“आज मैले हेभलक् एलिस / फ्रायड माथि एउटा निबन्ध पढें र आजै कताकताबाट योगको चर्चा हाम्रा बीचमा हुन पुग्यो । यौन (सेक्स) र योग मेरो अन्तरहृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन् मानौं दुवै एउटै तत्व हुन् – अथवा यौनकै अर्को अभिव्यक्ति योग हो । योगको जरो कताकताबाट अन्ततः यौनमा पुगेको हुन्छ जस्तो मलाई लाग्छ ।”
“आजको बहसमा मेरो तर्क यसप्रकारको थियो– हठयोग योगको हठधर्मी मार्ग हो र यदि यसको उपादेयता केही छ भने पनि वास्तविक योग साधनभन्दा धेरै निम्नकोटीको छ । मनोवैज्ञानिक र मानसिक क्षेत्रमा हठयोगको ठूलो सम्भावना देखापरे तापनि वास्तविक योगको साधननै त्यस सम्भावनाको प्राप्तिको राजमार्ग हो । अन्ततोगत्वा योग भनेको आत्मा र परमात्माको सन्धि हो– दुवैको पार्थक्यको विलिनीकरण हो ।”
“अर्को शब्दमा समुद्र र थोपाको पार्थक्यलाई मेटाएर थोपा समुद्रमा बिलीन भएको आन्तरिक अनुभूति योग हो । बाहिरी जगत र अन्तरजगत – विलीन भएको आन्तरिक अनुभूति योग हो । बाहिरी जगत र अन्तरजगत ब्रह्माण्ड र व्यत्तिको सूक्ष्म जगतमा एकरुपताको बोध योगको परम लक्ष्य हो । योगको सिद्धान्त अनुसार मानवलाई यो पार्थक्यको अनुभव मनको चञ्चलताले दिन्छ । चित्तवृत्ति निरोध कसरी गर्ने त्यसको व्यवस्था योग साधन हो । योगको लक्ष मोक्ष, विलीनीकरण;त्यस लक्ष्यप्राप्तिको मार्ग, चित्तवृत्तिको निरोध; र चित्तवृत्ति निरोधका लागि केही क्रियाहरु (अष्टाङ्गी क्रियाहरु) पतञ्जलीको योग सुत्रमा पाइन्छ । योग व्यवस्थाको मूख्य विषय छ, मनको चञ्चलतालाई शान्त गर्नु ।”
“मनको चञ्चलताको अन्त भएपछि त्यो एकता व्यक्ति र ब्रह्माण्ड, ब्रह्म र ब्रह्माण्डमा स्थापित हुन्छ जसको अर्को संज्ञा हिन्दू दार्शनिकहरुले मोक्ष भनेर दिएका छन् । मानिसका अनेकानेक आवश्यकताहरु छन्, त्यसमा धेरैजसो त्यस्ता आवश्यकताहरु छन्, जो मौलिक नभएर सामाजिक परिस्थितिमा अरु बाहिरी कारणहरुले गर्दा सृजना हुन गएका छन्, त्यसमा धेरै जसो त्यस्ता पनि मैलिक आवश्यकताहरु छन् जो मानिसका लागि अनिवार्य छन् र जुनसुकै स्थितिमा पनि ती आवश्यकतालाई मानिसको स्वाभाविक आवश्यकता (इन्स्टिङ्क्टिभ नीड) भने हुन्छ । जस्तो, उदर क्षुधा, यौन क्षुधा इत्यादि । यसका साथसाथै त्यस्ता मानवीय भावनाहरु पनि छन्, जो शायद। समाज र माथि उल्लेख गरिएका मौलिक आवश्यकताले भन्दा स्वतन्त्र अस्तित्व राख्छ– जस्तो प्रेम, घृणा ।”
“प्रेम र घृणा शायद मानवको स्वभाविक भावना हो – यस्ता भावनाको अस्तित्व समाज – संगठनमै निर्भर गर्छन्, मानवको यौन प्रवृत्तिमै सहजरुपले निहित रहन्छन् । प्रेम र घृणाजस्ता भावना सायद त्यस्त मौलिक भावना नहून्, जस्तो कि म तिनीहरुलाई सम्झिन्छु; हुनसक्छ यी भावनाहरु मानवले सामाजिक संगठनबाट प्राप्त गरेका भावना हुन्; या हुन सक्छ, यौनको सहज वृत्तिको मौलिक रुपका सामाजिक अभिव्यक्ति हुन्– प्रेम र घृणा । मेरो भनाइको तात्पर्य यो हो कि मानिसको चोला धारण गर्नेबित्तिकै स्वाभाविक रुपबाट केही वृत्तिलाई लिएर जन्मिन्छन् ।’
“अब प्रश्न उठ्छ– केही मौलिक मानवीय सहज वृत्तिलाई हठद्धारा दमन गर्ने प्रयासमा चित्तको चाञ्चल्य झन् उग्रतर हुँदैन? मानवका यी मौलिक आवश्यकताको उपेक्षा कहाँसम्म गर्न सकिन्छ? के यस्तो उपेक्षाले आफ्नो ढंगबाट घातक बदला त लिँदैन? मेरो विचारमा मौलिक आवश्यकताको स्वाभाविक सन्तुष्टि मनको शान्तिको निम्ति परमावश्यक छ । उदरक्षुधा या जल पिपासालाई उपेक्षा गरेर या हठ धर्मको अबलम्बन गरेर त्यसको अन्त हुँदैन; त्यसको अन्त हुन्छ क्षुधातुर उदरलाई भोजन, तृषित कण्ठलाई जल उपलब्ध गराएर । यौनक्षुधाको पनि त्यसबाट विरत भएर अन्त गर्न सकिन्न; त्यसको पनि स्वाभाविक ढंगबाट अन्त गर्नुपर्छ । मौलिक वृत्तिको दमन सम्भव छैन– शमन गर्नुपर्छ ।”
“भोजनको दैनिक आवशयकता जस्तै मानव शरीरलाई तात्कालिक असर गर्ने किसिमको क्षुधा यौनक्षुधा होइन;र यौनक्षुधाको अभिव्यक्ति पनि स्थूल किसिमको हुँदैन किनभने भोजनको आवश्यकताभन्दा यसको आवश्यकताको स्रोत मानव शरीर र मनको भित्री तहमा लुकेर बसेको हुन्छ तसर्थ यौनको अभिव्यक्ति पनि अस्पष्ट हुन्छ । यौनक्षुधाको स्थूल अभिव्यक्तिमाथि नियन्त्रण सम्भव भएको हुनाले साधारणतया यो विश्वास सर्वसाधारणमा छ कि यौनवृत्तिमाथि पूरा विजय प्राप्त गर्न सकिन्छ ।यो भयानक ठूलो भ्रम हो जसको आधारमा हाम्रो समाजका धेरै नियम, निषेधाज्ञा र मान्यताहरु अवलम्बित छन् । यौनक्षुधाको सन्तुष्टि रतिक्रियाबाट शान्त गरिएन भने प्रकृतिले ठूलो प्रतिसोध लिन्छ । सबभन्दा ठूलो दण्ड, त्यस व्यक्तिले आफ्नो अन्तर्गतको क्षेत्रमा, मनको क्षेत्रमा, भोग्नुपर्छ । स्वाभाविक ढंगबाट, रतिक्रियाबाट यौन आवश्यकताको पूर्ति गर्ने व्यक्तिको चित्त अरु कुरा बराबर रहेका खण्डमा र तुलनात्मक दृष्टिबाट यौनक्षुधा माथि अस्वाभाविक रीतिले दमन गर्न खोज्छ, व्यक्तिको चित्तभन्दा बढी मात्रामा अस्थिर रहन सक्छ ।”
“यस सम्बन्धमा विचारणीय विषय विषमता हो जो सामाजिक नियम र मनुष्यको सहज स्वभावको आपसको बेमेलबाट उत्पन्न हुन्छ । विशिष्ट सामाजिक नियम र व्यवस्था त्यस समाजको आदर्शलाई ध्यानमा राखेर गढेको हुन्छ; जस्तो आदर्श समाजले स्थापित गर्छ त्यसको अनुरुप त्यस समाजका नियम र विधानहरु त्यसले स्थापित गर्छ । यो कुनै आवशयकता छैन कि समाजका ती उद्देश्य र व्यवस्था मानव स्वभावका मौलिक वृत्तिहरुको अनुरुप होस् वास्तवमा, अधिकांशतः सामाजिक नियमहरु मानवका सहज वृत्तिका विपरित गठित भएका छैनन् र समाजको व्यवस्था जतिजति जटिल हुँदै जान्छ उतिउति त्यसका नियम र विधानले मानव स्वभावको सहजवृत्तिको उपेक्षा गर्दें गरेको र त्यसको विरोधमा नै आफूलाई स्थापित गरेको पाइन्छ ।’
“जतिजति सभ्यताको सिँढीमा समाज उक्लिदैं जान्छ, उतिउति त्यसका सदस्यहरुको मानवीय आवश्यकताको सरल र प्राकृतिक रीतिबाट पूर्ति गाह्रो हुँदै जान्छ र परिणामस्वरुप तिनीहरुले अनेकानेक मानसिक विकृति तथा चाञ्चल्यको मूल्य सभ्यताका खातिर चुकाउनुपर्छ । असभ्य जातिहरुलाई, तुलनामा सभ्य कहलिएका जातिहरुभन्दा बढी मानसिक शान्ति छ ।”
“तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।।
नाशयम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता ।। ११ ।।
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।।
योगिनो यतचित्तस्य युञ्ञतो योगमात्मनः ।। १९ ।। [गीता अध्याय १० श्लोक ११/१९]
तथा
“बौद्ध धर्मको ग्रन्थ “लंकावतारसूत्र”का सम्बन्धमा दिएको मन्तव्य “निर्वाण न म जन्मको तिरो मान्छु, न त्यसलाई ‘नष्ट हुुनु’ को अर्थमा लिन्छु । निर्वाण त्यस वस्तुस्थितिको बोध हो जसले ठीक आफ्नो स्वाभाविक रुपलाई सूचित गर्छ । आफ्नो चित्तवृत्तिहरु पूर्णतः बदलिएपछि त्यस्तो “परिवृत्ति” (आमूल परिवर्तन) आफूमा आएको अनुभव होस् कि स्वयम् आफैद्धारा आफ्नो बोध हुन थालोस्, त्यस स्थितिलाई म निर्वाण भन्छु ।”
“अश्रघोषले आफ्नो “सोन्दरनन्द” काव्यमा– “निभेका दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशामा विदिशामा पुग्छ; प्रत्युत; तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै, ज्ञानी, बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै अन्तरिक, दिशा या विदिशामा पुग्छ; त्यो पुरुष क्लेशको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ ।”