पर्सनालिटी’ को भयो भने जनता अन्योलमा पर्छ – भारतीय जनता अन्योलमा छ ।”

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts